फेरि संस्कृत भाषाविरुद्ध प्रचार अभियान ! « Khabarhub
Logo
१५ श्रावण २०७८, शुक्रबार

फेरि संस्कृत भाषाविरुद्ध प्रचार अभियान !



विद्यालय तहमा कक्षा चारदेखि संस्कृत भाषाको पढाइ हुने गरेकामा सशस्त्र द्वन्द्वको बेला माओवादीले गाउँगाउँमा संस्कृतको अध्ययन–अध्यापन जबर्जस्ती बन्द गराएको थियो । संस्कृत भाषालाई ऐच्छिक विषयका रूपमा राखिएपछि थोरै विद्यालयहरूमा पढाइ हुने गरेको थियो । संस्कृतलाई नै मूल विषय बनाएर अध्यापन गराउने विद्यालयहरूले भने यसको पठनपाठन कायम राखेका थिए ।

केही समययता फेरि संस्कृत भाषालाई तारो बनाइएको छ । नेपालमा राष्ट्रिय स्तरका कतिपय सञ्चार माध्यममार्फत प्रायोजित रूपमा संस्कृत भाषा र हिन्दुत्वप्रति निकृष्ट, तर्कहीन र अनर्गल प्रचार अभियान चलाइएको छ ।

यस क्रममा कसैले संस्कृत भाषाबाट ‘हिन्दु तालिबान’ उत्पन्न हुन सक्ने देखेका छन् भने तथाकथित प्रगतिशीलहरूका अनुसार उनीहरूले ‘मृत’ भनेको संस्कृत भाषा ‘जबर्जस्ती’ पढाइँदैछ । यी विकृत मनोभावयुक्त विचारहरूको अन्तर्निहित मर्म बुझ्न ‘संस्कृत’ र ‘तालिबान’ बारे केही जान्नुपर्ने हुन्छ ।

संस्कृत भाषा वास्तविक संस्कृता, वाक् संस्कृता, वाक् भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक् इत्यादि नामले पनि चिनिन्छ । ‘संस्कृत’ शब्दको अर्थ हुन्छ परिमार्जित अथवा संस्कारित ।

विश्वका प्राचीनतम भाषाहरूमध्येको संस्कृत भाषा ‘भारोपेली भाषा परिवार’ मा वर्गीकृत छ । संस्कृत भाषामा मुख्यतया देवनागरी लिपि प्रयोग गरिन्छ । आधुनिक दक्षिण एसियाली भाषाहरू नेपाली, हिन्दी, उर्दू, कश्मीरी, उडिया, बङ्गाली, मराठी, सिन्धी, पञ्जाबी, आदिको जग संस्कृत भाषा नै हो । लगभग सबै जसो हिन्दु धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् ।

अहिले मुख्यतया धार्मिक प्रयोजनमा मात्र प्रयोग हुने गरे पनि संस्कृत भाषा हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचित ‘अमरकोश’ विश्वको प्राचीनतम शब्दकोश हो । संस्कृत भाषाको सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताका कारण सर्वश्रेष्ठता पनि स्वयंसिद्ध छ । सर्वाधिक महत्त्वपूर्ण र पुरानो साहित्यको धनी हुनाले यसको महत्ता पनि निर्विवाद छ । संस्कृत केवल स्वविकसित भाषा नभई संस्कारित पनि हो ।

विश्वका सबैजसो भाषामा कुनै शब्दको एक वा केही रूपमात्र हुन्छन् तर संस्कृतमा प्रत्येक शब्दका कम्तीमा पच्चीस रूप हुन्छन् । सबै भाषाहरूमा एकवचन र बहुवचन हुन्छ, संस्कृतमा द्विवचन पनि हुन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता सन्धि प्रक्रिया हो । संस्कृत भाषामा दुई वटा शब्दको सन्धि भई स्वरूप र उच्चारण परिवर्तन हुन्छ ।

संस्कृत भाषाबाट को डराइरहेका छन् ? ‘मृत भाषा’ भन्दै प्रचारमा जो जुटेका छन् उनीहरू संस्कृतमा निहित बृहत् ज्ञानसागरबाट भयभित छन् । तिनलाई विद्यालयमा केही विद्यार्थीले ऐक्षिक विषयमा संस्कृत पढेको पनि असह्य भएको छ ।

संस्कृत वाक्यमा शब्दहरूको क्रम परिवर्तन गरिए पनि शब्द, विभक्ति वा वचनअनुसार अर्थ परिवर्तनको सम्भावना हुँदैन । ‘संस्कृत’ विश्वको सर्वाधिक ‘पूर्ण’ एवं ‘तर्कसम्मत’ भाषा हो । संस्कृत भाषाको अध्ययनबाट हातका औँला र जिब्रो लचिलो भई वाक्प्रष्टता हुन्छ । अन्य भाषाका लागि पनि सहयोगी हुन्छ । गणित र विज्ञानमा पनि सहयोगी हुन्छ । जति कडा प्रतिक्रिया जनाए पनि हिन्दु, बौद्ध र जैनहरूका नाम संस्कृतमै आधारित छन् ।

‘तालिबान’ वा ‘तालेबान’ नामले चिनिने समूह सुन्नी इस्लामिक आधारवादी आन्दोलन हो । यसको शुरूआत सन् १९९० मा उत्तरी पाकिस्तानमा भई सन् १९९४ सम्ममा दक्षिणी अफगानिस्तानसम्म विस्तार भएको थियो । पश्तून आन्दोलनलाई टेकेर तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गर्न गर्‍यो ।

पश्तो भाषाको शब्द ‘तालिबान’ को अर्थ ‘ज्ञानार्थी’ अर्थात् ‘छात्र’ हो जसले इस्लामिक कट्टरपन्थी विचारधारामा विश्वास गर्छ । यसको सदस्यता पाकिस्तान र अफगानिस्तानका मदरसामा अध्ययनरत छात्रहरूलाई दिइन्थ्यो । मुल्ला उमरको नेतृत्वमा तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाएको थियो । त्यसपछि २००४ सम्म लुप्तप्रायः रहेको तालिवानले २००९ मा पाकिस्तानको स्वात उपत्यकामा सरकारसँग सम्झौता गर्दै मानव हत्या नगर्ने शर्तमा शरीयत अनुसार कार्यक्रम सञ्चालन गर्न छुट पायो ।

पाकिस्तान, सउदी अरब र संयुक्त अरब अमीरातबाट मात्र मान्यता प्राप्त तालिबानलाई मदरसा खर्च सउदी अरबबाट प्राप्त हुने गर्दथ्यो ।

कट्टरपन्थी विचारधाराबाट प्रेरित तालिबानी शासनमा पुरुषले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने र महिलाले बुर्का लगाउनुपर्ने नियम थियो । पुरुष डाक्टरबाट जाँच गराउन नमिल्ने महिला कानून थियो । दस वर्ष उमेरपछि छात्रालाई स्कुल जान निषेध गरिएको थियो ।

टीभी, म्यूजिक, सिनेमा लगायतका मनोरञ्जनका साधान प्रतिबन्धित थिए, अफगानी महिलालाई जागिर खान इजाजत थिएन । पुरुष नातेदारसँग बाहेक घरबाहिर निस्किने महिला बहिष्कृत हुन्थिन् । प्रेम विवाह गर्नेलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिने नियम थियो ।

संस्कृत भाषा पढ्नेलाई यस्तो तालिबानी शासनसँग तुलना गर्नु घृणित र विचलित मानसिकताको उपज हो । नेपालमा हिन्दु राष्ट्र रहँदा वा अहिले धर्म निरपेक्षतामा पनि हिन्दु संघसंस्थाहरूबाट उत्तेजना वा अराजकता प्रदर्शन भएको छैन । प्रायोजकलाई सन्तुष्ट पार्न ८० प्रतिशतभन्दा बढी हिन्दुहरूको भावनालाई आहत गर्ने गरी संस्कृत भाषामाथि अविवेकी प्रचार हुने गरेको छ ।

संस्कृत भाषाको विरोध गर्नेहरूले आफ्नो मातृ भाषा प्रष्ट बोल्न नसक्ने अबोध र कलिला बालबालिकालाई जबर्जस्ती संस्कृत भाषा पढाएको आरोप लगाउने गरेका छन् । शिशु जन्मदै सिकेर आएको हुँदैन । परिवार र आफ्नो समाजबाट मातृभाषालाई स्वतः बोल्न सिक्दै जान्छ ।

अहिले बिर्सिसकेको जस्तो देखिए पनि कुनै समयमा संस्कृत भाषा नेपालमा बोलिको भाषा थियो । काँचो माटोबाट मात्र भाँडा बनाउन सकिन्छ । भाषाको अध्ययन कलिलो उमेरमा मात्र सहज हुन्छ । अन्यथा आफ्नै पुर्खाले दिएको ज्ञान र सीप बुझ्न पनि अर्को भाषामा गरिएको अनुवादको भर पर्नुपर्ने हुन्छ ।

संस्कृत भाषालाई हिन्दु उच्च जातिगत मनोकांक्षा पूर्तिको माध्यम भनेर आरोप लगाउने गरेको पनि देखिन्छ ।

वेद, महाभारत र श्रीमद्भागवतका रचनाकार तनहुँको दमौलीमा जन्मेका महर्षि वेदव्यास ऋषि परासर र माझी कुलकी कन्या सत्यवतीका सन्तान थिए । ऋषिहरूको जातथर नहुने भएकोले व्यास माझीका सन्तान मानिए । हिन्दूहरूको महान ग्रन्थ रामायणका रचयिता वाल्मीकि रत्नाकर नामका डाकु थिए भन्ने मानिएको छ । ती डाकुलाई संस्कृतले नै वाल्मीकि बनाएको थियो ।

यी सबै महान रचनाहरू संस्कृत भाषामा भए । त्यसैले महान संस्कृत भाषालाई उच्च जातिको घेराभित्र सीमित देखाई अपमानित गर्नु घृणित मानसिकताको उपज मात्र हो ।

संस्कृत भाषाका प्रसिद्ध व्याकरणशास्त्री पाणिनि हुन् । अर्घाखाँचीमा पाणिनि बसेको ठाउँ पणेना नामले प्रशिद्ध छ र पणेना गाउँपालिका छ । । संस्कृत भाषाका धेरै जसो महान रचनाहरू वर्तमान नेपालमै भएको प्रामाणिक तथ्यहरू छन् । हाम्रा पूर्वजहरूले दिएको संस्कार रक्षा गर्ने दायित्व पनि हाम्रै हो ।

हिन्दुत्वबाट त्रसित जमातले बेलाबखत कटुतापूर्ण, अमर्यादित र अभद्र टिप्पणी गर्ने गरेको छ । पशुपतिनाथले राजा वीरेन्द्रको रक्षा गर्न सकेनन् भनेर कटु अभिव्यक्ति दिने एक नेताले पछि स्पष्टीकरण दिनुपरेको थियो । अहिले कोरोना महामारीलाई जोडेर पनि हिन्दु र बुद्ध धर्ममाथि नकारात्मक टिप्पणी भएको सुनिएको छ ।

बहुसंख्यक नेपालीको चाहनाअनुसार देश पुनः हिन्दु राष्ट्र हुनसक्ने सम्भावना बढ्दै गएको देखेर अत्तालिएका मिशनरी प्रायोजित कलमजीवीहरू आफ्नै पुर्खालाई सत्तोसराप गर्न लागिपरेका छन् ।

संस्कृत भाषाप्रतिका पूर्वाग्रही प्रतिक्रियाहरू विशेष प्रयोजनबाट निर्देशित छन् । सरकारले भगवान पशुपतिनाथको शिवलिङ्गमा सुनको जलहरी चढाएपछि र हिन्दु धर्मका केही पर्व बिदाको सूचीमा राखेपछि केही व्यक्तिहरू विचलित भएका छन् । उनीहरू धर्म निरपेक्षताका नाममा हिन्दु धर्म र संस्कृत भाषा विरुद्ध विष वमन गर्न लागिपरेका छन् ।

बहुसंख्यक नेपालीको चाहनाअनुसार देश पुनः हिन्दु राष्ट्र हुनसक्ने सम्भावना बढ्दै गएको देखेर अत्तालिएका मिशनरी प्रायोजित कलमजीवीहरू आफ्नै पुर्खालाई सत्तोसराप गर्न लागिपरेका छन् ।

माओवादीले द्वन्द्वकालमा बलपूर्वक बन्द गराएको संस्कृत भाषाको पढाइ हुन थाल्नु आफूलाई प्रगतिशील भन्नेहरूका लागि पराजय बोधक बनेको छ । प्रगतिशीलताको अर्थ संस्कार र सांस्कृतिक परम्पराहरूको विसर्जन होइन ।

कोभिड–१९ को उपचार विधिमा पनि परम्परागत आयुर्वेद र योगले प्रमुखता पाएका छन् । सम्पूर्ण विश्व समुदायले हाम्रो संस्कार र संस्कृतिलाई सम्मान दिएको छ । यो सम्मानको भाषागत आधार संस्कृत नै हो ।

विधि फरक भए पनि विश्वका सबै धर्म अथवा सम्प्रदायमा जन्म, नामकरण, विवाह र मृत्यु संस्कार गरिन्छन् । प्रगतिशील हुन अराजक हुनु पर्दैन । आफ्न पुर्खाले सृजना गरिदिएको ज्ञान र आदर्शलाई समयसापेक्ष परिष्कार गर्नुपर्छ, सुधार गर्नुपर्छ तर अपमान स्वीकार्य हुँदैन ।


भर्खर

0