काठमाडौँमा फुटपाथ खोइ ? सडकले खायो ! « Khabarhub
Logo
१८ श्रावण २०७८, सोमबार

काठमाडौँमा फुटपाथ खोइ ? सडकले खायो !



काठमाडौँ– देशको प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी पर्खालको फेदैफेद अनामनगर चोक र हनुमानस्थान ओहोरदोहोर गर्दा फुटपाथ (पैदलमार्ग) कति फराकिलो छ, विचार गर्नुभएकै होला ।

त्यही फुटपाथमा रुख रोपेर हरियाली बढाउने रहर छ महानगरलाई । हनुमानस्थानबाट उत्तरतर्फ एक ठाउँमा पर्खाल कुइनेटो पर्छ जहाँ छैन बराबरको फुटपाथ छ ।

सिंहदरबारकै उत्तरी पर्खालको फेदैफेद पुतली सडकतिर जाँदा न्यु प्लाजाअगाडि फुटपाथ स्वाट्टै हराउँछ । गाडीसँगै सडकबाटै हिँड्दै अघि बढ्दा छैन बराबरको फुटपाथ फेला पर्छ र पुतली सडक पुगिन्छ । दक्षिणतिर फर्किंदा थोरै सन्तोष हुने फुटपाथ देखा पर्छ ।

गौशाला चोक र चाबहिल चोक बीच पैदलयात्रा गर्नुभएको छ भने पश्चिमतर्फको फुटपाथमा एक्लै हिँड्नेले पनि सकस नव्यहोरी धरै छैन । पूर्वतर्फको पनि हालत गतिलो छैन ।

राजधानी काठमाडौँको चल्तीको बजार मानिने न्यु रोडको दुबैतर्फका फुटपाथमा दुई जना साथी कुम जोडेर हिँड्ने त कल्पनाको कुरा, एक्लै हिँड्न पनि सकस पर्छ । घण्टाघर सामुन्नेको फुटपाथमा नहिँड्ने मान्छे विरलै होलान् । अलिक छिटो पाइला चाल्नु छ भने सडकतिर नओर्ली धरै छैन । दरबार हाइस्कुलको पर्खाल फेदको फुटपाथ पनि दिक्कलाग्दो छ ।

आकासे पुलले फुटपाथ ननिलिको ठाउँ फेला पर्न मुश्किल पर्छ । रत्नपार्कको विशाल आकासे पुलमुनि जामे मस्जिद तर्फको फुटपाथ हेर्नुहोस् कि वीर अस्पताल सामुन्नेको पुलको भर्‍याङ्‌मुनि हेर्नुहोस्, या त चेपिँदै फुटपाथ पार गर्नुपर्छ या पुलतिर चढ्नुपर्छ ।

माइतीघर मण्डलको उत्तरतर्फ पुरातत्व विभाग सामुन्नेको पुलनेर उभिएर फुटपाथ हेर्दा अब कताबाट अघि बढूँ भनेर एकछिन सोच्नुपर्ने अवस्था छ । उपयुक्त सीमित दृष्टान्तहरूले संघीय राजधानी काठमाडौँका केही प्रमुख ठाउँहरूमा फुटपाथको अवस्था देखाउँछन् ।
आखिर पैदल यात्रु किन यति साह्रै निरीह बनाइए त !

पूर्वाधारविज्ञ सूर्यराज आचार्यका अनुसार विगतमा शहर विकास हुँदै गर्दा सडकका लागि जति क्षेत्र ओगट्नुपर्ने थियो, त्यो हुन सकेन, त्यसमै हामी चुक्यौँ । उनी भन्छन्, ‘पञ्चायतकालदेखि नै योजनाबद्ध ढङ्गले सडक बनाएर त्यसमा ५० देखि सय मिटर सडक क्षेत्र ओगट्न सकेको भए प्रशस्त ठाउँ हुन्थ्यो, अहिले कुनै समस्या हुने थिएन ।’

सडकको क्षेत्र साह्रै कम भएको तथा योजनाकार र इन्जिनियरहरूले सडक जस्तसुकै भए पनि गाडी गुडाउनमात्र प्राथमिकता दिएकोले सडक र फुटपाथ फराकिला हुन नसकेको आचार्यको भनाइ छ । उनले भने, ‘मुख्य सडकहरू १२ देखि १४ लेनसम्मका हुनुपर्थ्यो, यहाँ त चार लेनका छन्, कतै त्यति पनि छैन ।’

सडकमा पैदलयात्रु प्राथमिकतामा छैनन्, उनीहरू निरीह बनाइएका छन् । सवारी साधन बढी प्राथमिकता छन् । सडक चौडा गरेर दुई लेनलाई चार लेन बनाउँदा फुटपाथ फराकिलो भएन, बढीमा पुरानै कायम भयो बरु झन् खुम्चियो । आचार्य भन्छन्, ‘बिग्रेको प्राथमिकताले गर्दा सडक विस्तार हुन्छ तर फुटपाथ जस्ताको तस्तै रहन्छ ।’

कति ठाउँमा त साँघुरा फुटपाथको बीचमा बिजुलीका पोल छन् । पैदलयात्रुको दोहोरो आवतजावत हुँदा एकतर्फको यात्रु सडकमा ओर्लिनुपर्ने बाध्यता हुन्छ ।

साँघुरो त छँदैछ, सीमित ठाउँमा बाहेक फुटपाथको अन्य गुणस्तर पनि दिक्दारलाग्दो छ । खाल्टाखुल्टी छन् । उबडखाबड छ । भत्केको छ ।

आचार्य भन्छन्, ‘हाम्रा फुटपाथ जे छन्, तिनको पनि उचित व्यवस्थापन भएको छैन । कतै कतै त घरको सिँढी फुटपाथमै छ ।’ उनका अनुसार पैदलयात्रुका लागि काठमाडौँ अनुकूल प्राकृतिक वातावरण भएको शहर हो तर हाम्रो योजनाले फुटपाथको महत्व बुझ्न सकेन । सडक योजना बनाउनेको प्राथमिकतामा पैदलयात्रु परेनन् । उनी भन्छन्, ‘शहर राम्रो हुने भनेको गाडीका लागि मात्रै होइन, जनस्वास्थ्यका हिसाबले नागरिकलाई तन्दुरुस्त बनाउन पनि फुटपाथ राम्रो हुनुपर्छ ।’

छैन मापदण्ड

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार फुटपाथ यस्तै हुनुपर्छ भन्ने ठोस मापदण्ड छैन, उपलव्ध जमिनअनुसार नै बनाउने हो ।

अहिले काठमाडौँका मुख्य ठाउँहरू थापाथली, दरबारमार्ग, लैनचउर, ठमेल, तिनकुने, तिलगङ्गा लगायतमा फुटपाथ सुधारको काम भइरहेको कार्यालय प्रमुख कुबेर नेपालीले बताए ।

‘हामीले निषेधाज्ञा शुरू भएदेखि रोड मार्किङसँगै पुराना फुटपाथलाई अपाङ्गमैत्री र कलात्मक बनाइरहेका छौँ,’ उनले भने, ‘असार मसान्तसम्ममा जिम्मेवारी पाएका मुख्य सडकका फुटपाथ मर्मत र सौन्दर्यीकरण पूरा हुन्छ ।’

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने स्वास्थ्य मापदण्डमा आपसमा दुई मिटरको दूरी कायम गर्नु भनिएको छ । काठमाडौँका फुटपाथहरूमा यस्तो दूरी कायम गर्नु निर्देशनमा बाहेक व्यवहारमा सम्भव छैन ।

धेरै पुरानो शहरी क्षेत्रमा त्यो जमानाको व्यवस्थाअनुसार यस्तै भयो भन्ने हो भने काठमाडौँ उपत्यकामा तीन दशकयता शहर बनेका ठाउँहरूमा पनि फुटपाथको बिजोग छ ।


भर्खर

0