संक्रमण लुकाउँदा महामारी रोकिएन | Khabarhub Khabarhub

संक्रमण लुकाउँदा महामारी रोकिएन



झापा– कोरोनाको संक्रमण दर उच्च भएको झापामा दोस्रो लहर फैलिए पछि ४ पटक निषेधाज्ञा थप भईसकेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले वैशाख २० देखिनै अत्यावश्यक बाहेकका सेवा बन्द गरी नागरिकलाई सतर्क रहन आग्रह गरेको थियो भने महामारी नरोकिएपछि वैशाख २२ देखि ३१ गते निषेधाज्ञानै लगाईयो । तर त्यसले पनि संक्रमण र मृत्युदर नियन्त्रण रोकिन सकेन ।

त्यसपछि लगातार जिल्लाभर निषेधाज्ञा क्रमिक रुपमा कडाई गर्दै निरन्तर जारी छ । जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ देखि जेठ ७, जेठ ७ देखि १४ र पछिल्लो पटक जेठ १४ देखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ । तर पनि संक्रमण फैलिन र मृत्यु हुने क्रम रोकिएको छैन ।

किन घटेन संक्रमण दर

कोरोनाको संक्रमण दर घट्न नसक्नुलाई विभिन्न व्यक्तिहरूले फरक फरक रुपमा व्याख्या गर्दै आएका छन् । महामारीकै बीचमा प्रहरीले भारतबाट अबैध तस्करी भई आउने समानसमेत बरामद गरी रहेको छ । यसले के देखाउँछ भने, झापासँग सिमाना जोडिएका भारतका पश्चिम बंगाल तथा बिहारसँगको आउजाउको चेन तोडिन सकेको छैन । जसका कारण अधिक महामारी फैलिएको भारतबाट समेत नेपालीमा संक्रमण भई रहेको छ ।

यस्तै साँझ बिहानको समयमा मानिसको चहल पहल शहरी क्षेत्रमा ह्वात्तै बढ्ने गरेको छ । जिल्लामै संक्रमणको दर उच्च देखिएको मध्ये दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली भन्छन्, ‘बेलुका मानिसहरू लकडाउन हेर्नैकै लागि भए पनि बाटोमा आउने गरेको देखिन्छ, यो संक्रमण फैल्याउने कारक बनिरहेको छ । यसलाई रोक्नु पर्यो भनेर हामीले सवै संयन्त्र परिचालन गरी सकेका छौँ । अब यस्तो हुन दिईँदैन ।’

नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी भने अझै पनि संक्रमितहरूले संक्रमण लुकाई रहेको बताउँछन् । ‘हामीले कतिपय घरमा अझै पनि उच्च ज्वरो, रुघाखोकी लगायत कोरोनाका सबै लक्षण भएका व्यक्ति भेटिरहेका छौँ, उनीहरू परीक्षणका लागि पनि जाँदैनन र उपचार पनि गर्दैनन् । यो उनीहरूकै लागि पनि घातक देखिएको छ भने उनीहरू मार्फत अन्यलाई पनि संक्रमण फैलिई रहेको छ ।’

अब घर घरमा पुगेर लक्षण भएका व्यक्तिहरूको खोजी गरी परीक्षणको दर बढाउन र उनीहरूलाई आईसोलेसन सेन्टर तथा अस्पताल लैजान आवश्यक देखिएको उनी बताउँछन् ।

सिकिस्त भएपछि अस्पताल

कोरोनाको लक्षण र उच्च ज्वरो आउँदा समेत कतिपय व्यक्ति घरैमा रहनु खतरा भएकाले उनीहरूको खोजी शुरु गरिएको दमक नगरपालिका, अनुगमन समितिका संयोजक भिम पौडेल बताउँछन् ।

उनले भने, ‘अन्यत्रको तुलनामा दमकमा उपचार सेवा पाउन कठिन छैन, नगरपालिकाको आफ्नै अस्पतालमा निःशुल्क उपचार पनि हुन्छ, यहाँका निजी अस्पतालले पनि सेवा दिई रहेका छन् तर मान्छेहरू किन उपचारमा जाँदैनन् बुझ्न सकिएको छैन । त्यसैले म आँफै पनि लागेर केहि व्यक्ति पहिचान गरि उपचारमा पठाएको छु । यसमा हामी सवै जनप्रतिनिधी र सवै नागरिक लाग्नु पर्ने देखिन्छ ।’

घरैमा कतिपय संक्रमित तथा लक्षण देखिएका व्यक्तिहरू बस्ने र उपचारमा ढिलाई गर्ने गरेका कारण उपचारमा कठिनाई हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

आम्दा अस्पताल दमकका डा. प्रकाश शर्मा लक्षण देखिन साथ उपचारका लागि आएमा बिरामीलाई बचाउन सकिने आधार बढि हुने बताउँछन् । पछिल्लो समय कतिपय ठाउँमा संक्रमितको मृत्युपछि स्वास्थ्यकर्मीहरू माथि आक्रमण हुने गरेकाले अस्पतालहरूमा सुरक्षा प्रवन्ध बलियो पार्नु पर्ने पनि उनको सुझाव छ ।

प्रहरीलाई जिस्क्याउँदै, भाग्दै

निषेधाज्ञा कार्यान्वयनका लागि सडकमा उभिएका प्रहरीलाई कतिपय सर्वसाधारणले उल्टै हैरानी दिने गरेका छन् । दमकका एक प्रहरी भन्छन्, ‘मोटरसाईकलमा ३ जना सम्म चढेर आउँछन्, हामीले रोक्न खोज्दै उल्टै जिस्क्याउँदै हुईक्याउँछन् ।’

त्यस्ता सवारी साधन रोक्न खोज्दा केहीदिन अघि दमकका एक प्रहरी सामान्य घाईते समेत भएका थिए । कतिपय व्यक्ति भने औषधीको विल बोक्दै दिनभर ओहोर दोहोर गरे पनि औषधी लिन हिँडेको भनेपछि छोड्नु परेको प्रहरीको भनाइ छ ।

बेड नपाउने अवस्था छैन

संक्रमण उच्च भए पनि दमकमा हालसम्म संक्रमितले उपचारका लागि बेड नपाउने अवस्था नरहेको नगरपालिकाको भनाइ छ । दमक अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी उपप्रमुख गीता अधिकारीले भनिन्, ‘हाम्रो सरकारी अस्पतालसहित अन्य तीन ओटा अस्पतालमा संक्रमितहरूको उपचार हुने गरेको छ र हालसम्म बेड नभएकै कारण संक्रमितको उपचार हुन नसक्ने अवस्था आउन दिईएको छैन ।’

उनका अनुसार दमक अस्पताल अन्तर्गतको उपचार केन्द्रमा २२, आम्दा अस्पतालमा ३१, लाईफलाईन अस्पतालमा २२ र एडभान्स अस्पतालमा २३ बेड कोरोना संक्रमितका लागि रहेका छन् ।

निषेधाज्ञा शुरुदेखि हालसम्म

निषेधाज्ञा शुरु भएको बैशाख २२ गतेका दिन झापामा कोरोनाका कारण ६ जनाको मृत्यु भई कुल मृतक संख्या १४२ पुगेको थियो भने कुल संक्रमित संख्या ५ हजार ६ सय र सक्रिय संक्रमित ८९८ रहेको थियो ।

तर चौथो पटकको निषेधाज्ञा शुरु भएको दिन जेठ १४ गते आई पुग्दा कुल संक्रमितको संख्या ९ हजार ९ सय ८८ पुगेको छ । यसदिन सम्ममा ५ हजार ७ सय ५५ निकोसमेत भएका छन् ।

यस्तै कुल मृतकको संख्या २२८ पुगेको छ । ३ हजार ९ सय ६४ सक्रिय संक्रमित रहेका छन् । अझै पनि जिल्लाका मुख्य शहरी क्षेत्र विर्तामोड, दमक तथा अर्जुनधारामा दैनिक २० भन्दाबढि संक्रमित पुष्टि भईरहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ३ : ११ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक