बोल्ट युगपछि अमेरिकामाथि विश्वनजर  | Khabarhub Khabarhub

बोल्ट युगपछि अमेरिकामाथि विश्वनजर 


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शक्ति राष्ट्रहरू अबको तीन सातामा आयोजना हुने ओलम्पिक खेलकुदको तयारीमा कम्मर कसेर लागेका छन् । सबै देशले छनोट चरण सकेर खेलाडी टुङ्गो लगाएका छन् । ओलम्पिक खेलकुदको इतिहासमा पकड जमाउँदै आएको अमेरिकाका लागि यसपटकको ओलम्पिक निकै फरक हुनसक्ने देखिएको छ ।

कोभिड महामारीका कारण एक वर्ष धकेलिएको यो ओलम्पिकको पौडीतर्फका प्रतिस्पर्धामा अमेरिकाको पुरानो पकड फुस्कन सक्ने देखिएको छ । अर्को महत्वपूर्ण खेल एथलेटिक्समा भने अमेरिकी टोली झन् उत्कृष्ट लयमा आउन सक्नेछ । अमेरिकाको एथ्लेटिक्स छनोट गत साता सकियो । छनोटमा पुरुष सट पुटमा क्यान क्रुजर र महिला ४०० मिटर हर्डल्समा सिड्नी म्यागगालनले विश्व कीर्तिमान बनाए ।

युसेन बोल्ट युगको अन्त्यपछि पुरुषको स्प्रिन्ट स्पर्धामा अमेरिकाले पुरानो पकड र दबदबा फर्काएको छ । विगतका ओलम्पिकमा फिल्डमा कमजोर देखिने अमेरिकाका केही खेलाडीहरू उत्कृष्ट लयमा छन् । महिला ह्यामर थ्रोमा अमेरिका क्लीन स्वीपको लक्ष्यमा छ । महिला ४०० मिटर हर्डल्समा पनि क्लीन स्वीपकै लक्ष्य छ ।

हर्डल्सकी पूर्व विश्वकीर्तिमानधारी डालिया मुहम्मद कोभिड संक्रमण र त्यसपछिको चोटको कारण लामो समय मैदान बाहिर थिइन् । यस पटकको छनोट उनको चोटपछिको तेस्रो स्पर्धा थियो । यसमा उनले विश्व बरियताको दोस्रो स्थानमा आफूलाई उभ्याइन् । ओलम्पिकमा पनि म्याकगालन र मुहम्मदका बीचमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने अनुमान छ । तेस्रो अमेरिकी धाविकाले कास्य पदक जिते क्लीन स्वीप हुने आशा अमेरिकी वृत्तको छ ।

ओलम्पिकमा पुरुष सट पुटमा पनि अमेरिकाको स्वर्ण र रजत जित्ने लक्ष्य छ । घरेलु छनोटमा अमेरिकीहरू यस्तो लयमा देखिए कि एकै दिन सात वटा स्पर्धामा छनोट कीर्तिमान भङ्ग भए । जुनियर विश्व कीर्तिमान र विश्व कीर्तिमान पनि छनोटको अन्तिम दिन भङ्ग भए ।

ह्यामर थ्रोमा अमेरिकी डाना प्राइसले ८० दमलव ३१ दूरी फ्याँकिन् । यो पोल्यान्डकी लोडर ज्याकको विश्व कीर्तिमान पछिको दोस्रो उत्कृष्ट प्रदर्शन तथा सन् २०१७ यताको सबैभन्दा उत्कृष्ट थ्रो हो ।

यसै छनोट चरणमा अमेरिकाका एरियन निङटनले पनि जुनियर विश्व कीर्तिमान बनाएका छन् । उनले विश्व खेलकुदका महान् खेलाडी युसेन बोल्टको कीर्तिमान भङ्ग गरेर १९ दशमलव ८४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका हुन् । गत साता २२ वटा छनोट खेलमा पनि कीर्तिमान कायम भयो ।

महिला २०० मिटरमा गेबी थोमसले २१ दशमलव ६१ सेकेन्डका साथ आफूलाई ओलम्पिकको दाबेदार बनाइन् । सुडानी आप्रवासी बाबुआमाकी छोरी एथेन मु १ मिनेट ५६ दशमलव ०७ सेकेन्डमा ८०० मिटरमा पहिलो भइन् । यो प्रदर्शन वर्षको उत्कृष्ट र अमेरिकाको दोस्रो उत्कृष्ट हो ।

आसन्न ओलम्पिकमा अमेरिकाका तीन खेलाडी पदक जित्न लायक देखिएका छन् । गत विश्व च्याम्पियनसिपमा रजत र कास्य विजेता खेलाडी पनि यस टोलीमा समावेश छन् ।

सय मिटरकी धाविका साकारी रिचर्डसनले आफू छनोट भएपछि ओलम्पिकका पुरानो विश्व कीर्तिमान भङ्ग हुने प्रतिक्रिया दिइन् । परन्तु उनको डोपिङ स्क्यान्डलले सहभागिता अनिश्चित छ ।

दुई सय मिटर पुरुषमा विश्व च्याम्पियन नोह लोयस्ल पुरानै लयमा फर्केका छन् । उनले छनोट चरणमा १९ दशमलव ७४ सेकेन्डमा यस वर्षको द्रुत दौड गरे । यस स्पर्धामा पनि अमेरिकी लक्ष्य क्लीन स्वीप हो ।

पुरुषको सयदेखि ४ सय मिटरसम्म अमेरिकीहरूको दबदबा रहनेछ, ८ सय मिटरमा सन् २०१६ का ओलम्पिक कास्य विजेता क्लायन्ट मर्फी लयमा फर्केका छन् । उनले अमेरिकी छनोटमा १ मिनेट ४३ दशमलव १७ सेकेन्डमा दौड पूरा गरे । यो पनि वर्षको उत्कृष्ट दौड हो ।

हर्डल्सको सय मिटरमा अमेरिकी धाविका केन्द्रा ह्यारिसनका लागि यो ओलम्पिक महत्वपूर्ण हुनेछ । पहिलो ओलम्पिक सहभागिताको क्रममा रहेकी केन्द्राका लागि उपाधिमा प्युरेटीकाकी जस्मिन कमाचो बाधा हुन सक्छिन् । यस वर्ष कमाचोले १२ दशमलव ३२ सेकेन्डमा दौड पूरा गरेकी छन् । केन्द्रा १२.४७ सेकेन्डमा छिन् ।

यसै वर्ष केन्द्राभन्दा छिटो दौडेकी टोनिया मार्सल अमेरिकी छनोटमा चौथो स्थानमा सीमित भइन् । एक स्पर्धामा एक देशले अधिकतम तीन जना छनोट गर्न सक्ने भएकाले मार्सलले यस पटकको ओलम्पिक गुमाएकी छन् ।

पुरुष ११० मिटर हर्डल्समा विश्वविजेता ग्रान्ड होलवेले छनोटको सेमिफाइनलमा १२ दशमलव ८१ सेकेन्डमा दौड पूरा गरे । उता जमैकाको छनोटमा ओमर म्याकलोयडले १३ दशमलव ०१ सेकेन्डमा पूरा गरे । यी दुईको प्रतिस्पर्धा हुनसक्ने र होलवे बलियो हुने अनुमान छ । यस स्पर्धामा १२ दशमलव ८० सेकेन्डको विश्वकीर्तिमान ओलम्पिकमा भङ्ग हुने अनुमान छ ।

राजनीतिमा झैँ खेलमा पनि शक्ति राष्ट्रकै प्रतिस्पर्धा चल्छ । पाँच वर्षको अन्तरालमा हुन लागेको ओलम्पिक महोत्सवका धेरै विशेषता हुनेछन् । बोल्ट युगपछिको पहिलो ओलम्पिकमा स्प्रिन्ट स्पर्धामा अमेरिकाको पकड मुख्य चासोको विषय हुनेछ ।

ओलम्पिक खेलकुदमा एथलेटिक्सको स्प्रिन्ट स्पर्धामा अमेरिकाको दबदबा थियो । अनेक कालखण्डमा धावकहरूले उक्त उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए, सन् ८० को दशकमा कार्ल लुइस होऊन् वा सन् ९० को दशकका माइकल जोन्सन । जोन्सनले एटलान्टा ओलम्पिकमा २०० र ४०० मिटरमा स्वर्ण जितेर एउटै ओलम्पिकमा यी दुवै स्पर्धामा स्वर्ण जित्ने कीर्तिमान पनि बनाएका थिए ।

महिलातर्फको अमेरिकी प्रदर्शन पनि सनसनीपूर्ण नै छ । वर्तमान पुस्ताले फ्लोरेन्स गिफ्थ जोयनर र उनको समयको पिक फर्म सधैँ सम्झन्छ । जोयनरले सय मिटरमा राखेको १० दशमलव ४९ सेकेन्ड र २०० मिटरमा राखेको २१ दशमलव ३४ सेकेन्डको कीर्तिमान भङ्ग भएको छैन ।

जोयनर युगपछि पनि अमेरिकाको त्यो साख सन् २००४ सम्म कायम थियो तर बेइजिङ ओलम्पिकमा जमैकाका सामु अमेरिका निरीह साबित भयो । महिला र पुरुषको छोटो दूरीको दौडको फाइनलमा पहेँलो जर्सीधारीको दबदबा लामो समय रहेको थियो । लन्डन ओलम्पिकदेखि महिला स्पर्धामा यो क्रम रोकिए पनि पुरुष स्पर्धामा अमेरिका जमैकाभन्दा अब्बल रहँदै आएको थियो ।

पुरुष जम्प स्पर्धामा भने सन् २०१९ को दोहाको विश्वच्याम्पियनसिप भन्दा आसन्न ओलम्पिकमा अमेरिका कमजोर रहेको छ । दोहामा पोल भोल्टमा स्वर्ण पदक जितेको अमेरिकाले ट्रिपल जम्पमा स्वर्ण र रजत तथा लङ जम्पमा रजत जितेको थियो ।

अहिले पोल भोल्टमा स्वीडेनका विश्व कीर्तिमानधारी अर्मान डुप्लान्ट्स उत्कृष्ट लयमा छन् । उनले ६ दशमलव १० मिटरको उचाइ यसै वर्ष उफ्रे । उनी स्वाभाविक रूपमा ओलम्पिकमा पनि स्वर्ण पदकको दाबेदार हुन् । विश्वच्याम्पियन साम कान्डरिक्स भने खराब लयमा छन् ।

ट्रिपल जम्पमा विश्वच्याम्पियन क्रिस्चियन टेलर अहिले टोलीमा छैनन् । विश्वच्याम्पियनसिपका उपविजेता विल क्लाय पनि राम्रो लयमा छैनन् । यो स्पर्धामा अहिलेको फर्म हेर्दा अमेरिकाले पदक जित्नु कठिन मानिएको छ ।

सोही विश्वच्याम्पियनसिपमा लङ जम्पमा रजत विजेता जेफ हेन्डरसन पनि यो टोलीमा छैनन् । हाइ जम्प र लङ जम्प दुवैमा जुभाउगन ह्यारिसन विश्व बरियतामा दोस्रो छन् । उनको एकपछि अर्को प्रगतिका कारण उनी पदकको स्वाभाविक दाबेदार मानिएका छन् । उनका लागि ओलम्पिकमा हाइ जम्पमा रुसका आइया इभानसक र लङ जम्पमा ग्रीसका माटियाडिस टेन्टेनल्गाउन चुनौती हुनेछन् ।

गत विश्वच्याम्पियनसिपसम्म कमजोर रहेको अमेरिकाको महिला सट पुट सुधारिएको त छ परन्तु स्वर्ण पदकका लागि चीनकी लीजाओ गङ मुख्य चुनौतीका रूपमा छिन् । यस वर्ष पनि गङ शीर्ष बरियातामा छिन् । अमेरिकाकी जेसिका राम्सी र राभने साउन्डर्सले उनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

डिस्कस थ्रोमा पनि अमेरिका कमजोर थियो । यस पटक मारिया अलमानबाट अमेरिकी टोलीले धेरै आशा गरेको छ । उनका लागि जोर्डेन भान क्लीनकेल र विश्व विजेता याइमी पिरेज चुनौतीको रूपमा छन् । पहिलेदेखि कमजोर रहेको महिला ज्याभलिन थ्रोमा अहिले पनि अमेरिकालाई न्युनतम पदकको आशा छ ।

महिला हाई जम्पमा अमेरिकाको आशा भास्ती चुनिङमबाट पलाएको छ । उनी अहिले शीर्ष बरियतामा छिन् । पोल भोल्टमा स्यान्डी मोरिस राम्रो लयमा नहुनुले क्याटी नागोटी शीर्ष बरियतामा छिन् । उनका लागि विश्वच्याम्पियन एन्जेलीका सेडरोभा मुख्य चुनौती हुन् ।

महिला लङ जम्पमा टारा डेभिस र ब्रिट्नी रेसी बरियताको दोस्रो र तेस्रो स्थानमा छन् । उनीहरूका लागि नाइजेरियाकी एसे ब्रुम चुनौती बन्ने अनुमान छ । ट्रिपल जम्पमा अमेरिकी आशा अझै कमजोर छ ।

पाँच वर्षको अन्तरालमा हुन लागेको ओलम्पिक महोत्सवका धेरै विशेषता हुनेछन् । बोल्ट युगपछिको पहिलो ओलम्पिकमा स्प्रिन्ट स्पर्धामा अमेरिकाको पकड मुख्य चासोको विषय हुनेछ ।

एजेन्सीहरूको सहयोगमा

 

 

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ५५ बजे

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७