नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन सरकारलाई पेश

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ । आज सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउँदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्युनतम तलवमापन बृद्धि गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको न्युनतम पारिश्रमिक २५ प्रतिशतका दरले बृद्धिका लागि सिफारिस गरिएको छ । हाल न्युनतम तलव २४ हजार ३ सय ७५ रहेकोमा अब ३० हजार ४ सय ६८ रुपैयाँ बनाउन सिफारिस गरिएको छ । त्यस्तै स्ट्रिन्जरको सवालमा राष्ट्रिय मिडिया र प्रादेशिक मिडियामा कार्यरत पत्रकार, कर्मचारी र कामदारका लागि २५ प्रतिशत र दुगर्म क्षेत्रका स्ट्रिन्जरलाई थप २० प्रतिशत बृद्धिको सिफारिस गरिएको छ । त्यसैगरि समितिले सवै सञ्चारमाध्यमको बर्गीकरण गरि वर्गीकरणका आधारमा न्यूनतम पारिश्रमिक तोक्न र कार्यान्वयन गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै सञ्चार मन्त्री कार्कीले समितिको प्रतिवेदनको अध्ययन गर्ने र सरकारले आवश्यक निर्णय गर्ने बताए।

सरकारद्धारा भूपू ब्रिटिश गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन

सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका मागहरुका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधि मण्डल गठन गरेको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवा–सुविधालाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएका छन् । त्यस्तै मन्त्रीपरिषद बैठकले नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्रा.डा. कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसैबिच विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल नियुक्त हुनु भएको छ । सदस्यहरुमा सरकारले न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए ।प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २२ गते आइतबार बोलाइएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप लगाउदै एमालेले लगातार सदनमा बिरोध गर्दै आएको छ ।

नेपालको सम्झौता अनुमोदन गर्ने निर्णय स्वीकार गर्दै कार्यान्वयनको बाटो खुलेको एमसीसीको प्रतिक्रिया

अमेरिकी सहयोग निकाय एमसीसीले आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट अनुमोदन भएको स्वीकार गर्दै अब कार्यान्वयनको दिशातिर भएको जनाएको छ । एमसीसी मुख्यालयले गएराति विज्ञप्ति जारी गर्दै नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको एमसीसी सम्झौतालाई आफूले स्वीकार गरेको जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि सत्ता गठबन्धनले गत आइतबार १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । एमसीसी सम्झौतालाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौम सत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको पनि विज्ञप्तिमा उल्लेख छ । सम्झौताको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न बाटो खुला गरेको एमसीसी मुख्यालयले जनाएको छ । यद्धपी नेपालले एमसीसीसंगै अनुमोदन गरेको व्याख्यात्मक घोषणाबारे केही बोलेको छैन ।

एमसीसी लागू गर्न नदिने भन्दै बिभिन्न ६ दल र दुई मोर्चाद्धारा आन्दोलनको घोषणा

विभिन्न साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए। आन्दोलनका कार्यक्रमहरुमा २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ । यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राष्ट्रीय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने बताइएको छ ।

सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने नेकपा एकीकृत समाजवादीका नेता खनालको दाबी

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन् । आज बिराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले कुनै हालतमा पनि नटुट्ने बताएका हुन् । उनले लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे। खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गरे । उनले मनमोहन अधिकारी प्रधानमंत्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरु गरेको बताए।

एमालेको वक्तव्यमा सभामुखको आपत्ति

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएको छ। सभामुख सापकोटाको सचिवालयले आज एक प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कूप्रचार गरेको आरोप लगाएको हो । एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न हिजो जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो । यसलाई सभामुख सचिवालयले अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न समेत एमालेलाई सभामुखले चुनौती दिएका छन्।

पछिल्लो पछिल्लो२४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परिक्षणमा १ सय २३ जना र २ हजार २ सय २ एन्टीजेन परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ७ सय ७० संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटघाट

गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाण र राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको हो । भेटमा गृहमन्त्री खाणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए । जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए। एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हिजो धन्यवाद दिएको राजदूत बेरीले बताए । एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए।

एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने बताए। बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई नेपालगंज विमानस्थलबाट पक्राउ गरेको थियो । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले आफूविरुद्ध झुटो आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत

कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन् ।

जसपाको विधान अधिवेशन असारमा

जसपाले पार्टीको विधान अधिवेशन आगामी असार १ र २ गते गर्ने भएको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १६ गते बसेको बैठकले आगामी असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए। त्यस्तै बैठकले आगामी फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ । जसपाभित्र आन्तरिक विवाद चुलिरहेका बेला विधान अधिवेशनको कार्यतालिका सार्वजनिक भएको हो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेपछि पार्टी विभाजनको संघारमा पुगेको छ ।

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द

सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । आर्थिक वर्ष २०७८–७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् । नगर प्रमुखलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक सोनु मगर ढुंगेलले बताए । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’बीच भेटवार्ता

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हरिसिद्दिमा भएको भेटमा विप्लवले पार्टी एकताको प्रस्ताव गरेको स्रोतको दाबी छ । एमसीसीका कारण असन्तुष्ट नेता श्रेष्ठले पार्टी छाड्ने चर्चा चलिरहेका बेला विप्लवले नयाँ शिराबाट अगाडी बढ्न प्रस्ताव गरेका हुन् । प्रतिनिधि सभाबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै च्रित्त नबुझे पार्टी छाड्न सुझाव दिएका थिए । सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गराएका थिए । जसको विरोधमा विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट र दुई मोर्चालेसंयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्।

बाँकेमा स्वचालित पेस्तोलसहित ३ जना पक्राउ

बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । गएराति पक्राउ परेका तीनै जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगञ्जदेखि राप्तीनदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्वरको कार चेकजाँच गर्नेक्रममा एक थान मेडईन अमेरिका लेखेको अटोमेटिक पेस्तोल, सो पेस्तोलमा लाग्ने नौ थान गोलीसहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताए। सो पेस्तोल दिपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग ५० हजार भारतीय रुपैयाँमा खरिद गरी ल्याएको खुलेको छ ।

संसद् भवन अगाडि प्रेसर कुकर राख्ने पक्राउ

गत सोमबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।सोमबार बानेश्वरको मुख्य सडकमा जनमानसमा त्रास उत्पन्न गराउने उद्धेश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो । उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको एसपी कोइरालाले जानकारी दिएका छन् । महतसँग मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । त्रास फैलाउनका लागि बम भन्दै सडकमा खालि कुकर राखिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ५४ बजे

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप