जनताकै मत लिएर जनमुखी नबनेका राजनीतिक दल | Khabarhub Khabarhub

जनताकै मत लिएर जनमुखी नबनेका राजनीतिक दल



राजनीतिक परिवर्तन, प्रजातान्त्रिक आधार पृष्ठभूमि :

साँचो अर्थमा २०१७ सालको राजनीतिक ‘कू’ पछि बन्दी जीवन, २०२७ सालपछि प्रवास निर्वासन कालमा विपीलाई नेपालका राजाविरुद्ध प्रयोग गर्ने भारतीय मनोकांक्षा थियो । तर त्यो अभिष्ट कहिल्यै पूरा भएन ।

निर्वासनमा बसेका विपीलाई भारतीय शासकबाट के कति दवाव र पीडा पुर्‍याइए होला ? अहिले अनुमान गर्दा पनि आंग सिरिंग हुन्छ ।

भारतभित्रै शासनमा एकाधिकार कायम गरी प्रजातान्त्रिक अभ्यासलाई बन्धक बनाउन उद्दत नेतृ इन्दिरा गान्धीको प्रयास छिमेकी मुलुकका लागि कम चुनौतीपूर्ण र कहालिलाग्दो थिएन । तर नेपालको आन्तरिक राजनीतिक मामिलामा विदेशी शक्ति हावी हुने घटनाका कुरामा विपी सहमत थिएनन् ।

२००७ सालको दिल्ली सम्झौताको अवस्था पीडादायी राजनीतिबाट विपीजस्ता देशभक्त र राजभक्त परिपक्व थिए । विदेशी प्रभावको भोगाइबाट गुज्रेर आएका नेता विपीलाई नेतृ गान्धीको कुनै दवाव स्वीकार्य भएन । बरु भारत छाडी नेपालमा फर्किन चाहे ।

विपी सधैँ आफू केही होइन, म जनताको छोरो हुँ । मातृभूमि ठूलो हो, सार्वभौम नेपालको अस्तित्व विश्वमा छुट्टै देशको रुपमा हुनु पर्दछ भन्ने धारणामा विपी दृढ थिए । विपीले भारत प्रवासमा बसेर नेपालको सुरक्षा सम्भव नभएको स्पष्ट देखे । उच्च विचारका धनी तथा स्वाभीमानी विपीले नेपालका पञ्चायतका हिमायती शासकहरुले आफूमाथि लगाएका जघन्य आरोप र मृत्युदण्डसम्मको सजाय बिर्से ।

राजाले विपीको भावना बुझ्ने र राजनीतिक सहकार्य गर्ने आत्मविश्वास बोकेर प्रवास त्यागेर मेलमिलापको नारासहित २०३३ साल पौष १६ गते देश फर्किए । तर राजाले विपीको उद्देश्यमा ध्यान दिएनन् र शासकीय त्रुटीमाथि त्रुटी भइनै रह्यो ।

विपीको नेपाल आगमनपछि प्रतिबन्धित राजनीतिक दलहरुको गतिविधिमा एकाएक बढोत्तरी हुनथाल्यो । पाकिस्तानमा प्रजातान्त्रिक नेता तथा प्रधानमन्त्री जर्दारी अलिभुट्टोलाई सैनिक कुबाट फाँसीको सजाय दिइयो । पाकिस्तानी सैनिक शासकले दिएको मृत्युदण्ड सजाय नेपालमा ठूलो निहुँ बन्यो ।

पाकिस्तानी निरंकूशता विरुद्धको राजनीतिक अभियानलाई नेपाली विद्यार्थीले राजधानीका सडकमा उतारे । पञ्चायती राजनीति नराम्ररी प्रभावित भयो । फलत: २०३६ सालको विद्यार्थी आन्दोलन परिवर्तनको जग बन्यो ।

यो आन्दोलनले निरंकूश एकाधिकारी राजतन्त्र नेतृत्वको पञ्चायती व्यवस्था राम्ररी हल्लियो । राजनीतिक कुबाट स्थापित पञ्चायती व्यवस्था २० वर्ष २०३६ मा नै जरा हल्लिएको रुख भएर २०४६ सालसम्म बाँच्यो ।

राजनीतिक आन्दोलन सफलताका कारक तत्वहरु :

नेपाली जनता सुधारिएको पञ्चायती व्यवस्थाको निरन्तरता वा बहुदलीय पद्धतिमा रुपान्तरण भन्नेसम्मको राजनीतिक निर्णयको अधिकारमा पुगे । २०३७ सालको जनमत संग्रहले एकातिर राजाको निर्दल र अर्कोतिर विपीको बहुदल रोज्ने राजनीतिक निर्णयमा सहभागी हुने अवसर पाए ।

विपीकै अगुवाइ र सिद्धान्तमा आधारित भएर निरंकूश राजतन्त्रमा पहिलो पटक जनमत संग्रह भयो । प्रजातान्त्रिक जनमत संग्रहमा भाग लिने अवसर नेपाली जनताले पाए र जितहार मात्र ठूलो होइन मताधिकारमा सफल भए ।

यद्यपि सत्ता, शक्तिको चरम दुरुपयोग वा उपयोगबाट पञ्चायती व्यवस्था विजयी र बहुदल पराजयी गराइयो । विपीले जनादेशको सम्मान भन्दै, प्रजातान्त्रिक अभ्यासमा मुलुक प्रवेश भएकोमा खुशी व्यक्त गरे । जनमत संग्रहको अधिकार दिएकोमा राजालाई धन्यवाद दिए ।

प्रजातान्त्रिक अभ्यासको जनमत संग्रह विश्व समुदायका लागि अनुपम उदाहरण बन्यो । राजनेताको उच्चाइमा विपी स्थापित भए । यद्यपि विपीले पञ्चायतका कुनै चुनावमा प्रतिबन्धित पार्टीले अभ्यास गर्न नसक्ने दोहोराइरहे ।

दलीय राजनीतिमा छद्म खेलका प्रभावहरु :

सुधारिएको पञ्चायती व्यवस्थाले जनमत संग्रहबाट अनुमोदन पायो । राष्ट्रिय पञ्चायत सदस्य चुनाव जनताले प्रत्यक्ष चुन्ने पद्धतिमा लगियो । प्रजातान्त्रिक अभ्यास शुरु भएकोमा नेपाली कांग्रेस तथा अन्य केही राजनीतिक शक्तिका नेताहरु सामूहिक तथा एकल रुपमा चुनावी पद्धतिका कारण पञ्चायत प्रवेश गरे ।

कतिपयले प्रतिबन्धित पार्टीकै माध्यमबाट २०३८, २०४३ सालका राष्ट्रिय र स्थानीय पञ्चायती चुनावमा दलहरुको देखिने समर्थन वा अप्रत्यक्ष संलग्नता रह्न थाल्यो । कतिपय राजनीतिक पार्टीहरु जनपक्षीय उम्मेदवार उठाउने र जनताको विश्वास लिएर तिनलाई जिताउने अभियानमा होमिए ।

भूमिगत शैलीमा पार्टीका बफादार, विश्वासी केही जुझारु युवायुवतीहरुले पार्टीकै निर्देशनमा पञ्चायती चुनावसमेत लडे । जनमतप्रति विश्वस्त भएका कारण पञ्चायती सर्त पूरा गरेर जनपक्षीय उम्मेदवार खडा गरे । चुनावलाई माध्यम बनाएर जनताबीच जानु पार्टीहरुको प्रमुख बाध्यता थियो ।

पञ्चायती व्यवस्थाका बफादार र सुधारक कार्यकर्ता वा नेताको अभिनय गरेर छद्म रुपमा जनताका बीच भूमिगत पार्टीको आधारभूमि स्थापित गर्न राजनीतिक पार्टीको अस्तित्व जोगाउने र जीवनमरणको सवाललाई अभ्यासमा उतार्ने प्रतिबन्धित पार्टीहरुको काम थियो ।

पार्टी राजनीति सफलताका संकेतहरु :

पञ्चायत कालमा सीमित राजनीतिक स्वतन्त्रताको फाइदा उठाउने, जनास्था बढाउने काम राजनीतिक पार्टीहरुले पञ्चायती चुनावको अभ्यासबाट तीव्र पारेका थिए । निरंकूश भनिएको राष्ट्रिय पञ्चायतलाई जनतासमक्ष आवाज पुराउने माध्यमका रुपमा प्रयोग गर्न राजनीतिक दलहरु प्रतिस्पर्धासाथ लागि परेका थिए ।

पार्टीको सहयोगी भूमिकामा स्वतन्त्रताको वकालत गर्न चुनाव पद्धति उपयोग बढी सफल सावित भएको थियो । राष्ट्रिय पञ्चायतका सदस्यमार्फत नेपाल बनाउने राजनीतिक भावी दृष्टिकोण जनसमक्ष पुराउने र अन्तर्राष्टिय मूल्यमान्यता कायम गर्ने बाटोमा पार्टीहरु खुलेर लागेका थिए । यसरी राजनीतिक स्वतन्त्रता प्राप्त गर्न चुनावबाट जनताको मतदानको सहयोग लिन पुगेका थिए ।

पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवारहरुको गाउँ शहर प्रवेशको लहरले देश नै जुरुक्क उठाइएको थियो । पार्टीका उम्मेदवारलाई जनताले जिताएर राष्ट्रिय पञ्चायतमा पठाउने हरसम्भव प्रयत्न गर्दथे । कतिपय उम्मेदवार हरेक हत्कण्डालाई चिरेर प्रतिपक्षको रुपमा जितेर राष्ट्रिय पञ्चायतमा पुग्दथे ।

यसरी चुनावी माध्यमबाट भूमिगत राजनीतिलाई खुला रुपमा जनतामा स्थापित गर्न, गराउन नेपाली राजनीतिक दलहरु सफल हुँदै गएका थिए । निरंकूशताको पकडको व्यवस्थामा पनि राष्ट्रिय पञ्चायतमा पुगेका ती रापंसहरुले देशका जल्दाबल्दा राष्टिय, अन्तरराष्टिय सवाल तथा जनजिविकाका मुद्दाहरु निर्धक्कसाथ उठाउने हिम्मत गर्दथे ।

आफ्नो वैयक्तिक जीवन र घरपरिवारलाई समेत जोखिममा पारेर पनि राजाको नेतृत्वको पञ्चायती सरकारलाई आच्छु आच्छु पार्दथे ।

राजाको सुधारिएको पञ्चायती व्यवस्थाका चुनावहरु प्रतिबन्धित राजनीतिक पार्टीलाई गाउँघरमा उतार्न, जनताका सहयोगीमा चिनाउन, स्थापित गर्न मुख्य माध्यम बने । यो जनचेतना र अधिकारमुखी आन्दोलन पञ्चायती व्यवस्था नढलेसम्म नै निरन्तर चल्यो ।

त्यतिबेला जनतालाई लाग्दथ्यो, राजनीतिक पार्टीहरु कहिले फुक्का होलान् ? सबै राजनीतिक पार्टी तथा तिनका नेता, कार्यकर्ताहरु अति इमानदार छन् । तिनले हाम्रा दुखका दिन अवश्य हटाइ दिने छन् ।

यिनै अपेक्षासाथ कछुवा गतिमा बढेको वा घिस्रीरहेको राजनीतिक गतिविधिलाई एकाएक छलांग मार्दै २०४६ सालमा जनता, अन्तर्राष्द्रको समर्थन जुटाएर बहुदलीय शासन पद्धतिको पक्ष र पञ्चायती व्यवस्थाको विरुद्धमा राजनीतिक पार्टीहरुले सडक कब्जा गरे, शहर भरे, अन्तिम आन्दोलन गरे ।

दर्जनौँ युवायुवतीले जीवन अर्पण गरे र पञ्चायतलाई घुडा टेकाइ छाडे । राजाबाट चालिएका पञ्चायती व्यवस्था बचाउने हर प्रयास विफल भए । उनीलाई वैदेशिक सहयोग र समर्थन नहुँदा अन्तत एक्ला परे । यसरी ३० वर्षे पञ्चायती व्यवस्था राजाकै घोषणाबाट २०४६ चैत्र २६ मा ढल्यो ।

पार्टी राजनीति, बेलगामी अराजकता, आपसी द्वन्द्वका संकेतहरु :

पञ्चायतको अवसानसंगै प्रतिबन्धित राजनीतिक पार्टीहरु स्वतन्त्र भए र तिनका गतिविधिहरु खुला गरिए । तत्कालीन त्रिकोणात्मक शक्ति (राजा, प्रजातान्त्रिक र संयुक्तवाम) लाई समन्वय गर्ने र सुशासन तथा स्थीरता दिने सर्तमा उनीहरुले सत्ता सम्हाले । त्रिकोणात्मक शक्ति पक्षलाई मान्य हुने गरी साझा सहमतिको नेपालको संविधान २०४७ निर्माण गरी राजाबाट जारी पनि गराए ।

त्यो संविधानका विशेषताहरु : संवैधानिक राजतन्त्रसहितको संसदीय प्रणाली, बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक शासन पद्धति तथा स्वतन्त्र न्याय प्रणालीको राजनीतिक पद्धति रह्यो । यी कुरा संविधानले असंशोधनीय रुपमा स्थापित गर्‍यो ।

एकातिर संक्रमणकालको राजनीतिक कार्यान्वयन चरणमा अन्तरिम सत्ता तथा भावी चुनावबाट स्थापित हुने सत्तालाई पुरानो राजावादी सत्ताले खुलेर सहयोग नगर्ने त होइन भन्ने स्थिति पनि निरन्तर दवावका रुपमा देखिएको थियो ।

अर्कोतिर प्रतिबन्धबाट फुकेका राजनीतिक पार्टीका नेताहरुको दूरदर्शिता अभाव र आपसी हानथाप, असमझदारी धेरै उच्च रुपमा वृद्धि भई ठाउँठाउँमा झडप र मारकाटमा उत्रिएको पाइन्थ्यो ।

पञ्चायती व्यवस्थाको अवसानसँगै आएको बहुदलीय व्यवस्थामा राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुमा बेलगाम घोडाझैँ मैदानमा कुद्ने र मनमौजी भएर सत्ता, शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति बढेको थियो । बहुदलीय व्यवस्थाको स्थापनासम्म परिवर्तनकारी शक्तिको परिचय बनाएका नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु शत्ता र शक्तिका लागि एक–आपसमै लड्न र भिड्न थाले ।

गाउँ समाजमा आतंक र आपसी राजनीतिक अविश्वास मात्र होइन, विवाह, चाडपर्व बार्ने तथा जन्ती र मलामीसमेत नआउने र नजाने गर्दा एउटै परिवारका सदस्यहरुमासमेत विखण्डन हुन थाल्यो ।

राजनीतिक बहुदलीयताको उपहास हुने पार्टी संघर्षका विकृत पक्ष समाजमा देखिँदा जनताको खुला राजनीतिक प्रणालीमाथिको विश्वासमा ठूलो धक्का लाग्न थाल्यो । कुशल नेतृत्व न हिजो पाइयो, न आज पाइयो ,अर्थात् कहिल्यै नपाउने दुष्चक्रमा मुलुक फसेको छ ।

आम जनता तथा राजनीतिक विश्लेषकहरुले पनि अहिले पार्टी राजनीति गर्ने दलहरु जनमुखी नबनेको आरोप लगाउन थालेका छन् । चुनावमार्फत जनताकै मत लिएर चुनिएका दलले जनमुखी बन्नुको साटो व्यक्तिवादी र परिवारवादलाई अंगाल्दा देशले विकासको सही गति लिन सकेको छैन् । क्रमश:…

भाग- १
नेपालमा पार्टी राजनीति : आस्था र वितृष्णा

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ४४ बजे

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान