बाआमाको झगडाले पीडित बन्दै बालबालिका « Khabarhub
Logo
२६ बैशाख २०७८, आइतबार

बाआमाको झगडाले पीडित बन्दै बालबालिका



काठमाडौँ– लामो कपाल । सिउँदोमा सिन्दुर । मुखमा मास्क पुर्पुरोमा हात र काखमा ७ वर्षीया बालिका ।

कालीमाटी महिला तथा बालबालिका सेवा केन्द्रको उजुरी दर्ता गर्ने ठाउँमा चिसो भुँइको एक छेउमा टुसुक्क बसेकी महिला ।

जो अरुभन्दा भिन्न देखिन्थिन् । उजुरी गर्न आउनेहरु प्रायः सबै आफन्तका साथमा देखिन्थे तर उनी एक्लै थिइन् ।

उजुरीको संख्या र कस्ता प्रकारका उजुरी बढि आउने रहेछन् भन्ने जानकारी लिन हामी उजुरी टिपाउने स्थानमा पुग्यौं । जाँदै गर्दा ती महिलासँग जम्काभेट भयो ।

उनी उजुरीका लागि पालो पर्खिरहेकी थिइन् । नजिकै पुगेपछि हामीले सोध्यौं, ‘कहाँदेखि आउनुभएको दिदी ?’ हामीले सोधेको प्रश्नको उत्तर नै नदिइ उल्टै उनले प्रश्न गरिन्, ‘तपाईलाई पनि श्रीमानले यातना दिएर उजुरी गर्न आउनुभएको हो !’

हामीलाई उनीसँग कुरा गर्नु थियो । त्यसकारण हामी नजिक भयौं । सायद उनको मानसपटल श्रीमानकै यातनाले भरिएको थियो । त्यसैले त जसलाई भेट्दा पनि उनी त्यही प्रश्न गर्दै थिइन् ।

‘उजुरी गर्न होइन उजुरी गर्न आउनेहरुबारे बुझ्न आएको’ हामीले जवाफ दियौं ।

सजिलै त कहाँ मनको पीडा पोख्न सकिन्छ र तर पनि हामीले सबै कुरा बताएपछि उनले हामीलाई नाम र फोटो नखिच्ने सर्त राखेर सबै कुरा खोलिन् ।

०००

कहाँ जन्मिए, कहाँ हुर्किए केही थाहा छैन । सायद मेरो जन्म र कर्म सडकमै थियो होला । कुलेश्वरस्थित एक धनी परिवारका व्यक्तिले मलाई घरको काम लगाउने र पढाइदिने भन्दै ९ वर्षको उमेरमा सडकबाटै उठाएर लगे ।

तर उनले भनेजस्तो भने भएन् । घरमा उनका परिवारले मलाई पढाउन दिएनन् । यतिकैमा पनि म खुसी थिए । लगभग ३ वर्षसम्म त्यहीँ बसे ।

दिनचर्या बित्दै थियो । म विस्तारै उमेरले परिपक्व बन्दै थिएँ । मेरो शरीरमाथि धेरैले आँखा लगाउन थाले । मलाई असहज महशुस हुन थालेपछि म त्यहाँबाट निस्किए ।

कहाँ जाने के गर्ने के थाहा थिएन् । सोही बेला घर निर्माण गर्ने ठाउँ खोज्दै दैनिक ज्याला मजदुरीको काम खोज्न पुगे । जहाँ एक–अपरिचित व्यक्तिसँग मेरो कुराकानी हुँदै गयो । हामीले चिनजान गरेको १ महिनामै विवाह गर्‍यौँ ।

विवाह लगात्तै म आमा बने । तर मेरो श्रीमानले त्यतिबेलादेखि नै मलाई नभेट्ने, हेरचाह नगर्ने गाली, गलौच जस्ता मानसिक यातना दिनथाले ।

आर्थिक संकटमै पनि जेनतेन छोरी हुकार्ए अहिले छोरी ७ वर्षकी भईन तर श्रीमानले बाहिर अर्कै केटी बिहे गरेको खबर सुने । त्यसैले श्रीमानविरुद्ध बहु–विवाहको उजुरी हाल्न आएकी ।

०००

त्यसो त सेवा केन्द्र कालीमाटीको वरपर छरिएर बसेकाहरु पनि उनलाई हेर्दै भन्दै थिए, ‘झगडा बाआमाको पर्छ अन्यायमा बालबालिका ।’

मानिसहरुले त्यो भन्नु स्वाभिवक थियो किनकी उनी मात्र होइनन् । सेवा केन्द्र कालीमाटीको कार्यालयमा धेरै महिलाहरु काखमा बालबच्चा बोकेरै उजुरी दर्ता गराउन आउने गर्छन् ।

परिवारबाट उत्पन्न कलहले समाजमा विचलन ल्याउने भएकाले यस्ता घटना न्युनीकरण गर्न पनि पछिल्लो समय महिलाहरु अग्रसर हुँदै प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, स्थानीय निकाय अथवा सिधैं अदालतसम्म उजुरी गर्न पुग्न थालेका छन् ।

तीन वर्षमा साढे ७ हजार हिंसाका घटना

महिला बालवालिका सेवा केन्द्र कालीमाटीमा हरेक वर्ष २ देखि ३ हजार वटा उजुरी दर्ता हुन्छन् ।

जसमा धेरैजसो घरेलु हिंसाकै उजुरी दर्ता हुने गरेको तथ्याङ्कले देखाउँछ ।

प्राप्त तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा २ हजार २ सय ९८ उजुरी दर्ता भएका थिए । जसमा मानव बेचबिखन तथा ओसारपसार ३९, बहुविवाह ५५, जबरजस्ती करणी १ सय ९४, जबरजस्ती करणाी उद्योग ४४ र घरेलु हिंसा २ हजार २ सय ९८ वटा छन् ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा मानव बेचबिखन तथा ओसारपसार ५०, बहुविवाह १ सय ८, बालविवाह ३, जबरजस्ती करणी २ सय २५, जबरजस्ती करणी उद्योग ४५ र घरेलु हिंसा २ हजार ३ सय १५ वटा गरी २ हजार ७ सय ४६ वटा घटना भएका छन् ।

चालु आर्थिक वर्षको माघ दोस्रो सातासम्म मानव बेचबिखन तथा ओसारपसारका २४ उजुरी दर्ता भएका छन् । त्यस्तै बहुविवाह ६७, बालविवाह २, जबरजस्ती करणी १ सय ८४, जबरजस्ती करणी उद्योग ३५ र घरेलु हिंसा १ हजार ९ सय ८५ गरी २ हजार २ सय ९७ वटा घटनाका उजुरी दर्ता भएका छन् ।

८० प्रतिशत मुद्दा केन्द्र मै मिल्छन्

महिला हिंसा सम्बन्धी आएका उजुरीमध्ये लगभग ८० प्रतिशत केश त्यही बुझ्ने गरेको केन्द्रले जनाएको छ ।

घरेलु हिंसा कसुर सजाय ऐन २०६६ अनुसार उजुरीको छलफल गरी निर्णय निकालिने केन्द्रकी प्रमुख कोपिला चुडाल भन्छिन् ।

केन्द्रले गर्ने प्रक्रियाबारे उनी भन्छिन्, ‘शारीरिक र मानसिक यातना दिनेलाई जसविरुद्ध उजुरी आएको छ । पीडित र पीडक दुवैलाई सेवा केन्द्र बोलाउँछौं तारिखमा राख्दै एक महिनासम्म पटकपटक छलफल गछौँ र २९ दिनमा निर्णय निकाल्छौं यदी मिल्ने भनेको खण्डमा मिलाउँछौं यहीँबाट मिल्न नसके थप १५ दिनमा उच्च अदालतमा पठाउछौँ कसुर ठहरिएमा ६ महिना जेल सजाय पनि हुन्छ ।’

चुडालका अनुसार केन्द्रमा घरेलु हिंसामा धेरैजसो शारीरिक र मानसिक यातनाका उजुरी दर्ता हुने गरेका छन् ।

‘श्रीमानले श्रीमतीलाई घर बाहिर निस्कन नदिने, कोहीसँग बोल्न हिड्न नदिने जस्ता शारीरिक, मानसिक र आर्थिक यातना दिएको भन्दै उजुरी दर्ता हुन्छन्’ उजुरीबारे बताउँदै उनले भनिन्, ‘त्यस्ता धेरै घटनाहरु यही मिलाएर पठाएका छौँ बलात्कार अङ्गभङ्ग लगायतका घटना भयो भने कानुनअनुसार अघि बढ्ने गरिन्छ ।’

प्रायःजसो बालबच्चा भइसकेका र बाआमाको झै झगाडाले घरमा द्वन्द्व उत्पन्न भएपछि महिलाले उजुरी गर्ने गर्छिन् ।

‘धेरै महिलाहरु सेवा केन्द्र आउँदा पनि काखमा बच्चा च्यापेरै आउँछन्’ उनले भनिन्, ‘बच्चाकै लागि पनि उनीहरुको घर मिलाइदिन सके आफैंलाई खुसी मिलेको महशुस हुन्छ ।’

आमाबुबा भनेको आफैंमा जिम्मेवार व्यक्ति हो । बच्चाको लागि तिमीहरु भगवान हो भन्दै सम्झाउँछिन् उनी ।

विस्तारै परिवर्तन हुन्छ : अधिकारकर्मी

समाजमा पितृसतात्मक सोच अझैं हट्न नसकेको बताउँछन् महिलाका क्षेत्रमा काम गर्ने अधिकारर्मी ।

भेदभावजन्य कुरुती, समाजको संरचनालगायतको हिंसाका घटनामा थप बल पुग्ने गरेको बताउँछिन् महिला अधिकारकर्मी कला राई ।

यद्यपी सदियौंदेखि भइरहेको व्यवहारलाई विभिन्न अभियान तथा सचेतनामुलक कार्यक्रमहरुले विस्तारै हटाउँदै लैजाने उनको विश्वास छ ।

‘हजुरआमा, आमाको समय र अहिलेको समयमा केही परिवर्तन आएको छ’ खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘परिवर्तन एकै पटक हुदैन केही कुरामा परिवर्तन भइरहको छ । हामी आशावादी भएर काम गरौं, महिला माथि हुने हिंसाको अन्त्य गर्न सक्छौं ।’

व्यक्तिगत सोचमा परिवर्तन आएपछि मात्र महिला माथि हुने हिंसाका घटना कम हुने अधिकारर्मी राईको भनाइ छ ।


भर्खर

0