प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति



फाइल तस्वीर

काठमाडौँ – चचहुइ सरररर ….!

दशैँ भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्ला वर्षहरुमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ ।

केही समय अघिसम्म दशैँको नौरथा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो ।

तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन । विभिन्न प्रविधिको विकास तथा युवा पुस्ता शहर केन्द्रित हुन थालेपछि पिङको मौलिकता हराउँदै गएको देखिन्छ ।

दशैँसँग जोडिएको मनोरञ्जनको साधन हो, पिङ। पिङलाई पनि लठ्ठे पिङ र रोटे पिङमा विभाजन गरिएको छ।
पिङलाई नेपाली बृहत् शब्दकोशमा रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ ।

त्यस्तै ४ खम्बामा बीचमा काठ राखी ४ वा ६ पिर्का राखी खेलिने पिङ पिर्के पिङ वा भनौँ रोटे पिङ हो।

विगतमा टोलै पिच्छे पिङ राखिन्थे, यसले दशैँको रौनक अझ थपिदिन्थ्यो। तर आजभोलि यस्ता पिङ लोपोन्मुख अवस्थामा छन्।

पैसा कमाउन गाउँघर छोड्नेहरु पनि दशैँमा फर्कन्थे । युवाहरु मिलेर घटस्थापनादेखि नै डोरीका लागि प्रयोग गरिने (बाबियो) संकलन गर्थे । फूलपातीको अघिल्लो दिनबाट गाउँघरमा पिङ हाल्न सुरु हुन्थ्यो ।

बालबालिकादेखि बूढापाकाले पिङ खेलेर मनोरञ्जन लिन्थे । तर यो रौनक सेलाउदै गएको छ ।

खासगरी दशैँमा विजयादशमीको दिन जमीन छोड्ने अर्थात् भुँइ छोड्ने परम्परा छ ।

मानिस अप्ठ्यारो परिस्थितिमा पनि जमीनमा घस्रिने जंगली जनावरबाट बच्नुपर्‍यो भने उ लहरामा झुण्डिएर भएपनि आफूलाई सुरक्षित राख्न सकोस भन्ने यसको ध्येय रहेको सँस्कृतविदहरु बताउँछन् ।

यस्तो छ पिङको साँस्कृतिक महत्व

जीवनमा उत्साह भर्न सिपालु हो मानव । जंगली अवस्थामा गुफामै रहँदा नरवाहनको स्वरुपमै हुँदा पनि एक हाँगाबाट अर्को हाँगामा जाने छिप्पेका लहरामा झुण्डिएर मनोरञ्जन लिन्थे ।

आदिममानव सभ्यतामा नै प्राकृतिक लहरामा झुण्डिन्थे । लहरामै मच्चिन्थे र रमाउँथे आनन्द लिन्थे ।

जब जंगल छोडेर स्थायी बसोबास गर्न थाले । जंगलमा हुँदा लहरामा झुण्डिएर लिएको आनन्द र मनोरञ्जनलाई आफ्नै घर समुदायसम्म ल्याएको बताउँछिन् सँस्कृतविद् निर्मला पोखरेल ।

‘जंगलमा रहँदा लठराहरु झुण्डिएर मच्चिएर रमाउँथे त्यो कुरालाई बसोबास स्थानसम्म ल्याउने क्रममा पिङको सुरुवात भएको हो’ त्रिविविकी प्राध्यापक पोखरेलले खबरहबसँग भनिन् ।

जब घर बनाउन थाले । बसोबास गर्न जान्ने भए । त्यसपछि रुखका हाँगामा जंगलबाट लहरा ल्याएर पिङ हाल्न सुरु गरे । हाँगाहरु नुग्नथालेपछि बिस्तारै बासको प्रयोग हुन थाल्यो ।

यो पनि प्राचीन सभ्यताकै कुरा हो । मानिसहरु सभ्य हुँदै गएपछि बासलाई प्रयोग गरेर डोरीको माध्यमबाट खेल्न जानेको प्राचीन परम्परा हो ।

त्यतिबेला पनि जंगलमा पाइने प्राकृति र दह्रा लहराकै प्रयोग गरिन्थ्यो । विस्तारै डोरी बाट्न जान्ने भएपछि बासमा डोरीको प्रयोग गरेर पिङ हाल्न थालियो ।

मनोरञ्जनका लागि रुखका हाँगामा, बालबालिकालाई घरको निधालमा धेरै पहिलेदेखि पिङ हाल्ने र खेल्ने खेलाउने चलन थियो । दशैँमा ९ दिनसम्म देवीको साधना गर्ने हुँदा र लामो समयसम्म बिदा हुने हुँदा पूजाआजासँगै पिङ खेल्ने चलन भित्रिएको उनी बताउँछिन् ।

‘हाम्रो सँस्कृतिमा धर्मसँगै मनोरञ्जन पनि जोडिएको छ’ उनी भन्छिन्, ‘त्यसकारण दशैँमा देवीको साधना गर्ने हुँदा पिङ जोडिएर आएको हो ।’

विस्थापित हुने अवस्था

दशैँमा हालिएको पिङ तिहारसम्म राखे चलन छ । दशैँको टिकाको दिन जसरी भएपनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता छ ।

प्रविधिको प्रयोगसँगै प्राचीन तथा मौलिक परम्परा मासिने अवस्थामा पुगेको जेष्ठ नागरिकहरु बताउँछन् ।

‘हात–हातमा मोबाइल, कोठामा कम्प्युटर, ल्यापटप छन् प्रविधिको विकाससँगै मानिसहरु घरमा यस्तै कुरामा रमाउन थालेका छन्’ ललितपुरका ७९ वर्षीया खड्गबहादुर श्रेष्ठ भन्छन्, ‘प्रविधिले प्राचीन मूल्यमान्यता बोकेको पिङ विस्थापित हुने अवस्थामा छ ।’

उनकाअनुसार अहिलेका युवा टोलमा पिङ हाल्न र हालिएको पिङ खेल्नभन्दा मोबाइलमा भिडियो गेम खेल्न व्यस्त छन् ।

विशेषगरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले विभिन्न क्षेत्रमा दशैँको वास्तविकता रौनक हराउँदे जान थालेको छ ।

स्थानीय परम्परा लोक सँस्कृति संरक्षणका गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।


भर्खर

0