चिनियाँ ठेकेदारको ढिलासुस्तीले राजमार्गको बिजोग | Khabarhub Khabarhub

चिनियाँ ठेकेदारको ढिलासुस्तीले राजमार्गको बिजोग



कावासोती (नवलपरासी)– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले राजमार्गको अवस्था नाजुक भएको छ ।

सडक विस्तारको क्रममा दर्जनौँ ठाउँमा सडक भत्काइएको छ तर काम भएको छैन । ठेकेदार कम्पनीले अनेक समस्या देखाएर ढिलासुस्ती गर्दै आएको छ ।

सडक विस्तारका क्रममा पुल निर्माणका लागि विभिन्न ठाउँमा बनाइएका डाइभर्सन भत्किएर बाटो अवरुद्ध हुने गरेको छ । ठाउँ ठाउँमा खोतल्दा सडक कमजोर भई भत्किन थालेको छ । यसले अत्यावश्यक सवारी साधनहरू समेत घण्टौँसम्म रोकिनुपर्ने बाध्यता आइलागेको छ ।

बुटल–नारायणघाट खण्डको ११३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले पाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा उक्त सडक खण्ड स्तरउन्नतिका लागि शिलान्यास गरेका थिए । यसपछि गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नति शुरु गरिएको थियो । सम्झौता अनुसार हालसम्ममा ७० प्रतिशत काम भइसक्नुपर्नेमा ६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

वर्षा शुरू भएसँगै गैँडाकोट र सुनवल खण्डमा डाइभर्सनहरू पटक पटक भत्किएर यातायात अवरुद्ध हुने गरेको छ। बुधबार रातिदेखिको वर्षाको कारण जङ्गलबाट आएको खोल्सोको भेलले बिहीबार बिहान नवलपरासीपूर्वको सदरमुकामस्थित राजमार्गको जग भत्काउँदा ३० घण्टा यातायात बन्द भयो ।

बाढीले कावासोती नगरपालिकाको थानाचोक नजिकै कल्भर्ट भत्किएको छ । बिहीबार बिहान ८ बजेदेखि अवरुद्ध सडक खुलाउन ढिलो गर्दा सयौँ गाडी अलपत्र परेका छन् । साना गाडीहरू कावासोतीबाट उत्तर वा दक्षिणतर्फको करिब किलोमिटर भित्री बाटो घुमेर वारपार गरिरहेका छन् ।

सडकको जग नै बगाएकोले मर्मतको काम भइरहेको र अस्थायी डाइभर्सनबाट हलुका गाडी पार भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । एक साताअघि गैँडाकोटमा एकै पटक चार वटा डाइभर्सन भत्किँदा यातायात चालु हुन दुई दिन लागेको थियो ।

यसअघि भूमही सुनवल तथा रुपन्देहीको देवदह क्षेत्रमा पनि डाइभर्सन भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । बेलैमा काम नगर्दा राजमार्गको अवस्था बिग्रिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) की प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकेदार कम्पनीलाई तीव्र गतिमा काम गर्न आफूले पटकपटक निर्देशन दिएको उनको भनाइ छ । मनसुनी वर्षा शुरू भएपछि उक्त मार्गको ठाउँ ठाउँमा साना ठूला धेरै खाल्डाखुल्डी छन् । सडकको खाल्डाखुल्डी नपुर्दा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाली मजदुरमाथि आक्रमण गर्ने र तलब नदिने जस्ता व्यवहारले ठेकेदार कम्पनी शुरूदेखि नै विवादमा पर्दै आएको छ । कम्पनीले काममा विलम्ब गर्दा कहिले हिलो र कहिले धुलोको सास्ती व्यहोर्नु परेको भन्दै राजमार्ग आसपासका बासिन्दाले पनि पटक पटक विरोधमा उत्रिने गरेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद ढकालका अनुसार कम्पनीले काममा ढिलासुस्ती गर्दा वायु प्रदूषण बढेकोमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित अन्य निकायमा धेरै पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । उनीहरूले गाउँपालिकाको कार्यालयमा एकपटक तालाबन्दी पनि गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम