त्यसपछि जन्मियो ‘हरिबहादुर’ « Khabarhub
Logo
१५ फाल्गुन २०७७, शनिबार

त्यसपछि जन्मियो ‘हरिबहादुर’

अनि हरिवंशले सोधे– किन ढुंगा हान्नुभएको मलाई ?



काठमाडौँ – कोरोना भाइरस महामारीका कारण लकडाउनले मान्छेलाई फुर्सदिलो बनायो । प्रायः मानिसहरू घरभित्रै बसे । मानिसहरू सामाजिक सञ्जालमा थप सक्रिय भए ।

लकडाउनका बेला युट्युबलगायत विभिन्न स्ट्रिमिङ साइटहरूमा फिल्म र हास्य टेलिशृङ्खलाहरू खुबै हेरिए । यसरी हेरिनेमा मह जोडीको हास्य टेलिफिल्म ‘मदनबहादुर हरिबहादुर’ पनि एक थियो ।

यो शृङ्खलाले बाह्र वर्षपछि फेरि एकपटक एकाएक चर्चा कमायो । हरिबहादुरका ठट्टाले मान्छेलाई लकडाउनको समय कटाउन सजिलो बनाइदियो ।

कलाकार हरिवंश आचार्यका अनुसार लकडाउनका समयमा यो टेलिशृङ्खला दैनिक पाँच लाखसम्मले हेरे । लकडाउनमा ‘हरिबहादुर मदनबहादुर’ ले गतिलो माइलेज लियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उत्तिकै हिट बनाइदिए ।

लकडाउनका बेला ‘हरिबहादुर’ चरित्र यति लोकप्रिय थियो कि दैनिक हजारौँले हरिबहादुरका बारेमा सामाजिक सञ्जालमा केही न केही लेखेका हुन्थे ।

‘मदनबहादुर हरिबहादुर’ मा हरिबहादुरका संवादहरू निकै रोचक छन् । ‘त्यसो गरे कसो होला’, ‘यति गरेको त मतलब नै भएन नि !’, ‘हीँ हीँ म मदनबहादुर’ जस्ता थेगोमा थुप्रै मिम र ट्रोल बनाइए ।

यसले हरिवंशलाई पनि रमाइलो गरायो । यस वापत उनी प्रविधिको दुनियाँलाई हृदयबाटै धन्यवाद दिन्छन् ।

‘उतिबेला नेपाल टेलिभिजनबाट मात्र प्रसारण भएकाले धेरैले हेर्न पाउनुभएको थिएन, हामीले युट्युबमा अपलोड गरेपछि दर्शकले चाहेको समयमा हेर्न पाउनुभयो,’ हरिवंश भन्छन्, ‘लकडाउनका बेला फुर्सद भएकाले पनि बच्चादेखि वृद्धसम्मले यो टेलिफिल्म हेर्नुभयो ।’

हरिवंश आचार्यको यो चरित्रलाई दर्शकले निकै रुचाएका छन् ।

‘मदनबहादुर हरिबहादुर’ मा हरिबहादुरको स्वभाव हरिवंशको विपरीत छ । सहज र सरल हरिवंश ‘मदनबहादुर हरिबहादुर’ मा उट्पट्याङ र कुटिल चरित्रमा उपस्थित छन् ।

हरिबहादुरको मूर्खता र चतुर्‍याइँले दर्शकलाई हँसाउनुसम्म हसाउँछ । पर्याप्त मनोरञ्जन दिलाउँछ ।

अहिले पनि धेरै विज्ञापनमा हरिबहादुर र मदनबहादुरकै चरित्र प्रयोग गर्न सिफारिस हुने गरेको छ । कोरोना महामारीका बेला सन्देशमूलक भिडियोमा मह जोडी मदनबहादुर र हरिबहादुरकै भूमिकामा थिए ।

भिडियो हेर्नुहोस्

‘टेलिफिल्म निर्माणका क्रममा मैले थुप्रै चरित्रमा अभिनय गरेँ, हरिबहादुर मेरो लागि विशेष चरित्र भयो, दर्शकले पनि उत्तिकै रुचाइदिनुभयो,’ हरिवंश भन्छन् ।

उनका विचारमा हरिबहादुरजस्ता चरित्र हरेक गाउँमा छन् । बोली त्यस्तै नहुन सक्छ, यो त्यस्तो चरित्र हो, जो खराब छ, अरूलाई दुःख दिन्छ तर यसको उपस्थितिले दर्शकलाई हसाउँछ ।

‘मदनबहादुर हरिबहादुर’ बनाउने निर्णय भएपछि शीर्ष चरित्रबारे टिममा छलफल भयो । एउटा चरित्र गाउँको भलाद्मी, दश वर्षे जनयुद्धले विस्थापित र समाजको भलो चाहने राख्ने निर्णय भयो । यो चरित्रमा मदनबहादुर अर्थात् मदनकृष्ण श्रेष्ठ छानिए ।

टेलिफिल्ममा एउटा असल चरित्र भएपछि अर्को खराब चरित्र हुनै पर्‍यो । हरिवंशले त्यही खराब चरित्र हरिबहादुरको अभिनय गर्ने भए । मह जोडीले निर्माण गरेका प्रायः टेलिफिल्ममा उनी नकारात्मक भूमिकामै छन् ।

‘नेपाल बन्द’ नामक प्रहसनमा कृष्णप्रसाद भट्टराईको क्यारिकेचर गर्दै हरिवंश आचार्य । साथमा कलाकार कमल सिलवाल । उनीबाटै प्रभावित भएर हरिवंश आचार्यले हरिबहादुरको चरित्रको निर्माण गरेको बताउँछन् ।

‘विष’ नामक टेलिफिल्ममा हरिवंश ‘टीके अंकल’ भएका छन् । ‘सुर बेसुर’ मा एक आवारा युवकको भूमिकामा छन् । ‘वनपाले’, ‘पाठशाला’ लगायतका टेलिफिल्ममा उनलाई फरक चरित्रमा देख्न सकिन्छ ।

‘लक्ष्मी’ नामक टेलिफिल्ममा पनि उनी नकारात्मक भूमिकामै थिए । ‘लक्ष्मी’ मा हरिवंशको नकारात्मक भूमिकाले दर्शकलाई यति प्रभाव पारेको रहेछ कि एकपटक शूटिङमा एक महिला उनलाई कुट्न आइन् ।

‘हामी ट्रक ड्राइभर फिल्मको शूटिङका क्रममा गुहेश्वरीमा थियौँ, त्यहाँ एकजना महिलाले मलाई ढुङ्गले हिर्काउनुभयो, अभिनेता शिव श्रेष्ठले मलाई जोगाउँदै अलिक पर लैजानुभयो,’ हरिवंश स्मरण गर्छन् ।

केही बेरपछि हरिवंशले ती महिलालाई टाढैबाट सोधे– मलाई किन हिर्काउनुभएको ?

महिलाले नेवारी भाषामा भनिन्– तँ बोल्न नसक्ने महिलालाई दुःख दिने नराम्रो मान्छे होस्, त्यसैले ढुङ्गाले हिर्काएको ।

उनले आफूले नाटकमा त्यस्तो भूमिकामात्र निभाएको तर आफू खराब नभएको भनेर सम्झाउन खोजे । ती महिलाले त उल्टै नाटक भनेर जस्तो पायो त्यस्तै गरेको भन्दै फेरि ढुङ्गा हानिन् ।

हरिवंश आचार्य । तस्वीर– आर्यन बिमली ।

धेरै पछि थाहा भयो, ती महिलाकी छोरी पनि बोल्न नसक्ने रहिछन् । टेलिफिल्म ‘लक्ष्मी’ मा हरिवंशले बोल्न नसक्ने युवतीलाई हैरान पारेका थिए । ती महिलाले टेलिफिल्मकी ती पात्रलाई आफ्नी छोरीसँग तुलना गरिछन् ।

हरिबहादुर चरित्र नकारात्मक भएरै पनि दर्शकमाझ प्रिय छ । हरिबहादुरले दुःख दिन्छ तर दर्शक उसको प्रस्तुतिसँगै हाँस्छन् । दर्शकलाई हरिबहादुर चरित्र सधैँ भइरहोस् भन्ने लागिरहन्छ ।

बाह्र वर्षअघि तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि नेपालमा द्वन्द्व समाधानका विषयमा मह सञ्चारले टेलिफिल्म ‘मदनबहादुर हरिबहादुर’ बनाएको थियो ।

हरिवंशका अनुसार युसएड अन्तर्गतको केमोनेक्स नामक गैरसरकारी संस्थाले बाह्रदेखि पन्ध्र भागको टेलिशृङ्खला निर्माण गर्न टेन्डर आह्वान गरेको थियो । मह सञ्चारले पनि आवेदन गर्‍यो ।

हरिवंशले भने, ‘हामीले यस विषयमा टेलिफिल्म बनाउन इच्छा देखाएर मह सञ्चारको प्रोफाइल र शृङ्खलाको कन्सेप्ट बुझाएका थियौँ, उहाँहरूले हामीलाई नै प्रोजेक्ट दिने निर्णय गर्नुभएछ ।’

सुरुमा बाह्र शृङ्खला मात्र निर्माण गर्ने भनिए पनि पछि यो ५२ भागसम्म पुग्यो । केमोनेक्सले नै दर्शकले रुचाएको भन्दै यसको थप भाग बनाउन अनुरोध गरेको थियो ।

प्रसारण सुरु हुनासाथ थुप्रै प्रतिक्रियाहरू आएको र दश वर्षे जनयुद्धले थलिएका दर्शकलाई उक्त टेलिफिल्म खुबै मन परेको हरिंश बताउँछन् ।

उनी भन्छन्, ‘मदनबहादुर हरिबहादुरमा हामीले नेपालमा शान्ति प्रक्रिया र द्वन्द्वको कथा समावेश गरेका थियौँ, विषय एकदमै गम्भीर थियो, हामीले यसको स्क्रिप्टमा धेरै मिहिनेत गर्‍यौँ ।’

स्क्रिप्ट लेख्ने जिम्मा पनि हरिवंशकै थियो । उनलाई हरेक दिन अब के लेख्ने भन्ने चिन्ताले सताउँथ्यो । खबरहबसँग उनले भने, ‘कहिलेकाहीँ रातभर निद्रा लाग्दैनथ्यो, बिहान जुरुक्क उठेर स्क्रिप्ट लेख्न बस्थेँ ।’

बिहानै उठेर लेख्न बसेपछि चियाखाजा र खाना त्यहीँ आउँथ्यो । अपराह्न चार बजेतिर बल्ल उनी उठ्थे । ‘दिनभरि काम गर्दा निकै गलिएको हुन्थ्यो,’ ठट्टा गर्दै उनले भने, ‘साँझ उठेर मर्निङ वाकमा जान्थेँ ।’

स्क्रिप्टमा हरिवंश निकै घोत्लिन्थे । मदनबहादुरको चरित्रमा कमेडी थप्दा कथाको मर्म नै मर्ने डर थियो । त्यसैले उनले हरिबहादुरलाई नै कमेडी पात्रका रूपमा उभ्याइदिए । हरिबहादुरको चरित्र नै उट्पट्याङ खालको थियो । उसले हँसाएको र हैरान पारेको दुवै सुहाउँथ्यो ।

‘मलाई हरेक हप्ता छायांकनका लागि कथा तयार पार्दा प्रसूति पीडामा भएको महसुस हुन्थ्यो, पेट दुख्थ्यो, मेरो टाउको दुख्थ्यो,’ उनी भन्छन्, ‘कहिलेकाहीँ त राति सुतिसकेपछि पनि डायलग फुर्थे, बत्ती नबाली कापीमा हतारहतार नोट गरेर राख्थेँ, बत्ती बाल्दा पत्नीलाई डिस्टर्ब हुन्छ कि भन्ने थियो, अर्को दिन हेर्दा अँध्यारोमा लेखेको अक्षर आफैँलाई बुझ्न गाह्रो हुन्थ्यो ।’

अर्कातिर त्यो समय नेपालमा अस्थिरता छाएको थियो । गाडीले कुखुरो किचेको निहुँमा पनि राजमार्ग बन्द गरिन्थे । जातीय द्वन्द्व थियो । एउटा टेलिभिजन कार्यक्रमले जातीय सद्भाव बिथेलिन सक्ने सम्भावना पनि हुन्थ्यो । यसतर्फ सजग हुन आवश्यक थियो ।

लकडाउनका बेला यस्ता सन्देशमूलक जानकारी दिन पनि मदनबहादुर हरिबहादुर चरित्रलाई नै महत्त्व दिइयो ।

‘हामीले टेलिफिल्ममार्फत सन्देश त दिनु थियो तर सन्देशमात्रले त दर्शकलाई झर्को लाग्न थाल्छ, पढाएको जस्तो हुन्छ,’ हरिवंश भन्छन्, ‘हरेक टेलिफिल्ममा हामी मनोरञ्जनलाई प्राथमिकता दिन्छौँ, त्यही मनोरञ्जनमा सन्देश घुसाउँछौं, मदनबहादुर हरिबहादुरमा सन्देश छ र मनोरञ्जन पनि छ ।’

यो टेलिफिल्मका लागि लामो समय रिसर्च गरेको हरिवंश बताउँछन् । द्वन्द्व समाधानको विषय उठान गरेकाले पनि रिसर्च आवश्यक थियो ।

दर्शकको चाख बढाउन एउटा सकारात्मक र अर्को नकारात्मक चरित्र विकास गरिएको थियो । यसो गर्दा कथानक अघि बढाउन पनि सहज हुन्छ । दर्शकलाई चाखलाग्दो हुन्छ । फिल्म र नाटकमा धेरैजसो यही सिद्धान्त अपनाइएको हुन्छ ।

हरिवंश हरिबहादुर बन्नुपूर्व यस्तै चरित्रमा गोकुल कडाईं बनिसकेका थिए । उनको हरिबहादुर क्यारेक्टर चाहिँ लोकप्रिय बन्यो ।

हरिवंश आचार्य । तस्वीर– आर्यन बिमली ।

‘हरिबहादुरमा आउनुभन्दा पहिले मैले यो चरित्रलाई भाइरस टेलिफिल्ममा पनि निभाएको थिएँ, यो क्यारेक्टरले हरिबहादुरकै रूपमा बढी चर्चा पायो,’ हरिवंश भन्छन् ।

टेलिफिल्म ‘भाइरस’ मा उक्त चरित्रले गोकुल कडाईं नामको एक सरकारी कर्मचारीको भूमिका निभाउँछ । जो सुरुमा इमानदार हुन्छ तर पछि सङ्गतले भ्रष्ट बन्छ ।

‘हरिबहादुर मदनबहादुर’ मा भने हरिबहादुर भिन्नै एकदमै फटाहा प्रवृत्तिको छ । धूर्त र मूर्ख छ । अरूलाई दिनसम्म दुःख दिन्छ ।

हरिवंश भन्छन्, ‘कुनै क्यारेक्टर संयोगले जन्मिन्छन्, कहिल्यै मर्दैनन्, हरिबहादुर त्यस्तै क्यारेक्टर बन्यो ।’ उनका अनुसार हरिबहादुर क्यारेक्टर पनि संयोगले नै जन्मिएको थियो । यदि कमल सिलवाल मह सञ्चारको कार्यालयमा जागिर खोज्दै आउँदैनथे भने यो चरित्र नजन्मिन पनि सक्थ्यो ।

‘मदनबहादुर हरिबहादुर’ मा हरिबहादुर ।

हरिवंश आफैँलाई पनि यो चरित्र निकै प्रिय लाग्छ । त्यतिबेला मह सञ्चारको कार्यालय माइतीघरमा थियो । एक दिन कमल सिलवाल जागिर खोज्दै आइपुगे । उनको हाउभाउबाट मह जोडी प्रभावित भयो ।

‘हाम्रो अफिसमा एकजना अनौठो बोल्ने भाइ आउनुभयो, त्यतिबेला खासमा हामीलाई कर्मचारी चाहिएको थिएन तर उहाँको बोल्ने शैली यस्तो रमाइलो लाग्यो कि हामीले उहाँलाई काममा राख्यौँ,’ हरिवंश सुनाउँछन्, ‘मदनबहादुर हरिबहादुरमा मैले निभाएको भूमिकाको साठी प्रतिशत उहाँको बोलीसँग मिल्छ, म उहाँलाई कामको सिलसिलामा पनि जिस्क्याउँथे, पछि उहाँ अर्कै तरिकाले बोल्न थाल्नुभयो ।’

कमललाई ‘नेपाल बन्द’ हास्य प्रहसनमा कृष्णप्रसाद भट्टराई बनेका हरिवंश आचार्यको अघिपछि गरेको देख्न सकिन्छ ।

हरिबहादुर चरित्र जन्मिनु आफूहरूका लागि शुभ संकेत भएको हरिवंश सुनाउँछन् । यो क्यारेक्टर अहिले पनि यति लोकप्रिय छ कि अब त सन्देशमूलक नयाँ भिडियो निर्माण गर्दा पनि ‘मदनबहादुर हरिबहादुर’ का चरित्रमा अभिनय गरिदिए पुग्छ ।

‘कुनै चरित्र यस्तो हुने रहेछ, दर्शकलाई धेरै मन पर्दो रहेछ, जस्तो कि केदार (घिमिरे) भाइलाई माग्ने बूढाको भूमिकामा उत्तिकै सुहाएको छ, दर्शकले त्यही भूमिका रुचाउनुभएको छ, बीचमा केही समय उनले अरू भूमिकामा अभिनय पनि गर्ने प्रयास गरे, तर माग्ने बूढामै फर्किए,’ हरिवंश भन्छन् ।

हरिवंश चार्ली चाप्लिनलाई सम्झन्छन् । उनी भन्छन्, ‘नेपालमा जति क्यारेक्टर गर्न सक्यो, उति भर्सटाइल भन्ने चलन छ, त्यस्तो पनि होइन । कहिलेकाहीँ जीवनभर अभिनय गर्न मिल्ने क्यारेक्टर पनि जन्मिने रहेछन् ।’

मदनबहादुर र हरिबहादुर पनि जीवन रहेसम्म अभिनय गर्न मिल्ने चरित्र जन्मिएको हरिवंशको निष्कर्ष छ ।

‘मदनबहादुर र हरिबहादुर’ किन यति धेरै लोकप्रिय भए होला त ! जब कि यसअघि पनि एकपछि अर्को हिट टेलिफिल्म महजोडीले दिएकै थियो ।

हरिवंश भन्छन, ‘यो विशेष हुनाको कारण यसको सरल प्रस्तुति हो जस्तो लाग्छ, हामीले ग्रामीण परिवेश र सबैले बुझ्ने गरी टेलिफिल्म निर्माण गरेका थियौँ, छायांकनका क्रममा हामीले काठमाडौँ वरपरका कुनै पनि डाँडा बाँकी राखेनौँ होला ।’

हरिवंश आचार्य । तस्वीर– आर्यन बिमली ।

उनका विचार हरिबहादुर चरित्रले आफ्नै मूर्खताका कारणले आफै दुःख पाउने भएकाले पनि लोकप्रिय भएको होला ।

बाह्र वर्षपछि पनि यो उत्तिकै हेरिनुको अर्को कारण कारण ५२ भागसम्म यसलाई निरन्तरता हो भन्ने हरिवंश ठहर छ । बाह्र भागमै सीमित भएको भए यति जीवन्त नहुन सक्थ्यो ।

उनी भन्छन्, ‘कुनै टेलिफिल्म निरन्तर बनाएपछि त्यसको एउटा समय हुन्छ, मान्छेले बेलुका ८ बजे मदनबहादुर हरिबहादुर आउँछ भन्नुको सट्टा मदनबहादुर हरिबहादुर आउने समय भन्न थाल्छ, टेलिफिल्मले समयलाई पनि जित्छ ।’

पछिल्लो समय भने राम्रा मेकर टेलिफिल्मतर्फ आकर्षित नभएको हरिवंशको भनाइ छ । उनका अनुसार यसको प्रमुख कारण प्रायोजकको अभाव हो । अर्को चाहिँ भारतीय च्यानलमा प्रसारण हुने सिरियलसँग पनि प्रतिस्पर्धाको समस्या ।

‘अहिलेको सबैभन्दा ठूलो प्रतिस्पर्धा हामीले भारतीय च्यानलसँग गर्नुपर्ने हुन्छ, उनीहरूले एउट सिरियलका लागि कम्तीमा दुई÷तीन करोड खर्च गर्छन्, हामीले बढीमा पचास हजार खर्च गर्ने सिरियल टेक्निकल्ली कमजोर हुन्छन्,’ हरिवंश भन्छन्, ‘हामीले जित्ने भनेको विषयवस्तुले नै हो, विषयवस्तुले मात्र जितिरहेका छौं ।’

उनका अनुसार नेपालमा प्रायोजकको कमी छ । उद्योगधन्दा नफस्टाएको देशमा टेलिभिजनको भविष्य राम्रो हुँदैन । व्यापार भएन भने प्रायोजक हुँदैनन् । फिल्म निर्माण गर्न आर्थिक पक्ष पनि हेर्नै पर्ने हुन्छ ।

हरिवंश आचार्य । तस्वीर– आर्यन बिमली ।

‘मदनबहादुर हरिबहादुर’ ले तत्कालीन समयको कथा बोकेको थियो । बाह्र वर्षअघि देशमा राजनीतिक अस्थिरता व्यापक थियो । अहिले केही परिवर्तन आएको छ । तर, दर्शकले ‘मदनबहादुर हरिबहादुर’ हेर्दा पनि अहिलेकै घटनाक्रमजस्तो मान्छन् ।

हरिवंश पनि अहिले पनि ती चरित्रहरू हाम्रो समाजमा भेटिने गरेको बताउँछन् ।

उनको अनुभवले भन्छ, ‘नेपालमा सामाजिक परिवर्तन खासै भएको छैन, मदनबहादुर हरिबहादुरको परिवेश मात्र होइन, चालीस वर्षअघि हामीले गरेका राजनीतिक व्यङ्ग्य वर्तमानमा पनि अहिलेकै घटनाजस्तो लाग्छ ।’ हरिवंश सुनाउँछन् ।

उनका अनुसार सबैभन्दा पहिले राजनीतिक परिवर्तन हुनुपर्ने थियो । विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन पनि भयो तर नेताको चरित्र र सिस्टम उही रह्यो । उनी भन्छन्, ‘राजनीतिक परिवर्तन भएन, व्यवस्था मात्र परिवर्तन भयो । अहिलेको समाजले जो भ्रष्ट छ, जोसँग पैसा र शक्ति छ, उसैप्रति सहानुभूति राख्ने गरेको छ ।’


भर्खर

0