शरीर शुद्धीकरण र मानव रक्षाको पवित्र पर्व  | Khabarhub Khabarhub

शरीर शुद्धीकरण र मानव रक्षाको पवित्र पर्व 



यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व यही भाद्र ६ गते, कोरोनाको मारले मठ, मन्दिरमा भीड नभए पनि घरघरमा हर्षेल्लासका साथ मनाइएला ।

यस्तो छ जनै धारण गर्ने मन्त्र :

 यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् ।

आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः ।।

चान्द्रमानअनुसार श्रावण शुक्ल पूर्णिमा जनै पूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीहरूका लागि यो वर्षभरिको महान् पर्व हो । मानव शरीरमा शुद्ध र स्वाध्याय गरिरहनुपर्ने हँुदा यस दिन शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिन मानिन्छ । विशेष स्नान गरी यज्ञोपवीत (जनै वा ब्रह्मसूत्र) धारण गर्ने दिन वा उपाकर्म गर्ने दिन हो ।

यजुर्वेदीहरूका लागि वेदको अध्ययन आरम्भ गर्ने दिन श्रवण नक्षत्रयुक्त भएकाले श्रावणी भनिएको हो ।  सामवेदीहरू भाद्र शुक्ल पूर्णिमा र अथर्ववेदीहरू श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन्  ।

तागाधारीहरूले यस दिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गर्छन् । सप्तऋषिको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित जनै फेर्दछन् ।

वर्गपिच्छे जनै बनाउने वस्तु र विधि फरक भए पनि सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्छन् । जनै प्रयोग गर्नुअघि विधि विधानले जनैको संस्कार गरेको हुनुपर्छ । चूडाकर्म, उपनयन, व्रतबन्ध आदि कर्म भइसकेका व्यक्तिका लागि यो दिन जनै नवीकरण गर्ने दिन हो । मन्त्रिएको नयाँ जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरेर फुकालिन्छ ।

प्रजापति देवतासँगै यज्ञोपवीत ‘जनै’ को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापतिरूपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचको रूपमा रहन भगवदीय प्रार्थना गरी जनै लगाउने गरिन्छ । विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्य प्राप्त हुन्छ ।

जनैको बनौटदेखि नै यसमा विशेष ख्याल गरिएको हुन्छ । शतं सम्बत्सरं जीवेत् भन्ने वैदिक चिन्तन मानिसको पूर्ण आयु सय वर्षको र ९६ सूत, ९ गुणा, ३ डोरा र त्यसमा प्रयोग भएका ग्रन्थीहरूले मानिसको जीवन पूर्णायुको संकेत गर्छ ।

व्रतबन्धादि संस्कार गर्दा जीवन केही समय व्यतित भइसकेको भए पनि झण्डै बाँकी ९६ वर्ष, ९६ सुतली जीवनको पूर्णता र प्रत्येक वर्षको उपाक्रमले यसको नवीकरण र शुद्धीकरणको संकेत गर्छ ।

शरीरका ९ द्वारबाटै अन्त्यमा प्राण विसर्जन भई देहलीला समाप्त हुने हुँदा मुख्य ९ द्वार युक्त शरीरको भरणपोषणको अनि रक्षाको संकेत ९ गुण जनैले दिन्छ । जनैका ३ डोराले जन्मदै ३ ऋण बोकेर आउने र ती देवऋण, पितृऋण, ऋषिऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने संकेत पनि यसबाट प्राप्त हुन्छ ।

देव उपासनाबाट देवऋण, तपद्वारा ऋषिऋण र असल संस्कारबाट असल सन्तान उत्पादन र संस्कारले तदनुकूल व्यवहार गर्नु पितृऋण चुक्ता गर्ने उपायहरू हुन् । जनैका ५ ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने ५ मुख्य कर्मको संकेत गर्छ ।

स्वाध्यायमा रहने, होमादि कार्यबाट देवतालगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत् खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार गर्ने, जल तर्पण आदिले पितृयज्ञ गर्ने, प्राणीहरूलाई जल, अन्न दिएर भूतयज्ञ गर्ने; यी ५ प्रमुख यज्ञहरू मानिसले दिनदिनै गर्नुपर्छ ।

सक्नले यी कार्य सधैँ गर्छन् नसक्नेले जनै पूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा दोषमुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावर र जीवात्माप्रति श्रद्धाभाव व्यक्त गर्दै महासंकल्पका साथ उपाक्रम कर्म गर्छन् ।

ब्रह्माण्डभित्रका सम्पूर्ण लोकालोक अतल, वितल, सुतल, भूतल, रसातल, तलातल, पातालदेखि धर्तीमा रहेका सम्पूर्ण नदी, जलाशय, सागर, महासागर र अन्तरिक्षका भूत, पिशाच, प्रेतगणदेखि आकाशसम्मका ब्रह्मलोक, विष्णुलोक, शिवलोकसम्म र सृष्टिदेखि आजपर्यन्त रहेका, आफू सम्बन्धित तमाम वायुमण्डल र समस्त भूगोल, खगोल, आकाशीय पिण्डहरूलाई समेत स्मरण गरी तृप्त पार्ने प्रयास गर्नुपर्छ ।

समस्त जीव, जीवात्मालाई वर्षभरि तुष्टि, पुष्टि गर्न नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रायश्चित्त गर्दै जलादि तर्पण दान गरी नयाँ जनै लगाउनुपर्छ ।

यस क्रममा ब्रह्माण्डीय पिण्डको सम्पूर्ण सकारात्मक ऊर्जा आफ्नो शरीरमा संरक्षित होस् भन्ने प्रार्थना गर्दै स्नान र पूजाका लागि आफैँले वा ब्राह्मणद्वारा महासंकल्प गरी गराई जानेर वा अन्जानमा भएका सम्पूर्ण कर्मदोष पाप, प्रदूषण, कुकर्म दोषादिबाट टाढा राख भनी परमेश्वरप्रति विशेष प्रार्थना गर्नुपर्ने वैदिक विधान छ ।

यस दिनको स्नान, जनै अभिमन्त्रणकार्यमा चार घण्टाभन्दा बढी लाग्छ । पितृहरूका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ । देवताहरूका लागि जनै सव्यबाट तर्पण गरिन्छ ।

तागाधारीका लागि जनै पूर्णिमा वर्षभरिको पवित्रतम दिन हो । विधिपूर्वक मन्त्रणा गरिएको जनैले शरीरमा तेज, पुष्टि, कृति, बुद्धि, धर्म वृद्धि, आयु र आरोग्य प्राप्त हुन्छ । रक्षाबन्धले सबै किसिमका शत्रुबाट रक्षा गर्छ भन्ने विश्वास छ ।

आजै नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।

ब्रह्माण्डमा अनेकौँ द्विपहरू छन् । शरीरका नाडीनसाझैँ साढे तीनकरोड तीर्थहरू छन् । अनेकौँ धामहरू छन् । सम्पूर्ण ब्रह्माण्ड नै आफ्नो शरीर सम्झी ब्रह्माण्डीय तत्तत् स्थानहरूमा स्थूलरूपमा पुग्न, हेर्न, देख्न, स्तुतिबन्दना गर्न नसकेका तीर्थस्थलहरू स्मरण गर्नुपर्छ ।

नियमित स्नान, दान, ध्यान गर्न नसकेकोमा प्रायश्चित स्वरूप आफ्नै पूजास्थलमा आह्वान गर्नुपर्छ । यसै प्रक्रियाबाट वेद, उपनिषद, गायत्री, गीता, पुराण, उपपुराण, शास्त्रीय विधिले चिन्तन गरी रक्षाबन्धनको मन्त्र पढेर आचार्य, गुरु, पुरोहितका हातबाट रक्षाबन्धनको डोरो समेत बाँध्ने संस्कार यसै दिनमा पर्छ ।

पहेँलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले पुरुष, स्त्री, बाल, वृद्ध सबै वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन रहीआएको छ । जनै पूर्णिमाको दिन दिदीबहिनीहरूका हातबाट रङ्गीन राखी बाँध्ने, उपहार आदान–प्रदान गर्ने चलन छ ।

यज्ञोपवीत धारण नगर्ने महिला र अन्य वर्गका स्त्री–पुरुष, केटाकेटी सबैले रक्षाबन्धनको डोरो बाँध्ने चलन छ । रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने विश्वास सत्य युगदेखि रहिआएको देखिन्छ ।

अघि दानवबाट पीडित देवगणले अभिमानी असुरहरूको हातबाट त्राण पाउन गुरु वृहस्पतिसामु हारगुहार गरेपछि वृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत् देवराज इन्द्रलाई बाँधिदिएको विश्वास छ । यसो गर्दा गुरु वृहस्पतिले जप गरेको विशेष मन्त्रका शक्तिले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको भन्ने प्रसङ्ग छ । यस्तो छ रक्षा बन्धनको मन्त्र :

येनबद्धो बलीराजा दानवेन्द्रो महाबलः ।

तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।।

यस्तो सुरक्षा कवचको तयारी श्रावणशुक्ल चतुदर्शीका दिन भएको र मन्त्रसहित इन्द्रका हातमा बाँधिएको समय पूर्णिमाको दिन परेको मानिएको छ ।

जनैमा रहेका ९ तन्तुमा ॐकार, अग्नि, सोम, पितृ, प्रजापति, यम, विश्वदेव आदिको आह्वाहन गरिन्छ । जनै ग्रन्थीमा ॐकै प्रतीक ब्रह्मा, विष्णु, शिव तीन शक्ति र गायत्रीसहित आह्वाहन गरी ब्रह्मसूत्र ब्रह्मतेजको रूपमा सब्य पारी धारण गरिन्छ ।

यसरी धारण गरिएको जनै आवश्यकता अनुसार पितृकार्यमा अपसव्य गरेर पितृ कार्य गरिन्छ । देवकार्य लगायत अरू जुनसुकै बेलामा पनि जनै सव्य नै हुन्छ । सब्य भन्नाले देब्रे काँधमा अड्याएर दायाँतिर काखीमुनि फर्काएर लगाउनु हो ।  दायाँ काँधमा अड्याएर देब्रे काखीमुनि पारिनु अपसब्य हो ।

शौच गर्दा पनि जनैलाई पवित्र राख्न कानमा अड्काउने गरिन्छ, कान शरीरको तीर्थस्थान हो । तागाधारीहरूलाई जनैबाट अलग राख्नु भनेको उसको ब्रह्मतेज समाप्त गरी तेजोबध गर्नु हो ।

श्रावण शुक्ल पूर्णिमामा पर्ने जनै पूर्णिमाका कार्य भने पुरुषोत्तम मास पर्न गए भाद्र शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ ।

ऋषितर्पणीका नामले चिनिने जनैपूर्णिमा ऋषितर्पणका हिसाबले हिन्दु र कामाशक्ति माथि विजय प्राप्त गरेका हिसाबले बुद्धमार्गीहरूका लागि विशेष दिन हो ।

यसै दिन गौतम बुद्धले आफ्नो कामेच्छामाथि विजय प्राप्त गरेका थिए त्यसैले बौद्धमार्गीहरू यस विशेष प्यारो दिनमा बौद्ध तीर्थस्थलहरूमा जाने गर्छन् ।

आफ्ना यजमानहरू राजा बलीजस्तै दानवीर र बचनका पक्की हुन् भनी गुरुपुरोहितहरूले विशेष आशीर्वाद दिने गर्छन् ।

जनैपूर्णिमाका दिन खास गरी ९ थरिका गेडागुडीहरू मिलाएर क्वाँटी खाने चलन छ । स्वास्थ्यवर्धक विशेष खाना मास, मुँग, बोडी, सिमी, गहत, राज्मा, चना, भटमास, केराउ आदि पोषकतत्व एकैठाउँमा मिसाई भिजाई टुसा उमारी तयार पारेको क्वाँटी विशेष मरमसलासहित खानाले शरीरमा तेज र पुष्टि बढ्ने हुँदा यसदिन विशेष क्वाँटी खाने चलन चलेको हो ।

धर्म, संस्कृतिको, सभ्यता र संस्कारको बेजोड नमूनाको रूपमा रहेका नेपालीहरूका लागि जनैपूर्णिमा चाड वर्षभरिकै विशेष र उत्कृष्ट पर्वको रूपमा रहेको छ ।

हाम्रो मुलुकमा यस दिन खास गरी शिवमन्दिरहरूमा विशेष पर्वमेला लाग्ने गर्दथ्यो । कोरोनाका कारण गत वर्षदेखि यीक्षेत्र ओझेलमा परेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ६ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०