नेपालमा हरेक वर्ष थपिन्छन् क्षयरोगका ६९ हजार बिरामी | Khabarhub Khabarhub

नेपालमा हरेक वर्ष थपिन्छन् क्षयरोगका ६९ हजार बिरामी

ज्यान गुमाउने दैनिक ४७ जना



काठमाडौँ- आज मार्च २४, विश्व क्षयरोग दिवस । आम नागरिकलाई क्षयरोगको प्रभावबारे सुसूचित गराउने र भविष्यमा यस रोगबाट बच्न जनचेतना अविृद्धि गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाइन्छ ।

यस वर्षको नारा ‘संकेत समयको, क्षयरोग अन्त्यको’ रहेको छ ।

माइक्रोब्याक्टेरियाका विभिन्न स्टेनका कारणले हुने भए पनि मुख्यतया ‘माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस’ नामको ब्याक्टेरियाको कारणले क्षयरोग लाग्छ । यो सरुवा रोग हो ।

सामान्यतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्‍याउन सक्छ । यो रोग लागेका मानिसहरूमा सक्रिय कीटाणुहरू हुन्छन् । रोगीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्छ ।

विश्वभर हरेक वर्ष एक करोड मानिस क्षयरोगबाट संक्रमित हुने गरेका छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन् । क्षयरोगकै कारण दैनिक ४७ जनाले ज्यान गुमाउने गरेका छन् ।

हाल नेपालमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या करिब १ लाख १७ हजार जना रहेको अनुमान छ ।

आर्थिक वर्ष २०७६/७७ मा १ लाख ५५ हजार ३७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरूको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७४५ जना नयाँ बिरामी फेला परेका थिए । उनीहरूको उपचार राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार भइरहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

वार्षिक थपिने र उपचारमा आएका बिरामीको तथ्यांक हेर्दा उपचारको दायरामा नआएका करिब ४१ हजार बिरामीलाई उपचारमा ल्याउनुपर्ने केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए ।

क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लगाई उपचारमा ल्याउन राष्ट्रिय क्षयरोग कार्यक्रमलाई चुनौती देखिन्छ ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणालीमार्फत जम्मा ४ हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा तथा ७६५ प्रयोगशाला र ६२ वटा जीन एक्सपर्ट एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोग निदान सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टल, एउटा डीआर होम, एउटा ट्युबरक्युलोसिस ट्रिटमेन्ट एण्ड रिफेरल म्यानेजमेन्ट सेन्टरमार्फत सेवा दिँदै आएको छ ।

डा. भट्टचनका अनुसार नेपालमा औषधि प्रतिरोधी (डीआर) क्षयरोगका बिरामीको संख्या बढ्दो क्रम छ ।

‘सामान्य क्षयरोगमा सय जनाको उपचार गर्‍यौँ भने ९० प्रतिशत पूर्णरूपमा निको हुन्छन्, जो ट्रिटमेन्टको दायरामा छन्,’ उनले भने, ‘तर डीआर क्षयरोगमा त्यस्तो हुँदैन, औषधि पाउन सकेनन् भने मृत्यु नै हुन्छ ।’

विश्व स्वास्थ्य सङ्गठनको आकलनअनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगका विरामी वार्षिक करिब २ हजार २०० थपिने गर्छन् । गत आर्थिक वर्ष यस्ता ३ हजार ८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको उनले बताए ।

बिरामीको संख्या हेर्दा उपचारको दायरामा आएकाको संख्या अत्यन्त न्यून हो । अझै औषधि प्रतिरोधी क्षयरोगका ८३ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउनु यस कार्यक्रमका लागि ठूलो चुनौती देखिन्छ ।

देश संघीय संरचनामा गएपछि जनशक्ति व्यवस्थापनमा केही समस्या देखिएकाले क्षयरोग कार्यक्रमको व्यवस्थापन र सञ्चालन गर्न चुनौती रहेको डा. भट्टचन बताउँछन् ।

No description available.

क्षयरोग निर्मूलको योजना

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको क्षयरोग निवारण रणनीति अवलम्बन गरी पञ्चवर्षीय राष्ट्रिय रणनीति योजना बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेको जनाएको छ ।

त्यस्तै, सबै प्रकारका क्षयरोगका बिरामीको उपचार सहज बनाउन भक्तपुरको ठिमीमा केन्द्रस्तरको छाती रोग अस्पताल निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।

डा. भट्टचनले भने, ‘अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने संरचना, मानव स्रोत तथा औषधि उपकरणको व्यवस्था गरी आगामी आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा ल्याइनेछ ।’

त्यस्तै केन्द्रले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा क्रमशः क्षयरोग कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी सोहीअनुरूप स्थानीय तहलाई ‘क्षयरोगमुक्त स्थानीय तह घोषणा’ गर्ने तयारी गरेको छ ।

यस्तो घोषणाका लागि मन्त्रालय र विभागस्तरमा पठाउन केन्द्रले निर्देशिका तयार गरेको र आर्थिक वर्षमा त्यसको संरचना प्रदेश र स्थानीय तहमा पुग्ने डा. भट्टचनले बताए ।

उनले खबरहबसँग भने, ‘त्यसमा स्थानीय तहले आफ्ना मातहतभित्र क्षयरोगको अवस्था के छ र कसरी निर्मूल बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरेर जनशक्ति खटाउनेछन् । अभियानका रूपमा काम शुरू गर्ने केन्द्रको रणनीति छ ।’

सरकारले क्षयरोगको उपचार सहज बनाउन बिरामीलाई यातायात तथा पोषण भत्ता ३ हजार रुपैयाँ दिने गरेको छ । त्यस्तै, आवासमा बसी उपचार गराइरहेका बिरामीलाई विभिन्न सिपमूलक तालिमसमेत दिने गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ५२ बजे

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको