प्रसिद्ध हिन्दु राजा क्षेत्रपति शिवाजी गुरु रामदासका शिष्य थिए । उनले जीवनपर्यन्त हिन्दुत्व र हिन्दु राज्यको संरक्षणका लागि शक्तिशाली मुगल सम्राटहरुसँग बहादुरीका साथ लडे ।
शासकहरु साधारणतः भोगी र विलासी हुन्छन् । तर शिवाजी आफ्नो सिद्धान्तप्रति समर्पित, नीतिवान र अनुशासित व्यक्ति थिए ।
एक पटक उनका एक वीर सेनापतिले महाराष्ट्रको कल्याण किल्ला जिते । त्यो जितबाट उनलाई अस्त्र–शस्त्रसहित धेरै सम्पत्ति पनि हात लाग्यो । एक सैनिकले त्यस किल्लाका मुगल किल्लापतिकी परम सुन्दरी बुहारीलाई सेनापतिका अघि पेश गरे ।
सेनापति त्यस नवयौवनाको परम सौन्दर्यमाथि मुग्ध भए । यस्ती सुन्दरीलाई यदि मैले भेटीको रुपमा शिवाजीलाई चढाएँ भने उनी मसँग पक्कै औधी खुशी हुनेछन् भन्ने ठानेर एउटा पालकीमा उनलाई बोकी राजधानीतिर लागे ।
शिवाजीको नजिक पुगेर सेनापतिले भने, ‘महाराजको जय होस् । कल्याणको किल्ला हामीले जित्यौँ । धेरै अस्त्र शस्त्र हाम्रो लागेको छ ।’
शिवाजीले स्याबास भन्दै सेनापतिलाई अँगालो हाले ।
सेनापतिले खुशी हुँदै भने, ‘तपाईंको महलको शोभाका लागि मैले सुन्दर बहुमूल्य हीरा पनि ल्याएको छु । त्यो पालकीमा छ । तपाईं आफै गएर हेर्नुस् ।’
शिवाजीले कौतूहलवश पालकीको पर्दा उठाए । सुन्दर नवयौवनालाई देखेर भने, ‘यदि मेरी आमा पनि यति नै रुपवती भएकी भए, म पनि यत्तिकै सुन्दर हुन्थेँ होला !’
उनको शिर लज्जाले झुक्यो । सेनापतिलाई हप्काउँदै उनले भने, ‘मसँग यत्तिका दिनसम्म बसेर पनि तिमीले मेरो स्वभाव बुझ्न सकेका रहेनछौ । मैले पनि आफ्नो विलासका लागि मुगलका छोरी–बुहारीहरुको इज्जतसँग खेलवाड गर्न थालेँ भने म र मुगलहरुबीच फरक नै के भयो ? शिवाजी अरुकी छोरी–बुहारीलाई आफ्नी आमासमान सम्मान गर्छु । जाऊ यिनीसँग माफी माग । यिनलाई पूर्ण सम्मानका साथ उनका परिवारलाई जिम्मा लगाएर आऊ ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया