गण्डकी प्रदेशमा सत्ताको खेलले प्रदेशसभाको विशेष बैठक अलपत्र | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा सत्ताको खेलले प्रदेशसभाको विशेष बैठक अलपत्र



पोखरा– राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारको साथ छाडेपछि बदलिएको राजनीतिक घटनाक्रमसँगै गण्डकी प्रदेशमा अराजनीतिक चलखेल बढेको छ ।

यही वैशाख १३ गते शुरू भएको संसदको विशेष अधिवेशन तेस्रो बैठकपछि स्थगित छ ।

घटना १ : गण्डकी प्रदेश सरकारलाई टेको दिँदै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा मतदान गर्ने भनेर विज्ञप्ति निकाले ।

जनमोर्चाको विज्ञप्ति आएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न विपक्षी दलहरू कस्सिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिन विपक्षीहरू सहमत भएपछि अविश्वासको प्रस्ताव पेश गर्ने तयारी भयो ।

घटना २ : विपक्षी दलहरूले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते प्रदेश प्रमुख अमिक शेरचनलाई चालु संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरे ।

सिफारिसअनुसार अधिवेशन अन्त्य भयो ।

घटना ३ : वैशाख २ गते अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्दा अधिवेशन अन्त्य भइसकेकोले विशेष अधिवेशन माग गर्दै विपक्षी दलहरू प्रदेश प्रमुखसमक्ष पुगे ।

प्रदेश प्रमुखले वैशाख १३ गते सोमबारका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाए ।

घटना ४ : विशेष अधिवेशन शुरू भएपछि राजनीतिक चलखेल गर्न सत्ता पक्षका सांसदहरूले अधिवेशन लम्ब्याउने प्रयास गरे । प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । सबै जसोले बैठकमा बोल्न नाम टिपाए ।

पहिलो बैठकमै सत्ता पक्षका सांसदले कोरोना संक्रमणको जोखिम रहेको भन्दै बैठक स्थगित गर्न माग गरे । दोस्रो दिन पनि सत्ता पक्षकै सांसदले कोरोनाको पीसीआर परीक्षण नगरी सदन चल्नै नदिने भन्दै अवरोध गरे ।

घटना ४ : सत्तापक्षको मागमा कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सोही दिन पीसीआर परीक्षणका लागि सबै सांसद र कर्मचारीको स्वाब संकलन गरियो । परामर्श समितिको बैठकमा कोरोना पोजेटिभ देखिए पनि बैठक सञ्चालन गर्ने र संक्रमितलाई मतदान गर्न दिने निर्णय भयो ।

भोलिपल्ट बिहान अस्पतालले सबै सांसद र कर्मचारीलाई परीक्षणको रिपोर्ट दियो । तीन जना सांसद र एक कर्मचारीलाई संक्रमण देखियो ।

घटना ५ : तेस्रो बैठक बुधबार निर्धारित समयमा शुरू भयो । सांसदहरूले बोल्ने क्रम सकिँदै गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक गायब भए ।

जनमोर्चाकी सांसद पियारी थापाले आफ्ना सांसदलाई बेपत्ता बनाएको भन्दै खोजीका लागि प्रदेशसभा सचिवालयमा उजुरी गरिन् । सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिदिए ।

घटना ६ : मतदान शुरू हुँनै लाग्दा सांसद हराएपछि सनसनी फैलियो । बेपत्ता भएका सांसद शाही पोखराकै चरक अस्पतालको कोभिड –९ को आइसीयूमा भेटिए ।

सरकारी अस्पतालमा स्वाब दिएका शाहीले सोही दिन पोखराकै प्राइभेट ल्याबमा स्वाब दिएको र त्यसको रिपोर्ट पोजेटिभ आएको भनी दुई वटा रिपोर्ट सार्वजनिक गरिए ।

अस्पताल प्रशासनले जनमोर्चाका सांसदहरूलाई शाहीसँग भेट गर्न नदिएपछि जनमोर्चाका नेताहरूले गम्भीर षड्यन्त्रको गन्ध देखे । पीसीआर रिपोर्ट नेगेटिभ आएका सांसदलाई एकाएक कसरी पोजेटिभ देखियो भन्ने सबैलाई संशय पैदा भयो ।

घटना ७ : बिहीबार शाहीका नामबाट प्रकाशित विज्ञप्तिमा आफू जनमोर्चाबाट निर्वाचित भएको तथा पार्टीको निर्णय र संसदीय दलको बैठकमा आफू सहभागी भएकाले ती निर्णयहरूमा सहमति कायमै रहेकोले उल्लेख गरिएको छ ।

शाहीको विज्ञप्ति आएकै दिन मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाए । मन्त्रालय नै फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको शपथ दिलाइयो ।

बैठकका लागि ‘एलर्ट’

गण्डकी प्रदेशमा भएको सत्ताको यो खेलले देशैभर खैलाबैला मच्चाएको छ । अनिश्चितकालका लागि स्थगित गरिएको बैठक जुनसुकै बेला हुन सक्ने भन्दै प्रदेशसभा सदस्यहरूलाई चौबीसै घण्टा तयारी भएर बस्न भनिएको छ ।

सत्तारुढ एमालेका सांसद जनकलाल श्रेष्ठ भन्छन्, ‘एकातर्फ कोरोना संक्रमणको जोखिम बढेको भन्दै पोखरामा निषेधाज्ञा जारी गरिएको छ, अर्कोतर्फ तयारी अवस्थामा बस्ने अर्डर भएको छ ।’

गण्डकी प्रदेशका सबै सांसदहरू बैठकका लागि अर्को सूचना प्रकाशित हुने प्रतीक्षामा छन् तर दलहरूबीच कुरा मिल्न सकेको छैन ।

घटनाक्रमको यस्तो शृंखलामा प्रदेशसभा सदस्यहरूले संसदीय परिपाटीको दोष देख्न थालेका छन् । बहुमत पुर्‍याउन सक्नेले बैठक राख्न खोज्ने र अल्पमतमा हुनले रोक्ने रणानीति जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा बताउँछन् ।

सांसद शाहीको विज्ञप्ति आए पनि घटनाले आशंका पैदा गरेको थापा बताउँछन् । घटनाबारे पार्टीले छानबिन गरिरहेको उनको भनाइ छ ।

अविश्वासको प्रस्ताव पेश भएर छलफल भइरहेको अवस्थामा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर अर्को अनैतिक काम गरेको नेपाली कांग्रेसकी सांसद ओमकला गौतमको भनाइ छ ।

विपक्षी दलका सांसदहरूले आफूहरू असुरक्षित भएको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ५० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको