क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस सांसद सिंहद्वारा राजीनामा (पत्रसहित) | Khabarhub Khabarhub

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस सांसद सिंहद्वारा राजीनामा (पत्रसहित)


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएको पत्र बुझाएका हुन् ।

पार्टीको क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् ।

धर्नामा बसेकाहरुको मागमा ऐक्यबद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएको बताएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको आरोप लगाउँदै राजीनामा बुझाएको सांसद सिंहले बताए ।

प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उनले बताए । पार्टीका लागि अहोरात्र खटिने कार्यकर्तालाई पाला लगाउने काम भएको र ठेकदार, व्यापारीलाई क्रियाशील सदस्यता दिइएको उनको आरोप छ ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने नि‍ष्कर्ष निकाल्दै राजीनामा दिएको बताएका छन् ।

सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ । लामो समयदेखि कांग्रेसमा सक्रिय नेता कार्यकर्ता अल्पमतमा पर्ने गरी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सर्लाहीका नेता कार्यकर्ता केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्नामा छन् ।

यस्तो छ पत्र

मिति : २०७८ श्रावण ६
सम्माननीय शेरबहादुर देउवाज्यू
प्रधानमन्त्री एवम् सभापति, नेपाली काङ्ग्रेस
विषय : प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा ।
सभापतिज्यू,

नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार असफल भएपछि नेपाली काङ्ग्रेसमा मुलुकका यावत समस्याहरूको समाधान खोज्ने चुनौती थपिएको महसूस मैले गरेको छु । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा राष्ट्रिय जिम्मेवारी कुशलतापूर्वक पूरा हुने विश्वास काङ्ग्रेसका आम कार्यकर्ता र समर्थकहरूले गरेका छन् ।

स्वस्थ आन्तरिक जीवनसहितको गतिशील पार्टीले मात्र मुलुकका समस्याहरूको समाधानका द्वार खोल्न सक्ने भएकोले हाम्रा प्रयासहरू त्यसतर्फ केन्द्रीत हुनुपर्ने मेरो ठम्याइ छ । तर महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ । खासगरी प्रदेश नं. २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ ।

विगत दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन । निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरूलाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरूलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको तर्फ म सम्माननीय सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।

पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार ब्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको छ र, प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि पैदा गराएको छ । यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ ।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता आदर्श नेताहरूको मार्गदर्शनअनुरुप पार्टीलाई सुदीक्षित गर्नुपर्नेमा सिद्धान्तहीन, विचारहीन, अराजक भीडमा रुपान्तरण हुने दुःखद स्थिति उत्पन्न भएकोले एक जिम्मेवार सदस्यका रूपमा मैले आफ्नो विशिष्ट दायित्व पूरा गर्नुपर्ने अवस्था आएको महसूस गरेको छु । आफ्नो पार्टीका निष्ठावान कार्यकर्ताहरूको संरक्षण गर्नु मेरो प्राथमिक दायित्व हो । कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको वृहत्तर दायित्व पूरा हुनेमा आशङ्का उत्पन्न हुनु स्वाभाविक हो र, यो पाटोलाई मैले गम्भीर ढङ्गले आत्मसात गरेको छु । त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ ।

मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु । मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जय नेपाल !

डा. अमरेश कुमार सिंह
प्रतिनिधिसभा सदस्य
क्षेत्र नं. ४, सर्लाही

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : १५ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको