२० वर्षअघिको त्रासदीले बनाएको कहिल्यै नपुरिने घाउ | Khabarhub Khabarhub

२० वर्षअघिको त्रासदीले बनाएको कहिल्यै नपुरिने घाउ


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेप्टेम्बर ११ को त्यो दिन ! अमेरिकी इतिहासमा सधैँ सम्झना गरिने त्यो कालो दिन ! धार्मिक र सम्प्रदायिक अतिवादले आतङ्कको रूप लिएको र त्रासन दुर्घटना निम्त्याएका अनेकौँ उदाहरण संसारमा छन् । तिनैमध्येको एउटा दुर्घटना थियो, २००१ सेप्टेम्बर ११ मा न्यु योर्कको ट्वीन टावरमा भएको आक्रमण ।

त्यो आक्रमण भएको २० वर्ष पूरा भए पनि धेरैको मनमा लागेको घाउ पुरिएको छैन । आफन्त गुमाउनेले बारम्बार त्यो घटना सम्झने गरेका छन् । बीस वर्षपछि पनि २०२१ को ११ सेप्टेम्बरको दिन मृतकको आत्मशान्तिको कामना गर्दै श्रद्धाञ्जलिसभा आयोजना हुने गरेको छ ।

त्यस घटनामा संसारका धेरै देशबाट अमेरिका पुग्नेहरूको पनि मृत्यु भएको थियो । ती सबैले मृतकले आफन्तलाई फेरि एक पटक घटना स्मरण गराए । यस पटक पनि औपचारिकरूपमा कार्यक्रम आयोजना गर्नेमा अमेरिका र बेलायत रहे जसमा देशका प्रबुद्ध व्यक्तिहरू उपस्थित थिए ।

बेलायती महारानी एलिजाबेथले मृतक र उनका परिवारप्रति सहानुभूति प्रकट गरिन् । उनले पुनर्उत्थान र पुनर्संरचनामा सक्रिय रहेका सबैप्रति कृतज्ञता जाहेर गरिन् । सो घटनामा ज्यान गुमाउने ६७ जना बेलायतीको सम्झनामा बेलायत सरकारले ६७ वटा मैनबत्ती बालेर शोक व्यक्त गरेको थियो ।

बीस वर्षअघि अल कायदाका आत्मघाती लडाकुहरूले यात्रुबाहक चार वटा विमान अपहरण गरेका थिए । तीनै चारमध्येका दुई विमान वल्र्ड ट्रेड सेन्टरको ट्वीन टावरमा विस्फोट गराइएका थिए । एउटा विमान पेन्टागनमा विस्फोट भएको थियो । यात्रुहरूसँग झडप भएपछि अर्को एक विमान पेन्सल्भानियामा विस्फोट भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सन्देश पठाउने क्रममा बेलायती महारानीले २०१० मा वर्ल्ड ट्रेड सेन्टरमा भ्रमण गर्दाको दृश्य अझ ताजा भएको जनाएकी छिन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आतङ्ककारीको अस्तित्व रहेसम्म डरमा बाँच्नु पर्ने बाध्यता रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री जोन्सनले अमेरिकी सरकारको खुला नीति भएकाले सो समयमा धेरै देशका नागरिक र धेरै मूलका व्यक्ति मरेको पनि जोन्सनले बताएका छन् ।

सेप्टेम्बर ११ मा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतकै विन्डसोर क्यासलमा पनि कार्यक्रम आयोजना गरिएको थियो । त्यस कार्यक्रममा अमेरिकाका कार्यवाहक राजदूत फिलिप टे रेकरले अमेरिकाको सुखदुःख दुवै समयको सबैभन्दा नजिकको साथी बेलायत रहेको बताए ।

बेलायती लेबर पार्टीका नेता केइ स्टेइमरले पनि थुपै्र दुःखद कहानी उक्त दुर्घटनासँग जोडिएको बताए । उनले अमेरिकालाई आफूहरू दुःखको पनि साथी भएको स्मरण दिलाउन पनि उक्त घटना सम्झन र उनीहरूप्रति सहानुभूति व्यक्त गर्न आवश्यक भएको बताए । उनले आतङ्कवादविरुद्ध लडाइँ निरन्तर आवश्यक रहेको पनि जनाएका छन् ।

शनिबार अमेरिकाका न्यु योर्क र पेन्सल्भानियामा कार्यक्रम आयोजना गरिए । कार्यक्रममा उपस्थित हुँदै राष्ट्रपति जर्ज डब्ल्यु बुस पनि पेन्सल्भानियामा सम्बोधन गर्न पुगेका थिए । उनले सम्बोधनको क्रममा हजारौँ मानिस भावुक भएर आफन्तलाई सहानुभूति दिइरहेको दृश्य अझै आफ्नो मनमा ताजै भएको बताए । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल वाइडेन तीन वटै स्थानमा पुगे भने पूर्वराष्ट्रपति बराक ओवाम र बिल क्लिन्टन तथा पूर्वप्रथम महिला हिलरी क्लिन्टन र मिचेल ओबामा न्यु योर्कको कार्यक्रममा उपस्थित थिए ।

उक्त घटनामा मुश्किलले बाँचेकाहरू त्यो दिनको भायानक त्रासदी सम्झन्छन् । आफन्त गुमाउनेहरूले त सधैँ सम्झने भइहाले । घटनामा बाँच्ने र आफन्त गुमाउने सबैका आआफ्ना अनुभवहरू छन् ।

बेलायतका आन्द्रे कुलेन अहिले पनि त्यो त्रास घटना बिर्सन सक्दैनन् । उनी दक्षिण टावरको ८९औँ तलामा पुगेपछि उत्तरी टावर विस्फोट भएको आवाज आएको थियो । उनी हतार हतार निस्किएका थिए । उनी यसरी हतारिएर लबीबाट बाहिर निस्केका मात्र थिए, दोस्रो टावरमा पनि विस्फोट भयो ।

त्यो भयावह आक्रमणमा निधन भएका २ हजार ७५४ जनामध्ये करिब १ हजार ६०० हाराहारीमात्र शव पहिचान भएका थिए ।

पहिचान भएमध्येका एक थिए भारतीयमूलका जुपिटर यामबेम । त्यसो त त्यो घटनामा निधन हुने प्रत्येकका भिन्न कथा छन् । तिनैमध्येका एक जुपिटर न्यु योर्क शहरको त्यो विशाल टावरमा रहेको रेस्टुरेन्टमा काम गर्थे । पाँच वर्षका छोराका लागि धेरै समय दिनु मनासिब ठानेर उनले रेस्टुरेन्टमा बिहानको सिफ्टमा काम गर्ने तालिका मिलाए । समयमै घर पुगेर छोरासँग फुटबल खेल्ने र रमाउने उनको चाहना थियो ।

१९८१ मा मणिपुरबाट अमेरिका पुगेका जुपिटर अमेरिकामा प्रतिष्ठित छवि बनाएको त्यो रेस्टुरेन्टमा ब्याङ्क्युट मेनेजर थिए । उनले त्यो स्थानमा पाँच वर्ष बिताएका थिए, जहाँ ५० हजार जना काम गर्थे । दैनिक हजारौँ जनाले भ्रमण गर्ने गरेका थिए । सेप्टेम्बर ११ का दिन प्राविधिक सेमिनार भइरहेको थियो । यसको जिम्मेवारी सोही रेस्टुरेन्टले लिएको थियो । सबै चाँजोपाँजो मिलाउने काम जुपिटरले गरेका थिए ।

छोरा शान्ति भर्खरै किन्डर गार्टेनमा भर्ना भएका थिए । जुपिटरकी श्रीमती नान्सी ६४ किलोमिटर पर मानसिक रोगी तथा लागुऔषध सेवनकर्ताको रेखदेख गर्ने काम गर्थिन् । कार्यालयबाट घर पुग्ने बित्तिकै कसैले उनलाई वर्ल्ड ट्रेड टावरमा जेट विमान प्रहार भएको कुरा बतायो । उनी हतास हुँदै त्यहाँ पुग्दा श्रीमान् काम गर्ने ठाउँमा कोही पनि जीवित थिएनन् । त्यस रेस्टुरेन्टमा ७२ जनाको ज्यान गएको थियो ।

उनले त्यहाँ पुग्ने बित्तिकै बारम्बार श्रीमानलाई फोन गरेकी थिइन् । फोन उठेन । त्यसै साताको अन्त्यमा डिएनए स्याम्पलको आधारमा जुपिटरको शवको पहिचान भएको थियो । उनी अहिले पनि त्यो दुखद घटना सम्झँदै अन्तिम संस्कार गर्न पाउनु पनि भाग्यको कुरा बताउँछिन् ।

त्यो समयमा जुपिटर ४२ वर्षका थिए भने नान्सी ४० वर्षकी । उनीहरूको चिनजान २० वर्षअघि भएको थियो । सङ्गीत पनि सिक्दै गरेकी अर्थशास्त्रकी विद्यार्थी नान्सी र जुपिटरको भेट १९८१ मै भएको थियो । जुपिटर हरेक दिन नान्सीलाई भेट्न जान्थे । नान्सीको मन पर्ने खानेकुरा गाजरको केक एउटै प्लेटमा खाने आदत बसालेका थिए उनीहरूले । जुपिटर र नान्सीले १९९१ मा बिहे गरेका थिए ।

जुपिटरका दाइ याम्बेन लामाका अनुसार जुपिटर मिलनसार र पढाइमा तेज थिए । उत्तरपूर्वी भारतमा जन्मेर जुपिटरले त्यहीँ जर्मन भाषा समेत सिकेका थिए । चिकित्सक आमा र इन्जिनियर बाबुका छोरा जुपिटर खेलकुदमा पनि अब्बल थिए । नान्सीका अनुसार उनी विद्यालय तहको हाइजम्पमा पहिलो भएका थिए ।

संसारकै झ्यालको रूपमा रहेको ट्वीन टावरको त्यही रेस्टुरेन्टमा काम गर्दा उनले बिल क्लिन्टन र फिगर स्केटर क्रिस्टी यामागुची लगायतलाई खाना खुवाएका थिए । नान्सीका अनुसार क्लिन्टनसँग फोटो नखिचेकोमा जुपिटरले पछिसम्म पछुतो मानेका थिए ।

नान्सीका लागि एक वर्ष त आफूलाई सम्हाल्न धेरै कठिन भएको थियो । ‘किन आफूहरूलाई कसैले कसरी यति धेरै घृणा गर्छ होला ? किन मान्छे मान्छे बीचको घृणाले आतङ्क सृजना गर्छ होला ?’ भन्ने सोच्दै नान्सीले थुप्रै रात अनिदो नै कटाइन् । बिस्तारै उनको मनले जिउने नयाँ शैली अवलम्बन गर्न थाल्यो । उनको मनले आतङ्ककारीहरूलाई माफी दियो ।

यसको केही वर्षपछि २००६ मा नान्सीले सिभिल इन्जिनियर जेरी फिडम्यानसँग प्रेम गरेर अर्को बिहे गरिन् । नान्सीलाई जुपिटरको याद नआउने होइन । जुपिटरले रेस्टुरेन्टमा काम गर्दा घरमा ल्याएको दुई बोतल वाइन र काठको भाडा उनले सेप्टेम्बर ११ म्युजियमलाई प्रदान गरेकी छिन् ।

यो परिवार केही वर्षको अन्तरालमा मणिपुरमा रहेको जुपिटरको घरमा पुग्ने गर्छ । शान्ति २५ वर्षका भए, उनी बेकनको एक रेस्टुरेन्टमा कम गर्छन् । परम्परागत मणिपुरे ड्रम पङ बजाउन उनी पारङ्गत छन् । अहिले पनि नान्सी मणिपुर र जुपिटरका बाबुसँगको सम्बन्ध यथावतै रहेको बताउँछिन् । अहिले जुपिटर जीवित भएका थिए भने उनीहरू बिहेको तीसौँ वर्षगाँठ मनाइरहेका हुने थिए ।

नान्सीका लागि २००१ को सेप्टेम्बर ११ को त्यो दिन बिर्सन सक्ने घटना होइन । बिर्सनु विकल्प होइन भन्ने उनलाई थाहा छ तर त्यो याद पनि उनका लागि धारिलो हतियार जस्तो हो जसले मुटु छिया छिया बनाउने गर्छ ।

नान्सीको भनाइअनुसार त्यो घटना जुपिटरसँगको प्रेमको अन्त्य होइन, प्रेमको स्वरूप बदलिएको हो । उनलाई मणिपुरको त्यो गाउँले बारम्बार तान्ने गरेको छ, जहाँ जुपिटर हुर्केका थिए ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ०५ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४