ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन | Khabarhub Khabarhub

ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही असोज ६ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, कपनस्थित मिलन चोकमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विश्वकर्मा आइतबार ललितपुरस्थित महाङ्काल गाउँपालिकामा वागमती नदी किनारामा मृत भेटिए ।

उज्ज्वलको परिवारले शव पहिचान गरेपछि प्रहरीले पोस्टमार्टमका लागि ललितपुरस्थित पाटन अस्पतालमा पठायो । अन्तिम दाहसंस्कार हुन सकेको छैन ।

उज्ज्वल खसेको ढल निर्माणको जिम्मा बागमती प्रदेश सरकार अन्तर्गतको सिँचाइ डिभिजन कार्यालयले गत वर्ष ‘थापा निर्माण’ कम्पनीलाई दिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले गत जेठमै काम सम्पन्न गरेर भुक्तानी लिइसकेको छ ।

सामान्यतया आफ्नो वडाभित्र भएका विकास र विनाश दुवै कुराको जानकारी सम्बन्धित वडा अध्यक्षले राख्नुपर्ने हो, तर सम्बद्ध वडा नम्बर १२ का अध्यक्ष बेखबर छन् ।

वडा अध्यक्ष शम्भुप्र्रसाद भट्टराईलाई उक्त ढल निर्माणको काम बागमती प्रदेश सरकारको सिँचाइ विभागले गरेको हो भन्नेमात्र थाहा छ ।

कुन कम्पनीले वा ठेकेदारले निर्माणको जिम्मा पायो, कसरी काम भयो, कुन इन्जिनियरको डिजाइनमा काम भयो केही थाहा छैन । उनका अनुसार वडाले ढल निर्माणमा समन्वय गर्नेबाहेक अरू कुनै जिम्मेवारी पाएको छैन । उज्ज्वलको मृत्युको घटनाबारे उनले भने, ‘नघट्नु पर्ने घटना घटिसकेको छ । त्यसमा वडाले सक्ने सहयोग पीडत पक्षलाई गर्छ ।’

उक्त ढल बूढानीलकण्ठको वडा नम्बर १२ र काठमाडौँ महानरपालिकाको वडा नम्बर ६ को सीमानामा बनेको छ । काठमाडौँतर्फका वडा अध्यक्ष दीपेन्द्र लामाले बालक ढलमा खसेको घटना पाँच दिनपछि मात्र थाहा पाए । बालकको परिवारबाट आफूलाई कुनै जानकारी नआएको उनको भनाइ छ ।

परिवारजन र अन्य कुनै पनि पक्षबाट घटनाबारे आफूलाई जानकारी नआएकाले पीडित परिवारलाई क्षतिपूर्ति दिने कुरा अघि नबढेको उनले बताए । उनले भने, ‘सम्बन्धित पक्षबाट मलाई खबर आएको छैन । म आफैँ जान्ने पनि हुनु भएन, खबर आयो भने वडाले सक्ने सहयोग गर्न म तयार छु ।’

प्रदेश सिँचाइ डिभिजन कार्यालय प्रमुख यादव सिग्देलका अनुसार गत वर्ष थापा निर्माण कम्पनीलाई ७५ लाख रुपैयाँमा ६५ मिटर ढल निर्माण गर्ने जिम्मा दिइएको थियो । उक्त कम्पनीले आफ्नो काम गत जेठमा सकेर भुक्तानी लिएको छ ।

उज्ज्वल ढल निर्माण हुन बाँकी रहेको ठाउँमा खसेका थिए ।

सिग्देलका अनुसार निर्माणकै क्रममा त्यस्तो घटना भएकोे भए निर्माण कम्पनीले नै क्षतिपूर्ति सम्बन्धित व्यहोर्नु पथ्र्यो । त्यसका लागि बीमा लगायतको व्यवस्था हुन्छ, तर निर्माण सम्पन्न भइसकेकाले क्षतिपूर्तिको कानूनी व्यवस्था नरहेको उनले बताए ।

निर्माण गर्न बाँकी ढल पनि टेन्डर प्रक्रियामा गइसकेकाले छिटै काम सुरु हुने सिग्देलले बताए । घटना हुनमा सरकारी पक्षबाट पनि केही कमीकमजोरी भएको भन्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए ।

स्थानीयवासीका अनुसार ढल निर्माण भएपछि बाँसको बार हालिएको थियो । अहिले त्यस्तो बार छैन । स्थानीयवासी सुरेशप्रसाद साहका अनुसार अविरल वर्षाका कारण ढलमा पानीको सतह बढेपछि पानीले बाटो पनि छोपेको थियो । उज्ज्वल त्यसैमा खसेका थिए ।

उनी भन्छन्, ‘बच्चा नजिकै एक जना बुढो मान्छेसँग बसिरहेको थियो, कतिबेला खसेछ ! कसैले बचाउने मौका नै पाइएन ।’

उज्ज्वल त्यस दिन खरिबोटमा रहेको फुपुको घरबाट हजुरबासँग कपन आएका थिए । उज्ज्वलका बुबाआमा कहाँ छन् भन्ने कसैलाई थाहा छैन । उज्ज्वल सानै छँदा बुबाआमा बेपत्ता भएपछि उनी हजुरबा र फुपुको आश्रयमा थिए ।

त्यस दिन घरबाट हिँड्दा पानी परेको थिएन । बीच बाटोमा पानी पर्दा हजुरबा ओत लागे । उज्ज्वल बाटो काटेर अघि बढ्ने क्रममा ढलमा खसेर बेपत्ता भएको फुपु अनिता कोइरालाले बताइन् ।

दुई लाख रुपैयाँ दिने तयारी

वडा अध्यक्ष भट्टराईले वडाको तर्फबाट क्षतिपूर्ति स्वरूप पीडिलाई दुई लाख रुपैयाँ दिने बताए । व्यक्तिको मूल्य तोक्न नसकिने भएकाले क्षतिपूर्ति स्वरूप उक्त रकम उपलब्ध गराउने र अस्पतालमा पोस्टमार्टम गर्दा लाग्ने खर्च वडाले व्यहोर्ने उनले बताए ।

काठमाडौँ महानरपालिकाको वडा नम्बर ६ बाट पनि दुई लाख रुपैयाँ दिलाउन आफूले आग्रह गर्ने भट्टराईले बताए । पीडित पक्षबाट ठूलो रकम माग भएको पनि उनले बताए । भट्टराईले भने, ‘नियम कानूनमा रहेर क्षतिपूर्ति दिनुपर्न भएकाले पीडित पक्षको माग अनुसार वडाले रकम दिनसक्दैन ।’

न्याय पाउने अपेक्षा

उज्ज्वलको परिवारजनलाई सरकारले न्याय दिने आशा छ । क्षतिपूर्तिका लागि सम्बन्धित वडा कार्यालयसँग छलफल चलिहरहेको उज्ज्वलकी फुपु अनिताले बाताइन् । उनले भनिन, ‘बुबाआमाको बुढेसकालको साहरा टुटेको छ, सरकारले न्याय दिन्छ भन्ने आशमा छौँ ।’

सम्बन्धित निकायले भविष्यमा सम्भाव्य दुर्घटनामा ध्यान नदिँदा सन्तान गुमाउनु परेको उनले बताइन् । यस्तो घटना हुन नदिन सरकार सचेत हुनुपर्ने उनको सुझाब छ । हजुरआमा धनमाया विश्वकर्माका आँखा ओभाएका छैनन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ५६ बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले