बीपी स्मृतिमा कांग्रेसजनलाई प्रश्न « Khabarhub
Logo
१७ श्रावण २०७८, आइतबार

बीपी स्मृतिमा कांग्रेसजनलाई प्रश्न



दूरदर्शी राजनेता बीपी कोइरालाको निधन भएको ३९ वर्ष पूरा भएको छ । नेपाली कांग्रेसले भव्य कार्यक्रमका साथ तीन दिनसम्म बीपी स्मृति दिवस मनाउँथ्यो । यस पटक त्यस्तो गतिविधि गर्ने फुर्सद कांग्रेसलाई भएन । सत्ता प्राप्त भएको खुशीयाली, बधाई र शुभकामनामा सभापति शेरबहादुर देउवाले व्यस्त छन् ।

भरखर प्रधानमन्त्री पद सम्हालेका कारण देउवा व्यस्त भए पनि इतर पक्षले केही न केही गतिविधि गर्ला भन्ने अपेक्षा कांग्रेसका कार्यकर्ताको थियो ।

बीपी स्मृति दिवसको दुई दिनअघि महामन्त्री शशांक कोइरालाको निवासमा इतर पक्षका नेताहरू भेला भएका थिए । धेरैले भेलामा बीपी स्मृति दिवसको कार्यक्रम तय हुने अनुमान गरेका थिए । बैठकपछि पञ्चायती पृष्ठभूमिका एक नेताले मिडियाहरूलाई जानकारी दिए– हाम्रो समूहले उपप्रधानमन्त्रीसहित कांग्रेसको भागमा पर्नेमध्ये ४० प्रतिशत मन्त्रालय पाउनैपर्ने विषयमा सबै साथीहरूले कुरा राख्नुभयो ।

प्रतिनिधिसभाका २२ प्रतिशत सिट जितेर पनि नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने अवसर पाएपछि कांग्रेस मन्त्रायलय भागबण्डाको बहसमा केन्द्रित छ । ‘विषम’ परिस्थिति भएकोले गुटगत भागबण्डा नगर्ने संस्थापन पक्षको सोच छ । यस्तो समयमा भागबण्डा खोज्नेलाई मोसो दल्नुपर्छ भन्दै संस्थापन पक्षका युवा कार्यकर्ता उत्तेजित देखिएका छन् ।

विशाल भूगोलमा बीपीले जनएकीकरणको नेतृत्व गरेका हुन् । सार्वभौम देशका रूपमा प्राण भर्ने काम बीपीको नेतृत्वमा भएको हो । भूगोलको स्वरूप पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको हो ।

पार्टीभित्र स्थापित भइसकेको ६० र ४० को भागबण्डा हुनुपर्ने अडानमा इतरपक्ष देखिएको छ ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा देवव्रत परियार, डीएन प्रधान, लाक्पा छिरिङ शेर्पा, महेन्द्रनारायण निधिहरू निर्णायक थिए । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको जनक्रान्तिमा नेपालको सम्पूर्ण भूगोलका सबै जातजाति र समुदायका नेता कार्यकर्ता र जनता होमिएका थिए ।

पृथ्वीनारायण शाहले आफ्नो नेतृत्वमा नेपालको भौगोलिक एकीकरणमा योगदान पुर्‍याए । २००७ सात सालको जनक्रान्तिले नेपाली जनताको साझा स्वरूप निर्माण पर्‍यो ।

एउटै उद्देश्यका लागि मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका जनता एउटै मोर्चामा सहभागी भएको पहिलो घटना २००७ सालको जनक्रान्ति नै हो ।

त्यसअघि नेपाल भौगोलिक रूपमा एकीकरण भए पनि जनस्तरमा एकीकरण भइसकेको थिएन । काठमाडौँ उपत्यकामात्रै नेपाल भनिन्थ्यो, उपत्यकाबासी मात्रै नेपाली भनिन्थे । अन्य भूभागबाट काठमाडौँ उपत्यका प्रवेश गर्न ‘भिसा’ चाहिन्थ्यो । उपत्यका बाहिरका जनतालाई हामी नेपाली हौँ भन्ने नै थाहा थिएन ।

२००७ सालको जनक्रान्तिले हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्मका सबै जातजाति र समुदायका जनतालाई हामी नेपाली हौँ भन्ने बोध गरायो ।

त्यही जनक्रान्तिले देशभरिका जनतालाई निर्वाचनको माध्यमबाट शासन सत्तामा पुग्ने अवसर दियो । धेरै उदाहरण दिनै पर्दैन, नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी डडेलधुरा जिल्लाकी थिइन् । उनले २०१५ सालको पहिलो आम निर्वाचनमा तत्कालीन डोटी जिल्लाबाट चुनाव जितेकी थिइन् ।

ताप्लेजुङका लाक्पा छिरिङ शेर्पा, डडेलधुराकी द्वारिकादेवी ठकुरानी, महोत्तरीका रामनारायण मिश्र र मुस्ताङका योगेन्द्रमान शेरचन जनताबाट चुनिएर देशको नीति निर्माणको साझा टेबलमा बसेर छलफल गर्ने बाटो २००७ सालको जनक्रान्तिले नै खोलेको थियो ।

नेपालको जनएकीकरण २००७ सालको क्रान्तिले नै गरेको हो । त्यो जनक्रान्ति नभएको भए नेपालले पनि शायद सिक्किम, कस्मीर, हैदरावाद या भूटानको नियति बेहोर्नु पर्ने थियो कि ! यस्तो तर्कमा पनि तुक नभएको होइन ।

नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान बढी छ कि बीपी कोइरालाको भन्ने निरर्थक विवाद पनि हुने गरेको छ । पृथ्वीनारायाण शाहलाई महान भन्नेहरू बीपीको योगदानलाई निस्तेज गर्न उद्यत देखिन्छन् । राजावादीहरूले त बीपी कोइरालालाई देशद्रोही करार गरेर जेलमै राखेका थिए ।

आफूलाई बीपीका चेला भन्नेहरू सत्तामा जातजाति, समुदाय, लिङ्ग तथा क्षेत्रको समानुपातिक सहभागिताको साटो गुटगत भागबण्डाको झगडामा छन् । बीपीले आरम्भ गरेको देशको प्राण भर्ने अभियान संकटमा परेको छ ।

बीपीको योगदानको उच्च मूल्यांकन गर्ने केही व्यक्तिहरूमा पृथ्वीनारायणप्रति पूर्वाग्रह देखिन्छ । बौद्धिक नेता मानिने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दृष्टिकोणलाई उदाहरण मान्न सकिन्छ । डा. भट्टराईले भौगोलिक एकीकरण पृथ्वीनारायणको र जनएकीकरण बीपीको नेतृत्वमा भएको कुरा स्वीकार गरेका छन् ।

पृथ्वीनारायण शाहले व्यक्तिगत स्वार्थका लागि भूगोल एकीकरणको नेतृत्व गरेको र बीपी कोइरालाले राष्ट्रको स्वार्थका लागि जनएकीकरणको नेतृत्व गरेको ठहर डा. भट्टराईको छ । यो ठहर आफैँमा गलत होइन तर ठूलो राज्यको शासक हुने व्यक्तिगत स्वार्थ नै मान्ने हो भने पनि पृथ्वीनारायण शाहले चालेको कदमले भूगोलको एककीरण भएकै हो, टुक्रे राज्यहरू विलीन भएर विशाल नेपाल बनेकै हो ।

त्यही विशाल भूगोलमा बीपीले जनएकीकरणको नेतृत्व गरेका हुन् । सार्वभौम देशका रूपमा प्राण भर्ने काम बीपीको नेतृत्वमा भएको हो । भूगोलको स्वरूप पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको हो ।

नेपाल निर्माणमा पृथ्वीनारायण शाहको र बीपी कोइरालाको योगदान आपसमा परिपूरक हुन् । पृथ्वीनारायण शाहले शरीर बनाए, बीपी कोइरालाले त्यसमा प्राण भरे ।

पृथ्वीनारायण शाह र बीपी दुबैले थालनी गरेका काम अझै अधुरा छन् । सतलजको पूर्वी किनारमा समाधिस्थ भक्ति थापालाई गत असार १२ गते मात्रै सरकारले राष्ट्रिय विभूति घोषणा गर्‍यो ।

तिष्टा क्षेत्रका नेपालीले पृृथ्वीनाराण शाह खोजिरहेका छन् । लिम्पियाधुरा चिमोटिएको छ । दक्षिणतर्फको दशगजाका जङ्गे पिलरहरू हराउने गरेका छन् । हुम्लाका जीवनबहादुर शाहीहरूलाई ज्यान मार्ने धम्की आउने गरेको छ ।

तिष्टा र सतलजमा पखालेर जतनका साथ थन्क्याइएका खुकरी र तरबारहरूमा खिया लाग्न थालेको छ । ती तरबार र खुकुरीहरूले बलिया पाखुरा खोजेका छन् । बलिया पाखुराहरू खाडी मुलुकमा उँटको स्याहारसुसारमा छन् ।

नेपाली कांग्रेसले बीपीको नाममात्रै जप्ने कि उनको समतामूलक राज्य निर्माणको मार्ग पनि अवलम्बन गर्ने ? कांग्रेसजनका लागि आजको ज्वलन्त प्रश्न यही हो ।

यता आफूलाई बीपीका चेला भन्नेहरू सत्तामा जातजाति, समुदाय, लिङ्ग तथा क्षेत्रको समानुपातिक सहभागिताको साटो गुटगत भागबण्डाको झगडामा छन् । बीपीले आरम्भ गरेको देशको प्राण भर्ने अभियान संकटमा परेको छ ।

यो अभियान अघि बढाउनुपर्ने मुख्य दायित्व रहेको पार्टी नेपाली कांग्रेस चुकेकै कारण आज देशमा विभिन्न जाति र समुदायले समानान्तर राजनीतिक गतिविधि गरेका छन् । बीपीले स्थापना गरेको नेपाली कांग्रेसप्रति मधेशी जनताले अपनत्व प्रकट नगर्ने अवस्था किन भयो ? जनजातिले अपनत्व प्रकट नगर्ने अवस्था किन भयो ? दलितले अपनत्व महसुस नगर्ने अवस्था किन भयो ? कांग्रेसका युवा नेताहरूले पनि यी प्रश्नमा ध्यान दिएको देखिन्न ।

सधैँ एउटै समुदायका व्यक्तिको नेतृत्वले देश बलियो हुने भए राणाकालमै धेरै बलियो भएको हुने थियो ।

भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व परिवारवाद र एकल जातियवादबाट मुक्त नहुने संकेत देखेका बीपी कोइरालाले ‘अब भारतमा क्षेत्रीय तथा साम्पदायिक पार्टीहरू हाबी हुनेछन्, त्यसपछि यो विकृतिबाट भारतलाई मुक्त गर्ने नाममा घोर दक्षिणपन्थी शक्तिको उदय हुनेछ जसले भारतलाई कङ्गाल बनाएर विसर्जनको बाटोतर्फ लैजाने छ’ भनेका थिए ।

भारतमा मोदीको मूर्ति राखेर मन्दिर बनाउने काम हुन थालेको छ । यता नेपालमा साम्प्रदायिक विभेद कायमै छ । नेपाली कांग्रेस पार्टी सबै जाजाति र समुदायको साझा पार्टी नबन्ने हो भने कुनै एउटा नेताको मूर्ति राखेर मन्दिर बनाउने काम नेपालमा पनि हुन थाल्नेछ ।

नेपाली कांग्रेसले बीपीको नाममात्रै जप्ने कि उनको समतामूलक राज्य निर्माणको मार्ग पनि अवलम्बन गर्ने ? कांग्रेसजनका लागि आजको ज्वलन्त प्रश्न यही हो ।


भर्खर

0