बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ | Khabarhub Khabarhub

बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका हुन् ।

२० भदौ २०५५ मा सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर, अब राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयवासीले तीन तहकै सरकारलाई दवाव दिन थालेका छन् ।

अब संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहिरो नियन्त्रणका लागि काम थाल्नुपर्ने चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् । तारजाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरूको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

भूकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने भएका कारण बेलैमा सचेतना अपनाउनुपर्ने उनले बताए । पहिरो गएसँगै एक साता घर छाडेका बुटवल–३ ज्योतीनगरका किरण ज्ञवालीले अरुबेला बेवास्ता गर्ने तर पहिरो गएपछि मात्र तदारुकता देखाउने कामले सरकारले पहिरो नियन्त्रण गर्ला भनेर आश लाग्न छाडिसकेको बताए । ‘अब अहिल्यैबाट नै नियन्त्रणको काम भएन भने अर्को वर्ष झन् ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ, बरु हामीलाई राहत चाहिँदैन, पहिरो नियन्त्रण भए पुग्छ’, उनले भने ।

पहिरोका कारण विस्थापित भई भाडामा बस्न पुगेका स्थानीयलाई बुटवल उपमहानगरपालिकाले भाडा तिरिदिने निर्णय गरेको थियो । तर, उक्त भाडाबापतको रकम पनि स्थानीयले अझैसम्म पाएका छैनन् । राहत स्वरुप जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिपरिवार १५ हजार रुपैयाँ दिएको विस्थापित सीता मल्ल बताउँछिन् ।

कतिपयले सो क्षेत्रको बस्ती स्थानान्तरणको मागसमेत गरेका छन् । २०५५ सालमा गएको पहिरोका कारण ५७ घरलाई स्थानान्तरण गरिएको थियो । त्यतिबेला प्रत्येक परिवारलाई बुटवल तामनगरमा १०–१० धुरका दरले सरकारले जग्गा उपलब्ध गराएका थियो । तर, स्थानीयले पहिरो गएको क्षेत्रको जग्गा बिक्री गरे, सरकारले दिएको जग्गामा घर बनाएर बसे ।

‘नयाँ किनेकाहरूले फेरि ज्योतीनगर क्षेत्रमा ठूलाठूला महल बनाए । अहिले उनीहरू छोड्न मान्दैनन्’, चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतम भन्छन्, ‘अब बस्ती स्थानान्तरण गर्न सम्भव देखिँदैन, जसरी हुन्छ पहिरो नियन्त्रण नै गर्नुपर्छ ।’

ज्योतीनगर क्षेत्रमा पहिरो गएपछि विज्ञ टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । भूगर्भविद् डा रञ्जन दाहालसहितको टोलीले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चुरेमा पानीका मूलहरु प्रयाप्त रहेको, तिनको व्यवस्थापन नभएको र वर्षातमा परेको पानीको समेत व्यवस्थापन नभएकाले पहिरो गएको उल्लेख गरिएको छ । अध्ययन टोलीले पनि परम्परागत तारजालीको प्रयोगले मात्र पहिरो नियन्त्रण नहुने औंल्याएको छ ।

यता, बुटवल उपमहानगरपालिकाले भने पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुरु गरिसकेको बताएको छ । ‘हामीले विज्ञ टोली खटाएर अध्ययन गरिसकेका छौँ, अब प्रदेश सरकारसँग समन्वय गरेर पहिरो नियन्त्रणको खाका बनाउछौँ’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने । पहिरो गएको चुरे क्षेत्रमा वनस्पतिहरु रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र प्राविधिक टोलीको अध्ययनको आधारमा पानीको निकास खोज्ने गरी पहिरो नियन्त्रणका प्रयासहरू गर्ने उपमहानगरको योजना छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : ०४ बजे

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला