कसरी अन्त्य होला कोरोना संक्रमण ! « Khabarhub
Logo
२३ फाल्गुन २०७७, आइतबार

कसरी अन्त्य होला कोरोना संक्रमण !



धेरै व्यक्तिले वसन्त ऋतुका आफ्नो पूर्वयोजनाहरू समायोजन गरेका छन् । यद्यपि, धेरै व्यक्तिहरू वर्षा र शरद ऋतुसम्म मानिसको दिनचर्या सामान्य हुने अपेक्षा गरिरहेका छन् ।

के उनीहरूलाई यस्तो सोच्ने अधिकार छ ? लकडाउनको चक्रबाट बच्न हामीले के गर्न सक्छौँ ? छोटकरीमा भन्नुपर्दा हामी महामारी तीव्ररूपमा कसरी अन्त्य गर्न सक्छौँ ?

विश्वको कुरा गर्दा बेलायत पाँच वटा प्रभावकारी र सुरक्षित भ्याक्सिन उत्पादन गर्ने बलियो अवस्थामा छ । चुनौती भने धेरै छन् । हामीमाझ रहेको भाइरसको प्रकारका विषयमा हामी अवगत छौँ ।

ब्राजिल, दक्षिण अफ्रिका लगायतका क्षेत्रमा फैलिएका नयाँ प्रकारको भाइरस थप सक्रमणकारी रहेको तथ्य बाहिर आइरहेको छ । यस्तो अवस्थामा बेलायमा पनि गम्भीर स्वास्थ्य परिणाम आउन सक्ने सम्भावना जीवित रहन्छ ।

त्योभन्दा पनि खराब अवस्था भनेको निरन्तर परिवर्तन भइरहेको भाइरसको प्रकार हो । ब्राजिल, दक्षिण अफ्रिका लगायतमा परिवर्तन भइरहेको भाइरसको प्रकारले हामीले उत्पादन गरेको भ्याक्सिन र रोग प्रतिरोधात्मक क्षमतामा नै असर गर्नसक्छ । त्यसको परिणाम उत्पादित भ्याक्सिनको प्रभावकारिता कम हुने सम्भावना रहन्छ भने पुनः संक्रमणको दर बढ्न सक्नेछ । कोभिड–१९ को एक प्रकारको रोग लाग्यो भन्दैमा अर्को लाग्दैन भन्ने आधार छैन ।

आउने बाटो असहज छ तर हामी सहज बाटो पहिल्याउन सक्छौँ । समृद्ध देश जस्तै न्यूजील्यान्ड, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत र युरोपमा रहेका अन्य देशसँग निश्चित रणनीति अपनाउँदै नयाँ प्रकारको भाइरस संक्रमण हुनबाट रोक्ने उपाय अपनाउन सक्ने अवस्था छ । त्यसका लागि उनीहरूले मिश्रित परीक्षण, ट्रेसिङ र आइसोलेशनको उपाय अपनाउन सक्छन् ।

मानिसबीचको घुलमिल रोक्न छोटो र प्रभावकारीरूपमा लकडाउन गर्ने र नयाँ प्रकारको भाइरस फैलनबाट रोक्न सीमा क्षेत्रमा नियन्त्रणको उपाय अपनाउन सक्छन् । यी उपाय अपनाउँदा सबै देशमा महामारी फैलिनबाट रोक्न सकिन्छ भने वैश्विक महामारीलाई अन्त्य गर्नतर्फ उन्मुख हुन सकिन्छ ।

यदि यी देशले धेरैभन्दा धेरै आफ्ना जनता समक्ष भ्याक्सिन पुर्‍याउन सके भने र आफ्नो देशमा देखा परेको नयाँ प्रकारको भाइरस अन्य देशमा फैलिनबाट रोक्न सके भने आगामी ६–८ महिनाको अन्तरालमा आन्तरिकरूपमा सामान्य जीवनमा प्रवेश गर्न सकिनेछ । यो भनेको हामी विद्यालय सञ्चालन गर्न सक्ने अवस्थामा प्रवेश गर्न सक्छौँ भन्ने हो ।

यस्तै रेस्टुरेन्ट, व्यायामशाला, लाइभ म्युजिक कार्यक्रम र खेलकुद सञ्चालन गर्न सक्नेछौँ । यद्यपि भुसको आगोजस्तै फैलिन सक्ने संक्रमणका विषयमा सचेत त हुनै पर्छ । यदि त्यो फैलियो भने पनि आन्तरिक हुनेछ र छोटो समयका लागि हुनेछ ।

हठातरूपमा महामारी अन्त्य हुने सम्भावना छैन । यो विस्तारै हुनेछ । समृद्ध देशले परीक्षण र भ्याक्सिनको प्रयोग र प्रभावकारी स्वास्थ्य उपचारबाट अन्त्य गर्नेछन् । गरिब देशले त्यसको लागि संघर्ष गर्नुपर्ने हुन्छ ।

आन्तरिकरूपमा स्वतन्त्र हुनका लागि हामीले मूल्य चुनाउनुपर्ने छ, बाह्य यात्रामा प्रतिबन्ध सहित । इजरायलको भ्याक्सिन कार्यक्रमको प्रभावकारिता हामीले देखिरहेका छौँ । त्यसका लागि उनीहरूले विदेशीलाई देशभित्र आउन दिइरहेका छैनन् भने जान पनि दिइरहेका छैनन् ।

क्यानडा प्रवेशमा अन्तर्राष्ट्रिय यात्रीले चारमध्ये एक विमानस्थल प्रयोग गर्नुपर्छ भने देशभित्र प्रवेश गरेपछि तोकिएको होटेलमा आइसोलेशनमा बस्नुपर्ने हुन्छ । गत वर्षको महामारीबाट हामीले सिकेको शिक्षाले महामारीबाट बच्ने यो उत्तम उपायका रूपमा देखाएको छ ।

