मूल बाटोको चौतारीमा एक साधु प्रभु कीर्तनमा मग्न थिए । नजिकबाट राजाको सवारी निस्कियो । साधुले राजाको सवारीप्रति कुनै चासो देखाएनन् ।
राजाले साधुको त्यस्तो उपेक्षालाई आफ्नो घोर अपमान ठाने । उनले क्रोध प्रकट गरे— यी हरितन्नम् मागी खाने जोगीले आफूलाई के ठानेका ? यिनमा साधारण शिष्टाचार पनि छैन ।
राजालाई क्रोधित देखेपछि मन्त्री साधुको नजिक पुगेर भने— हामीले मान्यौँ तपाईं ठूलो भक्त हुनुहुन्छ । तर त्यो भन्दैमा देशका सर्वेसर्वा राजा आफ्नो अगाडिबाट गएको देख्दा पनि नमस्कारसम्म नगर्नु त हदै भयो ।
भक्तले मन्त्रीलाई भने— आफ्नो राजालाई भनिदेऊ, त्यो व्यक्तिबाट मात्रै उनले नमस्कारको आशा गरुन् जुन व्यक्तिलाई राजासँग पनि केही पाउने आशा छ ।
मेरो आवश्यकता परमात्माले पुर्याइराखेका छ । मलाई तिम्रो राजासँग केही लिनुदिनु छैन । उनलाई यो पनि भनिदेऊ कि परमात्माले उनलाई लोकहित, प्रजाको सेवा र सुरक्षाका लागि खटाएको हो । प्रजालाई राजाको सेवा र अभिवादन गर्न खटाएको हुँदैन ।
जनताको मन जिते सबैले राजालाई इज्जत दिइहाल्छन् । उनले त मेरो कुशल क्षेम र सुरक्षाको बारेमा पो जिज्ञासा गर्नुपर्ने हो, मबाट उल्टै अभिवादनको आशा गर्नु त अति भो ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया