भावनाले सबै कुरा चल्दैन : उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

भावनाले सबै कुरा चल्दैन : उपप्रधानमन्त्री पोखरेल


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ ।

भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् ।

कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या दशगजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विपत्तिसँग जुध्न नसकिने बताए ।

कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

‘भारतका विभिन्न स्थानमा रोजगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो’, मन्त्री पोखरेलको भनाइ छ ।

उनले भने, ‘भावनात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुपर्छ भन्ने कुरा स्वभाविक नै हो, तर यो भावना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।’

भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्कालको लागि सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ ।

विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जोखिमपूर्ण वा सङ्कटको समयमा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ ।

उनले कोरोनाको परीक्षण, रोकथाम तथा अन्य व्यवस्थाका लागि सरकारले जुनसुकै खालको पनि प्रयत्न गर्ने र त्यसमा साथ सहयोग नेपाली नागरिक तथा सम्बद्ध सरोकार भएका सबै क्षेत्र र निकायको रहनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

चीनबाट ल्याइएका मेडिकल सामग्री तथा अन्य उपकरणका विषयमा अनावश्यक हल्ला चलाइएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जोसुकै व्यापारी तथा सामान आयतकर्तालाई पनि सामान ल्याउन आग्रह गर्दासमेत नमानेका कारण छोटो बाटो अपनाउनुपरेको जानकारी दिए ।

विपद्को समयमा सबैका साथ सहयोग जरुरी रहेको भन्दै अनावश्यक हल्ला, टीका टिप्पणीले यस्तो समयमा काम नगर्ने उहाँको कथन छ । सरकारले आवश्यक परेको खण्डमा जुनसुकै देशबाट पनि ‘जि टु जि’ अवधारणमा सामान आयात गर्न सक्ने स्पष्ट पारे । राससबाट

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३७ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा