पूर्वमा जात्री र सिरुवाको उल्लास « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

पूर्वमा जात्री र सिरुवाको उल्लास



झापा- नयाँ वर्ष शुरू भएसँगै पूर्वका बस्ती पर्वमय बनेका छन् ।

तराईका आदिवासी समुदायमा वर्षको पहिलो दिनसँगै मुख्य पर्व शुरू हुन्छन् । नयाँ वर्ष शुरू भएसँगै कोच समुदायमा सिरुवा पर्व मनाईएको छ ।

नयाँ वर्षको स्वागतसँगै यो पर्व मनाउने गरिन्छ । यो पर्व तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले मनाउने गरेका छन् । यस्तै वैशाख २ गतेदेखि शुरू हुने धिमाल समुदायको सबैभन्दा मुख्य पर्व जात्रीसमेत जारी छ ।

यसरी मनाईन्छ सिरुवा

सिरुवा पर्व वर्षको अन्तिम दिनदेखिनै मनाउन थालिन्छ । आदिवासी अगुवा तथा ताजपुरिया समाज कल्याण परिषदका पूर्वकेन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार वर्षको अन्तिम दिन ग्रामथान तथा महाराजथानमा पान-सुपारी चढाएर पूजा विधि शुरू गरिन्छ । भोलिपल्ट घर घरमा खाने पकवानहरु तयार पारिन्छ ।

चैतमा पकाएर वैशाखमा खाने भएकाले यस पर्वलाई ‘चैतेर नाधा बैशाक’ पनि भनिन्छ । यस पर्वमा पानीमा भिजाईएको पन्थाभात तथा सजिवन, बोडी, पैसाग, पटुवाको सागको तरकारी, घुन्नी-मुरी (चना-भूजा) लगायतका परिवार खाने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन घरमूलीले सूर्योदय अघिनै घरका सवै सदस्यलाई पानी छर्किएर वर्ष भर शीतलताको कामना गर्दै पानी सिरुवा मनाइन्छ । सोही दिन अघिल्लो दिन पकाईएका पाकवान खाएपछि एक आपसमा काद अर्थात हिलो दलेर काद सिरुवा मनाउने गरिन्छ ।

वैशाख लागे पछि खेतीको समय शुरू हुने र मानव शरीर मृत्यु पछि माटोमै मिल्ने भएकाले माटो प्रति सम्मान जनाउँदै शरीरको शीतलताका लागि यो पर्व मनाउने चलन छ ।

यस्तै वैशाख २ गते आपसमा रंग दलेर रंग सिरुवा मनाईन्छ । वर्षभरको आपसी बैमनस्यता तथा सम्बन्धमा आएका तिक्तता हटाउन रंग दलेर खुसी साटासाट गर्ने गरिएको छ ।

हरायो काजल सिरुवा

पानी, काद तथा रंग सिरुवा मनाउने चलन भए पनि वर्षको तेस्रो दिन मनाउने गरिएको काजल सिरुवा भने हराउँदै गएको छ । पानी, माटो र रंगसँग खेलेपछि आफ्नो दैनिकीमा फर्कनु अघि काजल अर्थात गाजल लगाएर यो पर्व मनाउने चलन छ । पछिल्ला वर्षमा रंग सिरुवा सकिएसँगै सिरुवा पर्व समापन गर्ने चलन छ ।

धिमाल समुदायको जात्री शुरू

कोच समुदायले सिरुवा पर्व मनाईरहँदा पूर्वी नेपालको आदिवासी धिमाल समुदायको सबैभन्दा लामो पर्व जात्री पनि शुरू भएको छ । यो पर्व हरेक वर्ष वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गरिन्छ । धिमाल समुदायले जात्री पर्व भने पनि यो पर्वमा बजाइने ढोलको आवाज ढङ् ढङ् गर्ने भएकाले अन्य समूदायले ढङ्ढङे मेला भनेर बुझ्ने गरेका छन् ।

धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ १ भोगटेनीस्थित राजारानीमा विशेष पूजापछि यो पर्व शुरू हुन्छ । धिमाल जाति विकास केन्द्रका केन्द्रीय सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख अजित धिमालका अनुसार जात्री पर्वको पहिलो दिन राजारानीमा रहेका ग्रामथानमा माझीबराङ् तथा धामीबराङ्ले पूजा गरेपछि यो पर्व शुरू भएको मानिन्छ ।

भोगटेनीबाट शुरू भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने धिमाल जाति विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए ।

टोल टोलमा मेला

कोच समुदायका सिरुवा तथा धिमाल समुदाको जात्रीका अवसरमा विभिन्न टोल टोलमा मेला लाग्ने गरेको छ । अघिल्लो वर्ष भने कोरोनाका कारण सामूहिक रुपमा पूजा गर्न र मेला लगाउन सम्भव नभएकाले क्षमा पूजा मात्र गरिएको थियो । यस वर्ष भने सामूहिक पूजा र मेला लागेका छन् ।

प्रदेश न १ मा ९८ वटा धिमाल टोल छन् । ती मध्ये आधाभन्दा बढीमा जात्री मेलालाग्ने गरेको धिमाल जातिय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जानकारी दिए । २ महिनासम्म मनाइने यो पर्वमा लाग्ने मेलामा सामूहिक रुपमा पूजा गरिन्छ भने आफूले भाकल गरेअनुसार वस्तु चढाउने र बली दिने चलन छ ।

बर-बधू हेर्ने अवसर

आदिवासी समुदायमा टोल टोलमा लाग्ने मेलालाई बर-बधू हेर्ने अवसरका रुपमा पनि लिइन्छ । नित्यानन्द ताजपुरीयाले भने, ‘पहिले अहिलेको जस्तो सम्पर्कका विभिन्न साधन थिएनन्, खबर आदन प्रदान गर्न व्यक्ति स्वयम् पुग्नु पथ्र्यो । त्यस बेला सिरुवाका बेला लाग्ने मेलामा उमेर पुगेका केटा केटीले आफुले मन पराएको व्यक्ति छान्ने वा अभिभावकले बुहारी तथा ज्वाइँ हेर्ने चलन थियो । मेलामा हेराहेर भएपछि घरमा गएर कुरा छिन्ने चलन थियो ।’

यस्तै धिमाल समुदायमा पनि जात्री मेलालाई बर-बधू हेर्ने अवसरका रुपमा लिने गरिन्थ्यो । एउटा बस्तीबाट अर्को बस्तिमा पुग्न सहज नभएको समयमा जात्रीमेलाको समयमा समुह बनाएर जाने र अभिभावकले आफ्ना सन्तानलाई केटा वा केटी हेर्ने गर्दथे ।

कुरा मिलेमा घरैमा पुगेर कुरा छिन्ने चलन रहेको धिमाल समुदायका अध्येता केदार धिमालले बताए । तर भौतिक तथा सञ्चार सुविधाका कारण अचेल केटा-केटी हेराहेर गर्न तथा अभिभावकले बर बधु खोज्न मेला नै पर्खर्नु पर्ने चलनको अन्त्य भएको उनले बताए ।


भर्खर

0