भाइरस फैलिनुमा हामी मानिस नै जिम्मेवार छौँ « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

भाइरस फैलिनुमा हामी मानिस नै जिम्मेवार छौँ



कोरोना भाइरस दिल्लीमा ‘महामारी’ बाट ‘संक्रामक’ रोगमा परिणत भएको दिल्लीका स्वास्थ्य मन्त्री बताएका छन् ।

संक्रामक रोग सम्बन्धी वरिष्ठ चिकित्सकहरूले पनि त्यस्तै बताउन थालेका छन् । उनीहरू सबैको तर्क ठीक हुन सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भाइरस अझै पनि हामी माझ नै छ । आज भाइरस जुन प्रकारको छ त्यस्तो हुनुमा हामी मानिस नै त्यसको दोषी हौँ ।

हामी मानिस नै दोषी  

हो, हामी मानिस नै । यसका लागि सम्पूर्ण मानिस दोषी छौँ । यद्यपि, त्यसमा महामारीका समयमा दिनरात स्वास्थ्य क्षेत्रमा खटिएर काम गर्ने श्रमिकहरू भने पर्दैनन् । हामीले उनीहरूको प्रशंसामा भ्याक्सिन आविष्कार भएपछि सर्वप्रथम प्रयोग गर्न दिनबाहेक अरू केही गर्न सकेनौँ ।

उनीहरूले सर्वप्रथम भ्याक्सिन लगाउँने विषयलाई हामीले समर्थन जनाउनुमा पनि हाम्रै स्वार्थ लुकेको छ । हामीले समर्थन जनाउनुको प्रमुख कारण उनीहरू सुरक्षित भए हाम्रो सुरक्षा गर्छन् भनेर मात्रै हो ।

र ‘हामी’ हाम्रो राजनीतिक वर्गबाट शुरू हुन्छौँ । हाम्रा राजनीतिज्ञहरूले भ्याक्सिन लगाउँदा क्यामेराको अगाडि आफ्नो हात माथि उठाए, तर के हाम्रा सबै नेताले मास्क लगाउँछन् ? विडम्बना, प्रायः धेरैले लगाउँदैनन् । हाम्रा उपराष्ट्रपति एम वैंकेश नाइडु र विदेशमन्त्री एस जयशंकरले लगाउँछन् ।

हाम्रा सबै नेताले मास्क प्रयोग गर्दैनन् । यसरी मास्क प्रयोग नगर्ने नेतालाई देशले नचिनेको छैन । सरकारी अधिकारीहरूले उनीहरूलाई किन दुई शब्द भन्न सक्दैनन् होला, ‘सर, मास्क… ।’

उनीहरू सही ढङ्गले मास्क लगाउँछन् । यसरी उनीहरूले दुईवटा सन्देश प्रवाह गरिरहेका छन् । मास्कको प्रयोग गर, भ्याक्सिन लगाऊ । उनीहरू जस्तै अरूले पनि मास्क प्रयोग गर्छन् होला ।

तर, हाम्रा सबै नेताले मास्क प्रयोग गर्दैनन् । यसरी मास्क प्रयोग नगर्ने नेतालाई देशले नचिनेको भने छैन । सरकारी अधिकारीहरूले उनीहरूलाई किन दुई शब्द भन्न सक्दैनन् होला, ‘सर, मास्क… ।’

अब त निर्वाचन आउँदै छ, नेताहरूलाई निर्वाचन क्याम्पेनमा जानुपर्छ । उनीहरूलाई भिडभाड आवश्यक हुन्छ । यस्तो बेलामा समाजिक दूरी कहाँ जान्छ ? निर्वाचनको समयमा नेताहरू र उनीहरूका कार्यकर्तामा स्वास्थ्य मापदण्ड पालना गर्ने दायित्व पनि रहन्छ । तर, हाम्रा नेताहरू त्यही हुन् जो हामी अधिकांश छौँ । हामी जस्ता छौँ, हाम्रा नेता पनि त्यस्तै छन् ।

हामीले के गरिराखेका छौँ ?

हामीले आफूलाई बाहिरी तवरबाट देख्न आफ्नो परिवेशबाट बाहिर आउनुपर्छ । समूहमा मिलेर हिँड्न, भिडभाड गर्न, हात समातेर हिँड्न, खान, चपाउन, थुक्न र हामीमाझ रहेका कतिपय व्यक्तिहरूमा असंयमता पुरुषहरूको अधिकार हो भन्ने विश्वास रहेको छ । यसमा कुनै वर्ग चेतनाको आवश्यकता छैन ।

खानलाउन पुग्ने मानिसहरूले सपिङ मल र सिनेमा हलमा गर्ने व्यवहार कुनै चिडियाखानामा हात्तीले गर्ने व्यवहारभन्दा कम हुँदैन । हवाई यात्रामा ‘विजनेश क्लास’ को कुनै अनुपालन हुँदैन । यस्तोमा भाइरस संक्रमणको दर बढ्नु कुनै नौलो कुरा होइन ।

भ्याक्सिनेसन गर्नुपर्छ भन्ने अधिकारीहरू त्यसका लागि पालना गर्नुपर्ने मापदण्ड पालना गर्न तयार छन् ? के त्यसका लागि उनीहरू तीनवटा सुझाव पालना गर्न तयार छन् ?

पहिलो सुझाब, मास्कसम्बन्धी छ । जुनसुकै स्थानमा पनि मास्क नलगाई आउने व्यक्तिलाई दण्डको व्यवस्था गरौँ । सार्वजनिक क्षेत्रमा यस्तो नियम लगाउन कुनै गाह्रो छैन । खासगरी रेल, बस, सिनेमा घर, सपिङ प्लाजामा ‘भाइरस पुलिस’ लाई निगरानीमा खटाउन सकिन्छ । मुम्बईमा ढिलै भए पनि यस्तो गर्न थालिएको छ । हाम्रो शहरमा पनि यो व्यवस्था लागु गर्नुपर्छ ।

दोस्रो सुझाव निर्वाचनसँग सम्बन्धित छ । जुन जुन क्षेत्रमा निर्वाचन हुनेवाला छ ती क्षेत्रका निर्वाचन नामावलीमा नाम रहेका व्यक्तिलाई छिटोभन्दा छिटो भ्याक्सिन लगाउने व्यवस्था गरौँ ।

भ्याक्सिन नलगाएका व्यक्तिलाई कुनै पनि निर्वाचन अभियानमा अथवा कुनै पनि भूमिकामा उपस्थित हुन नदिऔँ । निर्वाचन अभियानमा खटिने सुरक्षा फौजदेखि सबैलाई भ्याक्सिन अनिवार्य रूपमा लगाऔँ ।

तेस्रो सुझाब कृषकसम्बन्धी छ । उत्तर भारतका पञ्जाव लगायतका क्षेत्रमा कोरोना बढ्नुको कारण महामारी अथवा संक्रमण आदि हुन सक्छ ।

यसो भन्दै गर्दा अर्को सत्य के पनि हो भने जसरी कृषकको आन्दोलनका दिन बढ्दै छन्, त्यसमा सहभागी हुने मानिस गाउँ र शहरमा आउने जाने क्रम पनि बढ्दै छ ।

यसरी प्रदर्शनमा सहभागी हुन आउने र भिडभाड युक्त स्थानबाट आफ्नो गाउँमा फर्किंदा गाउँ र प्रदर्शनस्थल सबै असुरक्षित भएका छन् । यसले भाइरसको खतरालाई झनै बढाएको छ ।

जनताको स्वास्थ्य नै सबैभन्दा ठूलो भएकाले पहिला सरकारले कृषिसम्बन्धी ल्याइएका तीन वटा कानून फिर्ता लिनुपर्छ । यसले अन्तर राज्य परिषद् (आईएससी) का माध्यमबाट पुनर्विचार गर्न सकिन्छ ।

देशका सबै जनतालाई भ्याक्सिन नदिँदासम्म प्रदर्शन स्थगित गर्न कृषक नेतालाई अनुरोध गर्न सकिन्छ । यसका लागि महामारीको समय पारेर सरकारले ल्याएको कानून फिर्ता लिँदै आईएससीमार्फत समस्या समाधान गर्ने उपायका विषयमा सोच्न सकिन्छ ।

यस्तो कदम चालिएको खण्डमा भाइरस अझ तीव्रगतिमा नियन्त्रणमा लिन सकिन्छ । यदि यस्तो नगरिएको अवस्थामा एकातिर जनतालाई भ्याक्सिन दिँदै गर्दा हामीले नै त्यसको प्रभावकारिता कमजोर बनाउने छौँ ।

(गोपालकृष्ण गान्धी भारतका पूर्वप्रशासक, राजदूत र गर्भनर हुन् । ११ मार्च २०२१ मा द हिन्दुस्तान टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0