यी हुन् हार्ट एट्याकका कारणहरु « Khabarhub
Logo
१७ श्रावण २०७८, आइतबार

यी हुन् हार्ट एट्याकका कारणहरु



हार्ट एट्याक अप्रत्यासित रुपमा अपर्झट हुने र तत्काल आपतकालीन उपचार हुन नसके ज्यानै समेत जान सक्ने र बाँची हाले पनि जीवनभर परावलम्बी र पराश्रित हुनु पर्ने घातक रोगको रूपमा लिइन्छ ।

यसको जोखिम र कारकहरुको उचित निदान गरि हटाउन सके उल्ट्याउन पनि सकिने यो रोगकै कारणले संसारभर १ करोड ७७ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । मर्नेहरुमा अब पश्चिमेली भन्दा पूर्वेलीहरुकै संख्या ज्यादा छ । जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरि अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको मृत्यु दरलाई ५० प्रतिशतले, फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् ।

तर, रोगका कारकतत्वहरुसंग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदाएले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् । हृदयघातका कारणाहरू दुइ प्रकारका छन् । उल्ट्याउन नसकिने र उल्ट्याउन सकिने ।

उल्ट्याउन नसकिने कारणहरुः

. उमेरः ३० वर्ष उमेर पार गरेछि धमनीहरुमा साघुऱ्याउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ र ४० वर्ष कटेपछि तपाइँ हामी सबैलाई जोखिममा राख्दछ ।

. पुरुष लैङ्गिकताः हृदयघातका ८० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्ट्रोजान नामक हारमोनले र नारी ब्यक्तित्वले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ । तर महिनावारी सुकेका पाठेघर तथा डिम्बाशयका अपरेसन गरेका गर्भनिरोधक चक्की खाने र धेरैचोटी गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ ।

. पारिवारिक इतिहासः हृदयघात अनुवंशिक रोग पनि हो । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भए पनि उनीहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउने भएकाले ह्दय रोग लाग्दछ ।

उल्ट्याउन सकिने कारणहरुः

. उच्च रक्त संयुक्त कोलेस्टेरोलः कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । शरीरलाई चाहिने तत्व भए पनि यसको रक्त मात्र सामान्य ९२०० मि.ग्रा.रडे.ली भन्दा ज्यादा भएमा धमनी साघुर्‍याउने आथेरोस्क्लेरोसिस् भन्ने रोग लाग्दछ । माछा, मासु, अण्डा, दुध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाईन्छ, वनस्पति जन्य चिल्लोमा पाईदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पुर्‍याउनु पर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन, एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । प्रोटिनयुक्त कोलेस्टेरोल वा फ्रि कोलेस्टेरोल रगतमा घुम्दा उपापचयी क्रियाबाट प्राप्त फ्री रेडिकलहरुसंग मिलेर नशालाई घात गर्न सक्ने पदार्थ बनि चिपचिप भई रक्त नलीका भिताहरुमा टासिन पुग्छ र टाँसिएको ठाउँमा प्रदाहतमक क्रिया सुरु भई ऊक्त स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक नशा साँघुर्‍याउने डल्लो बन्छ र ह्दयरोग लाग्दछ ।

.उच्चरक्त एलडीएल कोलेस्टेरोलः यो कोलेस्ट्रोलले बोक्ने लिपोप्रोटीन हो । एसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा बढ्छ । ज्यादा भएको एलडीएल चाडै अक्सिडाईज हुन गई प्लाक बनाउछ । प्लाक बनाउनुका अलाबा यसले रक्त नलीलाई रिल्याक्स गराऊने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टर को उत्पादन कम गराएर नशाहरुलाई टाइट राखि रहन्छ र नशा साघुर्‍याउछ ।

. उच्च भि.एल.डी.एल कोलेस्ट्रोल : यो लिपोप्रोटिनलाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भई मुटुरोग लगाउछ ।

. उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ पाचन पश्चात ट्राइग्लिसिराईड फ्याट्टी एसीड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोशीत हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसीड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (हाईड्रोजेनेटेड याट) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा, अन्य तत्वसंग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरीयल फरमेन्टेसन पछि ट्रान्सफ्याटी एसीड बन्दछ । स्याचुरेटेड र ट्रान्सफ्याटी एसीडको सेवनले एलडीएल र भिएलडीएल बढ्ने र एचडीएल घट्ने भएकाले तेलको अति तथा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारण बन्न पुग्दछ ।

. निम्न रक्त एचडीएल कोलेस्ट्रोलः यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ र मुटुरोग लाग्नबाट बचाऊछ ।

. उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

. उच्च रक्तचापः रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवावलाई रक्तचाप भनिन्छ । लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिदा धमलीहरुको भित्री पत्र (इन्डोथेलियम) क्षति ग्रष्त भई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ ।

. मधुमेहः मधुमेह हुँदा बढेको ग्लुकोजले स-साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम गरी दिने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमी हृदयरोग लाग्दछ ।

. मोटोपनः भोजनबाट प्राप्त वा शरीरमा आफै बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकि तौल बढी बडीमास सुचांक, ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भएको अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र एडिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ । जसलाई मुटुरोगको कारक मानिन्छ । साथै मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई पनि बढाउने हुँदा मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

१०. निश्क्रीय जवन : मुटुरोगले श्रम र ब्यायाम बिना निश्क्रीय जीवन जीउनेहरुलाई ज्यादा मन पराउँदछ । निश्क्रिय जीवन जीउँदा मुटु तथा रक्तनलीलाई ब्यायाम हुँन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

११. धुम्रपान तथा सुर्ती सेवन : धुम्रपान नगर्नेलाई भन्दा गर्नेलाई मुटु रोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरुले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गर्न मद्दत गर्दछ । धुम्रपानले पुर्‍याउँने क्षती ब्यक्तिले लिएको चुरोटको संख्यासँग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि हृदयरोग कारणहरु हुन ।

१२. मानसिक तनावः वैचारिक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउछ । यसरी सबै जोखिमहरु बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३. चोकर, रेसा, भिटामिन र एण्टी अक्सीडेण्टहरुको कमीः

रेसा र चोक्करयुक्त खानाले बिषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिँदैन । भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले पनि हृदयरोगबाट बचाऊछ । भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन् । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाउँछ ।

१४. टायप ब्यक्तित्व : मुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै मन पराउँछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने सधै हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पुर्वाग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इर्श्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धी, अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउछ ।

१५. मदिरापान : रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । रक्सीले कलेजो आन्द्रा भुंडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पुर्‍याउने हुँदा त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।

लेखक नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सदस्य हुन्


भर्खर

0