उपेन्द्र यादवको आत्मघाती गोल « Khabarhub
Logo
७ असार २०७८, सोमबार

उपेन्द्र यादवको आत्मघाती गोल



जनकपुर पुगेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विद्युतीय गतिमा केही महत्वपूर्ण राजनीतिक निर्णयहरू गराए । विगत एक वर्षदेखि समायोजन हुन पर्खिएका तत्कालीन राजपा र समाजवादी पार्टीको प्रदेश संसदीय दलमा मुख्यमन्त्री लालबाबु राउतलाई नेताको रूपमा स्थापित गराए अनि पूर्वराजपा पक्षबाट प्रतिनिधित्व गर्दै आएका मन्त्री जितेन्द्र सोनलसहित तीन जना राज्य मन्त्रीलाई बर्खास्त गराए ।

यसरी प्रदेश २ मा सरकारको स्वरूप परिवर्तन गर्दै हाल एक जना मुसलमानको नेतृत्वमा पाँच जना यादव, दुई साह (तेली/सूड़ी) र एउटा कोइरीको प्रतिनिधित्व हुने गरी सरकार पुनर्गठन गरिएको छ ।

प्रदेश २ को जातीय समीकरणमा मूलतः दलित १५ प्रतिशत छन् भने दोस्रो स्थानमा १४ प्रतिशत यादव छन् । यस्तै, १२ प्रतिशत वैश्य, ११ प्रतिशत मुसलमान र १० मधेसी जनजातिहरू छन् । यस अतिरिक्त पहाडे समुदायको उपस्थिति १० प्रतिशत हाराहारीमा छ । मधेसी ब्राह्मण, क्षेत्री (राजपूत) को पनि महत्वपूर्ण उपस्थिति छ ।

अर्थात् प्रदेश २ को संरचनामार्फत उपेन्द्र यादवले प्रष्ट सन्देश दिन खोजेको देखिन्छ जुन स्वजातीय घेराभित्र निर्माण गरिएको हो ।

उपेन्द्रलाई बुझ्न उनको विगतदेखिको कार्यशैलीको विश्लेषण गर्नुपर्ने हुन्छ । उनी एमालेको मूल कार्यकर्ता भएर २०४६ को परिवर्तनपछि पहिलो संसदीय निर्वाचनमा उम्मेदवार भएर पराजित भए । त्यसपछि उनले माओवादी र गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीबाट समेत अनुभव हासिल गरे । पछि गैरराजनीतिक संस्था ‘मधेसी जनअधिकार फोरम’ स्थापना र अन्तरिम संविधानको विरोधबाट चर्चित भए ।

माओवादीको सहयोगमा तत्कालीन ‘मधेसी जनअधिकार फोरम’ विराटनगर महाधिवेशनबाट अध्यक्ष बनेर एक समयमा विजयकुमार गच्छदार र जयप्रकाश गुप्ता जस्ता स्थापित कांग्रेसी नेताहरूलाई आफ्नो अध्यक्षताको पार्टीमा राख्न सफल उपेन्द्र मधेसको ‘मसीहा’ पनि भनिए । पहिलो संविधान सभाको निर्वाचनमा उपेन्द्र तेस्रो र महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा उदाए ।

प्रधानमन्त्री केपी ओलीले उपेन्द्र यादवको राजनीतिक व्यक्तित्व समाप्त पार्ने सोच अनुरूप दल विभाजन गर्न सहज हुने अध्यादेशमार्फत उनको पार्टी विभाजित गर्ने प्रयास गर्दा तत्कालीन राजपाले दिएको हात समाएर उपेन्द्रले सञ्जीवनी प्राप्त गरे । उक्त अध्यादेशको तुष मेटाउन अहिले जसपा अध्यक्ष उपेन्द्र कुनै पनि हालतमा ओलीलाई पार्टीको सहयोग दिन चाहन्नन् ।

यसपछि उनीमाथि पहिलो आक्षेप राष्ट्रपतिको निर्वाचनमा लाग्यो जब उनकै इसारामा रामवरण यादवलाई ‘मधेसी जनअधिकार फोरम’ सभासदहरूले फ्लोर क्रस गरेर मतदान गरे । यो घटना उपेन्द्रद्वारा आफ्ना स्वजातीय समुदायलाई पहिलो सन्देश थियो ।

त्यसपछि माओवादीसँग गठबन्धन गरेर बनेको सरकारमा उपेन्द्रको फोरमले चार वटा मन्त्रालय पायो जसमा नेतृत्वलाई वरिष्ठताको आधारमा प्रतिनिधित्व गराउने निर्णय भए पनि उनले आफू, सहअध्यक्ष जयप्रकाश गुप्ता, वरिष्ठ उपाध्यक्ष विजयकुमार गच्छदारको साथै रेणु यादवलाई रोजे । यो उनको तर्फबाट आफ्ना स्वजातीय समुदायलाई दोस्रो सन्देश थियो र यहीँबाट ‘मधेसी जनअधिकार फोरम’ फोरममा जातीय ध्रुवीकरणको सूत्रपात हुनपुग्यो ।

फोरम भित्रको यो ध्रुवीकरण अन्ततः विभाजनको कारकतत्व बन्यो र फोरम (लोकतान्त्रिक) तथा फोरम (गणतान्त्रिक) गठन गर्दै गच्छदार र जेपी गुप्ताले उपेन्द्रसँग सम्बन्ध समाप्त गरे । यो मधेसी समेत सम्पूर्ण उपेक्षित र सीमान्तीकृतहरूका लागि गम्भीर क्षति थियो । यसको कारण पहिलो संविधान सभामा निर्णायक बनेको परिवर्तनको पक्षधर शक्ति दोस्रो संविधान सभामा अल्पमतमा पर्‍यो र त्यसको परिणामस्वरूप बनेको संविधान आज पनि विवादास्पद रहेको छ ।

उपेन्द्रका समर्थकहरूलाई यसको कारक उनलाई मान्नु उचित नलाग्न सक्छ तर निष्पक्ष ढङ्गले विचार गर्ने हो भने समग्र मधेसको क्रान्तिकारी नेताको रूपमा परिचित उपेन्द्रको स्वजातीय घेराभित्र रमाउन खोज्ने चाहना वा आफूलाई राजनीतिक स्थायित्व कायम गराउन गरेका प्रयासहरूले अन्ततः उनको छवि धूमिल बनाइ दिए ।

संविधान जारी भएपछि मधेसी दलहरूबीच मोर्चा बनाई विरोध कार्यक्रमहरू सञ्चालन गरिए तर सामूहिक निर्णय विपरीत उपेन्द्र निर्वाचनमा सामेल भएर आलोचित भए । पछि दुवै मधेसकेन्द्रित दलहरू गठबन्धन बनाई निर्वाचनमा भाग लिएर प्रदेश २ मा सरकार बनाउन सफल पनि भए । यो जनादेश थियो तथापि तत्कालीन नेकपासँग दुई बुँदे सहमति गर्दै सरकारमा सहभागी भए । त्यस सत्ता साझेदारीको अन्तर्निहित राजनीतिक सम्झौताअनुसार प्रदेश २ को सरकार परिवर्तन गराउन नसकेको परिणामस्वरूप उनको असहज बहिर्गमन भयो ।

प्रधानमन्त्री केपी ओलीले उपेन्द्र यादवको राजनीतिक व्यक्तित्व समाप्त पार्ने सोच अनुरूप दल विभाजन गर्न सहज हुने अध्यादेशमार्फत उनको पार्टी विभाजित गर्ने प्रयास गर्दा तत्कालीन राजपाले दिएको हात समाएर उपेन्द्रले सञ्जीवनी प्राप्त गरे । उक्त अध्यादेशको तुष मेटाउन अहिले जसपा अध्यक्ष उपेन्द्र कुनै पनि हालतमा ओलीलाई पार्टीको सहयोग दिन चाहन्नन् । यसका लागि उनले पार्टीको केन्द्रीय कार्यकारिणीलाई हतियार बनाएका छन् ।

पछिल्लो समयमा राजेन्द्र महतो संसदीय दलको नेता बनाइएपछि उपेन्द्र झन चिढिए । उनले यसको आक्रोश प्रदेशबाट निकाल्न खोजेका छन् । तत्कालीन समाजवादी पार्टीको प्रदेश कमिटी निर्माण हुँदा आफ्नै पुरानो सहयात्री रेणु यादवलाई तह लगाउन उनले विजय यादवलाई प्रयोग गरेका थिए जसको रिस फेर्न रेणुले इस्तियाक राई, प्रदीप यादव, विमल श्रीवास्तवलगायतका अन्य सांसदहरू सहित पार्टीलाई विभाजित गर्ने प्रयास गरेको कुरा सार्वजनिक भएको थियो ।

अहिले फेरि उपेन्द्र जोडदार ढङ्गले सक्रिय भएका छन् । यसपटक उनले आफ्नै दलका साथीहरू विरुद्ध रणनीतिक योजनाअनुसार काम अगाडि बढाएको देखिन्छ । पार्टी अध्यक्ष महन्त ठाकुरको पक्षलाई थर्काउने र गलाउने योजनाअनुसार कार्यरत उपेन्द्रलाई प्रदेश सरकारको स्थिरता र केन्द्रीय राजनीतिमा प्रतिबद्धताका लागि प्रादेशिक सरकारमा कांग्रेस र माओवादीको स्थान सुरक्षित गराउनु पर्ने दायित्व थपिएको छ ।

जसपाको ठाकुर/महतो पक्षको सत्ता साझेदारी र सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापित भएको अवस्थामा ब्युँतिने जसपा संसदीय दलको संरचनाबाट तर्सिएर अहिले उपेन्द्र आफ्नै दल जसपालाई क्षतिग्रस्त बनाउँदै छन् ।

संविधानतः प्रदेश सरकारको स्वरूप सानो आकारको राख्नुपर्ने बाध्यात्मक अवस्था भएको हुँदा मधेस राजनीतिको जातीय सन्तुलन मिलाउन उपेन्द्रलाई चुनौती छ । अहिलेसम्मको संरचनामा उपेन्द्रले दलित र जनजाति र उच्च जातिलाई समावेश गर्ने रुचि देखाएको छैनन् । विगतदेखि नै प्रदेश २ मा संख्यात्मक हिसाबले सफ्ट टार्गेट रहँदै आएका ब्राह्मण र राजपूतलाई वर्गशत्रु सरह देखाउने रणनीति अख्तियार गर्दै आएका उपेन्द्रले त्यसलाई निरन्तरता दिएका छन् ।

स्मरण रहोस्, प्रदेश २ को वर्तमान राजनीतिक संरचनामा केही सीमित क्षेत्र बाहेक अन्य ठाउँमा उच्च जातिको निर्णायक भूमिका छैन ।

उपेन्द्रले पछिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेका कांग्रेस र माओवादीलाई मित्र बनाउनु परेको छ । जुन राजपाको मतबाट उनले आफ्नो पार्टीलाई जिताएका थिए, त्यसको विरुद्ध तथा जुन कांग्रेस र माओवादीलाई हराउन नाभीको बल प्रयोग गरेका थिए, त्यसैसँग सहकार्यको बाध्यकारी अवस्था उनी स्वयंले बनाएका छन् ।

जसपाको ठाकुर/महतो पक्षको सत्ता साझेदारी र सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापित भएको अवस्थामा ब्युँतिने जसपा संसदीय दलको संरचनाबाट तर्सिएर अहिले उपेन्द्र आफ्नै दल जसपालाई क्षतिग्रस्त बनाउँदै छन् ।

आफ्नो सत्ता टिकाउन ओलीलाई बाध्यकारी भएको जसपासँग गठबन्धनको निरन्तरता कायम राख्न ठाकुर पक्षले प्रस्तुत गरेका माग सम्बोधन गर्नै पर्ने हुन्छ । त्यस अवस्थामा उपेन्द्रको लागि मधेसबाट उठान हुने प्रश्नहरू झन जटिल हुने देखिन्छ ।

समग्रमा, जसपाको आवरणमा बसेका माओवादीहरूको डिजाइनमा फसेर विचलनमा परेका उपेन्द्र अहिले आत्मघाती गोलमात्र गर्दैछन् । पार्टीमा महत्वपूर्ण मानिएका उनी आफ्नै कारणले सीपी मैनाली जस्तै अवस्थामा पुगे भने मधेस राजनीतिका लागि गम्भीर क्षति भएको मानिनेछ ।


भर्खर

0