आईटी ‘किङ’ बन्दै भारतीय युवा « Khabarhub
Logo
८ माघ २०७८, शनिबार

आईटी ‘किङ’ बन्दै भारतीय युवा



काठमाडौँ– प्रयाग अग्रवाल गत साता ट्वीटरका प्रमुख कार्यकारी अधिकृत चयन भए । भारतमा जन्मिएका एक से एक युवाले संसार हल्लाइ रहेको समयमा पछिल्लो समय प्रयाग एक उदाहरण बनेका छन् । भारतीय मूलका युवाहरूको संसारको प्राविधिक क्षेत्रमा सनसनी नै छ ।

सिलिकन भ्याली अमेरिकी अर्थतन्त्रको एउटा महत्त्वपूर्ण क्षेत्र । सान फ्रान्सिस्को खाडीको दक्षिणी भागमा रहेको सिलिकन भ्याली संसारकै आईटी क्षेत्रका लागि पायनीयर स्थान हो । यो सिलिकन भ्याली अहिले भारतीय युवाका लागि स्वर्णिम भूमि बनेको छ । यहाँ रहेका ठुला कम्पनीमा अग्रवालभन्दा अघि अन्य भारतीय युवाले पनि महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका थिए ।

माइक्रोसफ्टमा सत्य नादेला, अल्फाबेटमा सुन्दर पिचाँइ लगायत आईबीएम, एडोब, पालोअलटो नेटवर्क, वीएम वेभ र भिम्रो लगायत ठुला कम्पनीका बोसको रूपमा भारतीय युवाको उपस्थिति छ ।

अमेरिकी जनसङ्ख्याको कुल एक प्रतिशत भारतीय मूलका व्यक्ति छन् । यसैगरि, सिलिकन भ्याली वर्क फोर्समा ६ प्रतिशत भारतीयको उपस्थिति छ । यसका बाबजुद नेतृत्व तहमा भारतीय मूलको यो उपस्थितिले धेरैलाई अहिले आश्चर्यमा पार्न थालेको छ । मेड इन इन्डियाका एक मालिक तथा टाटा सनका पूर्वकार्यकारी निर्देशक आर गोपालकृष्णन भारतीयको शिक्षण शैली नै सङ्घर्ष गर्न सिकाउने खालको रहेको बताउँछन् । उनी अन्य देशको शिक्षा शैली यस किसिमको नभएको जिकिर गर्छन् ।

जन्म दर्तादेखि मृत्यु दर्ता तयार गर्दासम्म विद्यालय भर्नादेखि रोजगारी पाउँदासम्म तथा भौतिक संरचना तयार पार्दा पनि पर्याप्त सुविधा नभएका कारण भारतीयको सङ्घर्ष गर्ने आदत बसेको गोपालकृष्णनको अनुभव छ । भारतीय युवामा त्यहाँका वातावरणले नै मेनेजरको क्षमता विकास गर्न सहयोग गरेको भारतका कर्पोरेट रणनीतिकार सिके प्रह्लाद बताउँछन् । गोपालकृष्णन नै पनि भारतीयहरूमा संसारका हरेक क्षेत्रका नेतृत्व तहमा हुनुपर्ने विशेषताको विकास भएको बताउँछन् ।

भारतमै रहेका ४० लाख कमजोर आप्रवासी समूहका व्यक्ति पनि सिलिकन भ्यालीमा प्रभाव जमाउँदै धनी अमेरिकीको सुचीमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यसरी अमेरिकामा प्रभाव जमाउने धेरै भारतीय मूलका व्यक्तिमा वैज्ञानिक र इन्जिनियर नै छन् । अमेरिकी सरकारले वर्क परमिटको रूपमा दिने ‘एचवान–बी’ भिसाको ७० प्रतिशत भारतका सफ्टवेयर इन्जिनियरले पाउने गरेका छन् । सिटल जस्ता शहरमा रहने वैदेशिक इन्जिनियर मध्येका ४० प्रतिशत पनि भारतीय नै छन् ।

‘१९६० मा अमेरिकाको अध्यागमन नीतिमा भएको महत्त्वपूर्ण परिवर्तनको परिणाम नै अहिलेको यो अवस्था हो,’ द अदर वान पर्सेन्ट इन्डियन इन अमेरिकाका लेखकले भनेका छन् ।

संसारमा मानव अधिकारको मुभमेन्ट तीव्र हुँदै जाँदा जन्मको आधारमाभन्दा सीप र पारिवारिक एकबद्धतालाई प्राथमिकता दिने नीति पनि बन्दै आएको हो । यसको लगत्तै अधिक शिक्षित भारतीय, वैज्ञानिक, इन्जिनियरको अमेरिका प्रवेशको क्रम बढेको हो । यसपछि मात्र सफ्टवेयरको प्रोग्रामिङ गर्नेहरूको अमेरिका प्रवेशको क्रम बढ्न थालेको थियो ।

‘यो विषयमा भारतीय आप्रवासी अन्य कुनै पनि देशका आप्रवासीभन्दा फरक छन्,’ द वान पर्सेन्टमा उल्लेख गरिएको छ ।

यसरी अमेरिका पुग्नेहरू बारम्बार आफ्नो दक्षता पुष्टि गर्नेहरू छन् । यी भारतीयमा अभिजात वर्ग र खानदानी मात्र रहेका छैनन् । भारतमै सीमान्तकृत तथा मध्यम परिवारका व्यक्ति पनि अमेरिका पुगेर विश्वको आईटीमा हलचल ल्याएको सिलिकन भ्यालीमा उपस्थित हुँदै नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छन् ।

अमेरिकाको कामदार बजारले पछिल्लो समय उच्च क्षमता भएको व्यक्तिलाई भित्र्याउने नीति लिँदै भिसा सिस्टमलाई कडाइ गरेको पनि हो । यससँगै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका दक्ष व्यक्तिहरू अमेरिका पुगेका छन् ।

टेक्नोलोजी इन्टरप्रेनर विवेक वाध्वा विभिन्न छनोट मापदण्ड पुरा गर्दै अमेरिका पुग्नेहरू उत्कृष्ट भएकाले त्यहाँ छोटो समयमा फड्को मार्न सफल भएको बताउँछन् । उनी भन्छन्, ‘उनीहरूले सिलिकन भ्यालीमा बनाएको नेटवर्कले नै उनीहरूलाई एउटा मौका दिएको छ । उनीहरू एक अर्काका सहयोगी भई रहेका छन् ।’

वाध्वा धेरै भारतीय मूलका कार्यकारी प्रमुखहरू तल्लो तहदेखि काम गर्दै आफ्नो योग्यता पुष्टि गरी सकेका छन् । उनीहरू विभिन्न सिँढी चढ्दै नेतृत्वमा पुगेको वाध्वाको बुझाइ छ । लामो अनुभव पछि नेतृत्वदायी भूमिकामा पुगेका उनीहरूमा नेतृत्वको अहङ्कार र कार्यालयका सहकर्मीको मत र अनुभवलाई अवमूल्यनको गर्दाको हानिको राम्रो ज्ञान भई सकेको हुन्छ । यो अनुभवले भारतका ती युवालाई अझ राम्रो नेताको रूपमा स्थापित गरेको छ ।

वाध्वाकै अनुसार नाडेला र पिचाँइमा केही राम्रो संस्कार छ । केही विषयमा उनीहरू सावधान पनि छन् । जसले उनीहरूलाई नेतृत्वको बलियो दाबेदारको रूपमा प्रस्तुत गरेको हो । उनीहरूको यसै स्वभावका कारण सिलिकन भ्यालीका प्रबुद्ध व्यक्तिहरूको माझमा दक्षिण एसियाली मूलका युवाहरूलाई स्थापित गरी रहेको छ ।

ब्लुमबर्ग न्युजका लागि भारतमा प्राविधिक बजारको काम गरी रहेकी सारिथा राई पनि सामान्य रूपमा रहँदै तल्लो तहसँग पनि घुलमिल गर्न सक्नु महत्त्वपूर्ण विशेषता भएको बताउँछिन् ।

सन माइक्रो सिस्टमका मालिक मध्येकै एक विनोद कोस्ला भारतीय मूलका सफल व्यवसायी तथा विलेनियर हुन् । उनको विचारमा भारतको बहु आयमिक सामाजिक संरचना नै अन्य देशमा उनीहरूको सफलताको प्रमुख कारण हो । त्यहाँको सामाजिक संरचनाको कारण उनीहरूमा जटिल परिस्थितिको कसरी सामना गर्ने भन्ने ज्ञान भएकाले नेतृत्वमा चाँडो स्थापित हुन सहयोग गरी रहेको छ । यसैले उनीहरूलाई बढी मेहनत गर्न पनि प्रेरित गरी रहेको उनी बताउँछन् ।

