कोभिड उत्पति : गम्भीर बन्दैछ वुहान प्रयोगशाला–चुहावट सिद्धान्त | Khabarhub Khabarhub

कोभिड उत्पति : गम्भीर बन्दैछ वुहान प्रयोगशाला–चुहावट सिद्धान्त


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहान शहरमा पहिलो पटक कोभिड–१९ भाइरस देखिएको डेढ वर्षसम्म पनि भाइरसको उत्पति कसरी भयो भन्ने पत्ता लागेको छैन ।

पछिल्लो समय फेरि भाइरस चीनको वुहानस्थित संक्रामक रोग नियन्त्रण तथा रोकथाम प्रयोगशालाबाट बाहिरिएको चर्चा शुरु भएको छ । यस्तो दाबीलाई पहिला धेरैले षड्यन्त्रको सिद्धान्तअनुसार आएको भन्दै खारेज गरे पनि पछिल्लो समय यसले धेरैको ध्यान आकर्षण गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि भाइरसको उत्पतिका विषयमा तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । उनले चीनको प्रयोगशालाबाट भाइरस उत्पति भएको हो कि होइन भन्ने पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिएका हुन् ।

तपाईलाई यो सिद्धान्तका विषयमा के थाहा छ र यो बहस किन आवश्यक छ ? प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने सिद्धान्त के हो ?

चीनको मध्य वुहान शहरमा रहेको प्रयोगशालाबाट भाइरस दुर्घटनाले बाहिरिएको हुनसक्ने धेरैको अनुमान छ । विशेष गरी कोरोना भाइरस पहिलोपटक यही शहरमा देखिएको हुँदा पनि यस्तो अनुमानमा बल पुगेको हो ।

यो सिद्धान्तका समर्थकहरूले शहरमा यस भाइरस अध्ययन गर्ने विश्वकै प्रमुख जैविक अनुसन्धान केन्द्र रहेको औल्याउँदै यस्तो दाबीमा सत्यता हुनसक्ने बताएका छन् । वुहानस्थित संक्रामक रोग अध्ययन तथा रोकथाम संस्था (डब्ल्युआईभी) ले एक दशकभन्दा अघिदेखि कोरोना भाइरसका विषयमा अध्ययन गर्दै आएको थियो ।

यो अध्ययन संस्था हनान मासु बजारबाट करिब एक किलोमिटरको दूरीमा छ । हनान मासु बजार त्यही बजार हो जहाँ पहिलो पटक वुहानमा संक्रमण भेटिएको थियो ।

प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने सिद्धान्तमा विश्वास गर्नेहरू त्यही मासु बजारबाट संक्रमण फैलिएको हुन सक्ने बताउँछन् ।

यो सिद्धान्तले महामारीको शुरूवातमै बढावा पाएको थियो, त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाउने काम गरे । केहीले भाइरसलाई जैविक हतियारका रूपमा विकसित गरिएको हुन सक्ने दाबी गरेका छन् ।

सञ्चार माध्यम र राजनीतिज्ञहरूले शुरूमा यसलाई षड्यन्त्रको सिद्धान्त भन्दै यो दाबी खारेज गरिदिए । केहीले यसको सम्भाव्यता पूर्णतया नकारेनन् । पछिल्लो समय यो बहसले पुनः ठाउँ पाउन थालेको छ ।

यो बहस फेरि किन शुरू भयो ?

अमेरिकाका सञ्चार माध्यममा छाएको समाचारहरूमा भाइरस प्रयोगशालाबाट बाहिरिएको सिद्धान्तका विषयमा सामग्रीहरू पुनः प्रकाशन हुन थालेका छन् ।

जो वैज्ञानिकहरू पहिला यो विषयलाई षड्यन्त्रको सिद्धान्तका रूपमा व्याख्या गर्थे उनीहरू पनि प्रयोगशाला सिद्धान्तका विषयमा खुलारूपमा छलफल गर्न थालेका छन् ।

अमेरिकाको गुप्तचर रिर्पोटअनुसार वुहान प्रयोगशालामा काम गर्ने अनुसन्धानकर्ता मध्ये केहीलाई नोभेम्बर २०१९ मा अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । यो घटना मानिसमा भाइरस संक्रमण हुनुपूर्वको हो । यो विषय यस हप्ताका अमेरिकाका समाचारमा छाएको छ ।

के पनि भनिन्छ भने बाइडन प्रशासनले ट्रम्प प्रशासनले शुरू गरेको प्रयोगशालबाट भाइरस बाहिरिएको हुन सक्ने सिद्धान्त खारेज गर्दै अमेरिकी विदेश मन्त्रालयलाई यस सम्बन्धी अनुसन्धान रोक्न लगाएको छ ।

‘यो पूर्णतया सम्भावनाको विषय हो, त्यसैले यस विषयमा सम्पूर्णरूपमा अनुसन्धान हुनुपर्छ’, भन्छन् एन्टोनी फाउची, राष्ट्रति बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार । यो अमेरिकाको सिनेट कमिटीले मे ११ मा बताएको थियो ।

अर्कोतर्फ राष्ट्रपति बाइडनले कोभिड–१९ भाइरसको उत्पतिको विषयमा रिर्पोट दिन राष्ट्रपतिको कार्यकाल समालेको समयमा नै भनेका थिए भनिन्छ । ‘भाइरस मानिसमा कुनै जनवारबाट सरेको हो अथवा प्रयोगशालाबाट दुर्घटनावश बाहिरिएको हो, त्यससम्बन्धी सम्पूर्ण रिर्पोट बुझाउनू’, राष्ट्रपति बाइडनले भनेका थिए ।

वैज्ञानिकहरू के सोच्छन् ?

यो विषयमा अझै पनि गरमागरम बहस चलिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को अनुसन्धान गहिराइमा पुग्नेवाला थियो तर विश्लेषकहरू डब्ल्युएचओको अनुसन्धानले उत्तरभन्दा बढी प्रश्न जन्माएको बताउँछन् ।

डब्ल्युएचओले नियुक्त गरेका केही वैज्ञानिकहरू यस वर्षको शुरूवातमा भाइरस उत्पतिको विषयमा अनुसन्धान गर्न वुहान पुगेका थिए ।

वुहानमा १२ दिन बिताए, यसमा वुहानस्थित प्रयोगशालाको अनुसन्धान पनि समावेश थियो । वैज्ञानिकहरूले प्रयोगशालाबाट भाइरस बाहिरिएको सिद्धान्त ‘हुनै नसक्ने’ बताएका थिए ।

उनीहरूको अनुसन्धानका विषयमाथि धेरै प्रश्न उब्जिएको छ ।

केही प्रख्यात वैज्ञानिकहरूको समूहले डब्ल्युएचओले भाइरस प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने सिद्धान्तलाई गम्भीर रूपमा नलिएको भन्दै आलोचना गरेका छन् । सयौँ पृष्ठको अनुसन्धान प्रतिवेदन केही पृष्ठमा खुम्च्याउने काम गरिएको थियो ।

‘जबसम्म भाइरसका विषयमा तथ्य पत्ता लाग्दैन, हामीले भाइरस प्राकृतिकरूपमा उत्पन्न भएको र प्रयोगशालाबाट उत्पन्न भएको दुवै सिद्धान्तलाई गम्भीरताका साथ लिनु आवश्यक हुन्छ’, वैज्ञानिकहरूले एक विज्ञान म्यागेजिनमा लेखेका छन् ।

वैज्ञानिकहरूबीच भाइरस प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने सिद्धान्त मिहिन ढङ्गले अध्ययन गर्न आवश्यक भएको विषयमा सहमति बन्दै गएको छ ।

डब्ल्युएचओ प्रमुख निर्देशक टेड्रोस अदानोम गेब्रियसस आफैँले पनि अनुसन्धान नयाँ सिराबाट शुरू गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘सबै हाइपोथेसिस अध्ययनका लागि खुला छन् । ती विषयमा बृहत् अध्ययन हुन आवश्यक छ ।’

डाक्टर फाउची पनि भाइरस प्राकृतिक हिसाबमा उत्पति भएको कुरामा आफू ‘सहमत नभएको’ बताउँछन् । उनको यो सोच गएको वर्ष उनले व्यक्त गरेको सोचभन्दा फरक हो । गत वर्ष उनले कोभिड जनावरबाट मान्छेमा संक्रमण भएको हुन सक्ने बताएका थिए ।

चीनलाई यसबाट के फाइदा हुन्छ ?

चीनले भाइरस प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने कुरा सम्पूर्णरूपमा अस्वीकार गरेको छ । उसले भाइरस अन्य देशबाट खाद्यान्न ल्याउँदा भित्रिएको हुनसक्ने बताउने गरेको छ ।

यसका लागि चीनले आफ्नो एक वरिष्ठ संक्रामक रोगसँग सम्बन्धी अनुसन्धानकर्ताले प्रकाशन गरेको अनुसन्धानलाई आधार बनाएको छ । युनानको एक गुफाबाट लिइएको स्याम्पल अनुसार भाइरस चमेराबाट सरेको चीनको दाबी छ ।

‘ब्याट वुमन’ को नामले चिनिने प्राध्यापक सि झ्या लीले वुहान इन्स्टिच्युटमा गरेको अनुसन्धान गत हप्ता प्रकाशित भएको थियो । जसअनुसार उनी नेतृत्वको टोलीले चमेराबाट सर्ने ८ प्रकारको कोरोना भाइरस सन् २०१५ मा नै पत्ता लगाएको थियो ।

जो वैज्ञानिकहरू पहिला भाइरस वुहानको प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरालाई षड्यन्त्रको सिद्धान्तका रूपमा व्याख्या गर्थे अहिले उनीहरू पनि प्रयोगशाला–चुहावटको सिद्धान्तमा खुलारूपमा छलफल गर्न थालेका छन् । यो सिद्धान्त बिस्तारै गम्भीर बन्दैछ ।

उक्त अध्ययन प्रतिवेदन अनुसार उनको टोलीले खानीमा पत्ता लगाएको कोरोना भाइरसको तुलनमा पङ्गोलिन कोरोना भाइरस मानिसका लागि अत्यन्त जोखिमपूर्ण छ ।

चिनियाँ सरकारी सञ्चार माध्यमले भाइरस उत्पति र फैलावटका विषयमा अमेरिकन र पश्चिमा सञ्चार माध्यमले हल्ला फैलाएको आरोप लगाउने गरेको छ ।

‘जब भाइरस उत्पतिको विषयमा आउँछ तब अमेरिकी जनतामा एक प्रकारको पागलपन देखापर्छ’, चिनियाँ कम्युनिस्ट सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सको सम्पादकीय भन्छ ।

यसको बदलामा चिनियाँ सरकारले भाइरस उत्पतिको सम्बन्धमा अर्को सिद्धान्त अघि सारेको छ । उसका अनुसार कोरोना भाइरस वुहानमा चिस्याएको मासुमार्फत पुगेको हो । यस्तो मासु कि त चीनबाट अथवा दक्षिण पूर्वी एसियाबाट वुहान पुगेको चीन दाबी गर्छ ।

अर्को सिद्धान्त पनि छ ?

छ, त्यसलाई ‘प्राकृतिक उत्पति’ सिद्धान्त भनिन्छ ।

यस सिद्धान्तअनुसार भाइरस प्राकृतिकरूपमा नै जनावरबाट मानिसमा सरेको हो । वैज्ञानिक र प्रयोगशालाको यसमा कुनै सम्बन्ध छैन ।

भाइरस प्राकृतिकरूपमा नै उत्पति भएको सिद्धान्तमा विश्वास राख्नेहरूको मत रहेको छ कि कोरोना भाइरस चमेराबाट मानिसमा सरेको हो । यस प्रक्रियामा अन्य जनावर माध्यमका रूपमा सामेल भएको हुनसक्ने उनीहरूको विश्वास रहेको छ ।

यो सिद्धान्त डब्ल्युएचओको प्रतिवेदनले पनि स्वीकार गरेको छ, जसमा भनिएको छ, ‘यो सम्भावना पूर्णरूपमा स्वीकार्न सकिन्छ कि कारोना कुनै माध्यममार्फत मानिसमा सरेको हुनसक्छ ।’

यो सिद्धान्त महामारीको शुरूवाती चरणमा धेरै हदसम्म विश्वास गरिएको थियो । समय बित्दै जाँदा वैज्ञानिकहरूले चमेरामा वा अर्को कुनै जनावरमा भाइरसको आनुवंशिकता फेला पार्न सकेका छैनन् । यसकारण यो सिद्धान्तप्रति विश्वास घट्दै छ ।

यसले के फरक पार्छ ?

भाइरसका कारण फैलिएको महामारीले विश्वभर ३५ लाख मानिसको ज्यान लिएको अवस्थामा वैज्ञानिकहरूले भाइरस कहाँबाट कसरी फैलियो भन्ने पत्ता लगाउने प्रयास गर्दैछन् । यसले गर्दा भविष्यमा यो भाइरसका कारण हुन सक्ने सक्रमण रोक्न सकिने उनीहरूको विश्वास छ ।

यदि प्रयोगशालाबाट अथवा चिस्याएको मासुबाट भाइरस फैलिएको भन्ने सिद्धान्त पुष्टि भएको अवस्थामा त्यसले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो प्रभाव पार्नेछ ।

भाइरस कहाँबाट बाहिरिएको थियो भन्ने कुरा पत्ता लाग्दा विश्वले चीनलाई हेर्ने नजरमा परिवर्तन आउने छ । चीनलाई महामारीका विषयमा आवश्यक जानकारी लुकाएको आरोप लाग्ने गरेको छ । भाइरसको उत्पति पत्ता लागेको अवस्थामा अमेरिका–चीन सम्बन्धमा थप समस्या आउन सक्नेछ ।

‘शुरूवाती दिनबाट नै चीनले यो विषय लुकाउन खोज्दै छ’, वासिङ्टनस्थित अटलान्टिक काउन्सिलका जेमी मेटजेलले बीबीसीलाई बताए । उनीले महामारीको शुरूवाती अवस्थामा नै प्रयोगशाला सिद्धान्तलाई गम्भीररूपले लिनुपर्ने बताएका थिए ।

‘जब प्रयोगशालाबाट बाहिरिएको सिद्धान्तमा मानिसको विश्वास बढ्दै छ, हामीले यो हाइपोथेसिसलाई आवश्यक पर्ने सबै कुरा अनुसन्धान गर्न पाउनुपर्ने माग गर्नुपर्छ ।’

हतारमा चीनका विरुद्ध औँला उठाउने विषयमा भने सावधान हुनुपर्छ ।

‘यस विषयमा हामीले केही धैर्य अपनाउनुपर्छ, यसका साथै हामीले कूटनीतिक क्षमता पनि प्रदर्शन गर्न जरुरी हुन्छ । चीनको समर्थन विना हामी यो काम गर्न सक्दैनौँ । यसलाई आरोप प्रत्यारोप गर्ने खेल बनाउनु हुँदैन’, बीबीसीसँग कुरा गर्दै सिङ्गापुरस्थित न्याशनल विश्वविद्यालय अस्पतालका प्राध्यापक डेल फिशर भन्छन् ।

(२७ मे २०२१ मा बीबीसीमा प्रकाशित यो सामग्री खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम