‘रक्सीले तिमीलाई होइन, बरु तिमीले रक्सी छोडिरहेका छैनौं’ « Khabarhub
Logo
२१ श्रावण २०७७, बुधबार

‘रक्सीले तिमीलाई होइन, बरु तिमीले रक्सी छोडिरहेका छैनौं’



एकपटक आचार्य विनोबा भावेको निवासमा उनलाई भेट्न एक जँड्याहा आइपुग्यो ।

उसले आचार्यलाई हात जोडेर भन्यो, ‘महात्माजी, यो रक्सीले मलाई मार्ने भयो । म यसलाई छाड्न चाहन्छु, तर यसले मेरो पिछा कहिल्यै छोड्दैन । त्यसैले तपाईं कुनै यस्तो उपाय बताउनुस्, जसले गर्दा यो रक्सीले मेरो पिछा छोडोस् ।’

आचार्य विनोबाले त्यस जँड्याहालाई अर्को दिन आउनु भन्दै बिदा गरे । त्यो मानिस जाँदाजाँदै आचार्यले भने, ‘भोलि आउँदा तपाईं मलाई बाहिरैबाट बोलाउनुस्, म आफैँ बाहिर आउनेछु ।’

अर्को दिन त्यो जँड्याहा आयो र उसले बाहिरबाटै आचार्य विनोबालाई बोलायो । तर, आचार्य बाहिर निस्केनन् । बरु भित्रबाट उनको आवाज आयो, ‘हेर न मित्र, म कसरी बाहिर आऊँ ? यो खम्बाले मेरो पिछा छोडिरहेको छैन । म यसको जालबाट उम्किनै नसक्ने भएँ ।’

त्यो मानिसले आश्चर्य मान्दै भित्र चियाएर हेर्‍यो, त्यहाँको दृश्य देखेर ऊ छक्क पर्‍यो । भित्र आचार्य विनोबा खम्बा समातेर बसेका थिए । अनि उनी भनिरहेका थिए, यो खम्बाले मलाई छोड्नै मानिरहेको छैन ।

त्यो सब देखेपछि त्यस मानिसले आश्चर्य मान्दै भन्यो, ‘महात्मा, तपाईंले पनि कस्तो कुरा गर्नुभएको ? तपाईंले नै यो खम्बालई समाइरहनुभएको छ अनि तपाईं नै भनिरहनुभएको छ कि यसले मलाई छोडिरहेको छैन । यसले तपाईंलाई समाएको हैन, तपाईंले यसलाई पो समाउनुएको छ । तपाईंले यसलाई छोड्नुभयो भने त यसले पनि तपाईंलाई छोडिहाल्छ नि ।’

यो सुनेपछि आचार्य मुस्कुराए र उसलाई सम्झाउँदै भने, ‘जसरी मैले यो खम्बा समाइरहेको थिएँ, त्यसैगरी तिमीले पनि रक्सीलाई समाइरहेका छौ ।

रक्सीले तिमीलाई हैन, बरु तिमीले रक्सी छोडिरहेका छैनौ । यसैले तिमीले रक्सी छोड्यौ भने रक्सीले पनि तिम्रो पिछा आफै छोड्नेछ ।’ आचार्यको यस्तो भनाइ सुनेपछि त्यस मानिसले त्यही दिनदेखि रक्सी पिउन छोडिदियो ।


भर्खर

0