काठमाडौँ महानगरले स्थानीय पाठ्यक्रम दियो, शिक्षक दिएन | Khabarhub Khabarhub

काठमाडौँ महानगरले स्थानीय पाठ्यक्रम दियो, शिक्षक दिएन


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— स्थानीय तहले विद्यालयको आधारभूत तहमा एक विषय स्थानीय पाठ्यक्रम पढाउन पाउने प्रावधान अनुसार काठमाडौँ महानगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरे पनि पठनपाठन हुन सकेको छैन ।

केही महिनाअघि महानगरले पाठ्यक्रम तयार गरेर माताहतका सबै संस्थागत र सामुदायिक विद्यालयलाई पठनपाठनका लागि निर्देशन दियो तर विषय शिक्षक नहुँदा पठनपाठन हुन नसकेको हो ।

पर्याप्त तयारीविना महानगरले पाठ्यक्रम लागु गर्न निर्देशन दिएकाले स्थानीय पाठ्यक्रमको कक्षा सञ्चालन गर्न नसकिएको विद्यालय प्रशासनको भनाइ छ ।

महानगरले पाठ्यक्रम अध्यापन गराउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन नगरेकाले पठनपाठन हुन नसकेको महानगरका एक कर्मचारीले बताए ।

महानगरभित्रका कुनै पनि निजी विद्यालयहरूमा स्थानीय पाठ्यक्रम पढाइ नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए । उनले भने, ‘के गर्ने र के नगर्ने भन्ने कुरामै हामी अलमलमा छौँ ।’

प्रदेश सरकारले के गर्ने र स्थानीय सरकारले के गर्ने भन्ने कुरा नै स्पष्ट नभएको उनको भनाइ छ । उनका अनुसार महानगरमा मात्र नभएर देशभरका कुनै पनि निजी विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको छैन ।

स्थानीय पाठ्यक्रम अध्यापनका लागि महानगरले शिक्षक उपलब्ध नगराएकाले पढाइ हुन नसकेको पद््मोदय माध्यमिक विद्यालयका निमित्त प्रध्यानाध्यापक नारायण गौतमले बताए । ‘हामीसँग भएका शिक्षक कर्मचारीले स्थानीय पाठ्यक्रममा समावेश गरिएको भाषा बुझ्दैनन्, महानगरले सम्बन्धित विषयको शिक्षक दिएको छैन,’ उनले प्रश्न गरे, ‘हामीले कसरी पढाउने ?’

त्यस्तै, विश्व निकेतन माध्यमिक विद्यालयमा पनि स्थानीय पाठ्यक्रम कसरी पढाउने भन्नेबारे अन्यौल रहेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

उनले भने, ‘विद्यालयमा पढाउँदै गरेका र नेपाल भाषा बुझ्ने केही शिक्षकलाई जिम्मा दिने तयारीमा छौँ ।’

महानगरले शिक्षक दिने प्रतिबद्धता जनाएको थियो तर चालु शैक्षिक सत्र सकिनै लाग्दा पनि शिक्षक दिएको छैन ।

शिक्षक नहुँदा ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा पनि स्थानीय पाठ्यक्रमको पढाइमा समस्या भएको छ ।

केही समयदेखि ‘नेवा सेनानी दपु’ को सहयोगमा स्वयंसेवक शिक्षकको माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक नातिकाजी महर्जनले बताए ।

उनले भने, ‘महानगरले यही शैक्षिक सत्रदेखि पठनपाठन गराउन निर्देशन दिएकाले नेवारी भाषा बुझ्ने विद्यालयकै केही शिक्षकलाई आग्रह गरेर कक्षा चलाएका छौँ तर सधैँ आग्रहले मात्रै हुँदैन ।’

प्रधानाध्यापक महर्जनका अनुसार महानगरले विद्यार्थीको संख्या हेरेर स्थानीय पाठ्यक्रम अध्यापन गराउन चार जनासम्म शिक्षक दिने भनेको थियो ।

कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ ।

सरोकारवाला निकायहरूले शैक्षिक सत्र लम्ब्याउनुपर्ने धारणा राखे पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन ।

स्थानीय तहले धर्म, संस्कृति, रितिरिवाज तथा स्थानीय परम्परा झल्कने गरी आधारभूत तहसम्मका विद्यार्थीहरूका लागि एउटा स्थानीय पठ्यक्रम लागु गर्न पाउँछन् । सोही बमोजिम काठमाडौँ महानगरले पाठ्यक्रम तयार गरेर लागु गर्न निर्देशन दिएको हो ।

यस्तो महानगरको स्थानीय पाठ्यक्रम

स्थानीय पाठ्यक्रममा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रमअनुसार नेपाल भाषामा पाठ्युस्तक तयार पारेको छ ।

महानगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक राखिएको छ ।

कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ । यी सबै विद्यालयमा गत मंसिरमा स्थानीय पाठ्यक्रमको पढाइ सुरु हुनुपर्ने भए पनि कक्षा सञ्चालनमा हुन सकेको छैन ।

यसो भन्छ महानगर

स्थानीय पाठ्यक्रम अध्यापनको लागि आवश्यक शिक्षकको छनौट प्रक्रिया चलिरहेको महानगरपालिकाको शिक्षा विभागका अधिकृत मोतिराज खनालले बताए ।

उनका अनुसार शिक्षक छनौटको काम अन्तिम चरणमा छ । विद्यार्थीको संख्या ध्यानमा राखेर सकेसम्म छिटो शिक्षक पठाउने तयारी हुँदैछ । केही दिनभित्रै शिक्षक छनौटको काम सकिने उनले बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : २९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले