दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै | Khabarhub Khabarhub

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ ।

शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ ।

शवदाह निर्माण गर्ने जिम्मा पाएको मिलिनियम सिद्धगढी जेभीले कहिले कोरोना महामारी त कहिले बाढीले क्षति पुर्‍याएको भनी समय माग्यो । सरकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले पनि उसले मागेअनुसार म्याद थप गर्दै गयो । आयोजनाले दिएको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ ।

तर, चैतसम्ममा पनि शवदाह गृह निर्माण सम्पन्न हुनेमा आयोजना प्रमुख नै विश्वस्त छैनन् । एक महिनाभित्र कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्ने तयारी भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।

‘छिटो काम सक्नलाई हामीले दबाब र ताकेता गरिरहेका छौँ । एक महिनाभित्रको कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्छौँ’, उनले भने । दैनिक ३० जनाभन्दा बढी कामदार खटाएर एक महिनाभित्र स्ल्याब ढलानको तयारी नगरे काम सन्तोषजनक नमानिने उनले बताए । अहिलै ठेकेदारले दैनिक १३ जना मात्रै कामदार फिल्डमा खटाएको छ ।

शवदाह गृहको टाइविमको काम सकेर पिलरको काम सुरु भएको छ । ठेकेदारले गएको जेठमा शवदाह गृहको जग खनेको थियो । जग खनेर सोलिङ गरेपछि बाढीले पुर्‍यो । बर्खामा बाढी आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि ठेकेदारको आफ्नै ढिलासुस्तीले गर्दा बाढी पसेको अर्याल बताउँछन् ।

शवदाह गृह निर्माणमा चरम ढिलासुस्ती भएपछि सहरी विकास तथा भवन निर्माण विभागले गएको मंसिरमा आयोजनालाई स्पष्टीकरण सोधेको थियो ।

शवदाह गृहको निर्माण सुरु भएपछि कोभिड-१९ को पहिलो र दोस्रो लहरका कारण कामदार फिल्डसम्म जान नसकेको, बाढीले रिटेनिङ वालमा क्षति पुर्‍याएको र निर्माण व्यवसायीले समयमै जगको काम गर्न नसक्दा बाढीले क्षति पुर्‍याएको भनी आयोजनाले जवाफ दिएको थियो ।

ठेकेदारले लग्यो दुईपटकको भुक्तानी

शवदाह गृह निर्माणमा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले दुईपटक भुक्तानी लिइसकेको छ । दुईपटकमा डेढ करोड रुपैयाँ लगिसकेको आयोजना प्रमुख अर्यालले बताए । पेस्कीसमेत गर्दा ठेकेदारले दुई करोडभन्दा बढी रकम लगिसकेको छ ।

दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्नेगरी ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो । बाढीले क्षति पुर्‍याएपछि गएको असारदेखि मात्रै ठेकेदारले काम थालेको उनले बताए ।

पवित्र धार्मिकस्थल देवघाटमा चार कठ्ठा जमिनमा विद्युतीय शवदाह गृह बनाउन लागिएको हो । देवघाटमा दैनिक औसत १२ जनाको शव दाहसंस्कार गर्ने गरिएको छ । शवदाह गृह निर्माण भएपछि शव जलाउन छिटो र सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : २५ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा