भागरथी हत्याको एक साता :  निर्मलाकै नियति दोहोरिने चिन्ता ! | Khabarhub Khabarhub

भागरथी हत्याको एक साता :  निर्मलाकै नियति दोहोरिने चिन्ता !



काठमाडौँ— सुदूरपश्चिम बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट आफू पढ्ने स्कुल र प्रहरी चौकी नजिकै मृत अवस्थामा भेटिएको एक साता बितेको छ । उनको बलात्कारपछि हत्या भएको भन्ने पोस्टमार्टम रिपोर्ट आएको छ ।

विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ तर ठोस नतिजा आइसकेको छैन । अनुसन्धानको दायरा ‘साँघुरो’ बन्दै गएको भने पनि अपराधमा को को संलग्न थिए भन्ने पहिचान भएको छैन । सुदूरपश्चिमकै कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ वर्षभन्दा धेरै भएको छ । यस घटनाका दोषी पक्राउ नपर्दै बैतडीमा भागरथीले निर्मलाकै नियति भोग्नु परेको छ ।

चौतर्फी अनुसन्धान

भागरथीको हत्याको घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी घटनास्थलै पुगे । माघ २३ गते बैतडी पुगेका डीआईजी सुवेदीले किशोरीको हत्याको घटनालाई गम्भीरतापूर्वक लिएको बताए ।

सुवेदीले खबरहबसँग भने, ‘मिडियालाई दिने खालको कुनै ठोस कुरा नभए पनि फराकिलो तरिकाले सम्भावित सबै प्रक्रिया अपनाएर चौतर्फीरूपमा अनुसन्धान गरिरहेका छौँ । शंकास्पद व्यक्तिहरूलाई अनुसन्धानको दायरामा रोखर छानविन गरिरहेका छौँ ।’

डीआइजी सुवेदीका अनुसार घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय, कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबीसहितको टोलीले पनि अनुसन्धान गरिरहेको छ । यसबाहेक संघीय प्रहरी कार्यालय, धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली पनि तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।

प्रहरीले घटना भएको क्षेत्रमा त्यस दिन हिँड्डुल गरेकाहरूसँग सोधपुछ गरेको थियो । खोचलेक–चडेपानी सडकखण्डमा माघ २१ र २२ गते चलेका सवारी साधन र यात्रुबारे पनि अनुसन्धान गरेको छ ।

डिआइजी सुवेदीका अनुसार प्रहरीले भागरथीले प्रयोग गरेको मोबाइल फोन फेला पारेको छ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाउँदै अनुसन्धान भइरहेको छ । उनले भने, ‘केही दिनमै घटनाको सत्यतथ्य बाहिर ल्याउने छौँ ।’

बलात्कार गरेर हत्या गरेको पुष्टि

जिल्ला अस्पताल, बैतडीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको पोस्टमार्टम रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार बलात्कारपछि हत्या भएको पुष्टि भएको छ तर शवको प्रकृति र पोस्टमार्टम रिपोर्टबाट घटनामा धेरै जना संलग्न थिए कि एक जनामात्रै भन्ने पुष्टि हुन सकेको छैन ।

पोस्टमार्टम रिपोर्टअनुसार भागरथीको घाँटी थिचिएको छ र यौनाङ्गमा चोट छ । शरीरका अन्य भागमा चोट छैन । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी सुवेदी भने, ‘सामूहिक बलात्कार हुँदा देखिने प्रमाणहरू भेटिएका छैनन्, घटना के हो भन्ने विषयमा केही समय पर्खिनुपर्ने हुन्छ ।’ उनका अनुसार विधिविज्ञान प्रयोगशालाको रिपोर्ट आउनुपर्छ ।

घटनास्थलका प्रमाणहरू रगत, भेजाइनल स्वाब र कपडा प्रयोगशालामा पठाइएको छ । घटनामा भागरथीसँग परिचित व्यक्ति नै संलग्न रहेको आधार भने बलियो रहेको प्रहरी अधिकारीको भनाइ छ ।

गृहमन्त्री भन्छन्– चाँडै सफलता मिल्छ

गृहमन्त्री रामबहादुर थापा (बादल) ले भागरथीको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएको र अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरूपले बैतडीमा केन्द्रित रहेको जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भने, ‘हामीले घटनालाई गम्भीरताका साथ लिएका छौँ । सोहीअनुसार हाम्रो संयन्त्र अनुसन्धानका लागि परिचालन गरेका छौँ । हामी करिब अपराधीको नजिक पनि पुगिसकेका छौँ । अब केही दिनमै नतिजा बाहिर आउँछ ।’ २०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति प्रहरीले अहिलेसम्म फेला पारेको छैन ।

कसरी भएको थियो घटना ?

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते बिहान स्कुल गएकी थिइन् । साँझसम्म घर नफर्किएपछि परिवारजनले उनको खोजी गरेका थिए । रातभर खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्ने सकेन ।

भोलिपल्ट बेलुकीपख घरबाट करिब एक किलोमिटर टाढा लवलेक सामुदायिक वनमा उनको शव फेला पर्‍यो । घर र स्कूलको दूरी करिब तीन किलोमिटर छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी नाराणप्रसाद अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय, खोचलेक र विद्यालयबाट करिब दुई किलोमिटरको दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा उनको शव भेटिएको थियो ।

डिएसपी अधिकारीका अनुसार हराएको दिन दिउँसो २ बजेअघि नै स्कुल छुट्टी भए पनि भागरथी २ बजेसम्म स्कुलका साथीहरूसँग सम्पर्कमै थिइन् । स्कुल छुट्टी भएपछि उनी स्थानीय बजारमा पुगिन् । त्यहाँ केही साथीहरूसँग भेट भयो ।

डिएसपी अधिकारीका अनुसार बजारमा उनी साथीहरूसँग भए पनि घर जाने बाटो अलग भएकोले उनी छुट्टिएर एक्लै हिँडेकी थिइन् । उनी सधैँ हिँड्ने बाटो लवलेक सामुदायिक वनकै थियो । त्यस दिन पनि उही बाटो हिँडेकी थिइन् ।

शव फेला परेको स्थान उनको स्कुलभन्दा दुई किलोमिटर पर छ । यसरी एक्लै घर फर्केकी भागरथीलाई कोही बाटो ढुकेर बसेको थियो वा कसैले पछ्याइरहेको थियो भन्ने चाहिँ खुलिनसकेको अधिकारीले बताए ।

घटनाको एक सातासम्म पनि आफन्तले शव बुझेका छैनन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि दबाब दिन शव नबुझेको भागरथीका आफन्त शिवराज भट्टले बताए । प्रहरीले घटनामा संलग्नको पहिचान समेत गर्न नसकेकाले निर्मला पन्तको घटनाजस्तै अपराधी उम्किनसक्ने आशंकाले आफन्तले शव नबुझेर दबाब दिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : २७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम