ओलीको नेतृत्वमा छिन्नभिन्न एमाले « Khabarhub
Logo
३० बैशाख २०७८, बिहीबार

ओलीको नेतृत्वमा छिन्नभिन्न एमाले



एउटा दल स्थापित हुन कति समय खर्चिनुपर्छ ? यसको गणितीय हिसाब कसैसँग छैन । दल निर्माणमा जनताको लगानी हुन्छ । जनताले आफ्नो काम छोडेर दल बनाइदिएका हुन्छन् । कति लगानी हुन्छ, यसको कुनै हिसाबकिताब हुँदैन ।

देशको समय, जनताको उमेर, राज्यस्रोत आदि जस्ता मूर्त–अमूर्त लगानीबाट दल निर्माण भएको हुन्छ । समर्थक हुन् वा कार्यकर्ता, यी सबै जनता नै भएकोले यसमा मुख्यरूपले देशकै लगानी भएको हुन्छ । जब त्यही दल लथालिङ्गको दलदलमा फस्न पुग्छ, अनि जनतालाई कति नोक्सान पुग्ला ?

सन् १९७७ मा जनता पार्टीका नाममा स्थापित भएको भारतीय जनता पार्टी (भाजपा) ले ५० वर्षको इतिहास पार गरेको छ । पछि सन् १९८० देखि भाजपाको नामबाट अहिलेसम्म यो पार्टी स्थापित छ ।

भारतको पुरानो र ऐतिहासिक पार्टी कंग्रेस आईलाई उछिनेर अहिले यो सत्ताको बागडोर सम्हालिरहेको छ । भारतीय जनताले उत्तम विकल्प देखेर भाजपा रोजेका थिए ।

नेपालको इतिहास हेर्ने हो भने प्रजा परिषदपछि राष्ट्रिय कांग्रेस र पछि नेपाली कांग्रेस प्रमुख दलमा स्थापित हुन पुगे । यही दौरानमा रसियन कम्युनिस्टको प्रभावबाट नेपालभित्र कम्युनिस्ट पार्टी भित्रिन पुगेको राजनीतिक इतिहास छ । त्यसपछि भारतमा झैँ नेपालमा पनि राणा शासनको अन्त्यपछि धेरै दलहरू खुले ।

स्थापना भएर केही दलहरू बिलाएर गए । थोरै दलहरू मात्र आफ्नो अस्तित्वमा छन् । अनि हातको औँलामा गन्न सकिने दलहरूले सत्तामा पहुँच राख्दै आएका छन् । विक्रम सम्वतको यो शातब्दीमा नेपाली कांग्रेस सदावहार पहिलो स्थानमै रह्यो । तर, यहाँ चर्चा नेपाली कम्युनिस्टको बारेमा गर्ने जमर्को गरिएको छ ।

नेपालको कम्युनिस्ट पार्टीभित्रको इतिवृत्ति भन्दा यसले फैलाएको राजनीति तरङ्गले यहाँको शासन सत्ता प्रभावित छ । पञ्चायतकालमा कम्युनिस्ट भूमिगत हुँदादेखि बहुदल आएपछि सत्ता बागडोरमा यसले महत्वपूर्ण अवसर प्राप्त गरिसकेको छ ।

नेपालको कम्युनिस्ट पार्टीहरूमध्ये ठूलो दल हो नेकपा एमाले । यसको इतिहास २००६ सालदेखि जोडिए पनि यो बहुदल आएपछि उदाएको पार्टी हो ।

यसले २०५० सालदेखि एउटा मुख्य दलको रूपमा अहिलेसम्म निरन्तर नेपालको राजनीतिमा आफ्नो स्थान बनाइरहेको छ । एमालेको निर्माणका जननी मदन भण्डारी हुन् । तथापि मनमोहन अधिकारी, सहाना प्रधान, सिपी मैनाली र माधवकुमार नेपालको भूमिका पनि कम छैन । अन्य थुपै नेताहरूको योगदानले एमाले सशक्त दलको रूपमा स्थापित छ ।

डेढ दशकभन्दा बढी माधव नेपाल, त्यसपछि झलनाथ खनाल र अहिले केपी शर्मा ओलीले यो पार्टीको नेतृत्व गर्ने अवसर पाए । अहिले एमालेको बागडोर ओलीको हातमा छ ।

ओलीले अहिले पार्टीभित्र विमति राख्ने पक्षधरलाई धमाधम कारबाहीको शृंखला चलाइरहेका छन् । ओलीको कारबाहीलाई खनाल–नेपाल पक्षधरले अस्वीकार गर्दै विरोध जनाइरहेका छन् । अहिलेको एमालेको मूल २०२८ सालदेखि ०३० सालसम्मको झापा संघर्ष नै हो ।

२०२८ सालमा सार्वजनिक भएको झापा आन्दोलन उग्रवामपन्थीले नेतृत्व गर्न थाले । तत्कालीन समयमा विश्वव्यापी प्रभाव विस्तार गरिरहेको माओत्सेतुङ विचारधारा त्यसको जग थियो ।

चीनको हुनान किसान आन्दोलनको रिपोर्ट पढेका कम्युनिस्ट विद्यार्थीले एक खालको अभियान नै चलाए । त्यतिबेला फिलिपिन्स, मलेसिया, थाइल्यान्ड जस्ता दक्षिणपूर्वी एसियाली मुलुकहरूमा माओत्सेतुङ विचारधाराको बिगबिगी बढेको थियो ।

२ वर्षपछि झापा संघर्ष असफल भयो । त्यसपछि ०३२ जेठमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्र (कोके) को गठन भयो । यतिबेला कम्युनिस्टहरू उग्रमात्र थिएनन्, हिंसाको बाटोमा लागिसकेका थिए ।

२०३५ साल पुसमा झापा संघर्षको तेस्रो निरन्तरताका रूपमा नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी (माले) जन्मियो । नेकपा मालेको स्थापना झापाकालीन उग्रवामपन्थीको रूप हो ।

कम्युनिस्टको उदय र पतन हेर्न टाढा जानु पर्दैन । हाम्रो छिमेकी मुलुक भारतको पश्चिम बङ्गालको इतिहास हेरे पुग्छ । भारतको इतिहासमै सबैभन्दा लामो समय मुख्यमन्त्रीको रूपमा शासन गर्ने ज्योति बसु हुन् । बसुले २३ वर्ष १७७ दिन शासन गरे । कम्युनिस्ट सरकार जसले लगातार ३४ वर्ष पश्चिम बङ्गालमा राज गर्‍यो । आज त्यो पत्तासाफ नै भएको छ ।

आफ्नै आँखाअगाडिको घटनाबाट पनि दुई तिहाइको नेपाल कम्युनिस्ट पार्टीको सरकार चलाएका एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले यसबाट कुनै पाठ सिकेका छैनन् । उनी एमालेलाई छिन्नभिन्न पार्दैछन् । यसको शुरूवात उनले माधव नेपाल पक्षलाई कारबाही गरेर देखाइरहेका छन् ।

पश्चिम बङ्गालमात्र होइन, लामो समय शासन गरेको शिक्षित नागरिक बसोबास रहेको केरला राज्यमा पनि कम्युनिस्ट समाप्त भएको छ । त्यहाँका युवा जमात कम्युनिस्ट भन्ने शब्द सुन्न चाहन्नन् ।

ओली बढी पूर्वाग्रह राख्छन् । उनले हिजोका पूर्वाग्रह कायमै राखेकोले आज एमाले फुटको संघारमा छ । नफुटे पनि एमालेको साङ्गठिक धरातल भत्किसकेको छ । नेता तथा कार्यकर्ताको वर्षौंदेखिको मिहिनेत चकानाचुर भएको छ । 

नेपालमा पनि कम्युनिष्ट समाप्तीतिर जान थालेका त होइनन् ? यो प्रश्न अहम् छ । विश्वका धेरै देशमा पत्तासाफ भएका उदाहरण अझै यहाँका कम्युनिष्ट नेतृत्वले बुझ्ने कोशिस गरेका छैनन् । झन ओली त कम्युनिस्टलाई धुजाधुजा पार्न चाहन्छन् । ओलीको यो कदमले गैरकम्युनिस्टलाई फाइदा त हुनेछ तर नेपालमा कम्युनिस्ट इतिहास यही कालखण्डमा आएर पूर्णविराम लाग्ने खतरा उति नै छ ।

किन यस्तो भएको हो भन्नेतर्फ ओली विचार पुर्‍याउन चाहन्नन् । ओलीलाई लागेको छ, ‘राजनीतिमा लागेर प्राप्त गर्ने सर्वोच्च पद पाइसकेको छु, अब मैले अरूका लागि भविष्य बनाउनु छैन ।’ उनीभित्रको यो मनावैज्ञानिक उनीइतरका नेताहरूले भेउ पाइसकेका छन् । ओलीले देखाएको अभिमानले अस्थिरतालाई मलजल गरिरहेको छ । उनी ठूलो विकासका कुरा गर्छन् तर जनताको दुःखमा एकाकार हुन रुचाउँदैनन् ।

भाषणमा मात्र पोख्त ओलीले सुनाउने योजनाहरू समृद्धिका साधकभन्दा बाधक बन्ने निश्चित छ । अझै पनि ओली सरकारले उत्पादनमा जोड दिएको छैन । बेरोजगारी घटाउने योजना ल्याएको छैन । परनिर्भरता बढेको छ । आयात दोब्बर भएको छ । महँगीले उच्च विन्दु पार गरेको छ । गरिबी प्रतिशत बढेको छ ।

कोरोनाको अबस्था भयावह बनेको छ । योभन्दा ओली आफ्नो प्रशंसा आफैँले गरेर समय खर्चिएका छन् । पार्टीभित्र अस्थिरता निम्त्याएका छन् । कम्युनिस्ट बीचको फाटोमा देशलाई भड्खालोमा हालिदिएका छन् ।

ओलीले नेपालको कम्युनिस्टलाई छिन्नभिन्न पार्न जुन चक्र रचेका छन् सम्भवत यो भुमरीबाट अब नेपालका कम्युनिस्ट मुक्त हुन सक्ने छैनन् । एमालेभित्रको यो रडाको कम्युनिस्ट समाप्तितिर जाने अवस्यम्भावी छ ।

नेपालका कम्युनिस्टहरू भारतीय समाजको यथार्थसँग जोडिनुभन्दा चीनका राजनीतिक लाइनमा एकोहोरो प्रलोभनमा पर्न थालेको छनक ओलीले दिएका छन् । कम्युनिस्ट सिद्धान्तको वैश्विक संकट र त्यसको पुनर्भाष्यबारे ओलीले बुझेर पनि बुझ पचाएका छन् । ओलीले सिद्धान्त, कार्यक्रम, कार्यनीति र कार्यशैलीमा भारदारीशैली देखाएका छन् । उनको नेतृत्व कहिल्यै गतिशित हुन सकेन ।

ओलीले युवा नेतृत्वलाई प्राथमिकता राखेर विकासका काममा कहिल्यै प्रेरित गरेनन् । कुनै दिन ओलीले निष्ठा र इमानी निरन्तरताको बाटोमा लागेनन् । संघीय सरकार केन्द्रीकृत शासन प्रणालीभन्दा पृथक रहन सकेन । कार्यकर्तालाई भड्कावरूपमा प्रयोग गर्न ओली सधैँ हौसिए । उनको यो उत्तेजनाले एमालेलाई चिराचिरा पार्ने निश्चित छ ।

ओलीले घृणाको राजनीतिलाई प्रश्रय दिए । जसका कारण कम्युनिस्ट प्रभाव भएका जिल्ला र प्रदेशमा सत्तारुढ पार्टीका कार्यकर्तामा स्थानीय ओली पक्षीय दादागिरी र भ्रस्ट आचरण विकास भएको छ । उनको अभिमानले आज वैचारिक मतभेद समाप्त भइसक्दा पनि कम्युनिस्ट बिभिन्न समूहमा धुव्रिकृत छन् ।

ओली सबैभन्दा बढी पूर्वाग्रह राख्ने व्यक्ति हुन् । उनले हिजोका पूर्वाग्रह कायमै राखेकोले आज एमाले फुटको संघारमा छ । नफुटे पनि एमालेको साङ्गठिक धरातल पूरै भत्किसकेको छ । नेता तथा कार्यकर्ताको बर्षौंदेखिको मिहिनेतलाई ओलीले क्षणभरमै चकनाचुर बनाइदिएका छन् ।

ओली त कम्युनिस्टलाई धुजाधुजा पार्न चाहन्छन् । ओलीको यो कदमले गैरकम्युनिस्टलाई फाइदा त हुनेछ तर नेपालमा कम्युनिस्ट इतिहास यही कालखण्डमा आएर पूर्णविराम लाग्ने खतरा उति नै छ ।

माधव नेपालपक्ष भन्छ, ‘नबौं महाधिवेशनमा निर्वाचित संरचनाकै आधारमा पार्टी सञ्चालन गरौँ ।’ ओली पार्टी प्रणाली लत्याइदिन्छन् र धमाधम आफू अनुकुलका व्यक्तिलाई स्थायी कमिटीदेखि केन्द्रीय सदस्यमा नियुक्ति गर्छन् । नेपाल पक्षका प्रतिनिधिहरू बालुवाटार गएर अनुरोध गर्छन्, ‘मिल्ने वातावरण मिलाउनुहोला ।’ ओली टेरपुच्छर लाउँदैनन् । उल्टो नेपाल पक्षका नेताहरूलाई कारवाही गर्छन् ।

पछिल्लो पटक भएको नेपालसँगको वार्ता ओलीको देखावटमात्र थियो भन्ने उनले स्वंयले पुष्टि गरिदिएका छन् ।

पार्टी अनुशासन बाहिर गएर ओलीले गरेका तमाम निर्णयहरू नै अहिले एमालेलाई छिन्नभिन्न बनाउने कारण बनिरहेका छन् । अबको छिन्नभिन्न एमाले भारतको पश्चिम बङ्गाल र केरला राज्यको कम्युनिस्ट जस्तै समातिको पथमा जाने संकेत देखिएको छ ।

पार्टी बनाउन निकै लामो समय लाग्छ । तर, समाप्त पार्न वर्ष दिन पनि नलाग्ने रहेछ । नेपालको कम्युनिस्ट इतिहास आफ्नै पालामा ओली अन्तिम बनाउन चाहन्छन् । उनका पछिल्ला गतिविधिले यही पुष्टि गर्छ ।


भर्खर

0