अर्थशास्त्री रूपा सुब्रमन्यम यसअघिको अध्यागमन नीतिले अमेरिकालाई लाभ दिए पनि सेप्टेम्बर ११ काण्ड पछिको अध्यागमन नीतिमा भएको कडाइले भारतलाई लाभ भईरहेको छ । ग्रीन कार्डका लागि थुप्रै आवेदन पुरा नभएका कारण अहिले भारतीय बजारले दक्ष जनशक्ति आफूसँगै राख्न सफल भई रहेको छ ।

अहिले धेरै भारतीयको हकमा अमेरिका मात्र सपना बन्न छाडेर आफ्नै देशमा केही गर्ने जाँगर पलाउन थालेको छ । अहिले भारतका थुप्रै कम्पनीले आईटीका लागि १ बिलियनभन्दा बढी छुट्याउन थालेका छन् । यसले भारतमा पनि थुप्रै आईटी कम्पनीहरू खुल्ने छन् । तथापी यसले विश्वव्यापी प्रभाव कस्तो पर्ने हो भनेर अनुमान गर्न कठिन हुने विज्ञहरूको मत छ ।

खोस्लाकै विचारमा अहिले आईटीका रोल मोडल बनेकाहरू युवा नै छन् । यसले धेरैलाई थप सहयोग गर्न तथा भारतीयलाई आईटीमा नयाँ कदम चाल्न समेत प्रेरणा मिलेको उनको धारणा छ ।

सुन्दर पिचाँइको बारे धेरैलाई थाहा हुन सक्छ । गुगलका कार्यकारी प्रमुख यिनलाई पछिल्लो समय यसको अभिभावक कम्पनी अल्फाबेटको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको हो । ४७ वर्षीय उनले आफ्नो कम्पनीको जग बलियो भएका कारण अझ थप परिष्कृत बन्दै जान सक्ने बताएका थिए ।

चेन्नाइमा बाल्यकाल बिताउने क्रममा क्रिकेट टोलीका कप्तान रहेका उनले यो अवसर र यो उचाइको कल्पना सायद गरेका थिएनन् । धातु इन्जिनियरिङको अध्ययन गरेका उनी आफ्नो ब्याजका उत्कृष्ट विद्यार्थी थिए।

२००४ मा गुगलमा काम गर्न शुरु गरेका उनकै नेतृत्वदायी भूमिकामा गुगलको वेभ ब्राउजर, क्रोम र एन्ड्रोइड मोबाइल सिस्टम तयार भएको थियो ।

उनी १२ वर्षको उमेर नभएसम्म फोन नचलाएका पिचाँइ परिवारका लागि कुनै दिन सुन्दरकै कारण संसारको मोबाइलमा क्रान्ति आउने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो । मध्यम तथा निम्न मध्यम परिवारको प्रतिनिधित्व गर्ने उनी बाल्यकालमा खाट नपुगेका कारण भुईँमै सुत्ने गरेका थिए ।

कत्तिसम्मको अवस्था आएको थियो भने स्नातक तह अध्ययन पुरा गरेपछि थप अध्ययनका लागि स्ट्यानफोर्ड जाने अवसर त उनले पाए । त्यो समय स्ट्यानफोर्ड सम्मको टिकटदर सुन्दरका बाबुको वार्षिक कमाइ भन्दा धेरै थियो । गुगल प्रवेश गर्ने बित्तिकै उनको नम्र स्वभाव र सबैसँग मिल्ने आदतका कारण धेरैलाई आश्चर्यमा पारेको थियो ।

प्रयागले पनि स्ट्यानफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । ३७ वर्षीय उनी ज्याक डोर्सीले पद त्यागे पछि प्रमुख कार्यकारी भएका हुन् । प्रयागले पनि अमेरिकाले कहिले पनि कुने पनि सर्तमा मान्छे माथि भेदभाव नगने भएका कारण आफ्नो जिम्मेवारीमा पनि यस कुरालाई निरुत्साहित पार्ने बताएका छन् ।

विश्वका युवाका लागि सपनाको देश बन्ने गरेको अमेरिका संसारका जुनसुकै कुनामा जन्मिनेका लागि अवसरको देश पनि हो । यसै अवसरको देश अमेरिकामा भारतीय युवाले आईटीको नेतृत्व गर्दै प्रविधिमा हलचल नै ल्याएका छन् । हेरौँ, प्रयागको नेतृत्वमा अन्य प्रतिस्पर्धीको बीचमा ट्वीटर कुन स्थानमा रहने छ ।


भर्खर

0