सडक विस्तार आयोजनामा मजदुरमाथि चिनियाँ ठेकेदारको ज्यादती | Khabarhub Khabarhub

सडक विस्तार आयोजनामा मजदुरमाथि चिनियाँ ठेकेदारको ज्यादती



नवलपुर- दुई वर्षअघि चैत ८ गते ‘बुटवल-नारायणघाट सडक खण्ड विस्तार’को काम प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलान्यास गरेका थिए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति गर्न प्रधानमन्त्री ओलीले शिलान्यास गरेको यो सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिए पनि ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ ले बेलाबेलामा अनेक कारण देखाएर ढिलासुस्ती गरिरहेको छ ।

निर्माण शुरू भएको दुई वर्ष पुगिसक्दा ४ प्रतिशतमात्रै प्रगति भएको भएको आयोजना प्रमुख रमेशचन्द्र दिष्टीले बताए । सम्झौताअनुसार अबको आयोजना डेढ वर्षभित्र सम्पन्न भइसक्नुपर्नेछ । अहिलेसम्मको कामको प्रगति हेर्दा निर्धारित अवधिमा पूरा हुनेछैन ।

कोरोना संक्रमणका कारण लकडाउन हुँदा ६ महिना काम रोकियो । रुख कटान र बिजुलीका पोल हटाउने काममा केही समय ठेकेदारको असहमतिले ढिला भए पनि समस्या टुङ्गिएको दिष्टीले बताए ।

‘प्राविधिक जटिलताहरू हट्दै गए पनि बेलाबेलामा ससानो कुरामा समस्या निम्तिने गरेको छ,’ उनले भने, ‘सानो कुरामा समस्या भएर काम रोकिनु दुर्भाग्यको कुरा हो ।’

गत वर्ष चैतमा कोरोना संक्रमणका कारण ठप्प भएको काम ६ महिनापछि शुरू गरिए पनि तलब नपाएको भन्दै मजदुरहरू आन्दोलित भए । नवलपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको रोहबरमा लिखित सहमति गरेपछि मजदुरहरू काममा फर्किएका थिए ।

सहमतिपछि पनि समयमा तलब पाउन नसकेपछि मजदुरहरू फेरि आन्दोलित भए । तेस्रो पटक यो साता पनि सडक विस्तारको काम रोकियो । अहिले भने आफूहरूले नभई ठेकेदार कम्पनीले नै १५ दिनको बिदा दिएको अखिल नेपाल ट्रेड युनियन महासंघका इकाइ अध्यक्ष वासुदेव गैरेले बताए ।

हरेक महिना तलब कटौती

ठेकेदार कम्पनीले तलब नदिएको समस्या सहमतिमा टुङ्गिएपछि पनि मजदुरले पूरा तलब बुझ्न पाएका छैनन् ।

हरेक महिना २ हजारदेखि १० हजार रुपैयाँसम्म काटेर दिने गरेको मजदुरहरूको आरोप छ । पारिश्रमिक कम आएको बारेमा बुझ्न खोज्दा विभिन्न आरोप लगाउने गरेको गैरेले बताए । पछिल्लोपटक तेल चोरी भएको फेला पारेपछि घटना प्रशासनसम्मै पुग्यो । चोरीमा एक जना समातिएपछि ८ जना मुछिए ।

चोरी गर्ने कामदारलाई निलम्बन गर्न प्रशासनले समेत अनुमति दिएपछि मजदुरहरूले नै अवरोध खडा गरेको चिनियाँ कम्पनीको आरोप छ ।

वार्तामा बोलाएर कुटपिट !

तेल चोरीको घटनाले निम्तिएको विवाद मिलाउन भन्दै कम्पनीले बुधबार मजदुरहरूलाई देवचुली-१६, रजहरस्थित कम्पनीको कार्यालयमा बोलायो ।

छलफल हुँदै गर्दा बुधबार दिउँसो पौने २ बजेतिर एक्कासि चिनियाँ पक्षले मजदुरमाथि कुटपिट गरेको मजदुर नेता गैरेले बताए ।

बाहिरबाट पनि ल्याइएका चिनियाँहरूले हातमा फलामको डण्डी बोकेको घटनाका प्रत्यक्षदर्शी स्थानीय हरिप्रसाद गौतमले बताए । तनाव भइरहेकै बेला आइपुगेका कम्पनीका समन्वयकर्ता भूमिनन्द ढकालको गाडी मजदुरहरूले गेटबाहिरै रोकेका थिए ।

घटनापछि चिनियाँ पक्षले र मजदुर पक्षले जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएका छन् । चिनियाँ पक्षले आफूहरूमाथि आक्रमण भएको भन्दै उजुरी दिएको छ । बिहीबार मजदुरहरूले पनि आफूहरूमाथि आक्रमण भएको भन्दै उजुरी दिएका छन् ।

दुवै पक्षबाट उजुरी परेकाले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

बुटवल-नारायणघाट सडकअन्तर्गत पहिलो खण्ड गैँडाकोट-दाउन्ने ६५ किमि र दोस्रो खण्ड दाउन्ने-बुटवल ४८ किमि गरी ११३ किमिको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।

गएको वर्षापछि दाउन्ने क्षेत्रमा सडक भत्किएर जीर्ण बनेको भन्दै कम्पनीको आलोचना हुँदै आएको छ । धुलाम्मे बनेको दाउन्ने क्षेत्रमा आगामी ४० दिनभित्र काम सम्पन्न गर्न कम्पनीलाई सहमत गराएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले बताइन् ।

१५ अर्ब रुपैयाँको लागतमा साढे तीन वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा छ । यो सडक सहरी क्षेत्रमा ६ लेन, जङ्गलमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनमा विस्तार हुनेछ।

चिनियाँ ज्यादतीको अर्को नमुना

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्दै २०७६ चैत १७ गते लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, ठूलोबेँसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरमा चिनियाँ नागरिकले गाउँको बाटो हुँदै सामान भित्र्याउन लाग्दा स्थानीयवासीले विरोध गरेका थिए ।

लकडाउनका समयमा सामान ओसारपसार नगर्न आग्रह गर्दा चिनियाँहरू खुकुरी लिएर स्थानीयमाथि जाइलागे । प्रहरीले चिनियाँ केही नागरिकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई कानुनी दायरामा ल्याउनुको साटो मेलमिलाप गराइयो ।

त्यसअघि २०७६ फागुन ३० गते काठमाडौँको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहित आएका चिनियाँको भिडले ट्याक्सी चालक नेपालीमाथि आक्रमण गरेको थियो ।

प्रहरीले आक्रमणकारी चिनियाँहरूलाई नियन्त्रणमा लिए पनि ठोस कारबाही केही गरेन ।

चिनियाँहरूले नेपालीमाथि बारम्बार आक्रमण गरे प्रहरी प्रशासनले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन ।

यो पनि पढौँ 

चिनियाँ नागरिकको अपराध गुपचुप राख्दै प्रहरी प्रशासन 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम