युरोपियन युनियन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो « Khabarhub
Logo
४ असार २०७८, शुक्रबार

युरोपियन युनियन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो



नेपाल र युरोपियन युनियन (ईयू) लामो समयदेखि साझेदारी गर्दै आएका मित्र हुन् । ईयू नेपालको एउटा महत्वपूर्ण विकास साझेदारका रूपमा पनि रहेको छ ।

नेपालको विकासलाई प्राथमिकताका साथ सहयोग गर्दै आएको ईयूले नेपालले अतिकम विकसित मुलुकबाट बाहिर निस्किन लिएको लक्ष्यलाई पनि सहयोग गर्ने जनाएको छ, अझ भनौँ सहयोग गर्दैछ ।

यसै प्रसङ्गमा खबरहबका ईश्वरदेव खनाल र रेडियो क्यानडिड ९२.७ मेगाहर्जकी कविता श्रेष्ठले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेजसँग दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी गरेका छन् ।

तपाईं नेपालमा आएको ६ महिना बितिसकेको छ । अहिले नेपालमा राजनीतिक अस्थिरता छ । यस्तो अवस्थामा नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?

म नेपालमा ईयूलाई प्रतिनिधित्व गर्न पाउँदा ज्यादै गौरवान्वित महसुस गर्छु । नेपालको संविधानको रक्षकका रूपमा रहेको सर्वोच्च अदालतले दिने निर्णयबारे अनुमान लगाउन सक्ने अवस्थामा म छैन ।

ईयू विगत ६ दशकदेखि नेपालको विकास साझेदारका रूपमा रहँदै आएको छ । पछिल्लो समय ईयूले राजनीतिक साझेदार पनि बन्ने इच्छा राखेको कुरा आइरहेको छ । नेपाली जनताले यो विषयलाई कसरी बुझ्ने ?

निश्चय पनि ईयू लामो समयदेखि र निरन्तर रूपमा नेपालको विश्वासिलो र भरपर्दो साझेदार मित्रका रूपमा रहेको छ । हामी यसलाई निरन्तरता दिन चाहन्छौँ । नेपाल अति कम विकसित देशको सूचीबाट माथि उठ्दै गरेको अवस्थामा हामी साझा प्राथमिकताका क्षेत्रमा मिलेर अघि बढ्न चाहन्छौँ । नेपालले पनि महत्वाकांक्षा राखेको हरित विकासमा हामी मिलेर अघि बढ्न चाहन्छौँ ।

हामी नेपालको यो महत्वाकांक्षा प्राप्तिका लागि सहयोग गर्न चाहन्छौँ । हामी नेपालको विकास साझेदार हुनुको साथै आर्थिक सहायता पनि गर्छौं । यसबाट अलिकति माथि उठेर विश्वमा देखा परेका वैश्विक चुनौतीको सामना गर्न पनि मिलेर अघि बढ्न चाहन्छौँ ।

हामी सबैलाई के थाहा छ भने नेपाल जलवायु परिवर्तनका दृष्टिले अत्यन्तै जोखिमपूर्ण स्थानमा छ । जलवायु परिवर्तन ईयूको सबैभन्दा ठूलो प्राथमिकताको विषय पनि हो । हामी यो विषयमा दुई पक्षीय हिसाबमा काम गर्दै बहुपक्षीयतामा जान सक्छौँ । जसका कारण वैश्विक समस्याले वैश्विक सम्बोधन पाउन सक्छ ।

जलवायु परिवर्तनका विषयलाई लिएर ईयूको नयाँ नेतृत्वको प्राथमिकता के-के हो ?

म ईयूको तर्फबाट नेपाललाई सकारात्मक र वर्तमान परिवेशलाई हेर्ने फराकिलो तस्वीर सहितको सन्देश दिन पाउँदा आफूलाई गौरवान्वित महसुस गर्छु । हरित पुनर्प्राप्ति ईयू वर्तमान नेतृत्वको पहिलो प्राथमिकता हो । योसँगै विकासको काम निश्चय पनि प्राथमिकतामा नै आउँछ । यस्तै लैङ्गिक समानताको विषयलाई ईयू मुलकमा मात्रै होइन हाम्रो अन्य साझेदार मुलुकमा पनि मूल प्रवाहमा ल्याउनु पर्नेछ । यस्ता विषयमा हामी नेपालसँग निश्चय पनि सहकार्य गर्न सक्नेछौँ ।

विकास निर्माणका काममा पछिल्लो ६ दशकसम्म ईयूले नेपालमा गरेको लगानी कामबाट नेपालीको औसत जीवनयापनमा कति सुधार आएको पाउनुभएको छ ?

हामीले लामो समयदेखि सँगै काम गर्दै आएका छौँ । हामीले यो अवधिमा प्राप्त गरेका केही सफलताका कारण हामी निकै खुशी छौँ । केही उदाहरण दिनुपर्दा ईयूले नेपालको शिक्षाको क्षेत्रमा सय मिलियन युरो डलर (१५ बिलियन नेपाली रूपैयाँ) लगानी गरेको छ । यो लगानी नेपालको प्राथमिक र माध्यमिक शिक्षामा मात्रै होइन, प्राविधिक क्षेत्रको शिक्षामा पनि हो । प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले भविष्यमा राम्रो अवसर प्राप्त गर्न सक्छन् भन्ने सोच राखेर नै हामीले जीवन उपयोगी शिक्षामा लगानी गरेका छौँ ।

आगामी बीस वर्षमा विश्व रङ्गमञ्चमा ईयूको भूमिका कस्तो देख्नुहुन्छ ?

हामीसँग एकदमै सकारात्मक सन्देश छ । विश्वभरका सरकार कोभिड–१९ का कारण संकटमा गएको कुरा सत्य हो । यस्तो अवस्थामा आन्तरिक अवस्था सबलीकरण गर्न प्रयास गर्ने मानवीय प्रवृत्ति पनि हो । तर, ईयूले त्यस्तो गरेको छैन । हामी ईयू मुलुकबीच कोभिड–१९ सँग एकजुट भएर नै लड्ने सहमति भएको छ । हामीले कोरोना भ्याक्सिन विश्वमा नै सार्वजनिक वस्तुका रूपमा उपलब्ध होस् भन्ने कुराको नेतृत्व गरिरहेका छौँ । म यहाँ गर्वका साथ के भन्न चाहन्छु भने ईयू देश कोभिड–१९ सँग जुध्न आवश्यक पर्ने सामग्रीको प्रमुख सहायताकर्ता हो । ईयूले २० प्रतिशत जनतालाई पुग्ने कोरोना भ्याक्सिन नेपाललाई उपलब्ध गराउँदै छ । भ्याक्सिन प्रयोग गर्न पायौँ भने हामी यो महामारीलाई जित्न सफल हुन्छौँ ।

नेपालका लागि ईयूका राजदूत नोना डिप्रेज । फाइल तस्वीर

नेपाल र ईयूबीचको दुई पक्षीय सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

नेपाल र ईयूबीचको दुई पक्षीय सम्बन्ध अत्यन्तै राम्रो र सुमधुर छ । म र मेरा सहकर्मी साथीहरू नेपाल र ईयूका जनताबीच राम्रो सम्बन्ध स्थापित गर्ने विषयमा समय खेर नफाली काम गर्नेछौँ । जनताबीचको सम्बन्ध स्थापित हुन निकै आवश्यक छ । हामीबीच व्यापार सम्बन्ध पनि छ । ईयू नेपालको विकास रणनीतिको साझेदार हो ।

नेपाल र ईयूले व्यापार र वाणिज्यसहित अन्य क्षेत्रमा कसरी फाइदा लिन सक्छन् ?

यो एकदमै महत्वपूर्ण विषय हो । यसलाई ईयूले आफ्नो प्राथमिकताको सूचीमा पनि राखेको छ । मैले अघि पनि भनिसकेँ, हामी हाम्रो साझेदार मुलुकसँग मिलेर काम गर्न चाहन्छौँ । व्यापार दुई पक्षीय सम्बन्धको महत्वपूर्ण पाटो हो । यसमा बढोत्तरी र सुधार गर्न सकिन्छ ।

हामी लगानी सुरक्षित गर्न अनुकूल तथा नियामक वातावरणको सुधार होओस् भन्ने चाहन्छौँ । यसले नेपालको दिगो र समावेशी आर्थिक विकासमा पनि योगदान पुर्‍याउन सक्छ भन्ने हाम्रो विश्वास छ ।

यसका लागि वैश्विक मापदण्ड पुरा हुनु महत्वपूर्ण हुन्छ । हामी वैश्विक मापदण्डबाट लाभान्वित हुनसक्छौँ र त्यसै अनुसार अघि बढ्न सक्छौँ । यसले गर्दा प्रतिस्पर्धामा एकरूपता आउँछ । हामी यो मापदण्ड बनाउन सहकार्य गर्न सक्छौँ ।

हामी यो समयलाई हरित परिवर्तनमा जान प्रयोग गर्न चाहन्छौँ । यो ईयूका लागि महत्वपूर्ण अवसर हो । हरित परिवर्तन वातावरणीय, भौतिक, आर्थिक, सामाजिक सबै हिसाबमा दीर्घकालीन छ ।

यी सबै एकअर्कामा अन्तरसम्बन्धित विषय हुन् । दीर्घकालीन आर्थिक विकासका लागि पनि शान्ति र स्थायित्व आवश्यक हुन्छ । फराकिलो दृष्टिकोणबाट हेर्दा वातावरणीय संकट र कोभिड–१९ संकट एकअर्कामा अन्तरसम्बन्धित छन् ।

नेपालको विकास र वैदेशिक लगानीका लागि ईयूको आवश्यकता कत्तिको देख्नुहुन्छ ?

मैले अघि पनि भनिसकेँ, नेपालको विकासका लागि ईयू महत्वपूर्ण साझेदार हो । नेपालको विकास प्राथमिकतामा सहयोग गर्न ईयूले धेरै आर्थिक सहयोग गरेको छ । ईयू नेपाललाई अति कम विकसित देशबाट माथि उठाउने मामिलामा पनि सहयोग गर्न चहान्छ ।

नेपालमा ईयूका प्राथमिकताका क्षेत्रहरू के के हुन् ?

ईयूले छिमेकको विकास र अन्तर्राष्ट्रिय सहयोग साधनलाई समेट्दै आफ्नो नयाँ आर्थिक कार्यक्रम सुरु गर्दैछ ।

हामीले अहिले नेपाल सरकारका अधिकारीहरू, नागरिक समाज, मिडियाका साथीहरू, सरकार र अन्य विकास साझेदारसँग नेपालको विकास प्राथमिकतालाई हाम्रो कार्यक्रमले समेट्न सक्ने अवस्था आओस् भनेर छलफल गरिरहेका छौँ । हाम्रो आर्थिक कार्यक्रमका माध्यमबाट व्यापक परिवर्तन र प्रभाव पर्ने स्थानमा हामी लगानी गर्न इच्छुक छौँ ।

हाम्रो अर्को कार्यक्रमको योजना तर्जुमा हुँदैछ । जुन सन् २०२१ देखि २०२७ मा रहनेछ । गएको डिसेम्बरमा नेपालका सबै विकास साझेदार मुलुकले नेपालको हरित पुनर्प्राप्तिको उद्देश्यलाई सहयोग पुर्‍याएका छन् ।

नेपालमा ईयूको सबैभन्दा ठूलो प्राथमिकता भनेको यहाँको हरियाली बढाउनु हो । यसका साथै नेपालको मानव विकास सूचकांकमा पनि सुधार गर्ने हाम्रो प्राथमिकता हो, जुन निकै आवश्यक छ ।

यस्तै, हाम्रो अन्य प्राथमिकतामा शान्तिपूर्ण वातावरणलाई सहयोग गर्ने, मानव अधिकार रक्षाको प्रवद्र्धन र सम्वर्द्धन गर्ने, मौलिक अधिकारको रक्षा गर्ने र कानूनी राज्य प्रवर्द्धनमा सहयोग गर्ने हो ।

नेपाल र ईयूका जनताबीचको सम्बन्ध विकास गर्न कस्ता काम भएका छन् ?

हाम्रो ‘इरास्मस मुन्डस’ जस्ता छात्रवृत्ति कार्यक्रममा नेपालका युवाहरूले पनि अवसर पाउँदा म निकै खुशी छु । यो ईयूका विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूका लागि ल्याइएको छात्रवृत्ति कार्यक्रम हो । यसमा उनीहरूले युरोपियन विद्यार्थीसँग आफ्नो अनुभव साझा गर्न सक्छन् । यहाँको अनुभव उनीहरूले आफ्नो देशमा प्रयोग गर्न सक्छन् । यो जनता जनताबीचको सम्बन्ध प्रगाढ बनाउने उत्तम विधि हो ।

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा ईयू नेतृत्वदायी भूमिकामा छ । ग्लासगोमा आयोजना हुने कोप२६ को ईयूले कसरी तयारी गरेको छ ?

यो मेरो भावनासँग नजिक रहेको विषय हो । एउटा भनाइ नै छ नि, हामीले यो पृथ्वी हाम्रो पुर्खाबाट बिरासतमा पाएको होइन । हाम्रो सन्तानका लागि उधारोमा लिएका हौँ । हामीले यसको रक्षाका लागि केही फरक काम गर्नुपर्छ ।

युरोपियन हरित सम्झौताका लागि ईयूले चालेको कदमलाई म ज्यादै गर्वका साथ लिन्छु । यो ईयूको आधुनिक आर्थिक विकास रणनीति हो । हामी यो ईयूमा मात्रै होइन, नेपालजस्ता हाम्रा साझेदार मुलुकमा पनि लागु गर्छौं ।

यसले जलवायु परिवर्तनको मुद्दामात्रै हेर्दैन, पर्यावरण सम्बन्धी अन्य विषयको पनि हेक्का राख्छ । हामी जलवायु परिवर्तनको संकटबाट नेपाल धेरै जोखिमका रहेको विषयलाई पनि ध्यान दिन्छौँ ।

पृथ्वी सन्तानका लागि उधारोमा लिएकोभन्नुभयो, त्यसको आशय के हो ?

हामीले पृथ्वीलाई जे दिएका छौँ त्योभन्दा बढी लिएका छौँ । हामीले पृथ्वीलाई पनि केही दिनुपर्छ ।

गौतम बुद्ध र सगरमाथाको देशमा हुँदा तपाईंलाई कस्तो महसुस हुन्छ ?

नेपालका लागि ईयूको राजदूत हुन पाउँदा म आफूलाई निकै भाग्यमानी ठान्छु । म नेपाल र नेपालीहरूका विषयमा धेरै कुरा जान्न चाहन्छु । म नेपालको संस्कृति बुझ्दै अनुभव आदानप्रदान गर्न चाहन्छु । यस्तो भलाकुसारी गरिरहन पाऊँ, त्यही नै मेरो इच्छा हो ।

तपाईं नेपालीहरूलाई के भन्न चाहनुहुन्छ ?

म कोभिड–१९ का कारण खासै बाहिर जान पाएको छैन । मैले अहिले धेरै सावधानीका उपाय अपनाएको छु । त्यसले गर्दा नेपालीहरूसँग अन्तरक्रिया गर्न र यहाँको संस्कृति बुझ्न पाएको छैन । म नेपालीहरूलाई बुझ्न धेरै इच्छुक छु । उनीहरूको अनुभव सुन्दै आफ्नो अनुभव सुनाउन पाएको अवस्था मेरो लागि खुसीको क्षण हुनेछ ।

 हेरौँ अन्तर्वार्ताको यो भिडियो 

 


भर्खर

0