के हो प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली ? « Khabarhub
Logo
११ श्रावण २०७८, सोमबार

के हो प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली ?



काठमाडौँ– नेपालमा जल तथा मौसम विज्ञान विभागले वर्षा र मौसमसम्बन्धी पूर्वानुमानसहितको भविष्यवाणी गर्छ । यस्तो भविष्यवाणी आमनागरिक, नागरिक उड्डयन र पर्वतारोहणका लागि लक्षित गरिएको हुन्छ ।

नेपालले हालसम्म गर्ने गरेको सामान्यतया यस्तो भविष्यवाणीमा वर्षा र मौसमले कतिसम्म क्षति पुर्‍याउन सक्छ भन्ने कुरा समावेश हुँदैन । कहाँ बाढी आउन सक्छ, कहाँ पहिरो जान सक्छ, कहाँको बाटो अवरुद्ध हुन सक्छ, कुन बस्तीमा बढी असर पर्न सक्छ, कहाँ चट्याङ पर्नसक्छ भन्ने जस्ता सूचना समावेश हुँदैनन् ।

सम्भावित प्रभावको सूचना नहुँदा वर्षातको विपद्ले बढी क्षति पुर्‍याएको र त्यस्तो सूचना दिन सके क्षति कम गर्न सकिने निष्कर्षसहित ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ शुरू गरिएको छ । यस्तो सूचना प्रणाली पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा ९ जिल्लामा ३६ वटा स्थानीय तहमा कार्यान्वयन गरिएको छ ।

यो प्रणालीले कसरी काम गर्छ ?

‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ मा कुनै छुट्टै प्रविधि प्रयोग हुने होइन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागले हाल गर्दै आएको पूर्वानुमान प्रणालीअन्र्तत नै स्थानीयस्तरको सूचना प्राप्त गरेर ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ कार्यान्वयन गरिएको हो ।

यो प्रणाली ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ र ‘जल तथा मौसम विज्ञान विभाग’ को सहकार्यमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ लागु भएको हो । विभागले जल तथा मौसमसम्बन्धी सूचना जारी गर्छ भने प्राधिकरणले सम्भावित क्षतिका आधारमा आवश्यक पूर्वकार्य र पूर्वतयारी गर्छ ।

विभागकी मौसमविद् शान्ति कँडेलका अनुसार यस प्रणालीमा हाल स्थानीय तहमा कम्तीमा एक जना ‘फोकल पर्सन’ रहन्छन् । जल तथा मौसम विज्ञान विभागले ‘फोकल पर्सन’ मार्फत स्थानीय क्षेत्रको भौगोलिक तथा बसोबासको अवस्था, बाटो/सडक, यसअघि वर्षाले पुर्‍याउने गरेको क्षति लगायतका आवश्यक सूचना संग्रह गर्छ ।

ती सूचनाका आधारमा विभागले उक्त क्षेत्रका कुनकुन ठाउँमा मौसम र वर्षाले कस्तो असर पुर्‍याउन सक्छ भन्ने पूर्वानुमान गरेर फोकल पर्सनलाई जानकारी गराउँछ । फोकल पर्सनले प्रभावित हुनसक्ने ठाउँका मानिस र स्थानीय तहका अधिकारी लगायतलाई सूचना दिन्छन् ।

फोकल पर्सनले परिस्थितिको संवेदनशीलता अनुसार फोन वा इमलेबाट सूचना पाउँछन् र यस्तै प्रक्रियाले विभागमा सूचना पठाउँछन् । मौसमविद् कँडेल भन्छिन्, ‘फोकल पर्सनले विभागलाई दिने सूचनाको ठूलो महत्व हुन्छ, त्यही सूचनाका आधारमा विभागले सम्भावित असरको पूर्वानुमान जानकारी गराउने हो ।’

यसरी सम्भावित क्षतिको पूर्वसूचना दिने र क्षति न्यूनीकरण गर्ने प्रणालीलाई ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ भनिएको हो । यस्तो प्रणालीबाट भारी वर्षा हुनसक्ने ठाउँ, खोला/नदीमा बाढीको अवस्था, पहिरो जाने सम्भावना, स्थानीय जनजीवनमा हुनसक्ने क्षति लगायतको पूर्वानुमानको सूचना विभागले फोकल पर्सनलाई पठाउँछ ।

यस्तो सूचना प्रणालीले राम्ररी काम गर्न सक्यो भने क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने कँडेलको भनाइ छ ।

हाल यो प्रणाली सिन्धुपाल्चोक, गोरखा, रसुवा, बाग्लुङ, स्याङ्जा, म्याग्दी, दैलेख, जाजरकोट र कालीकोट गरी ९ जिल्लाका ३६ वटा स्थानीय तहमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा सञ्चालन गरिएको छ । मौसमविद कँडेलका अनुसार बुधबार विभागले सिन्धुपाल्चोकका चार वटा र रसुवाका चार वटा स्थानीय तहमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना’ पठाएको छ ।

उनका अनुसार ‘जल तथा मौसम विज्ञान विभाग’ यो प्रणाली कार्यान्वयबाट सिक्ने क्रममा छ । अनुभवका आधारमा परिष्कार गर्दै विस्तार गर्ने विभाग र प्राधिकरणको योजना छ ।

यो प्रणाली कार्यान्वयनका लागि प्राधिकरण र विभागको सहकार्यमा तालिम आयोजना गरिएको थियो ।


भर्खर

0