ओलीको पशुपति पूजा, होली वाइन र धर्मनिरपेक्षता « Khabarhub
Logo
१७ फाल्गुन २०७७, सोमबार

ओलीको पशुपति पूजा, होली वाइन र धर्मनिरपेक्षता



प्रचण्ड-नेपाल समूहको काठमाडौँ ‘शक्ति प्रदर्शन’ मा माधव नेपाल, झलनाथ खनाल र रघुजी पन्तले आलोचनात्मक टिप्पणी गर्दै प्रधानमन्त्री ओली मार्क्स र मदन भण्डारीभन्दा आराध्यदेव भगवान् पशुपतिनाथप्रति बढी आस्थावान भएको भने । रिसको झोँकमा नेताहरूले यसपटक सर्वोच्च अदालत, निर्वाचन आयोग र ओलीको पशुपति दर्शनलाई तारो बनाए ।

शक्ति प्रदर्शनको कार्यक्रमभन्दा दुई दिनअघि कमरेड प्रचण्डले पनि प्रधानमन्त्री ओलीको पशुपति पूजालाई कटाक्ष गर्दै ओली हिन्दु महासंघको अध्यक्ष बनेको भनेका थिए । के साँच्चै ओलीका विरोधी नेताहरुलाई पशुपतिनाथप्रति विघ्न रिस उठेको हो ?

संविधानमा छद्म छिद्रबाट छिराइएको धर्मनिरपेक्षताबारे नेपाली समाजको गम्भीर मतभेद प्रष्ट रहेकोले ‘होली वाइन’ समूहको तिल्मिलाहट बुझ्न सकिन्छ । आफ्नो कार्यक्रममार्फत अनावश्यक विवाद खडा गरेर ओलीप्रति हिन्दुत्व समर्थकहरूको सहानुभूति बढाउनुको प्रयोजन बुझ्न सकिएन ।

नेपालको संविधानमा अस्तित्वमा आएदेखि नै धर्मनिरपेक्षता विवादास्पद रह्यो । कुनै पनि आन्दोलनको माग नभएकोले धर्मनिरपेक्षतामा जनताको सहमति रहेको प्रमाणित हुँदैन । तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङको प्रयासमा मौन सहमति गरेर नेताहरूले धर्मनिरपेक्षता स्वीकार गरेका थिए । मुख्यतः माओवादीले आफ्नो एजेन्डा बनाएको विषय भए पनि यसलाई जनअनुमोदित मान्न सकिँदैन ।

अहिले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि यसबारेको चर्चा पुनः सतहमा आएको छ । निर्वाचनको तयारीमा लागेका प्रधानमन्त्री ओली आफ्नो भावी एजेन्डालाई मूर्तरूप दिन प्रयासरत देखिन्छन् । वर्तमान संविधानले माओवादीको गणतन्त्र र मधेसी दलहरूको संघीयता स्वीकार गर्दै सम्बोधन गरिसकेकाले अबको निर्वाचनमा नयाँ मुद्दाको प्रवेश जरुरी छ ।

यसैलाई ठोसरूप दिन प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद (जबज) र हिन्दुत्व बारेको विषय प्रवेश गराएको देखिन्छ । पशुपतिनाथमा पूजा त्यसको बहस प्रारम्भ गराउने रणनीति अनुसार नै भएको हुन सक्छ । त्यसको विरोध गर्ने क्रममा भगवान पशुपतिनाथप्रति विषबमन गर्नुलाई राम्रो काम भन्न सकिन्न । राजा वीरेन्द्रको वंशनाश र पशुपतिनाथको कृपा प्राप्तिमा कुनै तात्विक संयोग हुन सक्दैन । आराध्यदेवबाट कसैलाई पनि अमरत्वको वरदान प्रदान गरिएको छैन ।

राजनीतिमा एजेन्डा नै महत्वपूर्ण र निर्णायक मानिन्छ । यसक्रममा प्रधानमन्त्री ओलीले पशुपतिनाथको पूजा गरेर आफ्नो मार्गचित्रको सन्देश दिएका हुन सक्छन् । यही निहुँमा प्रचण्ड-नेपाल समूहको विरोध कार्यक्रममा करोडौँ हिन्दुका आस्था र विश्वासका केन्द्र आराध्यदेव भगवान पशुपतिनाथलाई उपहास गर्नु सर्वथा निन्दनीय काम हो ।

दुई वर्षअघि काठमाडौँमा आयोजित ‘होली वाइन’ कार्यक्रम निकै आलोचित भएको थियो । एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौँ जोडीहरूको रक्त शुद्धीकरण गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी थिइन् ।

हायात होटलमा आयोजित सम्मेलनको दोस्रो दिनको ‘ब्लेसिङ’ समारोहमा माताबाट ‘गुड गभर्नेन्स अवार्ड’ सहित एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली हलबाट बाहिरिए तर माधव नेपाल लगायत केही नेताहरू उक्त ‘रक्तशुद्धि’ कार्यक्रममा सहभागी भए ।

प्लास्टिकको कपमा सबै जोडीहरूलाई एक अर्काको हात समातेर ‘सच्चा पिता’ भनिने युनिफिकेशन चर्चका धर्मगुरु सन म्योङ मुनलाई सम्झिँदै प्रार्थना गर्न लगाइएको थियो । पछि ‘सच्चा माता’ हाक जा हान मुनले सबै जोडीहरूलाई ‘पवित्र रक्सी’ ले सेचन गरेकी थिइन् । युनिफिकेशन चर्चको सिद्धान्तअनुसार यसरी होली वाइन पिउनले जोडीहरू मुन दम्पतीको वंशमा समाहित भएका मानिन्छन् ।

हिन्दु आस्थामाथि प्रहार गर्नु यही होली वाइनको प्रेरणा त होइन ? प्रधानमन्त्रीले पशुपतिनाथको पूजा गरेकोमा आक्रोशित अभिव्यक्ति दिनुपर्ने बाध्यता होली वाइनकै परिणाम त होइन ? प्रश्न उठ्छ ।

विवादको मूल कारक तत्वचाहिँ संविधानमा लिपिबद्ध गराइएको धर्मनिरपेक्षता नै हो ।

सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्मावलम्बीप्रति धर्मका आधारमा कुनै किसिमको पनि भेदभाव नगर्ने र राज्य सञ्चालनामा धर्मको कुनै भूमिका नहुने नीति नै धर्मनिरपेक्षता हो भनिन्छ । यसको अर्थ कुनै धर्मको विरोध होइन बरु राज्यलाई धर्मबाट स्वतन्त्र राख्ने पद्धति हो ।

‘धर्मनिरपेक्ष’ राज्यले कुनै एउटा धर्मलाई खास मान्यता नदिएर सबै धर्मप्रति समान व्यवहार गर्छ । धर्मको मामिलामा अहस्तक्षेपकारी भूमिका निर्वाह गर्छ र कुनै पनि धर्मको पक्ष लिँदैन । धर्मनिरपेक्षताबारे धेरैजसो यसै प्रकारको परिभाषा पढ्न पाइन्छ । यता नेपालको संविधानले धर्मको आधारमा ‘मुस्लिम आयोग’ गठन गर्ने अनौठो व्यवस्था गरेको छ ।

वास्तवमा ‘धर्मनिरपेक्षता’ भन्ने शब्द नै आफैँमा अपूरो र नमिल्दो देखिएको छ । ‘सेक्युलरिज्म’ को अर्थ कुनै मत वा सम्प्रदायको प्रभावबाट राज्य व्यवस्थाको स्वतन्त्रता अर्थात उभयपक्षीयता ।

विगतमा युरोपेली देशहरूको राज्य सञ्चालन इसाई धर्ममार्फत हुने गरेको थियो । बाइबलमा लेखिएका हरेक कुरा सत्य मान्दै चर्चलाई ईश्वरको सत्ता भनेर नीति निर्माण प्रक्रिया अवलम्बन गरिन्थ्यो । यसैको विरुद्ध जनताको आन्दोलनमा स्थापित नयाँ व्यवस्थालाई ‘सेक्युलर’ अथवा ‘मतनिरपेक्ष’ भनिएको थियो । युरोपको यही सेक्युलर व्यवस्थालाई भारतमा मान्यता दिइएको हो ।

आस्था भनेको विश्वास हो । यसको प्रमाणीकरण गरिँदैन, चाहे त्यो होली वाइनप्रतिको आस्था नै किन नहोस् । वामपन्थी राजनीतिमा बढी प्रगतिशील देखाउन नेताहरूले बेलाबखत हिन्दु धर्ममाथि प्रहार गर्ने गरेका छन् ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको शासनमा संकटकाल लगाएर संविधान संशोधन गर्दै ‘धर्मनिरपेक्ष’ शब्द प्रयोग गरिएको हो ।

हाम्रो संस्कृतिअनुसार अंग्रेजी शब्द ‘सेक्युलर’ को सही अनुवाद ‘मतनिरपेक्षता’ हो । धर्म भनेको हामीले निर्वाह गर्ने दैनिक कर्तव्य हो । हाम्रो सांस्कृतिक बिरासतमा विद्वानहरूको वैचारिक मतभिन्नतालाई परस्पर शास्त्रार्थमार्फत सुल्झाउने चलन थियो । हिन्दु भए पनि अन्य मत, पन्थ वा विचार कहिल्यै अस्वीकार गरिएन । गैरहिन्दु भएकै कारणले राज्यबाट कसैले अवहेलना व्यहोर्नु परेको कुनै प्रमाण छैन ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको निर्णयलाई प्रशंसनीय वा स्वागतयोग्य भन्न सकिँदैन । सत्ता पक्षकै नेताहरूले पनि यसलाई परिस्थितिजन्य बाध्यता भनेका छन् ।

राजनीतिमा एजेन्डा नै महत्वपूर्ण र निर्णायक मानिन्छ । यसक्रममा प्रधानमन्त्री ओलीले पशुपतिनाथको पूजा गरेर आफ्नो मार्गचित्रको सन्देश दिएका हुन सक्छन् । यही निहुँमा प्रचण्ड-नेपाल समूहको विरोध कार्यक्रममा करोडौँ हिन्दुका आस्था र विश्वासका केन्द्र आराध्यदेव भगवान पशुपतिनाथलाई उपहास गर्नु सर्वथा निन्दनीय काम हो ।

आस्था भनेको विश्वास हो । यसको प्रमाणीकरण गरिँदैन, चाहे त्यो होली वाइनप्रतिको आस्था नै किन नहोस् । वामपन्थी राजनीतिमा बढी प्रगतिशील देखाउन नेताहरूले बेलाबखत हिन्दु धर्ममाथि प्रहार गर्ने गरेका छन् ।

विकासको नाममा पशुपति क्षेत्रमा पर्ने श्लेषमान्तक वनको मध्य भागबाट बाटो बनाउने अथवा ईसाई समुदायको लागि त्यहीँ चिहान छुट्याउने प्रयास पनि भएको हो । र, तत्कालीन दुई तिहाई बहुमत प्राप्त प्रचण्ड सरकार पनि रातारात ढलेको हो । यी निकै विष्मयकारी घटनाहरू हुन् ।


भर्खर

0