विद्यार्थीको एउटा टोली पढ्नका लागि सधैँ आफ्नो गाउँबाट १ कोस पर अर्को गाउँमा जान्थ्यो । एक दिन जाँदाजाँदै अचानक एउटा विद्यार्थी कम छ भन्ने उनीहरुलाई लाग्यो । खोज्दै जाँदा ऊ पछाडि नै छुटेको पत्ता लाग्यो ।
उसलाई अर्को एक विद्यार्थीले बोलायो— तिमी त्यहाँ के गरिरहेका छौ ?
त्यस विद्यार्थीले त्यहीँबाट उत्तर दियो— पख, म आइहालेँ ।
यसो भन्दै उसले जमिनमा गाडिएको एउटा ठुटो समात्यो, जोरका साथ हल्लायो, उखेल्यो, एकातिर फाल्यो र आफ्नो टोलीमा सामेल भयो ।
उसको एक साथीले सोध्यो— तिमीले त्यो ठुटो किन उखेलेको ? कसैले खेतको सिमाना छुट्याउन गाडेको होला ।
त्यो विद्यार्थीले भन्यो— तर त्यो बीच बाटोमा गाडिएको थियो । त्यसले बाटो हिँड्नेलाई अल्झाइरहेको थियो । जे कुरा बाटोको अड्चन बन्छ, त्यसलाई उखेलेर फाल्नुपर्छ ।
त्यो विद्यार्थी अरु कोही थिएन, भारतका चर्चित लौहपुरुष सरदार वल्लभ भाइ पटेल थिए ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया