भ्रम र व्यापारिक प्रचारले घट्दै छ स्तनपान « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

भ्रम र व्यापारिक प्रचारले घट्दै छ स्तनपान



काठमाडौँ– शिशुका लागि आमाको दूधको महत्वसम्बन्धी चेतना जागृत गर्ने उद्देश्यले अङ्ग्रेजी तारिकअनुसार अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । यो विश्वव्यापी अभियान हो ।

शिशुका लागि जम्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक कुनै पनि किसिमको अतिरिक्त खाना र पानी आवश्यक नपर्ने र ६ महिनापछि आवश्यकताअनुसार अतिरिक्त खानासहित दुई वर्षसम्म नियमितरूपमा स्तनपान गराउन विज्ञहरूको सुझाब छ । शिशुलाई जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउनुपर्ने र यो नै शिशुका लागि पहिलो खोप हुने विज्ञहरूको भनाइ छ ।

अनुसन्धान रिपोर्टहरूले भने स्तनपान गराउने चलन क्रमशः घट्दै गएको देखाएका छन् । बालबालिका सम्बन्धी राष्ट्र संघीय संस्था (युनिसेफ), नेपालका अनुसार नेपालमा जन्मेदेखि ५ महिनासम्म ६६ प्रतिशत शिशुले मात्रै नियमित स्तनपान गर्न पाउँछन् ।

यस्तै, करिब ५५ प्रतिशत शिशुले मात्रै जन्मेको एक घण्टाभित्र स्तनपान गर्न पाउँछन् ।

यस्तै पूर्ण अर्थात दुई वर्ष स्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो एउटा रिपोर्टअनुसार पहिलो एक घण्टाभित्र स्तनपान गर्न नपाउने शिशुहरूको जीवन उच्च जोखिममा रहने गरेको छ ।

‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६’ अनुसार, जीवनको पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै, ७० दशमलव ७ प्रतिशत, छ । सबैभन्दा कम प्रदेश २ मा, ४५ दशमलव ३ प्रतिशत, छ । प्रदेश २ मा जन्मिएका शिशुहरूमध्ये लगभग आधालाई उनीहरूको जीवनको पहिलो तीन दिनमा मह, पानी, दूधजस्ता अन्य पदार्थहरू खुवाउने गरिएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार समग्रमा ग्रामीण शहरी क्षेत्रमा स्तनपान गराउने चलन घट्दो क्रममा छ ।

यस वर्ष नेपालमा स्तानपान सप्ताहको सन्देश ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ रहेको छ ।

विशेष स्तनपान

सन् २०१२ मा भएको ‘विश्व स्वास्थ्य सभा’ ले सन् २०२५ सम्ममा जन्मेदेखि पहिलो ६ महिनासम्म गराइने स्तनपान ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारण गरेको छ । यो अवधिको स्तनपानलाई युनिसेफले ‘विशेष स्तनपान (इक्स्क्लुसिभ ब्रेस्टफीडिङ)’ भनेको छ ।

युनिसेफका अनुसार शिशुलाई जन्मेदेखि पहिलो छ महिनासम्म आमाको दूधमात्र खुवाउनु ‘विशेष स्तनपान’ हो । यस अवधिमा शिशुलाई पानी पनि खुवाउनु पर्दैन र कुनै प्रकारको अतिरिक्त खाना आवश्यक पर्दैन । यस्तो स्तनपान बालमृत्युदर घटाउन प्रभावकारी पाइएको छ ।

शिशु जन्मेको एक घण्टाभित्र पहिलो स्तनपान, ६ महिनासम्म ‘विशेष स्तनपान’ र यसपछि आवश्यकताअनुसार अतिरिक्त खानाका साथ लगातार दुई वर्ष स्तनपान गराउन युनिसेफको सिफारिस छ ।

अनिवार्य छ स्तनपान

युनिसेफको एक रिपोर्ट अनुसार विषेश स्तानपान शिशुको जीवन र स्वास्थ्यको अधारशिला हो । अमाको दूधले शिशुलाई अत्यावश्वक र अप्रतिस्थापनीय पोषण प्रदान गर्छ, रोगविरुद्ध पहिलो प्रतिरक्षा प्रदान गर्छ ।

एक अध्ययनअनुसार आमाको दूधले शिशुलाई झाडा पखाला हुने सम्भावना ५० प्रतिशतले र स्वासप्रश्वास सम्बन्धी रोग हुने सम्भावना एक तिहाईले कम गर्छ ।

बालबालिकामा अन्य प्राणहरणीय तत्वहरूको प्रवेश रोक्छ र नसर्ने किसिमका कतिपय रोगबाट बचाउँछ, शिशुलाई मोटोपनबाट पनि जोगाउँछ ।

शिशुलाई नियमित स्तनपान गराउने आमालाई स्तनक्यान्सरको खतरा कम हुन्छ ।

यसकारण घट्दैछ स्तनपान

युनिसेफका अनुसार यससम्बन्धी केही विश्वव्यापी भ्रमहरू छन् ।

शिशुलाई आमाको दूधले मात्रै पुग्दैन र ६ महिनाभन्दा अघिदेखि नै अतिरिक्त खाना पनि चाहिन्छ भन्ने धारणा छ । यसले ‘विशेष स्तनपान’ मा असर पारेको छ । अस्पताल, स्वास्थ्य हेरचाह अभ्यास र सरकारी नीति सहयोगी छैनन् । स्तनपान गराउने आमामा उचित सिपको अभाव छ ।

यसैगरी शिशुका स्तनपान प्रतिस्थापन गर्ने अतिरिक्त खानाको व्यापक व्यापारिक प्रचारप्रसार हुने गरेको छ । कामकाजी आमाले ‘विशेष स्तपान’ गराउन विदाको सुविधा पाउँदिनन् । उनी काम गर्ने कार्यालय पनि सहयोगी हुँदैन ।

आमा, परिवारका सदस्य र समाजमा ‘विशेष स्तनपान’ को महत्वबारे ज्ञानको अभाव छ ।

कतिपय आमाहरूमा लामो समयको स्तपानले शारीरिक सौन्दर्यमा नराम्रो असर पर्छ भन्ने धारणा छ । नेपालका कतिपय ठाउँमा सबैभन्दा पहिलो दूघ (बिगौते दूध) शिशुलाई खुवाउनु हुँदैन भन्ने भ्रम पनि छ ।

विज्ञहरु भने बिगौते दूधलाई शिशुको पहिलो खोप मान्छन् ।

यस्ता कतिपय भ्रमले पनि स्तनपान घटाउने गरेको छ ।

सरकारहरू सहयोगी भएनन्

युनिसेफको सन् २०१२ को एक तथ्यांकअनुसार ३८ प्रतिशत शिशुहरूले मात्र ‘विशेष स्तनपान’ पाउने गरेका छन् । ‘विशेष स्तनपान’ नपाएका र पूरा समय स्तनपान गर्न नपाएका बालबालिकामा मृत्युदर ११ दशमलव ६ प्रतिशत बढी पाइएको छ । यो संख्या ८ लाख ४ हजार हो ।

युनिसेफका अनुसार सन् १९८५ देखि १९९५ सम्ममा विश्वव्यापीरूपमा ‘विशेष स्तनपान’ वार्षिक २ दशमलव ४ प्रतिशतले बढ्यो । पच्चीस वटा देशमा २० प्रतिशले बढे पनि केही ठाउँहरूमा अनपेक्षित रूपमा घट्यो ।

युनिसेफका अनुसार देशहरूले स्तनपान प्रवर्द्धनका लागि नीतिगत र आर्थिक रूपमा सहयोग गरेका छैनन् ।

सरकारहरूले देशको आर्थिक उन्नति र भावी समृद्धिमा स्तनपानको महत्व बुझ्न चाहेका छैनन् । फलस्वरूप विश्वका बहुसंख्यक बालबालिका आवश्यकता र सिफारिस अनुसार स्तनपान गर्न पाएका छैनन् ।

यसरी शुरू भयो स्तनपान सप्ताह

सन् १९९० मा इटलीमा सरकारी नीति निर्माताहरू, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र सरोकारवाला अन्य संघसंस्थाका प्रतिनिधिहरूको एक भेला भयो । उक्त भेलाले ‘इन्नोसेन्टी घोषणापत्र’ जारी गर्‍यो । उक्त भेलामा विश्वव्यापीरूपमा स्तनपान प्रवद्र्धनका लागि अगस्ट १ देखि ७ तारिकसम्म ‘स्तनपान सप्ताह’ मनाउने निर्णय गरेको थियो ।

यसैअनुसार सन् १९९२ मा विश्वव्यापी रूपमा ‘स्तनपान सप्ताह’ मनाउन थालिएको हो ।

नेपालमा स्तनपान संरक्षण र सम्वद्र्धनका लागि ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ र ‘नियमावली, २०५१’ रहेको छ । नेपाल सरकारले सुत्केरीलाई कुल ९८ दिन बिदा दिने गरेको छ ।

स्तनपान सप्ताहका लागि अगष्ट १ अर्थात् साउन १७ गते ७ दिनको स्तनपान सप्ताहको पहिलो दिन आइतबार स्तनपानका विषयमा अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकारको नीति र सप्ताहव्यापी कार्यक्रमका बारेमा छलफल भएको थियो ।

देशभर साताव्यापी कार्यक्रमहरू हुने पोषण शाखाले जनाएको छ ।


भर्खर

0