गहिरो ध्यानबाट आकाश चुम्न सकिन्छ « Khabarhub
Logo
२८ श्रावण २०७७, बुधबार

गहिरो ध्यानबाट आकाश चुम्न सकिन्छ



केही दिनअघि ‘ध्यान साधनाका अमृतमय तीन चरण’ शीर्षकमा मेरो साधनाको अनुभूति साधक साधिकामाझ राख्ने अवसर मिलेको थियो ।

त्यसमा पञ्च तत्वको लक्षणलाई केही संकेत गरेको थिएँ, जुन लेखमा पञ्चतत्वको विस्तृत रुपमा जानकारी दिने समय थिएन ।

केही जिज्ञासु मित्रहरूले मलाई फोन नै गरेर गहिरो ध्यान साधनाका अवस्थामा शरीरमा हुने पञ्चतत्वको प्रवाहका बारेमा छुट्टै लेख लेख्न आग्रह गरेअनुसार नै मैले मेरो साधनाको अनुभूतिलाई यहाँ राख्ने जमर्को गरेको छु :–

हाम्रो शरीरका पञ्चतत्व भन्नाले पृथिवी, जल तेज, वायु र आकाशको सम्मिश्रण भन्ने बुझिन्छ । यिनै पाँच तत्व मिलेर हाम्रो स्थूल शरीर बनेको छ ।

पञ्चतत्वमध्ये चार तत्वहरूलाई सामान्य बुद्धिले हेर्न सकिन्छ ।

पृथ्वी तत्व अर्थात् हाड, मासु र ठोस तत्वको फैलावटले पूरै शरीर बनेको छ । जल तत्व भन्नाले शरीरभित्र रगत,ग्रन्थि आदिको प्रवाहलाई बुझिन्छ ।वायु तत्व भन्नाले शरीरभित्र भिन्नभिन्न प्रकारको प्राणवायु बहनेदेखि रगतमा समेत घुलित हुने श्वासका अनेकौं स्थितिहरूलाई बुझ्न सकिन्छ ।

तेज तत्व भन्नाले शरीरभित्रको तातोपनदेखि पाचनशक्ति निभाउने अवस्थाहरूलाई बुझ्न सकिन्छ ।

ध्यान साधनाका माध्यमबाट यी चार तत्वसहितआकाश तत्वलाई समेत अनुभव र अनुभूतिको स्तरमा स्थायी रुपमा बुझ्न सकिन्छ । सामान्य रुपमा भन्दा हाम्रो शरीरले ओगटेका खुला स्थानलाई आकाश भनिन्छ ।

ध्यान साधनाका अवस्थामा यिनै पृथ्वी, जल, तेज र वायुमध्ये कुनै एक वा अनेक तत्व हावी भएर साधक अवसादमा पर्न सक्छ । आकाशचाहिँ विराट तत्व हो ।

अरु चार तत्वले साधनामा हायलकायल पारेपछि ध्यानीभित्र आकाश खस्छ, तब उसका जन्मौंदेखिका खोज समाप्त हुन पुग्छन् । गहिरो ध्यानमा डुबेको साधक फसादमा पर्नु नपरोस् र साधनामा कस्ता–कस्ता अनुभूति आउन सक्छन् भनेर मेरो अनुभवलाई बाँड्ने जमर्को गरेको हुँ ।

सबैमा एकै खालका संवेदना नआए पनि कुन खालको संवेदना आउँदा मेरो साधना कुन तत्वको वरिपरि घुमिरहेको छ भन्ने ध्यानी स्वयंले खुट्याउन सक्छ ।

पृथ्वी तत्व

ध्यानको अवस्थामा साधकलाई आफ्नो शरीर फैलिंदै–फैलिंदै विशाल अजङ्गको रुप र आफ्नै हात खुट्टा हेर्दा आफैंलाई डरलाग्दो, कपाल हेर्‍यो एकएक कपालको रौं ठाडो र बाणझैं तीखो देखिने हुन सक्छ ।

त्यस्तै, औंसीको रातभन्दा धेरै अँध्यारो अवस्था आउन सक्छ ! असामान्य गोधुली साँझ, यही गोधुली साँझमा अनौठा आवाजसँगैडरलाग्दो, भयवह र त्रासदीपूर्ण थुप्रै अवस्थाहरू आउन सक्छन् । यो अवस्था टाढैबाट बाजागाजासहित आउँदै गरेको महसुस हुने अनि भयले असिनपसिन बनाउन सक्छ ।

त्यस्तै, गुरुत्वाकर्षण पृथ्वी तत्वमा मात्र नभएर आकाश तत्वले पनि ग्रहण गर्दो रहेछ भन्ने महसुस यही अवस्थामा हुन्छ । किनकिआकाशले सम्पूर्ण शरीरलाई तान्ने, शरीरको कुनै अंग तन्किँदै अकाशतिर पुगेको जस्तो अनुभूति हुने र यो अवस्थामा डरत्रासले हायलकायल बनाउँछ ।

म त ब्ल्याक होलमा पुगें कि भन्ने पनि ध्यानीलाई भान हुन्छ ! कहिलेकाहींआफ्नै शरीरका अंग सानोभन्दा सानो भुसानाझैंभएको अनुभूति पनि हुन्छ । आकाश जति फैलिएको देखिन्छ, त्यति नै पृथ्वी फैलिएको भान साधकमाहुन्छ ।

मधुरो साँझमा शरीर,लगाएको वस्त्र र पृथ्वीसहित सारा वस्तु अणु परमाणुको पुञ्जमा चलयमानहुन्छ ।ती परमाणुको पुञ्ज कलमले कोरिएको वक्ररेखाझैं दुई चार इन्च लामो, जुनकीरीको बत्तीझैँ खुला आकाशमा सल्बलाउँदै मसिनो आवाजको ध्वनिले आकाश नै डरले काँपिरहेको अवस्था आउनेर अन्त्यमा‘म’–को भाव शेष रहन्छ ।

त्यही ‘म’ पनि भयंकर डरत्रासले ग्रस्त भएको भयवह स्थितिको अनुभूति हुन्छ । यस्तो अनुभूतिपछि बाह्य जगतमा फर्किंदा कहिलेकाहीं शरीरमा भारीपन हुने, आलस्य हुने र कामप्रति वितृष्णा जाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् । यस खालका अनुभूति आउन थाले भने मेरो साधना पृथ्वीतत्वको केन्द्रीयतामा अघि बढिरहेको छ भनेर बुझ्न सकिन्छ ।

जल तत्व

जलतत्व हावी हुँदा साधकको शरीरभरि पसिनै–पसिना आउँछ । गर्मीको महसुस हुन पनि सक्छ/नहुन पनि सक्छ । यस तत्वको केन्द्रीयतामा साधना अघि बढ्दै जाँदा साधक भावविह्वल भई आँशुको बलिन्द्र धाराले उसले स्नान गरेर मन हलुका पार्छ ।

ध्यान साधनाका क्रममा साधकलाई पानीमा तैरेझैँ, कसैले उचालेर स्थिर राखेझैँ– न आकाशमा, न धर्तीमा बीचको अवस्थामा रहेर रमण गरेको महसुस पनि हुन्छ ।जन्मजन्मान्तरदेखि राग, द्वेष, अहंकार कुण्ठित भएर शरीरभित्र गढेर रहेकाहुन्छन् ।

साधनाको यस अवस्थामा ती प्राणघातक रागद्वेषरुपी जैविक विष बाहिर निस्कन थाल्छ । धेरै प्रकारको जैविकविष आफूभित्र रहेको अनुभूति साधकलाई हुन्छ ।त्यस्ता विकार निस्किसकेपछि साधकको मन नै भरङ्ग हुन्छ ।

तेज तत्व

यो अवस्थामा साधकको शरीरमा गर्मीपनको उदय हुन्छ । गर्मीले शरीरमा जलन निम्त्याउँछ । जलनले क्रोध, रिस र अहंकारको उदय गराउँछ । साधक रिसाउने झर्कने अवस्था आए मभित्र अग्नि वा तेज तत्व हाबी भएछ भनी बुझ्नुपर्छ । यतिबेलागाह्रो अप्ठेरो स्थिति आउँदा अग्निपरीक्षा भन्ने उखान चरितार्थ हुन्छ ।

यो अवस्थामा ध्यानीको हृदयभित्र मैत्रीभाव, श्रद्धा र करुणाले भरिन्छ । शरीरको तापक्रमअनुसार शारीरिक गुणहरू ग्रहण गर्ने र दूषित विकारहरू बाहिरिने हुन्छ ।

जस्तै– सामान्य अवस्थामा शरीर तातेर ज्वरो आउनु पनि शरीरभित्रको विकार निस्कनु हो । रागद्वेष अहंकार, आनन्द र खुसीको भावनात्मक स्पर्शहरूबाट उत्पन्न रसायन शरीरको कोष–कोष वा अणु परमाणुभित्र कुण्ठित भएर बसेको हुन्छ ।

रागद्वेषअनुसारको जैविक विष बन्दछ । धेरै समय निकास पाउन नसकेको उक्त जैविक विष गहिरो ध्यानबाट बाहिर निष्काशन हुन्छ । आफ्नै शरीरबाट निस्केको जैविक विष धेरैप्रकारको र अति खतरनाक हुन्छ ।

दुई मिनेट मात्र त्यो जैविक विषमा आफू स्वयंबसियो भने व्यक्ति मूच्र्छित हुनेसम्म अवस्था आउन सक्छ । यस्ता विषाक्त तत्वको निष्काशनपछि शरीर हलुका र कञ्चन भई साधनाको आगामी पथ विराट बन्दै जान्छ ।

तेजमय अवस्थामा रोमरोममा अनौठो दुःखाइ, अनौठो पोलाइ र अनौठा विषाक्तपनको महसुस पनि हुन सक्छ । यस्तो अवस्था आउँदा पनि ध्यानीले कत्ति पनि डर नमानी साधनालाई निरन्तरता दिँदै जानुपर्छ । शरीरका भित्री अंगहरूबाट तेज तत्वको प्रकाश बाहिरी अंगमा देखा पर्छ । साधकको बाहिरी अंगमा औजस र तेजको सौन्दर्यले भरिपूर्ण हुन्छ । समयसापेक्ष शरीरको तापक्रम घटिबढी हुन्छ ।

वायु तत्व

यो अवस्थामा वायुको तीव्र वेग प्रवाह भएर सुनामीको झट्काझैं महसुस हुन्छ । शरीरमा सूक्ष्मातिसूक्ष्म तरंगदेखि बेजोडको कम्पनले शरीरलाई उफार्ने, थेचार्ने गर्दछ । शरीरका रोम–रोमबाट ध्वनिको गुञ्जन प्रष्फुटन हुन्छ ।

मानौं, काँचको थालमा कुनै वस्तुले हिर्काउँदा थाल जसरी रननन्न बज्छ, त्यसरी नै शरीर पूर्ण रुपमा बज्ने वा तरङ्गित हुने हुन्छ । कहिले श्वास प्रश्वासको गति मन्द हुन जान्छ । नाडी शुद्धीकरणको अवस्थामा हजारौं पाउण्डको गतिमा श्वास प्रश्वास चल्छ ।

मानौं, दुवै नाकको प्वालबाट ठूलो ह्युमपाइपबाट हावा फ्याँकेजस्तो सासको गति अत्यन्त बेजोड हुन्छ । यो परिस्थितिमा साधकले बाहिर असहज वा असमान्य गतिविधि देखाए पनि भित्र भने उसलाई सहज र आनन्द भएको हुन्छ ।

