पशुपतिनाथ क्षेत्रका सम्पदा पुनर्निर्माण सुस्त « Khabarhub
Logo
१० बैशाख २०७८, शुक्रबार

पशुपतिनाथ क्षेत्रका सम्पदा पुनर्निर्माण सुस्त

६ वर्षमा ५० वटाको पुनर्निर्माण, ५१ करोड खर्च



काठमाडौँ— वरिपरि चारैतिर गाह्रो भत्किएको छ । भग्नावशेष झारपातले भरिभराउ छ । मन्दिर र आसपासका सत्तलहरू चर्केका र भत्केका देखिन्छन् । बाहिर गेटमा लेखिएको छ— प्रवेश निषेध गरिएको छ ।

यस्तो दृश्य काठमाडौँस्थित पशुपतिनाथ परिसरको मृगस्थलीस्थित विश्वरूपा मन्दिर र मन्दिर परिसरका सत्तलहरूको हो ।

उन्नाइसौँ शताब्दीमा जङ्गबहादुर राणाले निर्माण गराएको विश्वरूपा मन्दिर २०७२ साल वैशाखको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

भूकम्प गएको ६ वर्ष बित्यो तर उक्त मन्दिर पुनर्निर्माण शुरू भएको छैन । भत्किएका संरचनाले मन्दिरको सौन्दर्य नै बिगारेको छ ।

विश्वरूपा मन्दिरको पुनर्निर्माण आगामी आर्थिक वर्ष शुरू गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ । विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणको लागि कोषले टेन्डर आह्वान गरेको थियो । के भइरहेको छ टेन्डर प्रक्रिया ? कहिले शुरू हुन्छ पुनर्निर्माण ?

यस विषयमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा भन्छन्, ‘विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । केही साताअघि टेन्डरमै मुद्दा परेर त्यो विषय सर्वोच्च अदालतमा पुगेकाले हामीले यसमा केही बोल्न मिल्दैन’ ।

काम शुरू भएको पाँच वर्षभित्र विश्वरूपा पुनर्निर्माण सम्पन्न हुने उनले बताए । भूकम्पले चर्किएको बज्र घरको पुनर्निर्माण पनि शुरू भएको पाँच वर्षमा सम्पन्न हुने खतिवडाको भनाइ छ ।

पुनर्निर्माण किन सुस्त !

राजधानीको केन्द्र पशुपतिनाथ परिसरभित्र छ वर्षदेखि सम्पदाहरू ढलिरहेका छन् । निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य संस्था पुनर्निर्माणको प्रगति राम्रो देखिए पनि साँस्कृतिक सम्पदामा गति सुस्त छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच वर्षमा काम सक्नुपर्ने हो । पुनर्निर्माणको काम सम्पन्न सरकारले प्राधिकरणको म्याद एक वर्ष थपेको छ । थपिएको म्याद आउने पुस दोस्रो साता सकिन्छ ।

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा पुनर्निर्माणमा समय तोकेरमात्रै नहुने बताउँछन् खतिवडा । ‘पुरातात्त्विक सम्पदाको पुनर्निर्माण गर्दा पुराना इटा, काठ लगायत सामग्रीहरू प्रयोग गर्न मिल्ने अवस्थाका छन् भने राख्ने भनेर निर्णय गरेको हुन्छ,’ उनले खबरहबसँग भने, ‘त्यसलाई हेरेर तयारी गर्नुपर्छ कतिपय अवस्थामा पुराना सामग्री प्रयोग गर्दा फुट्ने, टुट्ने बिग्रने र प्रयोगमा ल्याउन नमिल्ने भइदिन्छ, त्यस्तै सामान खोज्न समय लाग्छ ।’

कतिपय अवस्थामा माटो र इटा खोज्न नै धेरै दिन लाग्ने उनले बताए । उनका अनुसार चुना र सुर्कीको मात्रा मिलाउन पनि कोषका प्रतिनिधि, इन्जिनियर लगायत एक साथ उपस्थित हुनुपर्छ ।

‘पुराना र नयाँ इटाको धुलो हाल्दा कति मात्रा मिलाउनुपर्ने भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ’ उनी भन्छन्, ‘यस्तै कामले गर्दा सम्पदा पुनर्निर्माणमा ढिलाइ हुने हो ।’

पशुपति क्षेत्र परिसरका सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गर्न अझै पाँच वर्ष लाग्ने उनको अनुमान छ ।

६ वर्षमा ५० वटाको पुनर्निर्माण

भूकम्पले पशुपतिनाथ परिसरका मन्दिर र सत्तल गरी १०५ वटा सम्पदामा क्षति पु¥याएको थियो । त्यसमध्ये हालसम्म १३ वटा मन्दिरको र ३७ वटा सत्तलको पुनर्निर्माण पूरा भएको छ । बाँकी ५५ वटा क्षतिग्रस्त अवस्थामै छन् ।

सम्पूर्ण सम्पदा पुनर्निर्माणका लागि कोषले २ अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५१ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत ३५ करोड ७४ लाख लागतमा ३३ वटा सम्पदाको पुनर्निर्माण भएको छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत १० करोड ७ लाख लागतमा दुई वटा सम्पदा पुनर्निर्माण भएको छ ।

कोषको आन्तरिक स्रोतबाट ३५ लाख रुपैयाँमा चार वटा सम्पदा र व्यक्ति तथा संस्थाबाट ५ करोड ७१ लाख रुपैयाँमा चार वटा सम्पदा पुनर्निर्माण भएका छन् ।


भर्खर

0