आखिर कसले चलाउँदैछ यो मानव जीवन ! | Khabarhub Khabarhub

आखिर कसले चलाउँदैछ यो मानव जीवन !



जगतको निर्माणका लागि अचेतन तत्व प्रकृति र चेतन तत्व पुरुषको अकल्पित संयोग मान्ने सांख्य दर्शनलाई षड दर्शनमध्ये सबैभन्दा पुरानो, तुलनात्मक र तथ्यपरक मान्दै आएका छन् पूर्वीय दर्शनका विद्वानहरूले । यसैको आधारमा भौतिकवादले पनि सृष्टिसम्बन्धी विविध तर्क अघि सार्नु अन्यथा होइन ।

यसो भनिरहँदा भौतिकवादको व्याख्यानबाट अध्यात्म नकारिएको होइन । प्रस्तुत लेखमा आएका धर्म सम्बन्धी उदाहरणले गुढ अध्यात्मलाई नभई भ्रमपूर्वक चल्दै आएको लोक धर्मलाई जनाउनेछ । कल्पना एवम् भाग्यप्रति भन्दा श्रमप्रति विश्वास जगाउन लेख अभिप्रेरित छ ।

सृष्टि अघि बढाउने र पालन गर्ने क्रिया जोसुकैबाट भए पनि यो एक सक्रिय क्रियाशीलता हो । अदृश्य वस्तु वा तत्वले दृश्य जगत वा यसभित्रको निर्माण वा विनाशको अविछिन्नता कुन प्रक्रियाबाट अघि बढाउन सक्छ भन्ने कुरातिर लाग्ने हो भने यो बहस स्वयंमा एक दर्शनशास्त्र बन्न पुग्छ र विशाल ग्रन्थ नै बन्न सक्छ । त्यसकारण मजुदर र देवताको अति संक्षिप्त चर्चा गरौँ ।

सृष्टिका सूक्ष्म तत्वहरूको संयोगबाट दृष्य तथा स्थुल तत्व निर्माण गर्नु मजदुरी हो । निर्मित तत्वलाई मानवोपयोगी बनाउनु मजदुरीकै प्रतिफल हो । यसैगरी मानवोपयोगी तत्वलाई वितरणमा लैजानु पनि मजदुरी नै हो । वितरित तत्वको उपभोग्य क्षमता बढाउनु पनि मजदुरी हो । वस्तुको उपभोगपछि पुनः उत्पादन क्षमताको चक्र निर्माण गर्नु पनि मजदुरी नै हो ।

उपर्युक्त विषयहरूमा कल्पित अदृष्य देवताको प्रत्यक्ष योगदान रहेको मान्न सकिने आधार देखिँदैन । काल्पनिक संसारबाट प्रत्यक्ष जगतको अवलोकन हुने बित्तिकै विशिष्टीकृत मजदुरहरूको विशिष्ट योगदान रहेको अनुभव हुने गरेको देखिन्छ ।

हाम्रा लागि स्वतस्फूर्त प्रकृतिप्रदत्त हावा, पानी, आकाश, पृथ्वी, अग्निको विविध किसिमले गरिएको संयोजन नै मानव उपयोगिताको आधार हो । यही संयोजन, निर्माण तथा सम्बद्र्धनका लागि आवश्यक पर्ने शिल्पिहरू नै मजदुर हुन् ।

प्राकृतिक वस्तुहरूको समयसापेक्ष संयोजनबाट हुने मानवोपयोगी क्रियाकलापमा हरेक वर्ग, तह र सिपको जरुरत पर्छ । उपलब्ध प्राकृतिक वस्तुलाई मजदुरले उपयोगसिद्ध तुल्याउँछ सिप, ज्ञान र श्रमको आधारमा । त्यसैले उसको योगदान अदृश्य र काल्पनिक देवशक्तिभन्दा माथि रहन्छ ।

स्वार्थरहित मजदुरको मजदुरीबाट नै मानव कल्याणका लागि आवश्यक पर्ने भौतिक वस्तुहरू समय सापेक्षरूपमा तयार हुन्छन् । त्यसैले मजदुरको मजदुरी काल्पनिक देवशक्तिभन्दा माथि रहन्छ ।

मजदुर श्रमको निरन्तर पूजा गर्छ र उत्पादनलाई निरन्तरता दिन्छ । मजदुरले कर्मको पूजा अक्षता र फूलपातीको सट्टा श्रमबाट गर्छ । कसले उत्पादन उपयोग गर्छ, त्यो उसलाई मतलब हुँदैन । ऊ त कसरी र कति परिमाणमा उत्पादित वस्तुको उपयोग हुन्छ भन्नेमै तल्लीन हुन्छ ।

त्यसैले मजदुर अदृष्य र काल्पनिक देवत्वभन्दा माथि रहेर मानवकल्याणमा प्रत्यक्ष समर्पित रहन्छ । कथित देवत्वबाट प्राप्त हुने वरदानको कथाभन्दा सिर्जना र निर्माणमा प्रत्यक्ष सहभागी हुने हुँदा मजदुर र मजदुरी नै देवताका रूपमा पूजित हुनुपर्ने हो, यथार्थ यही हो । जगत सञ्चालन गर्ने ‘मानव पारिस्थितिक सञ्जाल’ मा मजदुर एक अपरिहार्य तत्व हो ।

व्यावहारिक र भौतिक क्रियाकलापले नै विश्व चलेको छ र चलिरहनेछ । माटो स्वयंले घडा बनाउँदैन । जङ्गलका रूखहरू आफैँ फर्निचर बनेर गृह प्रवेश गर्दैनन् । अन्नको वीज स्वयं जमिनमा प्रवेश गरेर मानिसलाई पुग्ने गरी फसल दिँदैन । उद्योग आफैँ चल्दैन । कुनै पनि सडक देवताद्वारा निर्माण भएको छैन । यातायातको साधन आफैँ बनेका छैनन् र चलेका पनि छैनन् ।

कुलो, नहर, बाँध, पुल, जहाज, औषधि, अस्पताल, घर, मन्दिर, मूर्ति, कला, संस्कृति कसैले पनि देउता पुकारे बनाएका होइनन् । निर्माणका लागि बुद्धि, सिप र श्रमशीलता आवश्यकता पर्छ । पारस्परिक आश्रयको सिद्धान्तले सृष्टिको नियम चलेको छ ।

समस्त मानव कल्याणका लागि सबैभन्दा ठूला साधक बौद्धिक तथा श्रमिक मजदुर वर्ग नै हुन् । श्रमको यथोचित ज्याला र कामको नतिजा नै उनीहरूको कर्मफल हो । पूर्वजन्मको कमाइको भर पर्ने र आगामी जन्म सुधार्ने नाममा बौद्धिक र श्रमिक वर्ग कर्मशीलताबाट विमुख हुने हो भने धेरै मासिहरू भोकानाङ्गा हुनेछन् । त्यो बेला कुनै दैवीशक्ति प्रकट भएर मानवलाई बचाउन सक्नेछ भन्ने विश्वसनीय प्रमाण आजसम्म फेला परेको छैन ।

मजदुर दृष्यमान जगतको प्रत्यक्ष देवता हो । मजदुर भनेको मानवोपयोगी वस्तु उत्पादन र परिचालन गर्ने मानवीय शक्ति र क्षमतायुक्त महामानव हो । भ्रमको खेती मजदुरीमा चल्दैन । जति काम हुन्छ, यथार्थमा त्यति नै हुन्छ, विज्ञान सम्मत प्रमाणमा आधारित हुन्छ । काल्पनिक कथाले मनोरञ्जन देला तर जीवन चलाउने वस्तु दिँदैन ।

मन्दिको निर्माणशिल्पी मजदुर नै हुन्छ । मन्दिरभित्रको मूर्ति शिल्पकार वा मूर्तिकारकै मजदुरी हो । मन्दिरभित्रका भावनात्मक देवता मजदुरकै सहयोगमा विराजमान गराइन्छन् । खेती मजदुरले नै गर्छन् । उत्पादनको व्यवस्थापन उनैले गर्छन् । दयालु र कृपालु भनिएका देवता उत्पादन प्रक्रियामा संलग्न देखिँदैनन् ।

उपलब्ध प्राकृतिक वस्तुलाई मजदुरले उपयोगसिद्ध तुल्याउँछ । स्वार्थरहित मजदुरको मजदुरीबाटै मानव कल्याणका लागि भौतिक रूपमा आवश्यक पर्ने वस्तुहरू समय सापेक्षरूपमा तयार हुन्छन् । त्यसैले मजदुरको मजदुरीलाई अदृश्य र काल्पनिक देवशक्तिभन्दा माथि राख्न सकिन्छ ।

शिल्पकार तथा श्रमिक मजदुरले नै घर बनाउँछन्, महल बनाउँछन, दरबार बनाउँछन् तर त्यहाँभित्र तिनै मजदुरप्रति घृणाभाव राख्ने अमानुषको बाक्लो उपस्थिति हुन्छ । यिनीहरू आफ्नो आवासलाई ईश्वरको अनुकम्पा मान्न पनि पछि पर्दैनन् ।

जोखिमपूर्ण निर्माण कार्य मजदुरकै हातबाट सम्पन्न हुन्छन् । असम्भव देखिने कठोर संरचना बनाउने यिनकै शिल्पि हात तथा अटुट श्रम हो । देवताका रूपमा पूजित हुने विश्वकर्मा बाबा पनि मजदुर नै हुन् ।