यहाँ जमिन छाडेर माथि–माथि उडेको महसुस हुन्छ । प्राणवायुको वेगले मेरुदण्डको अन्तिम स्थान कुण्डलिनी महाशक्ति ऊध्र्वगामी भएर शिरको अग्र स्थान सहस्रारमा पुर्‍याउँछ ।

सहस्र र आज्ञा चक्रले विशेष जैविक रसायनहरू उत्पन्न गर्दछन् । कुण्डलिनी महाशक्ति र रसायनहरू प्राण वायुको माध्यमले सहस्रारबाट हृदयक्षेत्रमा झर्दछ । यही रसायन झर्दाको आवाजलाई अनाहत नाद भनिन्छ । अनाहत नादको विस्तृत वर्णन अर्को लेखमा गर्नेछु । शरीरको कुनै अंग हावामा तैरिरहेझैँ लाग्न सक्छ । स्थूल शरीरबाट सूक्ष्म शरीर बाहिर निस्केको अनुभूति हुन्छ ।

आकाश तत्व

यो साधनाको वर्णन नै गर्न नसकिने अवस्था हो । अर्थात् आकाश अवर्णनीय वा शून्य तत्व हो । या भनूँ, यो अवस्थाको वर्णन गर्ने उदाहरणीय वस्तु यो धर्तीमा,कुनै भाषा र ती भाषाका शब्दमै पाइँदैन ।

यति मात्रै भन्न सकिँदोरहेछ– यो ब्रह्मको दिन हो ।ईश्वरीय, अलौकिक दृश्यमा आकाश मार्गबाट सिमलको भुवा झरेझैं त्यसैमा प्रतिभाषित भएर पृथ्वीमा अवतरण भएको ध्यानीले महसुस गर्दछ ।

साधक यस अवस्थामा पुग्नुलाई भगवान् श्रीरामको ‘रामराज्य’मा पुगेको संज्ञा दिए हुन्छ । त्यस्तै, अलौकिक परादृश्यभित्र झुलामा झुलेको प्रतिभाषित साधकलाई हुन्छ । साधकले अब भगवान् श्रीकृष्णको ‘परमधाम’ चुम्यो भन्दा न्यायोचित होला । यो तहमा पुगेको ध्यानीको शरीरका कोष–कोषमा महामन्त्र ‘ॐ नमः शिवाय’को शिवतत्व चौबीसै घण्टा स्वतः गुञ्जिरहन्छ ।

ध्यानीको शरीरमा यस्तो अवस्था आएपछि अब ऊ आत्मविज्ञानको खोजमा होमिन्छ । त्यस्तै, ध्यानीले धर्तीमा म केका लागि यहाँ आएको रहेछु, मैले के गर्न हुने, के गर्न नहुने, के खान हुने/नहुने, अरुप्रति हृदयतः कस्तो भाव राख्ने जस्ता विषयमा उसैले सत्–सत् निर्णय गर्छ । ध्यानीको शरीरमा मनको नभई अब परमात्मारुपी ‘म’को राज्य चल्छ ।ध्यानी धेरै दिनसम्म खानेकुरा नखाईकन पनि बस्न सक्दछ ।

साधनाका यस्ता विचित्र अनुभूति घटित भएपछि यी पंक्तिकारले १८ महिना अन्न र ११ महिना नुन नखाई बस्दा पनि शरीर ताजै भएको अनुभव पनि सँगालेको छ ।

गहिरो ध्यानगंगामा सचेतताका साथ डुबुल्की मार्ने साधकको शरीरमा विराट आकाश तत्व खस्न जहिल्यै तयार भएर बसेको छ । पृथ्वी, जल, तेज र वायुतत्वले गहिरो ध्यानमा ठूलै उथलपुथल ल्याउँदा पनि जुन साधकले भयलाई अभयमा रुपान्तरण गरेर साधनालाई निरन्तरता दिँदै जान्छ, उही व्यक्ति मात्रै आकाश वा ‘खं ब्रह्म’रुपी शून्य तत्वमा पुग्न सक्छ ।


भर्खर

0