कोरोना संकटमा निर्लज्ज नेताहरू | Khabarhub Khabarhub

कोरोना संकटमा निर्लज्ज नेताहरू


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली र लुम्बिनीका प्रदेश सरकारहरूको विश्वासको मत प्राप्त गर्ने सफलतापछि गण्डकी प्रदेश सरकारको परीक्षण हुने प्रक्रिया जारी रहेको छ ।

कोरोना महामारी देखाएर प्रदेश सांसदहरूको कोरोना परीक्षण गर्नुपर्ने विषय अहिले उक्त प्रदेशको सत्ताधारी दलका लागि म्याद थप्ने उपाय बनेको छ । नेकपा विसर्जन गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको रूपमा फर्किसकेका वामपन्थी नेताहरू एकअर्कालाई औकात देखाइदिने बाटोमा तदारुकतासाथ लागि परेका छन् ।

यता जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक किचलो निर्णायक मोडतिर उन्मुख देखिन्छ । लुम्बिनी प्रदेशमा जसपा सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थनप्रति केन्द्रीय नेतृत्वले कारबाही र समर्थनको पत्र एकसाथ जारी गरेको छ ।

आफैँमा अनौठो उदाहरण बन्ने यो घटना नेपालको संसदीय राजनीतिको लागि रोचक हुनेछ । लुम्बिनी प्रदेशमा जसपाका छ जना सांसद छन् । यीमध्ये चार जनाले मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका थिए । अर्थात पार्टी संसदीय दलको दुई तिहाई सांसदले सरकारलाई समर्थन गरेका थिए ।

प्रदेश सांसदको उक्त निर्णय केन्द्रीय नेतृत्वको निर्देशन विपरीत रहेको भनेर पार्टीको पूर्वसमाजवादी पक्षले ती सांसदहरूलाई पदबाट बर्खास्त गर्ने निर्णयसहितको पत्र पठाएको थियो । सोही आधारमा प्रदेशसभाको सूचनामार्फत पदमुक्त गरिएको व्यहोरा सार्वजनिक भएको छ ।

सोही मितिमा पार्टीका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरमा लुम्बिनी प्रदेशका सभामुखलाई सम्बोधन गरिएको पत्रमा निज सांसदहरूमाथि कुनै कार्बाही नगरिएको जानकारी गराइएको छ । अध्यक्ष ठाकुरले ईमेलमार्फत पठाएको पत्रलाई माओवादी पक्षका प्रदेश सभामुखले बेवास्ता गरेका छन् । यसको प्रभाव केन्द्रीय राजनीतिमा जसपासँग गठबन्धन बनाउने प्रचण्डको गृहकार्यमा परेको छ ।

संसदीय राजनीतिमा बहुमत सांसदको समर्थनसहित गरिएको निर्णयलाई आफ्नै पार्टीको केन्द्रीय नेतृत्वले कारबाहीको विषय बनाउने यो अनौठो घटना दूरगामी प्रभाव पार्ने खालको हुनेछ । जसपाभित्रको विवाद यही कारणले जटिल बन्न सक्ने सम्भावना बढेको छ । पार्टीको लागि नेताहरू हुनुपर्ने ठाउँमा नेताहरूको लागि पार्टीको प्रयोग गर्ने चलन बढ्दै गएपछि आउने परिणाम यस्तै हो ।

केही दिनयता देशको केन्द्रीय राजनीतिमा प्रमुख नेताहरूले निकास खोज्न नसकेपछि अहिले आफ्नो ध्यान प्रादेशिक सरकारतिर मोडेका छन् । यसैक्रममा कर्णाली प्रदेशमा सांसदहरूले फ्लोर क्रस गरे । पार्टीबाट निष्कासनमा परे पनि उनीहरूलाई मन्त्री पद प्राप्त गर्ने अवसर जुर्‍यो ।

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमा सहमति जनाएपछि फर्केर सरकारको समर्थन गर्दै तीन जानाले मन्त्रिपरिषदमा स्थान पाए । यही कारणले अहिले जसपाको केन्द्रीय नेतृत्व दुई ठाउँमा उभिएको देखिन्छ ।

उता गण्डकी प्रदेशको राजनीतिमा हिन्दी फिल्मको स्टाइलमा बेपत्ता भएका सांसद हस्पिटलको आईसीयूमा फेला परे । उनको एकै दिनको स्वाबको एउटा रिपोर्टमा कोरोना नेगेटिभ र अर्को रिपोर्टमा पोजिटिभ आएको छ ।

कोरोना भाइरस संक्रमणको वैश्विक महामारीमा जनताको सुरक्षा बेवास्ता गर्दै नेताहरू नौटंकीजस्तो राजनीतिक खेलमा रमाउन खोज्नु गैरजिम्मेवारीको पराकाष्ठा हो, अक्षम्य अपराध हो । भ्रममा नपरे हुन्छ, जनताका आँखा र कान दुवै जागरुक छन् ।

लुम्बिनी प्रदेशमा जसपाका दुई वटै पत्र केही दिनको लागि राजधानीमा मिडिया खपतको विषय बने । त्यतिमात्र होइन, प्रादेशिक राजनीतिमा देखिएको रोचक, अनौठो र गैरसंसदीय व्यवहारलाई आधार बनाएर संघीयता नरुचाउने पक्षधरहरूले फेरि एकपटक ठूलो मसला पाएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति र लुम्बिनी प्रदेश जसपा संसदीय दलको पत्रअनुसार सभासदहरूलाई पदमुक्त गर्ने कारबाही गरिएको जानकारी गराइएको छ । जम्मा छ सदस्यीय संसदीय दलमा दुई जना अर्थात एक तिहाई सभासदले चार जना अर्थात दुईतिहाइ सभासदलाई पदमुक्त गर्न सक्ने ‘ऐतिहासिक’ निर्णय भएको छ ।

संसदीय मूल्यमान्यता अनुसार संसदसँग जोडिएको हरेक विषयमा गणितीय आधार मानेर निर्णय हुने विश्वव्यापी प्रचलन छ । यता लुम्बिनी प्रदेशमा जसपा सांसदहरूलाई निष्काशन गर्न प्रदेशसभाका सचिवको हस्ताक्षरमा जारी सूचनामा ‘प्रदेश संसदीय दलको पत्रअनुसार’ भनिएको छ । यस्तो विडम्बनापूर्ण अवस्था देखिएको छ ।

जसपाले आफ्ना सांसदलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासन गरेको यो दोस्रो घटना हो । यसअघि पहिले संघीय सांसद सरिता गिरी नेपालको नक्सा प्रकरणमा पदमुक्त गरिएकी थिइन् । त्यस बखत पदमुक्त गर्न संसदीय दलको निर्णयबारे केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गराउनुपर्ने अनिवार्यता नदेखेको जस्तो गरी टारिएको थियो । यस्तो काम कानूनतः अवैधानिक थियो ।

अहिले फेरि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कृत्रिम बैठक देखाइएको छ तर यसपटक सरिता गिरी प्रकरण जस्तो सबैले मौनता धारण गरेनन् ।

पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सभामुखलाई पत्र लेखेर आफ्ना प्रादेशिक सांसदहरूलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको जानकारी गराए । पदमुक्त हुने प्रक्रियाको औपचारिकता पूरा भइसकेकोले अब यो प्रकरण निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने निश्चितप्रायः छ ।

नेपालका वामपन्थी राजनीतिज्ञहरूले देशलाई दिएको विडम्बनापूर्ण अवस्था हो यो । उनीहरूले सिद्धान्तहीन निर्णय र असङ्गत मार्गचित्रलाई नै आफ्नो रणनीति मानेका कारण अहिले नेपाली जनता उकुसमुकुसको परिस्थिति भोग्न बाध्य भएका छन् ।

प्रादेशिक राजनीतिमा देखिएको यस्तो गैरजिम्मेवार प्रवृत्तिको मुख्य कारण एमाले र माओवादी केन्द्रबीचको बीचको आक्षेपपूर्ण व्यवहार नै हो ।

पछिल्लो संसदीय निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले संयुक्तरूपमा मत प्राप्त गरेको थियो । अहिले यी दुवै दललाई एकअर्का विरुद्ध कदम चाल्ने छुट छैन । यी दुवै दलले देखाएको व्यवहार जनतासँग गरेको वाचामा धोका मानिने छ, वादाखिलाफी मानिने छ । दुवै दललाई सहकार्य गर्न जनादेश भएको थियो । अहिले त्यो जनादेश अपहेलित र अपमानित भएको छ ।

पछिल्लो समयमा आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्री ओलीको सरकारलाई कुनै प्रकारको औपचारिक लिखित समर्थन नदिएकोले फिर्ता लिनु नपर्ने जिकिर माओवादी अध्यक्ष प्रचण्डले गरेका छन् । यसबारे नयाँ खालको बहस प्रारम्भ हुनु स्वाभाविक भए पनि निकट भविष्यमै सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको पक्ष वा विपक्षमा हुने मतदानमार्फत स्थिति प्रष्ट हुने नै छ ।

राष्ट्रिय राजनीतिमा केही पनि काम गर्न नसकेपछि प्रादेशिक राजनीतिलाई परिहासको विषय बनाउने प्रयास दुर्भाग्यपूर्ण हुनसक्छ । कोरोना भाइरस संक्रमणको वैश्विक महामारीमा पनि जनताको सुरक्षालाई बेवास्ता गर्दै नौटंकी जस्तो राजनीतिक खेलमा रमाउन खोज्नु गैरजिम्मेवारीको पराकाष्ठा हो, अक्षम्य अपराध हो । भ्रममा नपरे हुन्छ, जनताका आँखा र कान दुवै पूर्णरूपमा जागरुक छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ०५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित