कृषकलाई सहुलियत दिने सरकारी योजना नारामै सीमित | Khabarhub Khabarhub

कृषकलाई सहुलियत दिने सरकारी योजना नारामै सीमित

तस्करीबाट ल्याएको मल महँगो मूल्यमा किन्नुपर्ने बाध्यता



झापा –असार लागेसँगै झापामा रोपाइँको चटारो शुरु भएका बेला रासायनिक मलको चरम अभाव देखिएको छ ।

खेतमा आवश्यक पर्ने युरियासहितको रासायनिक मल नपाउँदा किसानले तस्करीको मल किनेर खेत रोप्न बाध्य भएका छन् ।

तस्करी गरेर भारतबाट नेपाल ल्याइएको रासायनिक मल तेब्बर मूल्यमा किन्न बाध्य भएको किसानको गुनासो छ।

धान रोप्ने मुख्य सिजनमा जिल्लाका पूर्वी मेचीनगर, बाहुण्डागी, ज्यामिरगडी र दक्षिणी कचनकवल, टागनडुब्बा, गौरीगन्ज लगायतका सिमावर्ती क्षेत्रका किसानले महंगो मै मल किनेर भए पनि रोपाइँ थालेका छन् ।

सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले प्रतिबोरा ९ सय रुपैयाँमा युरिया मल किन्न बाध्य भएका छन् । यहाँ व्यवसायिक रुपमा भाडामा जग्गा लिएर समेत धान खेती गरिँदै आएको छ । यसरी जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई महंगोमा रासायनिक मल किन्नुपर्दा समस्या परेको छ।

कचनकवलका कृषक चन्द्र खतिवडाले तस्करीको मल किन्नुपर्दा मारमा परेको बताए । ‘हामी व्यावसायिक कृषकको त यस्तो हाल छ । अरुको के कुरा गर्नु ?,’ उनले भने, ‘लकडाउनमा पनि तस्करीकै मल किन्नुपर्छ,  त्यसमा पनि २४ सय रुपैयाँ हालेर मल किन्दा कसरी धान्न सकिएला ?’

सरकारले नारामा कृषिलाई व्यावसायीकरण गर्ने भने पनि कृषकका समस्या समाधान गर्न अघि नसेको खतिवडाले बताए । उनले भने, ‘अब धान रोपिएन भने ढिला हुन्छ । महंगोमै किनेर भए पनि खेत रोप्नुपर्ने अवस्था आयो ।’

मल आपूर्तिमा सरकारले हरेक वर्ष उदासिनता देखाउने गरेको छ । किसानले समयमा मल किन्न नपाउँदा धान रोपेर जीवन गुजारा गर्न गाह्रो हुने अर्का किसान निलकुमार अधिकारीले बताए । उनले भने, ‘लकडाउनका बेला भारतीय मलको महंगो मूल्य तिर्नुपर्छ । अर्कातिर मल किन्दा कोरोना पनि भित्रिने हो कि भन्ने डर हुन्छ,’ उनले खबरहबसँग भने ।

अर्का कृषक तुलाराम अधिकारीले पनि समयमा युरिया मल नपाउँदा किसानहरु समस्यामा परेको बताए । उनले डीएपी र पोटासजस्ता रासायनिक मल केही मात्रामा उपलब्ध भए पनि युरिया मल नपाइएको गुनासो गरे ।

‘सरकारी मल नपाएपछि किलोको ६० देखि ७० रुपैयाँसम्म तिरेर तस्करीको मल किन्नुपरेको छ, योभन्दा बिजोग के होला !,’ उनले भने ।

रासायनिक मल वितरणको जिम्मा लिएको कृषि साम्रगी कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा अहिले युरिया मलको कुनै स्टक छैन । लकडाउनका कारण युरिया लगायत अन्य रासायनिक मल कलकत्ता बन्दरगाहमा रोकिएको छ ।

कृषि साम्रगी कम्पनी लिमिटेड विर्तामोडका प्रमुख चन्द्रप्रसाद चम्लागाईंले लकडाउनले गर्दा समयमा भारतबाट मल ल्याउन नसकिएको स्वीकारे ।

डीएपी र पोटास मल केही मात्रामा झापाका कृषकलाई वितरण गरिएको तर युरिया मल आउन अझै समय लाग्ने उनले बताए । ‘लकडाउनका कारण मल ल्याउन समस्या भइरहेको छ, कहिलेसम्म आइपुग्छ, यसै भन्न सकिने अवस्था छैन,’ चम्लागाईंले भने ।

देशभर रोपाइँको चटारो चलिरहँदा रासायनिक मलको भने अभाव देखिएको छ । कृषि सामग्री केन्द्रले मात्र झापाका विभिन्न सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउने गरेको छ ।

स्थानीय निकायले अनुगमन गर्दा सहकारी संस्थाहरुले आफूखुशी मल बाँड्दा लक्षित किसानसम्म नपुगेको बताएका छन् ।

झापामा मात्र ९० हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गर्ने गरिन्छ । विगतका वर्षभन्दा यस वर्ष रासायनिक मलको माग बढी भएकाले पनि समयमा मल उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका समयमा समेत प्रहरीसँगको मिलेमतोमा तस्करी गरिएको भारतीय मल भने झापाका बजारमा निर्वाध रुपमा बिक्री हुँदै आएको छ । सरकारले आवश्यक मल आपूर्ति गर्न नसक्दा तस्करकै भरमा ‘अन्नका भण्डार’का रुपमा चिनिँदै आएको धानखेती धान्नुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ३ : ४७ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक