कोभिड–१९ सँग जुध्न फिनल्यान्डले नेपाललाई मजबुत सहायता गरेको छ « Khabarhub
Logo
१७ श्रावण २०७८, आइतबार

कोभिड–१९ सँग जुध्न फिनल्यान्डले नेपाललाई मजबुत सहायता गरेको छ



नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेन् फिनल्यान्ड र युरोपेली युनियन नेपालको विकास र प्रगतिका लागि प्रतिबद्ध रहेको बताएका छन् । फिनल्यान्डले कोभिडविरुद्ध लड्न नेपाललाई हालसम्म करिब ३० हजार केजी स्वास्थ्य सामग्री लगायतको सहायता गरेको छ ।

नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यी दुई देशबीचको आपसी सम्बन्ध हार्दिक, मित्रवत र सहयोगी रहँदै आएको छ ।

नेपाल कोभिड महामारीसँग जुध्दै गर्दा फिनल्यान्डको सहयोगमा हाल सञ्चालन भइरहेका परियोजनालाई पुनर्व्यवस्थित र पुनर्निर्देशित गरेको छ । यसै विषय लगायत दुई पक्षीय सम्बन्धको विविध विषयमा खबरहबका ईश्वरदेव खनालले राजदूत आन्तिनेन्‌सँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश प्रस्तुत गरेको छौँ ।

कोभिड–१९ नियन्त्रणका लागि फिनल्यान्डले नेपाललाई गरेको के–कति सहयोग गरेको छ ?

दुर्भाग्यवश, म फिनल्यान्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपाललाई गरेको सहयोगको यकिन तथ्यांक बताउन सक्दिन ।

हामीले नेपाल कोभिड महामारीसँग जुध्दै गर्दा फिनल्यान्डको सहयोगमा हाल सञ्चालन भइरहेका परियोजनालाई पुनर्व्यवस्थित र पुनर्निर्देशित गरेका छौँ ।

फिनल्यान्डको आर्थिक सहयोगमा सञ्चालित गैरसरकारी संस्था (१७ वटा) ले पनि नेपालमा सहयोग गरेका छन् । महामारीले शिक्षा क्षेत्रलाई पारेको प्रभाव न्यूनीकरण गर्न फिनल्यान्डले नेपाललाई करिब २ दशलमव १४ मिलियन युरो २०२०–२१ मा सहयोग गरेको छ । नेपाल सरकारको स्कूल क्षेत्र विकास योजनालाई फिनल्यान्डले उक्त सहयोग प्रदान गरेको छ ।

फिनल्यान्ड र युरोपेली युनियनले कोभिड महामारी नियन्त्रणका लागि नेपाललाई संयुक्त रूपमा कस्तो प्रकारको सहयोग गरेको छ ?

फिनल्यान्डले एउटा मालबाहक विमानमा कोभिड महामारी नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न प्रकारका समाग्री करिब ३० हजार केजी नेपाललाई मे महिनामा सहयोग गरेको छ । युरोपेली युनियनको नागरिक सुरक्षा कार्यविधि अन्तर्गत फिनल्यान्डले उक्त सहयोग नेपाललाई प्रदान गरेको हो ।

महामारी नियन्त्रणका लागि संयुक्त प्रयासबाट आगामी दिनमा थप सहयोग पनि प्रदान हुन्छ कि ?

वैश्विक स्तरमा फिनल्यान्डले संयुक्त राष्ट्रसंघको आर्थिक सहायता कोषका माध्यमबाट सहयोग गरिरहेको छ । यस क्रममा फिनल्यान्डले विश्व बैंक एसियाली विकास बैंक र कोभ्याक्स कार्यक्रमलाई सहयोग गरेको छ । यस्तै, हामीले कोभिड–१९ विरुद्ध लड्न लाखौँ युरो नेपाललाई सहयोग गर्ने विषयमा छलफल गर्दैछौँ ।

नेपालमा कोभिड–१९ को दोस्रो लहरका क्रममा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगलाई कसरी हेर्नुभएको छ ?

हामीले नेपालको सहयोगको आग्रहलाई बलियो, सामयिक र मजबुत हिसाबमा सम्बोधन गर्न सकेका छौँ जस्तो लाग्छ ।

यसका अतिरिक्त कोरोनाको खतरनाक भाइरससँग लड्न नेपाल सरकारले नै आन्तरिक स्रोतको परिचालन प्रभावकारी रूपमा गर्नु महत्वपूर्ण हुन्छ ।

कोरोनापछिको समयमा नेपाल र फिनल्यान्डबीचको सहायताको सम्भावनालाई कसरी हेर्नुभएको छ ? दुवै देशले दीर्घकालसम्मका लागि साझेदारी कसरी गर्न सक्छन् ?

फिनल्यान्ड र सम्पूर्ण युरोपेली युनियन नेपालको विकास र नेपाली जनताको भलाइका लागि सधैँ प्रतिबद्ध रहन्छ ।

फिनल्यान्डको नेपालसम्बन्धी नयाँ रणनीति कार्यक्रम २०२१–२४ लाई हालै मात्र हाम्रो देशको विकास नीति तथा व्यापार मन्त्री विले स्किनारीबाट स्वीकृत भएको छ । हामी ‘वास’ कार्यक्रम, शिक्षा र लैङ्गिक समानताको पक्षमा केन्द्रित रहने छौँ ।

उक्त अवधिमा ५४ मिलियन युरोको सहायता हामी गर्ने छौँ । यसका अलावा निजी क्षेत्र सहकार्य लगायतका अन्य आर्थिक सहायता पनि सँगसँगै हुनेछ ।

अवसर, सम्भावना र चुनौतीका विषयमा नेपालमा तपाईंको अनुभव कस्तो रह्यो ? तपाईंको अनुभवमा नेपाल–फिनल्यान्डबीचको सम्बन्ध कुन कुन क्षेत्रमा विस्तार गर्न सकिन्छ ? कोभिडपछिको समयमा सहकार्यका लागि प्राथमिकता निर्धारणका विषयमा दुई देशले कसरी काम गर्नसक्छन् ?

आर्थिक र राजनीतिक क्षेत्रमा दुवै देशबीच सहकार्य अघि बढाउने सम्भावना छ । उदाहरणका लागि केही महत्वपूर्ण वैश्विक समास्याको समाधानका लागि जस्तै जलवायु परिवर्तन, वैश्विक महामारी नियन्त्रण । यस्तै, नेपाल–फिनल्यान्डबीच आर्थिक सहकार्यका र व्यापार अभिवृद्धिका लागि पनि काम गर्न सकिन्छ ।

नेपालका कुन कुन क्षेत्रमा फिनल्यान्डका गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य संस्थाले सहकार्य गर्न सक्छन् ?

फिनल्यान्डको नागरिक समाजले नेपालका स्थानीय नागरिक समाज जोसँग उसको सहकार्य छ, तीसँग मिलेर धेरै विषयमा काम गरिरहेको छ ।

उदाहरणका लागि सहकार्य योजना अन्तर्गत महिला सशक्तीकरणका क्षेत्रमा काम गरेको छ, आय उत्पादनका क्षेत्रमा र स्थायी जीविकाका माध्यमबाट सामुदायलाई मजबुत बनाउने काम गरेको छ ।

यस्तै, फिनल्यान्डले सिप विकासका, बाल अधिकार, अशक्त व्यक्तिहरूको अधिकार, शिक्षा, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोत व्यवस्थापन र जलवायु परिवर्तनसँग रूपान्तरणको क्षेत्रमा काम गरिरहेको छ ।

नेपालका नागरिक समाज र फिनल्यान्डका नागरिक समाजबीच लामो तथा नजिकबाट सहकार्य हुँदै आएको छ । सबै प्रकारका सहकार्यको प्राथमिक उद्देश्य भनेको स्थानीय स्तरमा साझेदारी गर्दै सीमान्तकृत र पीछडिएका समुदायका मानिसको नजिक पुग्ने हो ।

नेपाल र फिनल्यान्डका निजी क्षेत्रका संस्थानबीचको सहकार्यको कुरा गर्ने हो भने हामी भविष्यमा नयाँ नयाँ योजनाअघि आओस् भन्ने चाहन्छौँ ।

शिक्षाका क्षेत्रमा, डिजिटलाइजेशन, क्लिन प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा नेपाल र फिनल्यान्डबीच सहकार्य गर्ने अवसर दुवै देशसँग छ ।

व्यापार र लगानीका लागि उचित वातारणको विकास हुनु आवश्यक हुन्छ । नेपाल र फिनल्यान्डबीच अर्को नजिकको सम्बन्ध भनेको फिनल्यान्डमा धेरै संख्यामा नेपाली विद्यार्थी अध्ययनरत रहनु पनि हो ।

उच्च शिक्षाका क्षेत्रमा र सिपमूलक क्षेत्रमा कोभिड–१९ पछिको अवस्थामा दुई देशबीच सहकार्य हुने सम्भावना छ ?

कोभिड–१९ पछिको युगमा सकार्य गर्न धेरै क्षेत्र छन् । नेपालको सन्दर्भमा हालको सबैभन्दा ठूलो चुनौती स्कूलमा शिक्षकको तयारी सम्बन्धी हो ।

यसमा धेरै तत्वहरू समावेश हुन्छ जस्तै पाठ्यक्रम विकास, अध्ययन सामग्रीको प्रासङ्गिकता र शिक्षकको विकास र पाठ्यक्रम तयारी सम्बन्धी प्रभावकारिता ।

यसमा शिक्षक प्रबन्ध, शिक्षण सिकाइ र शिक्षक मूल्यांकनमा सुधार, स्थानीय स्तरमा शिक्षक परिक्षण केन्द्रको विस्तार गर्दै शिक्षण प्रासङ्गिकताको विकास गर्नुपर्छ । यसमा गुणस्तरीय शिक्षा र दक्षता अभिवृद्धि पनि सामेल छ ।

शिक्षाको समग्र गुणवत्तामा सुधारका लागि केही प्रमुख कार्यहरू छन् जसमा बच्चाहरूको सिकाइ अभिवृद्धि गर्ने कार्य पनि समावेश हुन्छ ।

केही वर्षदेखि फिनल्यान्डले अन्य क्षेत्रमा पनि सहयोग पुर्‍याउँदै आएको छ ।

यसका अलावा वार्षिक रूपमा फिनल्यान्ड गई उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको संख्या बढ्दै छ ।


भर्खर

0