यसको अर्थ बेलायतलाई के हुन्छ ? १५ मिलियन भ्याक्सिनेसन भनेको बेलायतका लागि अतुलनीय शुरूवात हो । संक्रमणदर घटाउन भ्याक्सिनेसनको दर अझ तीव्ररूपमा बढाउनुपर्ने आवश्यकता छ ।

हामीले हाम्रो परीक्षण दर, ट्रेसिङ र आइसोलेश न व्यवस्था अझ बढाउनुपर्ने हुन्छ । आइसोलेशनलमा बसेका मानिसलाई सहयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ । घरैमा आइसोलेशनमा बसेकाको खर्च पनि सरकारले नै व्यर्होनु पर्छ । योसँगै आउने वर्षायामभर नै हामीले अन्तर्राष्ट्रिय आवागमनमा दृढतापूर्वक प्रतिबन्ध लगाउनुपर्छ ।

बेलायत महामारी रोकथामका लागि यसरी अघि बढिरहेको छ । यद्यपि, बाहिरबाट आएको यात्रुको आइसोलेशन व्यवस्थित बनाउने विषयमा भने हिच्किचाइरहेको पाइन्छ । बाहिरबाट आएका तर संक्रमण पुष्टि भएका मानिसलाई मात्रै आइसोलेशनको व्यवस्था गर्नुको सट्टा सबैलाई राख्नुपर्छ । पहिचान हुनुअघि नै संक्रमण फैलिन सक्ने हुँदा पनि आइसोलेशनको व्यवस्था गर्नु उचित हुन्छ ।

यो आवश्यकता स्पष्ट छ, त्यसैले देशभित्र आउने व्यक्तिहरूलाई सक्रियतापूर्वक परीक्षण गर्ने र आवश्यकताका हिसाबमा क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । स्टकल्यान्डका मन्त्री निकोला स्टरजेनले यस्तो गर्न आफू प्रतिबद्ध रहेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कदमको प्रतिक्षा गरेको बताएका छन् ।

भ्याक्सिनको समुचित र प्रभावकारीरूपमा वितरण हुँदामात्रै विश्वबाट महामारी निर्मूल हुने सम्भावना रहन्छ । निराशाजनक सत्य के हो भने महामारी निर्मूल हुन अझै केही समय लाग्नेछ ।

बेलायतजस्ता समृद्ध देशले कोरोना नियन्त्रणमा आन्तरिक हिसाबमा मात्रै सफल भएर हुँदैन । आर्थिक हिसाबमा कमजोर देशका नागरिकलाई कोरोना भ्याक्सिनको पहुँचमा पुर्‍याउन पनि सहयोग गर्नुपर्छ । गरिब देशले स्रोतसाधनको अभावमा औषधि उत्पादक कम्पनीसँग भ्याक्सिन खरिदका लागि मोलतोल गर्न सकिरहेका छैनन् । जसले गर्दा बहुसंख्यक जनसंख्यालाई भ्याक्सिन लगाउन असमक्ष भएका छन् । उता समृद्ध देशले भने प्रतिव्यक्ति ९ डोज भ्याक्सिन खरिद गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यस्ता देशलाई आफूसँग भएको कोभ्यास गरिब देशसँग बाँढ्न आग्रह गरेको छ । नर्वेले आफ्नो जनतालाई भ्याक्सिन लगाउँदै गर्दा गरिब देशका जनतालाई पनि भ्याक्सिन बाँढ्ने प्रतिबद्धता जनाइसकेको छ । बेलायतले आर्थिक सहयोग गर्ने बताए पनि कोभ्यास कसरी वितरण गर्छ भन्ने अहिलेसम्म जनाएको छैन ।

भ्याक्सिन वितरण गर्नुपर्ने नैतिक अनिवार्यता त छ नै, त्योसँगै व्यक्तिगत स्वार्थ पनि जोडिएको छ । आफूले मात्रै भ्याक्सिन लगाएर सुरक्षित हुन सक्ने अवस्था नरहेकाले र भ्याक्सिन प्रयोग नगरेका व्यक्तिबाट संक्रमण फैलिने डर हुँदा समुचित हिसाबमा भ्याक्सिन वितरण गर्नुपर्ने बाध्यता छ ।

भ्याक्सिनको समुचित र प्रभावकारीरूपमा वितरण हुँदामात्रै विश्वबाट महामारी निर्मूल हुने सम्भावना रहन्छ । निराशाजनक सत्य के हो भने महामारी निर्मूल हुन अझै केही समय लाग्नेछ ।

हठातरूपमा महामारी अन्त्य हुने सम्भावना छैन । यो विस्तारै हुनेछ । यसमा कुन देशले कस्तो भूमिका खेल्यो भन्ने कुरा पनि महत्वपूर्ण हुने देखिन्छ । समृद्ध देशले परीक्षण र भ्याक्सिनको प्रयोग र प्रभावकारी स्वास्थ्य उपचारबाट अन्त्य गर्नेछन् । गरिब देशले त्यसको लागि संघर्ष गर्नुपर्ने हुन्छ । दरिलो समर्थनविना उनीहरू एक्लैले यो महामारीबाट पार पाउन सक्ने अवस्था छैन ।

(देवी श्रीधर बेलायतस्थित एडिनबरा विश्वविद्यालय अन्तर्गत ग्लोबल पब्लिक हेल्थ विषयकी प्रध्यापक हुन् । १५ फेब्रुओरी २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)  


भर्खर

0