काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।

काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यस्तै उनले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका बताए ।

भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् ।

महाशाखका निर्देशक डा लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । “हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छौँ,” उनले भने, “अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौँ ।”

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गरेका थिए ।

नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो ।

सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् ।

यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए ।

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलले लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको बताए । उनले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए। नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।

सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ४५ बजे

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै