भर्चुअल पढाइ : छोराछोरीले इन्टरनेट दुरुपयोग गर्लान् भन्ने चिन्ता « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

भर्चुअल पढाइ : छोराछोरीले इन्टरनेट दुरुपयोग गर्लान् भन्ने चिन्ता



झापा– गत वर्षदेखिको कोरोना भाइरसको महामारीका ठूलो असर परेको क्षेत्र शिक्षा पनि हो । पहिलो लहर नियन्त्रण भएपछि खुल्न सुरसार गरेका र केही दिन सञ्चालन भएका विद्यालयहरू फेरि ठप्प भए । खेल्ने, पढ्ने र सिक्ने उमेरका बालबालिकाहरूको दिनचर्या घरआँगनमा सीमित भयो ।

विद्यालय गएर पढ्ने–पढाउने परिस्थिति नभएपछि इन्टरनेटको माध्यमबाट शिक्षण–सिकाइ प्रक्रियालाई निरन्तरता दिने अभ्यास शुरू भयो । भर्चुअल शिक्षण–सिकाइ भनिने वैकल्पिक विधिबाट हुने पढाइ भौतिक उपस्थितिमा हुने जति नै प्रभावकारी भयो भन्नेमा शिक्षकहरू ढुक्क छैनन् ।

बाध्यात्मक उपयोग

दमकस्थित ढुकुरपानी माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी भर्चुअल माध्यमको पठनपाठनमा शिक्षकको प्रत्यक्ष निगरानी नहुने र विद्यार्थीले पनि शिक्षकलाई सबै कुरा भन्न नसक्ने हुँदा भौतिक उपस्थितिजस्तो प्रभावकारी नभएको बताउँछन् ।

उनी भन्छन्, ‘कक्षाकोठामा प्रत्यक्षरूपमा उपस्थित भएर छलफल गर्दै पढाए जस्तो त हुँदैन तर अहिलेको परिस्थिति बाध्यात्मक भएकाले भर्चुअल सिकाइले पनि विद्यार्थी र शिक्षकलाई जोडेको छ ।’

भर्चुअल शिक्षण नेपालका लागि नौलो अभ्यास हो । कोरोनाको महामारीपछि कतिपय शिक्षकहरूले पनि यो विधि सिकेर बालबालिकालाई पढाउन थाले । केही दिनको भौतिक उपस्थितिबाहेक एक शैक्षिक सत्र भर्चुअल सिकाइमै सकियो । अझै पनि महामारीको उच्च जोखिम रहेकोले चाँडै भौतिक उपस्थितिमा पढाइ हुने स्थिति छैन ।

स्कुल बन्द भएको एक वर्षभन्दा धेरै भयो, पढाइको माध्यम इन्टरनेटबाट हुने भर्चुअल कक्षा । विपन्न अभिभावकलाई यसमा पनि समस्या छ । इन्टरनेटको सुविधा भएका अभिभावकलाई छोराछोरी बिग्रिने हुन् कि भन्ने चिन्ता छ । 

भर्चुअल माध्यमबाट भए पनि पठनपाठन अघि बढाउनुको विकल्प नभएको दमकस्थित हिमालय माविका प्रधानाध्यापक ओम आचार्यको भनाइ छ । शैक्षिक सत्र नै खेर फाल्नु वा विद्यार्थीलाई पठनपाठनबाट टाढा राख्नुभन्दा सकेसम्म वैकल्पिक विधिबाट भए पनि पढाइलाई निरन्तरता दिने प्रयास गरेको उनको भनाइ छ ।

एक्लै छोड्नु खतरा

भर्चुअल सिकाइको प्रभावकारिताका बारेमा बहस र छलफल चलिरहँदा इन्टरनेटमा आधारित भर्चुअल विधिमा कति विद्यार्थीको पहुँच छ भन्ने प्रश्न पनि छ । एकातर्फ विपन्न अभिभावकहरूलाई भर्चुअल सिकाइका लागि मोबाइल फोन वा ल्यापटप जोहो गर्नु कठिन छ, अर्कातिर इन्टरनेटले खर्च बढाएको छ ।

कुरा खर्चको मात्र होइन, सिकाइका लागि इन्टरनेटको सुविधा पाएका बालबालिकाहरूले त्यसैको माध्यमबाट अनावश्यक तथा बालमस्तिकलाई बेफाइदा हुने अनेक सामग्री पनि हेर्ने र पढ्ने बानि बढाएको गुनासो अभिभावकहरूको छ ।

बालबालिकामा इन्टरनेटको कुलत बस्ने खतरा देख्छन् अभिभावकहरू । बालबालिकालाई यस्तो जोखिमबाट बचाउन अभिभावकहरू पनि विद्यार्थीसँग रहन सुझाव दिन्छन् सूचना प्रविधिका जानकारहरू ।

सूचना प्रविधि इन्जिनियर, नरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र गुरागाईं भन्छन्, ‘भर्चुल संसारमा बालबालिकालाई एक्लै नछोडेको राम्रो, अभिभावकको पनि प्रत्यक्ष उपस्थितिमा इन्टरनेट चलाउन दिनु राम्रो हुन्छ ।’

बालबालिकालाई इन्टनेटमा एक्लै छोड्दा अनावश्यक र कतिपय नकारात्मक धारणाको विकास गराउने सामग्री पनि हेर्ने भएकाले आफ्ना साना छोराछोरी इन्टरनेटमा के हेर्दैछन् भनेर प्रत्येक अभिभावकले थाह पाउन जरुरी रहेको उनको भनाइ छ ।

मनोवैज्ञानिक पक्षको ख्याल

भर्चुअल संसारमा रमाउने अनि यसैको माध्यमबाट लेखपढ गर्ने बानीले बालबालिकालाई सानो घेरामा सीमित पारेको छ । विद्यालयमा जस्तो उफ्रने, दौडने र साथीहरूसँग रमाउने अवसर भर्चुअल संसारमा छैन । बालबालिकालाई भर्चुअल संसारको मनोवैज्ञानिक असरबाट जोगाउन जरुरी रहेको मनोविज्ञानका जानकारहरूको भनाइ छ ।

मनोवैज्ञानिक परामर्शदाता गोविन्दराज कट्टेल इन्टरनेटमा प्राप्त कतिपय सामग्रीले बालमस्तिस्कमा नकारात्मक प्रभाव पार्ने, त्यसको लत बस्ने र त्यसतर्फ केन्द्रित हुन सक्ने भएकाले बालमनोविज्ञानमा पार्ने प्रभाव प्रति सजग हुनु पर्ने बताउँछन् ।

इन्टरनेट तथा भर्चुअल संसारको दुरुपयोग हुन नदिन अभिभावक र शिक्षकले बालबालिकालाई सजग गराउन आवश्यक रहेको कट्टेलको भनाइ छ ।

‘लकडाउन, निषेधाज्ञा र महामारीको बढी प्रभाव परेको बालबालिकामै हो । उनीहरूलाई शारीरिक र मनोवैज्ञानिक रूपमा विकास हुने अवसर दिनु हामी सबैको दायित्व हो,’ उनी भन्छन्, ‘महामारीको जोखिम अझै रहेकाले अभिभावकहरूको प्रत्यक्ष निगरानीमा घरैमा सिक्ने र रमाउने वातावरण बनाउन हामी सबै लाग्नुपर्छ ।’


भर्खर

0