यस्तो महिमा भए पनि मजदुरहरूको आर्थिक अवस्था तुलनात्मक रूपले कमजोर हुने गरेको छ । शैक्षिकस्तर समेत कमजोर हुन्छ । भित्री तथा बाहिरी सम्पर्क ज्यादातर आफूजस्तै मजदुरसँग हुन्छ । आफूलाई सभ्य ठान्ने वर्गले भन्ने गरेको सभ्यता, नीति, शिक्षा, सामाजिक विकास, अनुशासन इत्यादिको अभ्यास मजदुर वर्गले कमैमात्र गरेको हुन्छ । त्यसैले श्रमिक वर्गमा कथित सभ्यतामा पर्ने मिजास र व्यवहार कम हुन पुग्छ । यसै कारण आफूालाई सभ्य, सुसंस्कृति र उच्च वर्गको ठान्नेबाट मजदुरहरू हेपिन्छन् ।

शारीरिक श्रममात्र होइन, बौद्धिक श्रमको पनि मानव विकासमा उत्तिकै महत्व छ । मानिसको खोजशक्तिले औषधि सम्भव भयो, उपचार सम्भव भयो, महामारी नियन्त्रित छ, राज्य छ । वायुयान, जलयान, थरीथरीका रोबोट, सञ्चारसाधन, यातायातका साधन, गगनचुम्बी महल, समुद्रमाथि पुल, समुद्रमुनि सुरुङ इत्यादि उदेकलाग्दा संरचना कुनै देवताको कृपाले होइन, सिर्जनशील मानव मस्तिष्कले नै सिर्जना गरेको हो । बौद्धिक क्षमता उपयोगबाट मानव जीवन सहज तुल्याउने प्रयास निरन्तर जारी छ ।

सञ्चारले संसारलाई एकीकृत बनाएको छ । ऊर्जा विकासले भौतिक उत्पादनको क्षमता बढाएको छ । प्रयोगशालाबाट जीवको वंशवृद्धि हुनथालेको छ । वनस्पतिका जातीय गुण उत्परिवर्तन गरी गुणात्मक र मात्रात्मक वृद्धि भएको छ ।

देवताको कथा सुनेको भरमा नभई सिर्जनशील मानव मस्तिष्कबाट मात्र नयाँ नयाँ आविष्कार सम्भव भएको छ । आविष्कार गर्ने मानव मस्तिष्कले देवताको सट्टा खोज र अनुसन्धान माथि विश्वास ग¥यो । यो वर्ग मानवका लागि स्रष्टा शक्ति हो । बौद्धिक सर्जकहरूका लागि सृष्टि तथा आविष्कार नै उनीहरूको क्रियाकलाप हो । मानिसका उपभोग्य वस्तुको उपलब्धता मजदुरी नै हो ।

जगत सञ्चालनका लागि शारीरिक श्रम र मानसिक श्रम बराबर आवश्यक पर्छ । दुवै श्रमको प्रतिफलबाट मात्र जगत अघि बढेको छ । मानसिक श्रम पनि मजदुरी नै हो । राष्ट्रप्रति वफादार उच्च नेता, कलाकार, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी आदि यही वर्गमा पर्छन् । यो वर्ग बौद्धिक मजदुर हो तर श्रमशील मजदुरको जगमा रहेर मात्र यो वर्गले काम गर्न सक्तछ ।

सारमा भन्नु पर्दा, सबै किसिमका मजदुरीको समान महत्व छ । शारीरिक श्रम गर्ने मजदुरहरू विकासको हरेक पक्षबाट पिछडिएका देखिन्छन् । मानव जीविकाका लागि योगदान भने यही वर्गले धेरै गरेको हुन्छ । त्यसैले मजदुरप्रति व्यक्तिगत सद्भावमात्र होइन दीर्घकालीन रूपमा शोषणरहित व्यवस्था हुनै पर्छ ।

भोजनको हरेक गाँसमा, वस्त्रको हरेक धागोमा, महलको हरेक इटामा र जीवनका हरेक पलमा मजदुरले हात र साथ दिएका हुन्छन् निःस्वार्थ भावले । देवताका लागि मन्दिर जानै पर्दैन, मजदुरमाथि मानवीय भाव राखे पुग्छ, श्रमिक मजदुरप्रति शिष्टता देखाए पुग्छ । अमुक देवताका नाममा दान गर्नुको साटो श्रमजीवी मजदुरको शोषण नगरे पुग्छ । यिनीहरू नै हाम्रा प्रत्यक्ष देवता हुन् ।

मजदुरका लागि नेताको उन्मादपूर्ण भाषण होइन, सम्मानपूर्ण जीविकाको सुनिश्चितता आवश्यक छ । दलका नेताहरूले केवल भोटको लागि श्रमिक मजदुरलाई अनेक आश्वासन बाँड्ने गरेका छन् । आश्वासनले सम्मान दिँदैन र श्रमशक्ति मुलुकबाट पलायन हुन पनि रोक्दैन ।

मजदुर बौद्धिक होओस् कि श्रमिक, मुलुकभित्रै रोजगारी सिर्जना गरेर उसलाई अड्याउने दीर्घकालीन नीति तथा कार्यक्रम अविलम्ब आवश्यक छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ५५ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा