त्यो नयाँ ठाउँमा पनि आश्रम बनाउँछौ कि मित्रसेन ! « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

त्यो नयाँ ठाउँमा पनि आश्रम बनाउँछौ कि मित्रसेन !



हिँउदको एक दिन अचानक मित्रसेनको फोन आयो । भोलिपल्ट लप्सेफेदी जान निम्ता गरे । सवारी साधनको व्यवस्था उनैले गरेका थिए ।

साँखु हुँदै शालीनदी तरेर जङ्गलको उकालो पार गर्दै मित्रसेनले बोलाएको ठाउँमा पुग्दा दिन मध्याह्नबाट ओह्रालो लागेको थियो । यस्तै बीसतीस जना मानिसहरूका बीच वयोवृद्ध डा. मृगेन्द्रराज पाण्डे देखिए । मित्रसेन एउटा सानो पूजाको तयारीमा थिए ।

आज फर्केर सम्झिन खोज्दा त्यस दिनको तिथिमिति पत्तो लागेन । यति थाहा छ, २०७२ सालको विनाशकारी भूकम्पभन्दा बढीमा एक वर्ष अघि हुनुपर्छ ।

बारीका साँघुरा पाटाहरूमध्ये एउटामा थोरै पूजा सामग्री तयार थियो । नजिकै एउटा खाल्टो खनिएको थियो । मैले बल्ल अनुमान गरेँ, आज यहाँ केही शिलान्यास हुँदैछ । मित्रसेनलाई सोधेँ, यहाँ खास के हुन लागेको हो ! मरो अनुमान सही ठहरियो । आफ्नो व्यस्तताबीच सङ्क्षेपमा भने, ‘यहाँ आश्रम बन्दैछ, आज शिलान्यास हो ।’

शिलान्यास भयो, उनै वृद्ध डाक्टरका बाहुलीबाट । उनले सङ्क्षिप्त मन्तव्य दिए । निकै महत्त्वाकाङ्क्षी योजनाका साथ ठूलो आश्रम बन्दैछ भन्ने थाहा भयो । मैले त्यो पाखो नियालेँ । सुख्खा पाखो बारी छ, कान्लै कान्ला भएका साँघुरा पाटाहरू छन् । यही मेसोमा मित्रसेनले आश्रमले चर्चिने जमिनको चार किल्ला औँलाले देखाए ।

यति बेलासम्ममा काठमाडौँ फर्किन हतार हुन थालेको थियो । काठमाडौँबाट यति टाढा यो पाखो बारीमा कस्तो आश्रम बन्ने हो, यहाँ को बस्न आउने हुन्, म यसै रनभुल्लमा परेँ ।

मित्रसेनलाई मैले चिनेको २५ वर्ष हुनै लाग्यो । मैतिदेवीतिर रहेको उनको विज्ञापन एजेन्सी कार्यालयमा एउटा सन्देश सामग्री बोकेर पुगेको थिएँ । मलाई त्यहाँ जान सिफारिस गर्नेको नाम लिएपछि उनले मसँग केही बेर भलाकुसारी गरेका थिए । विज्ञापनमा उल्लिखित विषयबारे जानकारी लिएका थिए । त्यो एउटा समवेदना सन्देश थियो ।

त्यसपछि मित्रसेनसँग फाटफुट भेट हुन्थ्यो । मित्रसेन धेरै मानिसका मित्र थिए । उनको मित्रताको दायरा साँच्चै अतुलनीयरूपमा फराकिलो थियो । त्यसो हुनुको कारण थियो उनको फरासिलो मिजास र सामाजिक सेवाप्रतिको लगाव ।

शिलान्यासबाट फर्केको निकै दिनपछि मैले फोन गरेँ ।

‘मित्रसेनजी ! आश्रमको काम के हुँदैछ ?’
‘धमाधम छ, तपाईंलाई एक पटक लैजान्छु ।’
‘तपाईंले भन्नुस् मात्रै, म तयारै छु ।’

विनाशकारी भूकम्प गयो । हाहाकार मच्चियो । शान्त हुँदै गएपछि फेरि एक दिन फोन गरेँ ।

‘मित्रसेनजी ! आश्रमको काम के हुँदैछ ?’
‘भुइँचालोले बरबाद पारिहाल्यो नि, काम रोकिएको छ ।’

निकै लामो समयपछि फेरि फोन गरेर उही जिज्ञासा राखेँ । मित्रसेन उत्साहका साथ बोले, ‘काम धमाधम छ, एक दिन तपाईंलाई लैजान्छु ।’ मैले आफू प्रतीक्षारत हुने उही कुरा दोहोर्‍याएँ ।

नभन्दै एक दिन मित्रसेनले फोन गरे, ‘भोलि आश्रम जाने, बिहान ठिक दश बजे चाबेल चोकमा आउनुहोला ।’

दिन पनि कस्तो ! लक्ष्मी पूजा ! दश बजे चाबेलमा भेला भएर त्यो अनकन्टारमा कति बेला पुग्ने !

फेरि नेपाली टाइम त छँदै छ । फर्किंदा कुन बेला हुने हो ! घरबाट स्वीकृति मिल्ने छाँट देखिएन । जे पर्ला । कति नै ठूलो पूजा गर्ने हो र हामीले ! त्यही पनि कसो नआइपुगुँला त !

जाने निर्णय भयो । नेपाली टाइमले किन छाड्थ्यो ! चाबेल चोकमै बिहानको एघार नाघ्यो । गाडीमा अमर न्यौपाने र एकल सिलवाल देखापरे । मदन पुरस्कार प्राप्त कृति ‘सेतो धर्ती’ खुब मन पराएर पढेको थिएँ । आज अमर भेटिए । भलाकुसारी हुने आशाले मन प्रशन्न भयो ।

आश्रममा पुग्दा अचम्मै मान्ने दृश्य गोचर भयो । त्यो उराठिलो पाखो चिटिक्क परेका साना–ठूला थुप्रै घरहरूले रमणीय बनेको थियो । प्रवेशद्वारमा लेखिएको थियो- ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम ।

मित्रसेनले आश्रम परिसर घुमाए, देखाए र विस्तारमा बुझाए- यो आश्रमको कार्यालय भवन ! यी आवास सशुल्क बस्ने दम्पतीका लागि ! एक्लो सशुल्क आश्रितका लागि यतापट्टि ! यी चाहिँ सातादश दिन यहाँ आएर बस्न चाहने जो कोही सशुल्क पाहुनाका लागि ! यो निःशुल्क आश्रय पाउनेहरूको संयुक्त आवास !

मित्रसेनले देखाउँदै गए- यो अस्पताल ! यो सभा कक्ष ! यो भजनकीर्तन गर्ने ठाउँ । यो डाइनिङ हल ! अझै धेरै निर्माण गर्न बाँकी छ । आवास शुरू हुन अझै कम्तीमा एक वर्ष लाग्छ होला !

मित्रसेन एक अब्बल समाजसेवी थिए । एक अब्बल व्यवसायी थिए । मान्छेसँग मित्रता गाँस्ने कलामा अब्बल थिए । सुरुमा उनलाई विज्ञापन व्यवसायीका रूपमा चिनेको हुँ, पछि समाजसेवीका रूपमा अनि एक सक्रिय लेखकका रूपमा र एक सक्रिय राजनीतिक कार्यकर्ताका रूपमा ।

एउटा ठूलो भवनको भुइँतलमा मित्रसेनले स्मरण गरे, ‘तपाईं शिलान्यासमा आउनुभको थ्यो नि !’
‘हो नि !’
‘ल भन्नुस्, शिलान्यास गरेको ठाउँ काँ हो ?’
‘लौ बित्याँस परो ! म बाहिर गएर हेर्छु ।’
सबैतिर नजर घुमाएँ । कसरी पत्तो लाग्थ्यो र !
‘खोइ, भन्न सकिनँ, यतैतिर हुनुपर्छ ।’
‘यहीँ हो, शिलान्यास गरेको ठाउँमा बनेको घर यही हो ।’

घर आइपुग्दा झमक्कै भयो । लक्ष्मीपूजाका लागि श्रीमतीजी प्रतीक्षारत छिन् । दिनभरिको सरसफाइको कामले थकित छिन् । साँखु जाने धुलाम्मे सडकको दोहोरो यात्रा ! थकानले मेरो शरीर भतक्कै भएको छ । सुलुक्क ननुहाई कसरी पूजामा बस्नू ! जसोतसो पूजा सकियो ।

श्रीमतीजीले कटाक्षको भावमा जिज्ञासा राखिन्, ‘कस्तो रछ त आश्रम ? मस्ती भयो होला नि !’
‘श्रीमतीजी ! मन सारै प्रशन्न भो, आजको यात्रा सफल भो !’
‘के रछ त तेस्तो !’
‘सब थोक रछ श्रीमतीजी ! हामी दुवै जना एक रात बस्ने गरी जानुपर्छ कुनै दिन !’
‘लौ, हेरूँ !’

‘श्रीमतीजी ! मित्रसेन भन्ने मान्छे साँच्चै अद्भूत रछन्, त्यो उद्घाटनको दिन त मैले पत्याएकै थिइनँ, आज छक्कै परेँ ! मान्छेले एकोहोरिएपछि मात्रै यस्तो काम गर्न सक्छ !’

श्रीमतीले पूजाको प्रसाद दिइन् ।

मित्रसेनले आश्रम उद्घाटनका अवसरमा कोटी होम लगाए । राष्ट्रपतिलाई सहभागी गराएर उद्घाटन गराए । धेरै उच्च पदस्थहरूलाई त्यहाँ पुर्‍याए । मलाई पनि निम्तो गरेका थिए । खोइ, के कारणले हो, जान सकिनँ । केही दिनपछि मित्रसेन एउटा आकर्षक सम्मानपत्र पुर्‍याउन मेरो कार्यालयमै आए ।

आश्रममा बसोवास शुरू भयो । थप निर्माणका लागि मित्रसेन कम्मर कसेर लागेका छन् । आश्रितहरूका लागि सहयोग जुट्न थाल्यो । आश्रितको संख्या बढ्न थाल्यो ।

म फाट्टफुट्ट फोन गर्छु ।

‘हालचाल के छ मित्रसेनजी ? आश्रम कस्तो चल्दै छ ?’

‘सब ठिक छ, तपाईं एक पटक बस्ने गरी जानुपर्छ, म लिएर जान्छु ।’

मित्रसेनले मिर्गौला प्रत्यारोपण गराएका थिए । ‘कथा र व्यथाको यात्रा’ मिर्गौला पीडाको कथा र यात्रा हो । बडो मार्मिक छ । यही किताबमा हो कि जस्तो लाग्छ, उनले लेखेका छन्- खाऊँ कि नखाऊँ भए नखानू, जाऊँ कि न नजाऊँ भए जानू ।

एकपटक मित्रसेनका एक जना सहयोगीको फोन आयो । आश्रममा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन रातै बस्ने गरी निम्तो दिए । खोइ ! के कारणले हो म जान सकिनँ । एक वर्षपछि फेरि त्यस्तै निम्तो आयो । फेरि पनि जान सकिनँ ।

यत्तिकैमा कोरोनाको कहर आयो । ज्येष्ठ नागरिक मैत्रिसेवा आश्रममा रातै बस्ने गरी दम्पती नै जाने साइत जुरेन ।

पछिल्लोपटक पोखरा गएका थियौँ । लुम्बिनी जाने कुरा हुँदै थियो, कोरोनाको मार पर्‍यो । गत महिनाको एक दिन कसरी हो, श्रीमतीजीले सम्झाइन्, ‘कोरोनाले गर्दा कतै जान पाइएन, त्यो आश्रममा बस्ने गरी जाने भन्या थ्यो नि, कैले जाने ! जाऊँ न एक दिन मौका पारेर ।’

‘हो त नि, मित्रसेनसँग सम्पर्क नभको धेरै भो, मित्रसेन वाँ भको मौका पारेर जानुपर्छ, म फोन गरेर मिलाउँछु ।’

फोन गरेकै थिइनँ । फोन सेटमा फेसबुक पेज सार्दै जाँदा कसैले मित्रसेनको फोटो राखेर ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेको देखेँ । म छाँगाबाट खसेँ । तुरुन्तै एउटा फोन गरेँ । घटना पुष्टि भयो । मैले पनि एउटा समाचार बनाएर ‘खबरहबडटकम’ मा पोस्ट गराएँ ।

मित्रसेन एक अब्बल समाजसेवी थिए । एक अब्बल व्यवसायी थिए । मान्छेसँग मित्रता गाँस्ने कलामा अब्बल थिए । सुरुमा उनलाई विज्ञापन व्यवसायीका रूपमा चिनेको हुँ, पछि समाजसेवीका रूपमा अनि एक सक्रिय लेखकका रूपमा र एक सक्रिय राजनीतिक कार्यकर्ताका रूपमा ।

समसामयिक चिन्तन प्रवाह, चिन्तन र अनुभूति, कथा र व्यथाको यात्रा, मान्छे बाँचिरहँदैन, गाउँ बने शहर बन्छ, मिर्गौला रोग र समाधान, आमा, चाँदनीको शहर; मैले अहिले सम्झेका र केहीमात्रामा पढेका; मित्रसेनकृत पुस्तकहरू हुन् ।

मित्रसेनका कृतिहरूमा राजनीतिक र साहित्यिक विषय बढी छन् । कथा र निबन्ध लेखेका छन् । उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । ‘कथा र व्यथाको यात्रा’ मिर्गौला पीडाको कथा र यात्रा हो । बडो मार्मिक छ । यही किताबमा हो कि जस्तो लाग्छ, उनले लेखेका छन्- खाऊँ कि नखाऊँ भए नखानू, जाऊँ कि न नजाऊँ भए जानू ।

त्यसपछि मेरालागि एउटा आदर्श बन्यो । खाऊँ कि नखाऊँ भए खान्नँ, जाऊँ कि नजाऊँ भए जान्छु ।

‘मिर्गौला रोग र समाधान’ पढेपछि मित्रसेन त डाक्टरै पो हुन् कि क्या हो जस्तो भयो । पीडितको लामो अनुभवको परिणाम जो थियो ।

मेरा र मजस्ता धेरैका मित्र मित्रसेन दाहालप्रति हार्दिक श्रद्धासुमन ! तिम्रो आत्माले शान्ति पाउनेछ मित्रसेन ! तिमी त्यसै बस्ने मान्छे होइनौ मित्रसेन ! त्यो नयाँ ठाउँमा पनि आश्रमको योजना गर्दै छौ कि !

मित्रसेन राजनीतिमा पनि उत्तिकै सक्रिय थिए, नेपाली कांग्रेसमा आबद्ध । आन्दोलनमा लागेबापत जेल परेका थिए । नेपाली कांग्रेसको अधोगतिमा उनलाई ठूलो चिन्ता थियो । ‘कांग्रेस पराजय : ओखलढुङ्गाको सेरोफेरोमा’, ‘कांग्रेस हिजो र आज’ त्यही चिन्ताका उत्पादन थिए । अन्य केही पुस्तकमा पनि नेपाली कांग्रेसलाई जोडेर राजनीतिबारे चिन्तन र चिन्ता गरेका छन् ।

मित्रसेनले आफ्ना बाबुको स्मरणमा ‘जेपी प्रतिष्ठान’ नाम राखेर सामाजिक संस्था चलाएका थिए ।

जयप्रसाद दाहाल उनका बाबुको नाम । त्यही प्रतिष्ठानमार्फत उनी समाजसेवामा सक्रिय थिए । आफ्नो गृह जिल्लामा थुप्रै स्कुल र विद्यार्थीहरूलाई सहयोग गरेका थिए ।

मित्रसेनको शरीरमा अनेका रोग थिए । मिर्गौला प्रत्यारोपण गराएका थिए । मुटुको नियमित परीक्षण गराउँथे । अन्ततः हृदयाघातले उनलाई यो मानव जगतबाट उमेर ६० वर्ष पनि नहुँदै चुँडेर लग्यो ।

मित्रसेन मन र मस्तिष्कका स्वस्थ थिए । सेवाभाव र सोही महत्त्वाकाङ्क्षाले ओतप्रोत थिए । दूरदर्शी थिए । हक्की र आँटी थिए । तब न उनले त्यो अनकन्टार पाखामा त्यति विशाल ज्येष्ठ नागरिक आश्रम बनाउन सके !

मित्रसेनको समाजसेवाका उत्तराधिकारीले उनको सेवाभाव र समर्पणलाई न्याय गर्न सकून् ! मेरा र मजस्ता धेरैका मित्र मित्रसेन दाहालप्रति हार्दिक श्रद्धासुमन ! तिम्रो आत्माले शान्ति पाउनेछ मित्रसेन ! तिमी त्यसै बस्ने मान्छे होइनौ मित्रसेन ! त्यो नयाँ ठाउँमा पनि आश्रमको योजना गर्दै छौ कि !

अल बिदा प्रिय मित्रसेन !


भर्खर

0