प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न विपक्षी नेताहरूको आह्वान | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न विपक्षी नेताहरूको आह्वान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षीहरू विरोध गरेका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गरेका छन् ।

सामूहिक प्रतिवाद गरौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस ५ को विघटनविरूद्ध एक्लाएक्लै लडिएकोमा अब सामूहिकरूपमा प्रतिवादमा उत्रन दलहरूलाई आह्वान गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै पौडेलले भने,’ राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको षडयन्त्रको साझेदार बन्नु दुर्भाग्यपूर्ण छ, अब सामूहिक प्रतिवाद गरेर लोकतन्त्र जोगाऔँ ।’

राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि र पद्धती मिचेर लोकतन्त्रमाथि हमला गरेको कांग्रेस नेताहरूले आपत्ती जनाएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्- ‘महामारीमा मृत्युसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’

कांग्रेसकै नेता डा.शेखर कोइरालाले राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गरेका छन् । डा. कोइरालाले शनिवार बिहान ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएको पनि आरोप लगाएका छन् ।

यस्तै नेता गगन थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मुलुकलाई अँध्यारो सुरूङमा हालेको टिप्पणी गरेका छन् ।

ओली गणतन्त्र मन नपराउनेको गोटी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संविधान मन नपराउनेको गोटी बनेको टिप्पणी गरेको छ ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै १४९ बहुमत सांसदहरुको हस्ताक्षरसहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै संविधानको धज्जी उडाउँदै र जनमतको अपमान गर्दै संसद विघटन गरिएकाले यसको प्रतिवाद गर्नु पर्ने उनले बताएकी छन् ।

कथित चुनावको उद्घोष जालझेल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद् विघटन गर्दै घोषणा गरिएको चुनाव सर्वसत्तावाद लाद्न गरिएको जालझेल भएकाले त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग-२ भएकोले डटेर प्रतिवाद गर्न उनले आग्रह गरेका हुन् ।

शनिवार बिहान फेसबुकमार्फत आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताए ।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

संविधान र गणतन्त्र खारेज गर्ने प्रपञ्च

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान र गणतन्त्र नै खारेज गर्ने प्रपञ्च भएकाले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन् ।

शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मिति तोकेपछि ट्वीट गर्दै डा.भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च  भएको बताएका हुन् ।

‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म !,’ भट्टराइले ट्वीटमा भनेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’

एमाले सांसदकै कारण मुलुक मध्यावधि चुनावमा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमालेकै सांसदका कारण मुलुक मध्यावधि निर्वाचनमा धकेलिएको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेकै कतिपय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि मुलुक मध्यावधिमा धकेलिएको बताएका हुन् ।

संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशिस गरे पनि आफ्नै सांसदले अन्तरघात गर्दा संसद जोगिन नसकेको उनको भनाइ छ ।

 

 

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : १० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड