बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै | Khabarhub Khabarhub

बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज (बुधबार) र भोलि (बिहीबार) विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।

यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताए। लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भने ।

ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।

वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।

चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नं. ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ ।

टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् ।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५९ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त